प्रिय तपाईं,

चिठ्ठी कताबाट सुरू गरौं ? 

चाडबाड कस्तो भयो भनेर सोधौं कि, हाम्रो पछिल्लो यात्राबारे सुनाउँ ? आउने हप्ताको कथा भनौं कि अघिल्लो कथाको कुरा गरौं ? नयाँ खबर, पुरानो खबर ! के सुनाउँ ?

महिना दिनमा भन्ने कुरा धेरै भइसकेछन् । 

पहिला त सन्चो बिसन्चो नै सोधुँ होला नि ! मेरो मन सञ्चै छ । तपाईंको मन चाहिँ कस्तो छ नि ?

‘नि’ ले गएको साता भेटिएका म्यानमारका नेपालीहरूको सम्झना आयो नि ! उनीहरूले बातैपिच्छे भन्ने ‘नि’ कम्ता मिठो थिएन । हामी थाइल्यान्डमा एउटा कार्यक्रममा थियौं । त्यहीँ भेटिएका थिए लक्ष्मी, ज्योती र गणेश । चार दिनको बसाइँपछि छुट्टिने बेलासम्म चालै नपाइ हामी पनि उनीहरूजस्तै बातैपिच्छे ‘नि’ भन्ने भइसकेका थियौं । यो पत्रको ‘नि’ त्यहीँ सम्झनाको अवशेष हो नि ! 

लक्ष्मीको परिवार ५-६ पुस्तादेखि म्यानमारमा छन् । तर उनीहरुको नेपाली भाषा र चाडबाडप्रतिको मोह भने जस्ताको तस्तै । सैनिक शासनपछि म्यानमारमा बसेर सञ्चार माध्यममा काम गर्न गाह्रो हुने देखेपछि अचेल उनीहरूको कर्मथलो थाइल्याण्ड भएको रैछ। दिदीदाजुबहिनी मिलेर Icarus Media चलाउँछन् । 

तस्बीरमा भृकुटी राई पनि छिन् । ‘बोजुबजै’ पड्काष्ट सुन्नुभएको छ भने एउटी बोजु उनै हुन् । 

भृकुटी र उनकी साथी इतिसा हाँस्दै हसाउँदै हाम्रा समाजका दबाइएका विषय, (यौनदेखि राजनीतिसम्म) शब्द र विचारमाथि व्यंग गर्दै रमाइलो गफगाफ गर्छन् । झन्डै ७ वर्ष अघि ‘बोजुबजै’ सुरु गर्दा अहिले जत्तिको पड्कास्ट कहाँ थिए र नेपालमा !  उनीहरूलाई त पड्काष्टकै पनि ‘बोजुबजै’ भन्दिम कि क्या हो !

लक्ष्मी गएको वर्ष १० महिना नेपाल बसेकी अरे ! सगरमाथा अनि अन्नपूर्ण पदयात्रा पनि गरिसकेकी। नेपालप्रतिको उनको स्नेहले त झन् हुरूक्कै बनायो – ‘नेपालसँग मेरो विशेष र प्यारो सम्बन्ध छ नि ।’ लक्ष्मीले भनिन् –

‘जतिबेला म निकै तनावमा थिएँ, काठमाडौंका गल्ली गल्ली दौडेरै मैले मन शान्त पारेकी छु ।  Nepal helped me heal.’ 

– नि !

लक्ष्मीले बंगलादेश सम्झाइदिइन् । ३ वर्ष अगाडि हामीले बनाएको डकुमेन्ट्री फिल्म ‘मरिसकेको मान्छे’ देखाउन हामी बंगलादेश पुगेका थियौं । यात्रा होटलको पहिलो तल्लाबाट पाँचौ तल्लासम्मको थियो ।  लिफ्टमा एकजना बंगलादेशी भेटिइन् ।  हामी नेपालको भनेपछि असाध्यै प्रेमभाव देखाइन् र  छुट्ने बेलामा भनिन् – 

‘Nepal is not a country. For me it’s FREEDOM’ ( नेपाल मेरो लागि देश हैन, स्वतन्त्रता हो ।) 

अंग्रेजीमा उनले भनेका यी वाक्यको ठ्याक्कै नेपाली अनुवाद गर्न सके सकिनँ, तर उनको कुरा जहिले सम्झन्छु शरिरमा अनौठो तरंग, कम्पन आउँछ । शायद राष्ट्रियता भनेकै यस्तै मनमा उठ्ने कम्पन, तरंग हो । अहिले पनि कसैले नेपालबारे सुनाउँदा उनै बेनाम बंगलादेशी साथी सम्झनामा आइहाल्छिन् ।

डकुमेन्ट्रीको कुरा आएपछि एउटा खबर सुनाउन मन लाग्यो । तर खबर सुनाउनु अघि दशैंलगत्तै हामीले गरेको यात्राको कुरा । गन्तव्य थियो मुगु । साथीहरू गाडीमा गए । म चाहिँ प्लेनमा जाने योजना थियो । तर कस्तो पानी परेको नि त्यतिबेला !  सुर्खेत नपुग्दासम्म त जसो तसो पुगिएला भन्नेमै थियौं । तर जाने बाटो नै ठाउँ ठाउँमा बगाएको, पुरिएको खबर आइरह्यो । आउने जानेहरूले अहिले मुगु यात्रा नगर्न सल्लाह दिएपछि हाम्रो यात्रा छिन्चुबाट जाजरकोटतिर मोडियो । मेरो यात्रा चाहिँ काठमाडौंमै रोकियो ।

ठाउँठाउँमा पहिरो र  बिग्रेको बाटोले बाटो छेकेपछि तीन दिन लगाएर साथीहरू बल्ल जाजरकोट पुगे । त्यतैबाट कथा खोज्दै बारेकोट लागेका हाम्रा साथीहरूसँग सम्पर्क टुट्यो – 

‘तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलमा अहिले सम्पर्क हुन सकेन । तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ ।’  

थाहा थियो साथीहरू दुर्गममा थिए । हप्ता दिन देखिको लगातारको वर्षाले गाउँ सम्पर्क विच्छेद छ ।  एक दिन, दुई दिन, तीन दिन, चार दिनसम्म त यसै भनेर चित्त बुझाइयो । तर पाँचौ दिनदेखि यत्ति खबरले चित्त बुझेन । साथीहरूको खोजी सुरू भयो । सातौ दिन साथीहरू आफै कथा बनेर फर्किए ।

यो कथा हेर्ने कथामा हेर्न केही समय पर्खनु पर्नेछ ल । तर आउने डिसेम्बर ८ तारिख काठमाण्डौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (KIMFF ) मा आउनु भए सँगै बसेर हेर्न पाइन्छ । हामीले बनाएको फिल्म ‘बाघको बङ्गारा’  हेर्न अहिले देखि समय मिलाउनुस् है । यही पत्र निम्तो भयो नि !

अहिले हामी त्यहीँ कथाको तयारीमा छौं । त्यसैले आजलाई चिठ्ठी पनि यतै बिट मारौं कि झैँ लाग्यो ।  आउने हप्ता मंगलबार नियमित हेर्ने कथाको शृंखलामा ‘सफरको कथा’ आउँदैछ । सँगसँगै सफर गर्न तयार हुनुहुन्छ नि ! हाम्रो बस छुट्ने बेलामा खबर गर्छौं । पर्खनुस् ल । 

तर पर्खिने बेलामा त समय पनि कस्तो टक्क अडिए जस्तो नि ! तपाईंलाई पनि त्यस्तो लाग्छ ? मलाई चाहिँ धेरै जस्तो यात्रा गर्दा त्यस्तै लाग्छ । अक्सर बाटो नै प्रिय लाग्छ । पुगेपछि त सकिहाल्यो ।

– नि ! 

नपुग्दै कस्तो होला भन्ने खुल्दुली पो मिठो त । साथी सन्देश काम गरिरहँदा पनि गीत सुनिबस्छन् । बाल्यकालमा सुनेको एउटा धुनको धमिलो सम्झना मनमै गढेको छ भनिरहन्थे । उनी यहीँ धुनको खोजीमा थिए । महिना दिन जस्तोमा सम्झेर खोजिबस्थे अरे ! अस्ति कार्यालय पुग्ने बितिक्कै हत्त न पत्त छेउमा आए र भने –

‘हिजो साझँ मैले त्यो धुन फेला पारे । धुन पत्तो पाए यता मन खालि खालि छ । मेरो खोज नै सकिएजस्तो कस्तो रित्तो रित्तो भएँजस्तो । शायद नेभेट्नुमै मज्जा थियो । नभेटिदाको सम्झना खुल्दुली नै कत्ति प्यारो ।’

उही तपाईंकी,
विद्या

मेरो चिठ्ठी त सकियो ! अब तपाईंको पालो । 


चिठी त सकियो ! अब ?

हेर्ने कथालाई साथ दिन चाहनुहुन्छ भने :  

 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply