कोरोना संत्रासले झ्याप्पै छोप्यो। यदाकदा नेपाल बन्दको अनुभूतिमा अभ्यस्त नै बनिसकेका भए पनि एकान्तबास या बन्दाबन्दीकोबारे यसअघि त्यस्तो अनुभव त के अन्दाज समेत थिएन। त्यसैले त सुरुका केही दिनहरुमा बन्दाबन्दीमा रहन निकै सकस भयो। 

लामो दुरीका गाडीहरु बन्द हुने खबर आउनासाथ अब ‘लकडाउन’ हुने भयो भन्दै सहरलाई कर्मक्षेत्र बनाएकाहरु गाउँ जान हतारिए। ८ चैत्रमा नयाँबसपार्क पुग्दा देखेको दृश्यले चकित बनायो। प्राय दशैंमा देखिने यस्तो जमघट अहिले चैते दशैंको आसपास देखिदैँ थियो । तर मान्छेहरुको अनुहारमा उत्साह थिएन, थियो त केवल एउटा अनौंठो भय र गाउँ पुग्ने हताराे। सायद जीवनको जतिसुकै कठिनाइ र त्रासदीमा पनि मान्छेले आफ्नो भूमी र आफ्नाहरुको सानिध्य खोज्दो रहेछ। र यही खोजाइले प्राय मध्यमवर्गीय सपनाहरु अँकुराउने काठमाण्डौँ शहर रित्तिँदै थियो।

यसअघि भूकम्प हामी नेपालीले व्यहोरेको सबैभन्दा ठुलो विपत्ति थियो। त्यसले मान्छेहरुलाई घरबासबाट टाढा बनाएको थियो। तर अहिले कोरोना महामारीको तयारीका लागि अवस्था ठ्याक्कै उल्टो छ। घरभित्रै बन्दक बन्नुपरेको छ। हजुरबा बिरामी भएकाले यसबेला हामी गाउँ फर्किन सकेनाैं। हजुरआमा र बहिनीहरु लकडाउन सुरु हुने अघिल्लो दिनमात्रै घर गए। काठमाडौँमा बहिनीहरु हुँदाको रोमाञ्चक वातावरण छैन आजकल।

दिनभर हामी सबै ल्याप्टपमा घोत्लिरहन्छौँ। हजुरबालाई लोक कार्यक्रम ‘इन्द्रेणी’का हरेक भाकाहरु कण्ठस्त भैसके। बाबा प्राय बहसमूलक कार्यक्रमहरुमा भुल्नुहुन्छ। मेरा रुचीहरु छरपस्ट छन्। प्राय ल्यापटपकै किबोर्डमा औँला नाचिरहन्छन् अनि आँखा स्क्रिनमै एकोहोरिरहन्छन् । धेरै अघि देखि हेर्न भनि साँचिएका डकुमेन्ट्रीहरु हेर्नु थियो। केही फिल्म र सिरिजहरु सूचीमै थिए। केही थान पुस्तकहरु पनि यस्तै फुर्सदको पर्खाइमा थिए। तिनलाई बिस्तारमा सक्दै छु। यस्तो निष्फिक्रि बेला कमै आउँछ। केही नयाँ सिक्ने अवसर पनि हो यस्तो बेला। अरुबेला नियमित कामहरुबाट मुस्किलले फुर्सद निकाल्न सकिन्छ। त्यसैले केही अनलाइन कोर्सहरुमा पनि समय दिदैँ छु।

यता सहरमा बन्दक बनेपनि मन त गाउँमा नै पुगिरहन्छ। कहिले चेपे खोला तिर पौडिन पुग्छ त कहिले ढम्केका फाँट र बगरहरुमा दौडिन पुग्छ। कहिले राइनासका गुराँसका थुँगाहरुमा त कहिले हिमचुली र लमजुङ हिमालका दृश्यहरुमा झुम्न पुगिरहन्छ। यसो बेलाबेला मोबाइल र ल्याप्टपका पुराना तस्विरहरु पल्टाइरहन्छु। अनि सामाजिक संजालका स्टोरीहरुमा ती यादहरु पोस्टिन्छु। साथीहरु प्राय झुक्किन्छन् र प्रश्न गर्छन् “तिमी लमजुङमा हो र?”

आजकल समय, बार, दिन रातकै भेद हुन छाडेको आभाष हुन्छ। बेला बेला ठट्टा मिश्रित भावमा हजुरबा सोध्नुहुन्छ “दिउँसो हो कि राति?” समय यस्तै त छ। थोरै समयमा भएपनि जीवनको माया र अस्तित्व वोध गराएको छ। लकडाउनमा महिना दिन बितिसक्यो, नेपालको अवस्था सापेक्षित रुपमा त्यस्तो खराब छैन। तर पनि कुन रुपमा महामारी जाला, अझै कहिलेसम्म यो बन्दकको अवस्थामा रहनुपर्ला, अन्योलता कायमै छ।

गाउँघरतिर सोध्छु आनन्द छ। तर मान्छेहरुको उपस्थिति बाक्लिएर त्यता पनि संत्रास नछाएको कहाँ छ र। तैपनि सामाजिक दुरीका साथ प्रकृतिको सानिध्यमा रहन सहज छ। सधैँ दशैंतिहारमा भरिने गाँउका घरहरु अहिले भरिभराउ छन् । बालबालिकाका भविष्य, बाआमाका सुशान्त दिनचर्याका आकांक्षाहरु र युवाका सपना संकल्पहरु यतिखेर गाउँमै बन्दी बनेका छन्। विपत्तिमा गाउँ फर्कने यस्ता आवश्यकता र आकांक्षाहरुले फेरि आफ्नै गाउँमा ती सहर र दुर-परदेशमा देखिने सपनाहरु फुलाउन नसकिएला र? बिना आवश्यकता लहलहैमा हामीले अपनाएको मान्यताहरु र जीवनशैलीप्रति आफैँलाई प्रश्न गर्नुपर्ने उचित बेला पनि त हो यो ।आधुनिकताका नाममा लत्याइएका हाम्रा आफ्ना मौलिक दृष्टिकोण र जीवनदर्शनलाई नै पुनर्जागृत गर्ने अवसर पनि त हो यो !

मानव सभ्यताको यो हविगत देख्दा दिक्क लाग्छ। अनलाइनका पानाहरुमा पढिरहँदा म फेरि सोच्ने गर्छु, के मान्छेको चेतना साँच्चै फिर्ला त?? अहँ मान्छे निकै ज्याद्रो पो छ त ! लागेको थियो २०७२ को भूकम्प पछि मान्छे अलि जागरुक बन्लान्, सायद अब सहरमा चाप घट्ला। तर कति छिट्टै सब बिर्सिन्छ मान्छे। विपत्ति सकिनासाथ यसका सन्देशहरुलाई पाठका रुपमा ग्रहण गर्ने बानी मानव अहँकारले खाइसकेर पो हो कि??

आशावादी हुनु नै महाविपत्तिको सामना गर्ने अस्त्र हो। आशा छ हामी छिट्टै बौरिनेछौँ। हाम्रा चेतना र व्यवहारमा सकरात्मक रुपान्तरण हुनेछ । र जिम्मेवारीवोधका साथ पृथ्विमा मानव भविष्यको दिर्घकालीन सुनिश्चितताको लागि हामी फेरि नयाँ ढंगले लडिरहनेछौँ।

सन्जिव पौडेल

लमजुङ

हाल काठमाण्डौँ

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply