लकडाउनका दिनहरु हलुङ्गा छन् । यो समयले हलुङ्गो हुन सिकाएको छ । 

महामारिको त्रासदीले यतिखेर सारा मानवजातिलाई समयको बन्दी बनाइरहँदा म पनि बन्द भएको छु पर्खालभित्र । अस्तिसम्म खै कहाँ पो पुग्न हो दिनरात दौडिरहने म, बसेको बस्यै छु । 

वल्लो झ्यालबाट हेर्दा हरिया गहुँबारी देखिन्छ । पल्लो झ्यालमा हिमाल मुस्काइरहेको । आजकल मौसम पनि कत्ति सफा !

यत्ति लामो समय घरमै बसेको पछिल्लो सम्झना फेला पार्नै सकिनँ । भागदौडको दुनियाँबाट अचानक अर्कै ग्रहमा आइपुगेको जस्तो लाग्छ बेला बेला । हुन त पृथ्वी आफैंले पनि चिताएको थिएन होला मान्छेले यसरि सास फेर्ने फूर्सद दिन्छन् भनेर । मान्छे, मोटर, कारखाना, हवाइजहाज, महत्वकांक्षा – यी सब सुस्ताउँदा पृथ्वी कस्तो हलुङ्गो । 

फूर्सद भयो भने के के न गरुँला भनेर अरु बेला बहाना बनाइराख्ने म । यति लामो फूर्सदले कुनै जाँगर दिएको छैन । मस्तिष्क पनि हलुङ्गो भएको छ । शरिर मात्र भारि छ । खायो । मोबाइल चलायो, तलमाथि गर्यो । दिन कटायो । रहर, जाँगर, अपेक्षा, डर, सपना सबै उ त्यो पर्खालबाहिरै छन् यतिखेर । पर्खालभित्र म मात्र छु । मेरो सानो,  हलुङ्गो मन छ । जसले पृथ्वीले जस्तै भारि बिसाएको छ यतिखेर । 

संसार आफ्नै नियमित भारि बोकेर दौडिरहेको भए, शेयर बजारमा लगानीहरुको तैरान र डुबानमा मान्छेहरु पसिना पुछिरहेको भए, जेट प्लेनहरु सपना बोकेर अरब उडिरहेका भए, पारिको हरियो डाँडा ताछिरहेको डोजरले उसैगरि धुँवा फालिरहेको भए, अखण्ड हरिकिर्तन जस्तो सडकमा गाडि र मान्छेहरु खै कहाँ पुग्न हो दौडिरहेका भए; ती मान्छेहरुको भिडमा म पनि हुन्थेँ कतै । गन्तव्यहीन यात्राहरु गर्थेँ । हरेक दिन आकांक्षाका रेस दौडिन्थेँ, इर्ष्याका लडाईं गर्थेँ । खै किन हो लकडाउनमा म त हलुङ्गो पो भएछु । 

अन्तरमनले भन्छ: मान्छेले यो महामारिलाई जित्नेछ र फेरि उही वेलयको लयमा फर्किनेछ । 

तर उही लयमा फर्किएपछि म फेरि गर्हुँगो हुन्छु होला कि अहिलेजस्तै हलुका? पृथ्वी फेरि गर्हुँगो हुन्छ कि हलुका?

आजलाई लकडाउन डायरी यत्ति नै । कविशिरोमणिका चार हरफ छोडेर जाँदैछु । शुभरात्री । 

मार्च २९, ७:३४ बेलुका

ठैब, गोदावरी

मत्ता हात्ती हलुङ्गो, वितत जलधिका ह्वेल-माछो हलुङ्गो,
जङ्गी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो ।
शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी गोल सारा हलुङ्गो,
यो ब्रह्माण्डै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो ।।

कमल कुमार

निर्देशक

KK is one of the co-founders of Herne Katha. He directs, edits and writes script for Herne Katha.

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply