काठमाडौंको जाम र धुलो छिचोलिसक्दा, ‘वाउ !’ खुसी । थानकोटको ओरालो सकेर मुग्लिनतिर तेर्सिदै गर्दा, ‘उफ् !’ दुःखी ।

“यो पालि त लास्ट गर्मी खाने भइयो है ?” चार जना यात्रीको मुखबाट कम्तिमा एकपटक त यो वाक्य निस्किएकै थियो । हाम्रो जिप जता–जता जान्छ उतै–उतै बगेको छ त्रिशूली । त्यहि नदी हेर्दै कविता फुराउने साथीहरु आज चाहिँ ‘उफ्’ शिर्षकमा कविता भनिरहेझै भान हुन्थ्यो । सधैँ पहिरोले हैरान पार्ने मुग्लिनको बाटो अहिले त खत्रा बनाएछ । पिच पनि क्या सलल छ । एकैछिन झ्याल खोलेर हावा खाउँ त भन्यो, हावा हो र भने जस्तो लाग्ने । तातो ! मुग्लिन काटेर चितवन आईपुग्दा हावाको कुरा बन्द भइसकेको थियो । तातो हावासँग हामी अभ्यस्त भइसकेका थियौं । केहि समय चितवन चाहारेर हामी हेटौंडा हान्नियौँ ।

झमक्क साँझमा पुगियो कमाने । हेटौँडाको कर्रा खोलापारिको एउटा गाउँ । बजार बन्दै गरेको गाउँ । हामी चार जना साथी कथा खोज्न लाखापाखा लाग्यौँ । म बाटो छेउ टुसुक्क बसेँ । बिहानदेखि लखतरान जिउले थोरै आड पायो । तातै भएपनि हावा खाउँ भनेको उल्टै लामखुट्टेहरुले मेरो रगत खाए । तिनिहरुलाई प्याट्ट पार्नु सिवाय अरु उपाय देखिनँ । मेरो दाहिने हातले लामखुट्टे मारिरह्यो । कति सजिलो छ है, लामखुट्टे मार्न ? धेरै मेहनत गर्नै नपर्ने । साँच्चै एक साँझमा कति लामखुट्टे मर्छन् होला ? अनि के तिनका परिवार र प्रियजनले आफन्त मरेको थाहा पाउलान् ? हेर्ने कथाको लागि कथा सुन्न गाउँ पसेको म, लामखुट्टे प्याट्ट पारिरहेँ । ‘एकजना दिदीले मेरो कुममा थ्याप्प हात राखिन् र भनिन्, कति लामखुट्टे प्याट्ट पारिरहनुहुन्छ, हिँड्नुस हाम्रो घर।’ म उनको पछि लागेँ ।

एक हजार रुपैंयाबाट सुरु गरेको मसला कुट्ने मिल अहिले कमानेकै नामी मिल कसरी बन्न पुग्योे दिदीले आफ्नो कथा सुनाईन् ।

भोलिपल्ट बिहान हेटौंडाको जामे मस्जिद वरिपरि घुमिरहेँ । मेरो काम मस्जिद र मान्छेका अनेकथरि फोटो खिच्नु र कुराकानी गर्नु थियो । तर काम गर्न मलाई हम्मे–हम्मे पर्यो । क्यामेरा समाउनु पर्ने हात खाने कुराले भरिए । कसैले आइसक्रीम, कसैले चिसो पानी, कसैले के । हुँदा–हुँदा मस्जिदका मौलानाले खाना खान आफ्नो घर जान कर गरे । ‘नाइँ’ भन्नै सकिनँ । अचम्म लाग्यो – यो कस्तो आत्मीयता ? यो कस्तो सौेहार्दता ? नचिनेको मान्छेलाई घरनै लगेर सत्कार गर्ने । त्यो दिन मुसलमानहरुको चाड रमजानको अन्तिम दिन थियो । मस्जिदमा एकजनाले भनेका थिए आजको दिन, ‘दिनु, बिर्सिनु र उत्सब मनाउनु हो ।’ मौलानाले के दिए, के बिर्सिए र कसरि उत्सब मनाए म व्यक्त गर्न नसकुँला । मैले चाहिँ साथ दिएँ, गर्मी बिर्सिएँ र सद्भावको उत्सव मनाएँ ।

काठमाडौंबाट तराई हिँड्ने अघिल्लोे दिन सहकर्मी विद्या चापागाईलाई मैले सोधेकी थिएँ, ‘खासमा देहात भनेको के हो दिदी ?’ उनले भनिन् “ शहरदेखि टाढाका गाउँ ठाउँलाई देहात भनेको सुनेकी छु ”
यो सुनेको कुरालाई मैले देख्नु थियो ।

चुरेका ससाना थुम्का । दायाँ बायाँ जंगल । अमलेखगन्ज हुँदै पथलैयासम्म पुग्दा ‘वाउ’ शब्दले ‘उफ् गर्मीलाई’ फ्लप खुवायो । तर यो धेरैबेर टिकेन । जब हामी पथलैया काटेर सिमरा हुँदै बिरगंजतिर सोझियौं ।

फराकिलो बनाउन जता–ततै बाटो खनेको, धुलो र धुँवा उस्तै, हर्न बजाएर हैरान । उफ्, गर्मीको त के कुरा ! उनन्चालिस डिग्री । वीरगंज शहरसँग मेरो पहिलो अनुभूति कस्तो कस्तो भयो । भोलिपल्ट देहात हेर्ने खुसीले वीरगंजलाई बिर्सिदिएँ मैले ।

भुँईतले होचा घर ।भित्ताभरि बुट्टा भरेका । ढोकामा रङगीचङगी पर्दा, आँगनछेउ गाईबस्तु कुँडो खाईरहेका ।हिजो धुलोले दिक्क भएर वीरगंज शहरको होटलमा सुतेकी म बिउँझिदा छपकैया छेउको गाउँमा थिएँ । मलाई थाहा छ, बिहान होटलबाट आधा घण्टा गाडी चढेर यो ठाउँ आईपुगेको हो म । तर किन किन यही गाउँमा बिउँझिएको भन्न मन लाग्यो ।

बुट्टा भरेका मध्ये एउटा घरमा अंग्रेजीमा लेखिएको थियो ‘निरज’ । त्यतै दगुरिरहेका केटाकेटीलाई मैले सोधेँ ‘यो कस्ले लेखेको ?’ सबै केटाकेटी ‘उस्ले, उस्ले’ भन्दै कराए । त्यही घरको भित्तामा अडेस लाएर सानी केटी बिस्तारै बोलिन्, ‘मैले’ ।
अनि तिम्रो नाम ?
‘निर्जना’
अनि यहाँ त निरज लेखेको छ त, ?
‘हैन मेरो भाईको नाम लेखेको, दिपावलीमा ।’

‘वाउ ! कस्तो मीठो !’ मेरो बोली प्वाक्क फुट्यो । निर्जनासँग मीठो कुरा भयो । “म चारमा पढ्छु सरकारी स्कुलमा, भाइ एकमा पढ्छ, र्बोडिङमा” छुट्टिने बेला निर्जनाले सुर्नाई । मैले ‘ए’ को मुन्टो हल्लाएँ ।

त्यहीदिन हामी लङ्गडी भन्ने ठाउँ जान हिड्यौँ । पोखरिया हुँदै लङ्गडी जाँदा छपकैया जस्ता थुप्रै गाउँ देखेँ। पहाडतिरको मेरो गाउँभन्दा यहाँ देहातमा अचम्म लागेको एउटा कुरा चाहिँ गाईबस्तुलाई कुँडो खुवाउने ताउलो । हाम्रोतिर तामा, ‘सिलवट’ यस्तै–यस्तै चिजले बनेको ताउलोमा कुँडो पकाउँछन् र त्यस्तै भाडामा खुवाउँछन् । यहाँ चाहीँ आँगनमै ड्याम्म पारेर सिमेन्टको ताउलो बनाउने रहेछन । अनि त्यसमा कुँडो दिने ।

देहातका यस्तै नौला कुरा नियाल्दै दुई घण्टा गाडी चढेर लङ्गडी चोक पुगियो र भेट भयो चुरा बेच्दै गाउँ डुल्ने सरिफा मियासँग । पहिले गाउँका हरेक घरका कम्तिमा एकजना महिला चुरा बेच्न हिँड्थे रे । अहिले कमिला खातुन र उनकी बुहारी मात्र यो काम गर्छन् । घरगाउँमै पसल खुल्न थालेपछि चुरा धागो पनि पसलमै पाइन थाल्यो । तर, पैंसठ्ठी बर्षकी कमिलालाई भने गाउँ डुल्नै रमाइलो लाग्छ ।

म पनि कमिलासँगै हिँडे । आफ्नो काममा चितवन, नारायणघाटसम्म पुगेकी कमिलाले भोजपुरी भाषा नेपालीमा उल्था गर्दै मलाई गाउँ घुमाईन् । उनी गाउँ छिरेपछि सबै झुम्मिने रहेछन् । घर–घरमा चुरा लगाई दिँदै, कतै पानी कतै खाजा खाँदै कमिला हिँडिरहिन् । म पछ्याईरहें । सबै हाँसी खुसी । कस्तो रमाईलो । अझ पाहुनालाई त केहि न केहि नखुवाई फर्कनै नदिने । कस्तो आत्मीयाता । देहातसँग मेरो दिल बस्न थालेछ ।

कमिला खातुन गाउँबिच एउटा पसल छेउमा बसेर त्यहाँ आउनेलाई चुरा लगाइदिन थालिन् । एकजना आमा यो चुरा भएन, यो साइज मिलेन भन्दै चुरा हातमा लिएर पटक पटक ओहोर–दोहोर गरिन् । मैले सोधेँ, ‘तपाईंले कस्का लागी चुरा छान्नु भएको ? ‘
‘नयाँ बुहारी हो, बच्चा भएको छैन । घरबाट बाहिर निस्कन मिल्दैन’ उनले भनिन्
‘किन नि ? मैले फेरि सोधे ।
‘हाम्रो चलन यस्तै छ’
मैले ‘ए’ को टाउँको हल्लाएँ

अर्काे घरमा कमिला आमाले पानी मागिन् । पर्दाको छेल पारेर ढोका भित्रैबाट कसैले पानी दियो । म ‘नछुने हुँदा’ आमाले अलग्ग पानी दिएजस्तो । अब त मैले पनि चाल पाएँ – उनी पनि नयाँ बुहारी होलिन् ।

अर्को दिन म, झौवागुठी गाउँतिर हिँडे । ७ कक्षामा पढ्ने भवानी कुमारी राम, धागोको फुल बुन्दै थिईन् । वाउ कस्तो राम्रो । भवानीकी आमाले बस्नलाई कुर्सी दिइन् । म भवानीसँगै भुइँमा थचक्क बसें । ओहो, यस्तो राम्रो बुन्न कसरी सिकेको ? कस्ले सिकायो ? ऊ उत्तर दिँदै गई ‘आफैं सिकेको, यतिकै’

बेनाले(पंखा )आफु र मलाई हुने गरि हावा हम्किरहेकी भवानीकी आमा मुसुक्क हाँस्दै भनिन् “हाम्रोतिर यस्तै चलन छ । छोरीहरुले, घर सजाउने फूल, बेना आदि बुन्छन् अनि बिहे गरेर जाँदा आफ्नो घरमा यी सामान पनि सँगै लैजान्छन् । माईतीको सम्झना’
यो गर्मीमा हावा हम्कने बेना पनि तिम्ले नै बुनेको हो ? उसले हो, को टाउको हल्लाई ।
‘तपाईले बिहे गरेर आउँदा ल्याएको बेना छ त ? आमालाई सोधें मैले ।
‘छैन मलाई त केहि बनाउन आउँदैन” हामी सबै हाँस्यौं ।

छुट्टिने बेला भवानीले एउटा बेना मेरो हातमा थमाई ।

हामी फर्कँदा काठमाण्डौँमा पनि तापक्रम ३२ पुगेछ । कार्यलयमा, विद्या दिदीले सोधिन्, देहात भनेको के रहेछ त आशा ?

भवानीले दिएको बेनाले हावा हम्किँदै, मैले भनें, “गाउँ टाढा, माया गाढा”

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply