प्रिय तपाईं,

मनमा भएका सप्पै कुरा भन्न सकिन्छ त  ? खै !

मनको कुरा गर्ने प्रसंग खासै केही थिएन । तर के के न लेख्छु भनेर सुरु गरेको पत्र ‘मन’ मै अल्झियो । ‘मनको कुरा मनमै रह्यो’ भने झैं!  शायद कत्ति कुराहरु मनमै मात्र सुहाउँछन् । 

सधैंको वर्ष जस्तै यसपाला पनि दशैं आयो, गयो। 

खै किन हो हिजोआज दशैंभन्दा दशैंका सम्झना मिठा लाग्छन्। दशैं सम्झिँदा बुबा सम्झिएन भने सम्झना पनि बिर्सना हुन्छ । हाम्रो घरमा बुबासँगै दशैं आउँथ्यो । रातो जामा र बोडेको चिउरा बुबासँगै आउँथ्यो । घर पोत्ने नीलो माटो र दलिनको पिङ । भोगटेको क्यापटोपी र गोलकट कपाल, सबै बुबासँगै त आउँथ्यो । खै, सम्झना पनि कति हो कति ! थाहा छ अब पनि हरेक वर्ष दशैं यसैगरि आउँछ, बुबाको चाहिँ सम्झनामात्र । साँच्ची यो संसारबाट हराएपछि मान्छे कहाँ जान्छ होला ?

मनको कुरा भन्छु ल !  हिजो आज दशैंको बेला एक्लै लुसुक्क कतै हिँडिदिन मन लाग्छ । तर मन लागेको सप्पै कुरा कहाँ गर्न सकिन्छ र ! खै के ले रोक्छन् रोक्छन् !  तपाईंलाई पनि यस्तो हुन्छ कहिलेकाहीँ ? खैर चाडबाडको बेला अल्लि रमाइलो कुरो गरौँ होला है । मलाई पत्र पठाउँदा दशैँसँगका तपाईंका सम्झना पनि सुनाउनुस् ल । 

देशदेखि परबाट दुर्गाराज अधिकारी लेख्नुहुन्छ – ‘नेपालमा त चाडपर्वको बहर आउँदैछ। आफू त परदेशको तातोमा हो । जहाँ बिहान उठ्दा सूर्य उदाउँदैन । बरू त्यो भन्दा पहिला काम आउँछ । परदेशीलाई न दशैं न तिहार ’ 

दुर्गाजीको पत्रले मन कस्तो भारी भयो । एउटै मन छ कहिले हल्का हुन्छ कहिले भारी । पोखरा सराङकोटबाट निर्मला थापाजीको यो पत्रले चाहिँ मन भारी भयो कि हलुका थाहै पाइनँ ।

तपाईं र म बिचको दुरी कति छ, जान्दिनँ । तर अहिले यो चिठ्ठी लेखिरहँदा तपाईं मेरो मनको नजिक हुनुहुन्छ । शायद तपाईंले यो पत्र पढिरहँदा म पनि तपाईंको छेउमै हुनेछु । हिजोअस्ति मात्रै हामी कुरा गर्दै थियौं आजकाल हेर्ने कथा निकै कम हेरिन थालेको छ । किन होला ?  हुन त सबैको आ-आफ्नै जिन्दगी हुन्छ । अहिले म यो पत्र लेखिरहँदा कति जना काममै हुनुहोला । कति यात्रामा हुनुहोला । कति अस्पतालमा । कति जीवनकै मिठो पल बाँच्दै हुनुहोला त कतिलाई बज्रपात परेको होला । यो सब जान्दा जान्दै पनि खै किन हो डर लाग्छ कहिँ कतै तपाईं टाढिने पो हो कि !   माया नमार्नुस् है । 

खै किन हो आज मनको कुरा गर्न मन लागेको छ । साथी सन्देश पनि बेला बेला मनका कुरा सुनाइ बस्छन् । 

यतिबेला बाहिर झमझम पानी पर्दैछ । यता असोजमा पनि असार गएको छैन । उता पर्सा गोडपसरा गाउँमा भने झरि नपरेर गाउँलेहरु आत्तिएका रहेछन् । यही गाउँमा पानी माग्ने कथाबनाएका थियौं । हेर्नु भयो नि ?  धेरै पछि कथामा म पनि छु । त्यसो त कथामा नदेखिएपनि म सधैं संगै छु ल । 

दशैंको नयाँ कोसेली बगानको कथा‘ पनि युट्युबमा तपाईंलाई पर्खिरहेको छ है । फुर्सदमा कथाको पोको फुकाउनु होला । घरपरिवार सबै साथै हुँदा नयाँ अनि पुराना हेर्ने कथाहरु पनि हेर्नुस् है । 

अनि सुन्नु न । 
बिदामा अथवा फुर्सदमा फिल्म कत्तिको हेर्नुहुन्छ ? 

हलमै गएर फिल्म नहेरेको त धेरै भएछ । भयो के थाहा छ ?  गएको हप्ता हामी साथी साथी ‘ऐना झ्यालको पुतली‘ हेर्न जाने भन्दै थियौं । साथीहरु त आफै-आफै गइसकेछन् भन्या । म परे एक्लै । तर के, हलमा गएपछि को एक्लै हुन्छ र हैन ! साथी कमल कुमारको कुरा सुनेपछि तपाईंलाई पनि यो फिल्म हेरौँ हेरौँ लाग्छ होला ।  

ऐना झ्यालबाट हेर्दा 

फिल्म दृश्य हो । यो फिल्मले केही छुटेका मिठा दृश्यहरु देखाउँछ । ५० को दशकको नेपाली समाजको चित्रलाई टपक्क टिपेको छ । त्यसै बेलातिर आफ्ना वाल्यकाल बाँचेकाहरुलाई फिल्मले फेरि एक पटक त्यही समयमा झल्झली पुर्याउँछ । फिल्ममा ठूला कुरा छैनन् । सानो गाउँको सानो कथा । दिदी भाइको माया । 
पछिल्लो समय मैले यति राम्रो फिल्म हेरेको थिइनँ । पर्दामा पहिले नदेखिएका कलाकारहरुको अभिनय कहिँ पनि बोझिलो लाग्दैन । म फिल्म समिक्षक त हैन । तर यो साँच्चैको ‘फिल गुड’ फिल्म बनेको छ । मौका मिल्दा हेर्नुहोला है । 

फिल्म दृश्य हो । यो फिल्मले केही छुटेका मिठा दृश्यहरु देखाउँछ । ५० को दशकको नेपाली समाजको चित्रलाई टपक्क टिपेको छ । त्यसै बेलातिर आफ्ना वाल्यकाल बाँचेकाहरुलाई फिल्मले फेरि एक पटक त्यही समयमा झल्झली पुर्याउँछ । फिल्ममा ठूला कुरा छैनन् । सानो गाउँको सानो कथा । दिदी भाइको माया । 
पछिल्लो समय मैले यति राम्रो फिल्म हेरेको थिइनँ । पर्दामा पहिले नदेखिएका कलाकारहरुको अभिनय कहिँ पनि बोझिलो लाग्दैन । म फिल्म समिक्षक त हैन । तर यो साँच्चैको ‘फिल गुड’ फिल्म बनेको छ । मौका मिल्दा हेर्नुहोला है । 

हस् त । ‘ऐना झ्यालको पुतली’ सँगै 
आजलाई भैगो, दिन पनि गैगो
अर्को चिठीमा भेटौंला ।

चाडबाडको ऋतुमा तपाईंका जिन्दगीमा सुन्दर फूलहरु फुलुन् । मनदेखि धेरै धेरै शुभकामना ! 

उही तपाईंकी

विद्या


चिठी त सकियो । अब ?

हेर्ने कथालाई साथ दिन चाहनुहुन्छ भने : 

हेर्ने कथाको युट्युब च्यानल सब्स्क्राइब गर्ने
हेर्ने कथालाई Patreon मार्फत सहयोग गर्ने
युट्युबमै हेर्ने कथाको Channel Member बन्ने

Stories of People

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply