एक झोला खुसी

“बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस् ” गीत हाम्रो घरको रेडियोमा बिहानै गुन्जिको अझै याद छ मलाई। तर गीतमा भनेजस्तो प्रत्यक्ष महसुस भने अझै गर्नपाएको छैन। तर हिमाल देख्न नपाए पनि बिहान उठ्नासाथ देखिने हराभरा वातावरण र कौसीमा ढकमक फुलेका फूलले मलाई थप उर्जा दिएको छ।

म अमतृ साइन्स क्यामपस,लैनचौर काठमाडौंबाट स्नातक सकेको बिद्यार्थी हो। ४ वर्षसम्म वातावरणलाई हराभरा कसरी पार्ने हावापानीलाई दुषित हुनबाट कसरी जोगाउने, हानिकारक ग्याँसहरुको उत्सर्जनमा कसरी रोक लगाउने भनेर किताबमा मात्र अध्ययन गरियो। तर अहिले एकाएक वातावरणमा यसरी सकरात्मक परिवर्तन आएको देख्दा अचम्म लागिरहेको छ। अहिले प्रकृति बलियो भएको छ। अनि सवारीसाधन र कलकारखानाबाट निस्कने हानिकारक ग्याँसहरुको उत्सर्जन न्यून भएको छ। वातावरणले यसरी मुहार फेरेको हेर्न पाउँदा कसकाे मन प्रफुल्ल नहोला र!

गाउँका मानिसहरु आफ्नो घरदेखि टोलसम्मको सरसफाइमा सक्रिय हुनुभएको देख्दा आन्नद आउँदो रहेछ। मैले पनि आफ्नै कौसीमा फूलहरु फुलाएको छु। पहिले र अहिलेमा फरक छ। पहिले आमाले रोप्नुहुन्थ्याे अहिले म आफै यो सब गरिरहेको छु। मैले पनि यो लकडाउनमा नयाँ कुरा सिक्न कुनै कसर छोडेकी छैन । बुझ्ने भएदेखि होस्टल र साथीहरु नै परिवार थिए। राति १२ बजेसम्म पनि हामी आ-आफ्नो पररिवारको कुरा गरेर थाक्दैनथ्यौं। कहिले घरको यादले रोएर होस्टलको वार्ड म्यामलाई अंगालो हाल्न जान्थौं त कहिले धेरै हल्ला गरेर म्यामको गाली पनि खान्थ्यौं। तर अहिले यति लामो समयसम्म घरका परिवारसँग समय बिताउन पाउँदा जिन्दगीमा एक झोला खुसी बटुलेको अनुभव भइरहेको छ। अहिले त बुवा आफ्नै साथी जस्तो हुनुभएको छ। सम्बन्धहरु प्रगाढ भएका छन्।


तर चहलपहल हुने टोलका सडकहरु भने सुनसान छ। टोलवासीहरु गाउँ पसेछन्। रमझम हुने मेरो टोल अहिले सुनसान छ। कोरोनाको कारणले नकरात्मक सोच नबढोस् भनेर गीत सुन्छु। नाच्छु गाउँछु। परिवारसँग समय बिताउँछु। नयाँ नयाँ परिकार बनाउँछु। भनिन्छ दुख धैरै टिक्दैन रे। म कामना गर्छु आज दुखको बादल बनेर बसेको यो कोरोना भोलि सुखको बर्षात बनेर अन्त्य हुनेछ ।

रोशनी थापा


मेरो पहिलाे डायरी!

डायरी, याे शब्द नै यस्ताे छ जसले हरेक कुराहरूलाई सम्झाइदिन्छ। तर अहिले १९ वर्ष पुग्दा पनि मनका कुरा मजाले लेखेर राख्न सक्या छैन। खाली अल्छिपनले त जित्या हाेला नि! लेख्न त धेरै खाेजियाे, कक्षा ४ तिर पढ्दा म्यामले डायरी लेख्नुपर्छ है भनेपछि बेलुका स्कुलबाट फर्केर लेख्न खाेज्थेँ तर जान्दै जानिन। डायरी लेख्ने मेराे पहिलाे प्रयास यत्तिकै गयाे। दाेस्राे पटक दिदीसँगै नयाँबर्षकाे दिन देखि डायरी लेख्ने भनेर थालियाे। तर अहँ। त्याे पनि त्यसै भयाे।मानाैं मलाई अब डायरी लेख्नकालागि हाेमवर्क नै दिनुपर्छ। त्यो पनि अरुले हैन पहिला हामीलाई अङ्ग्रेजी पढाउने शिक्षकले। उहाँको नाम सुन्दै थरर हुन्थ्याैं हामी। आज धेरैपछि डायरी लेख्न खाेज्दैछु, म खुसी छु। मेराे पहिलाे पूर्ण डायरी हेर्ने कथाकाे नाममा।

मेराे भाग्य त हाेला नि! लकडाउनकाे ठ्याक्कै अघिल्लाे दिन गृह जिल्ला इलाम फर्किन सकेँ। युद्ध जिते जस्तो भयो। आमा खुसीले गदगद। नहुनु पनि कसरी। दशैं भन्दा पछाडि छाेराकाे नाक मुख देख्नुभएको थिएन। भिडियाे कल गरौं भने पनि मेरी आमालाई माेबाइल चलाउनै आँउदैन। बुवाको पनि स्मार्ट फोन होइन। म घर पुग्दा भाइ पनि खुसी भयाे, अब क्रिकेट खेल्न पाइन्छ भनेर । प्राय घरमै भाइ र म क्रिकेट खेल्छाैं। न हामीलाई काेही फिल्डर चाहिन्छ न काेही विकेट किपर नै। हामी आफैँ फिल्डिर आफैँ विकेट किपर र आफैँ ब्याट्सम्यान पनि। दाइ विदेश भएकाले अब दाइलाई कस्ताे लाग्याे त्याे दाइ नै जानाेस्। दिदी भने खुसी हुनुहुन्थ्यो। दुई चार दिन भए नि भाइलाई काम लगाउँछु भनेर।


हुन त अहिले गाउँमा चहल पहल बढेकै छ, सबैजना घर फर्केका छन्। घर आएपछि यत्तिकै बस्ने भन्ने पनि कुराे आएन। २/४ दिन त घरका काेठा सफा पारियाे, चट्ट पारेर फुलबारीमा मलजल, गाेडमेल गरियाे। दिन गएकाे पत्तै भएन। दुख त त्यसपछि पो थपियाे। काम सक्किगाे, अब दिन कसरी काट्ने भनेर। अनि फेरि हेर्ने कथाका मन पर्ने कथाहरू हेर्न थालेँ। मलाई सबैभन्दा मन परेकाे एपिसाेडहरूलाई क्रमबद्ध राख्ने हाे भने पहिलाे नम्बरमा सपना श्रृङखलाकाे अन्तिम अंक- यात्रा हो। देवेन्द्र दाइकाे कथाले किन किन हाे मुटु नै चिसाे बनाउँछ। दुखमा पनि हाँस्ने दाजै बडा रमाइला लाग्छन्। अनि दाेस्राे नम्बरमा पाेखराकाे आकाशकाे कथा। दिपक दाइकाे चैँ स्वर नै मिठाे । यदि कुनै बेलामा पाेखरा घुम्न गइयाे भने दिपक दाइसँगै उड्ने हाे आकाशमा।

यी त हुन् मेरा दृष्टिकोणमा दुई राम्रा अंक। तर प्रत्येक अंकले ज्ञान दिइरहन्छन्, प्रेरणा दिइरहन्छन्। अब एकै दिनमा लगातार हेर्न थालियाे भने भाेलि हेर्नलाई केही हुँदैन। त्यही भएर एक एक अंक गर्दै हेर्छु। म खासै कुनै सिरिजहरू हेर्दिन। नत्र त दिन सजिलै कट्थ्याे हाेला। बरू पुस्तकहरू पढ्छु। ‘एक सर्काे माया’ र ‘गुलाबी उमेर’ हुन् मैले पछिल्लाे पटक पढेका दुई पुस्तकहरू। दुइटै भिन्न खालका र विभिन्न परिवेशमा लेखिएकाे छन्। एक सर्काे माया पढेपछि त मलाई एक सर्कै गाँजा तानेजस्ताे लाग्याे। लेखक जिएस पाैडेलले मलाई डाेनिमा राखेर माल्दिभ्सका हर टापु घुमाइदिए। गुलाबी उमेरले भने त्यस्तो पारेन। अहिले विश्वेश्वरप्रसाद काेइरालाकाे ‘सुम्निमा’ सुरू गर्या छु। यसरी हर्ने कथा, अलिअलि आमाकाे गाली, थाेरै भाइसँगकाे झगडा, हँसिमजाक अनि घरका छिटफुट कामले लकडाउन पनि रमाइलै हुँदैछ।

यसाे टिभी हेर्न खाेल्याे भने बिभिन्न ठाउँमा यस्ताे भयाे काेराना भाइरसका कारण भनेकाे नै देख्छु। मन विचलित हुन्छ। अस्ति एकै दिनमा १४ जना सङ्क्रमित थपिँदा हतास भए। तर के गर्नु मनलाई सम्हाल्नै पर्छ ।आफू र आफ्नाे परिवार सुरक्षित रहन बाहेक अरू उपाय छैन। आजकाल त हात पनि छक्क परिसक्याे हाेला धुदाँ धुदाँ। तपाईंहरू पनि हात धाेएकाे धाेइ गर्नुहाेस् है।

केशव रिजाल

इलाम

झ्याउ छ यार !

दिनहुँ मेरो झ्याल बाहिर कराउने चरा अनि मेरो मोबाइलमा लगाएको अलार्म, आजभोलि म देखेर झर्किंदो हो। रिसाउँदो हो, मनमनै गाली गर्दो हो, अनि भन्दो हो आफूलाई सुख भएपछि अरुको मतलब नगर्ने? हुनपनि अन्याय नै भएको छ। म सधैँ उनीहरुकै सहायतामा उठ्ने गरेको थिए। आजभोलि उनीहरुलाई वास्ता नगरी घण्टौसम्म सुतिदिन्छु। यसको मूल कारण लकडाउन नै हो।

दैनिक जीवनसंग अपरिचित भएर म लकडाउनसँग परिचित हुन थालिसकेँ। यही लकडाउनले गर्दा मैले आफ्ना रुचिहरू पनि गहिरिएर चिन्न थालेको छु।आज धेरै दिनपछि म र छिमेकीको छोरी आ-आफ्नो कौसीमा एकैपटक निस्कनु संयोग नै मान्नुपर्छ। एकअर्कालाई देखेर हामी मुसुक्क हाँस्यौ।मैले नै मुख खोलेँ, ‘कस्तो हुँदै छ त लकडाउन जिन्दगी? उसले मुख बिगार्दै भनि ‘झ्याउ छ यार! पिंजडाको चरा जस्तै हाल भाको छ।’

यतिकैमा आमाले बोलाउनु भयो भनेर ऊ भित्र गइ। तर उसकाे कुरा सुने पश्चात मेरो मनमा कुरा खेल्यो पिंजडाको चरा …..?

कसरी हामी अनि पिंजडाको चरा एउटै हुन सक्छौं ? यो त चराप्रति गरिएको अपमान हो। म सहन सक्दिन यो कुरा। उनीहरू कसरी आफूलाई पिंजडाको चरासँग दाँज्न सक्छन्? यो सरासर गलत हो।

के तिमीहरू जस्तै आफ्नै परिवारसँग हाँसखेल गर्दै बस्न पाएको छन् त ती चराहरुले? के तिमीहरू जस्तै आफूलाई मन पर्ने खाना खान पाइरहेका होलान् ती चराहरुले? के तिमीहरू जस्तै आफ्नै घरको छानो मुनि बस्न पाएका होलान् त? त्यो आफ्नो शरीर मात्र अट्ने फलामे बार भित्र कुञ्जिएको छैनन् होला त? के तिमीहरूले जस्तै आफ्ना मन पर्ने साथीभाइसँग भिडियाे च्याट गर्दै दिन काट्न पाएका होलान् तिनले?

 अलिकति विचार त गर, आफूलाई कोसँग दाँज्दै छु भनेर!

त्यो आफ्नो घर भत्किएको चरा। त्यो परिवार उजाडिएको चरा। त्यो गन्तव्यबिहिन चरा। त्यो पखेटा फिँजाउन बिर्सिसकेको चरा।

कति निरिह छ मान्छे आफ्नो समस्या सानै भए पनि ठूलो देखाउँछ। तर अझै पनि त्यो चरालाई हावासँगै उड्न दिने हिम्मत देखाउँदैन। यो त आफू अरु भन्दा शक्तिशाली छु भन्ने घमण्ड मात्र हो तर यो घमण्डको कुनै तुक छैन। आफू स्वतन्त्र भएर बाँच्नु पर्छ भन्ने सोच भएको व्यक्तिले अरुको स्वतन्त्रता पनि त हेर्नु पर्यो, बुझ्नु पर्यो, अनि महसुस गर्नु पर्यो।

यस्तो अवस्थामा ती अवाेध प्राणीहरुको मजाक नउडाउ। बरु पिंजडा भित्र भएका प्राणीलाई उडाउ। कतिपछि वातावरण स्वच्छ भएको छ उसलाई पनि स्वच्छ वातावारणको स्पर्श गर्न देउ।

हामी लकडाउनमा छौं, खुसी छौं। सबैको साथमा छौं। यो मौकाको भरपूर सदुपयोग गरौं। हामी घरभित्र हाम्रै लागि छौं । अरु कसैको लागि छैनौं। त्यसैले पिंजडामा होइन हामी त हाम्रो सानो परिवार रुपी संसारमा छौं।

सधैँ झ्याल बाहिर कराउने चरा र मोबाइलको त्यो अलार्मले जति गाली गरेपनि म त्यसैमा रमाएकी छु अनि थुप्रै ज्ञान पनि प्राप्त गर्दैछु।

हो! म १ महिना देखि लकडाउनमा छु र धेरै कुरा सिक्दै छु । किनकि मेरो घर मेरो पहिलो पाठशाला हो। 

सम्झना ज्ञवाली

       

फूर्ति

कोरोना आउनु, लकडाउन हुनु राम्रो कुरा त हुँदै होइन। तर यो नराम्रो भित्र पनि सकारात्मक भएर खोज्यौँ भने धेरै राम्रा कुराहरु पाउँछौँ हामीले। त्यो हो गाउँमा देखिएका फरकपना र केही नयाँ कुराहरु। त्यही कुराहरु हेर्ने कथा मार्फत तपाईंसामु पुर्याउनु मेरो प्रयास हो ।

केही रहरले र केही कहरले गाउँ छोडेर सहर पसेकाहरु लकडाउन अघि नै गाउँ फर्किए। कोही लकडाउनमै रातारात गाउँ फर्किए। गाउँ फर्किन कि त दशैँ तिहार नै आउनु पर्थ्यो, कि त कुनै विवाह,मेला र उत्सव नै हुनुपर्थ्यो। तर यो बेला न त दशैं तिहार नै छ, न त कुनै विवाह, मेला र उत्सव नै। तर अहिले कारणबस गाउँ आउन नपाएका बाहेक अधिकांश मान्छेहरु यो बेला गाउँमै छ्न्। आफ्नो जन्मथलोमा छन्। आफ्नो गाउँ सुगममा हुनेहरु त गाउँ फर्किए नै। ‘मेरो गाउँ दुर्गममा छ। मेरो ठाउँ दुर्गममा छ। त्यो गाउँमा त्यो ठाउँमा जान नपरोस्। मरे नि जान्न, भन्नेहरु पनि यो बेला गाउँमै भेटिएका छन्।’

अघिल्ला वर्षहरुमा नुन खाएको कुखुराे झैँ देखिने गाउँ, यो बेला दुलाहा भेट्न आतुर दुलहीझैँ देखिन्छ। छोराछोरी, बुहारी, नातिनातीना र आफन्तको आगमनले चाउरी परेका ती वृद्द अनुहारहरुमा खुसीका सयपत्री, गोदावरी र मखमली ढकमक्क फुलेको प्रष्ट देख्न सकिन्छ। वृद्द शरीरहरुले केही दिन, केही महिनालाई नै सही भातभान्सा,पानीपँधेरो र मेलापातबाट आराम पाएका छ्न्। आफ्नो छातीमा भारी बोक्न नपाएर टोलाइरहने चौतारी फुर्तिलो देखिन्छ, यो बेला। भर्खरै पुराना लुगा फालेर नयाँ लुगा हालेका वर, पिपल, साल, चिलाउने र अन्य थुप्रै बोटबिरुवाहरुको फूर्ति पनि कम छैन। तिनै वर, पिपल, साल, चिलाउने र अन्य थुप्रै वोटबिरुवाको डाली-डालीमा बसेर चिरबिर-चिरबिर चिर्बिराउने जुरेली, कोइली, सारौँ र अन्य थुप्रै चराचुरुङ्गीको फूर्ति त झनैँ बेग्लै छ। प्रेममा मग्न ढुकुर र परेवाको जोडी देख्नेलाई त आफ्नो प्रेमको रूमानी संसारमा पुर्याइदिन्छ। गाउँमा सबै कुरा यहाँ भनेर, लेखेर साध्य नै छैन। त्यो त देख्न,भोग्न र अनुभव गर्न आउनुपर्छ गाउँ।

कंक्रीटजस्तै मन भएका कंक्रीटे मान्छेहरु बस्ने ‘सहर मरेको बेला’ गाउँ जीवित देखिन्छ। गाउँका प्राय प्रत्येक घरहरु जीवित देखिन्छन्। केटाकेटीहरु उन्मुक्त छ्न्। बोक्नु परेको छैन,आफूभन्दा ठूलो किताबको भारी। घोक्नु परेको छैन, जिन्दगीको गणितमा खासै लागू नहुने बिजगणित र ज्यामितिका अप्ठ्यारा अप्ठ्यारा सुत्रहरु। न्युटनका सिद्धान्तहरु। केटाकेटीहरु स्वतन्त्र छ्न् यो बेला। माटोसँग खेलिरहेका छ्न्। ढुङ्गासँग कुरा गरिरहेका छ्न्। खेत र बारीका बाँझा गह्राका छातीमा निस्फिक्री उफ्रिरहेका छ्न्। युवाहरुमा थोरै भए पनि जिम्मेवारी बोध भएको छ। घरयासी कामहरु गरिरहेका भेटिन्छ्न्। भूकम्पपछि बनेका घरहरुका कुलेसा खार्दैछन् कोही। चिटिक्क पारेर रंगरोगन गर्दै छ्न् कोही। खेतबारीमा व्यस्त देखिन्छ्न् कोही । यो बेला मस्त छ गाउँ। यो बेला व्यस्त छ गाउँ।

कुनै पनि कुरा चीर स्थायी हुँदैन। कोरोना पनि चीर स्थायी छैन। यो केही दिन या केही महिनाको पाहुना हो। यो पाहुना एक दिन न एक दिन त जान्छ, जान्छ। तर कोरोना गएसँगै हामी गाउँबाट नजाऔँ। गाउँबाट नजाउँ नै भन्ने मेरो आसय पनि होइन। जानुपर्छ, पढाइका लागि। जानुपर्छ, नोकरीकालागि। जानुपर्छ, व्यापार-व्यवसायका लागि। म यति मात्र भन्छु कि- दु:खमा गाउँ सम्झिने हामी, सुखमा गाउँ नबिर्सौं। दु:खमा जन्मथलो सम्झिने हामी, सुखमा जन्मथलो नबिर्सौं। गाउँ आऔँ, गाउँ सम्झौँ। जन्मथलो आऔँ, जन्मथलो सम्झौँ। गाउँ हाम्रो, गाउँका हामी।

रविन्द्र बुढाथोकी

रामेछाप

सम्झना

ओइलाएका फूलहरु , बसन्तमा फुल्दारैछन्

पुराना ती यादहरु , मस्तिष्कमा झुल्दारैछन्

बिर्सिएका कुराहरु , बिउँझदामा खुल्दारैछन् ।

यो लकडाउनमा यति फुर्सदिले भइएछ कि पुराना कुराहरु सम्झन थालिसकिएछ।

जिन्दगीका अनगिन्ति पाइलाहरु चालिरहँदा केही कुरा यस्ता हुँदारहेछन् कि, मनको कुनै कुनामा जरा गाढेर बसेका हुँदाहेछन् अनि कहिलेकाहीँ झल्याँस्स बनाउँदारहेछन्। गहिरो निन्द्रामा परेको रहेछु झल्याँस्स बिउँझिए। मेरो आँखा अघि एउटा तस्बिर घुमिरहेको थियो। त्यो तस्बिर मलाई केही कुराको सऺकेत गरिरहेको थियो। म एकछिन अलमल परेँ।अनि सम्झना आयो। त्यो त मेरो बाल्यकालको तस्बिर हो। तर त्यो तस्बिरले मलाई अडियो भिडियो दुबै सम्झाएको थियो ।

सन्दर्भ मेरो जन्मथलो देखि पढाइ थलो आएको दिनको हो। मेरो जन्म मण्डन देउपुर। त्यो तस्बिरमा म घर भन्दा चार पाँच कान्ला मुनिको बारीमा पानीको मूल खोस्रदै थिएँ। गाउँभरि त्यो मुलको पानी खुवाउने बडो जोस थियो। त्यही तस्बिरले सम्झाएको अडियो भिडियोको बारेमा लेख्न मन लाग्यो ।

मेरा जोसिला काका मसँगै थिए। नाताले काका भएपनि हाम्रो उमेर जम्मा १४ महिनाले फरक थियो। हामी काका भतिजको सम्बन्ध भन्दा साथीको सम्बन्ध बढी रुचाउथौं। हाम्रो दोस्ती देखेर गाउँभरिका मान्छे रिस गर्थे। रिस पनि किन नगरुन् हामी दुई भएपछि टोलभरिका उखु ,काँक्रो र मटरकोसा बाँकि रहँदैनथ्यो। म तीन वर्षको थिएँ। काका चार। हामी धेरै त खान सक्दैन थियौं तर बोटै उखलेर फाल्दिन्थ्याैं। यसको मार सबै भन्दा धेरै मेरो साइँली हजुरआमालाई परेको थियो। उनको बारीभरि उखु थियो। उखु छन्जेल उखु खायौं। उखु सकेपछि कोदालोले खनेर जरै समेत खायौं।

यिनै कुराले मलाई गाँउबाट टाढा बनाइरहेको थियो । त्यो दिन हामी बारीमा पानीको मुल खोस्रदै थियौं। घरको आँगनबाट ममीले बोलाउनु भयो ‘बाबु घर आउ।’ हामीले मतलब गरेनौं। केही छिन पछि ममी आफै आउनुभयो अनि मलाई पिठ्युमा बोकेर घर लानुभयो। खाना खुवाउनुभो अनि मलाई नयाँ लुगा लगाइदिनुभयो। तब थाहा भयो कि अब मलाई बनेपा लाँदैछन्।  म रुन थाले कराउन थालेँ । ‘काका बिनोद बिनोद’ भन्दै रोएँ। त्यसको पनि मन रोइरहेको थियो। तर मलाई आँसु भने देखाएन। अनि म ९ बजेको क्युको गाडीमा बनेपा आएँ ।

आधिबाटो सम्म रुँदै थिए। त्यस बखत मेराे पीडा कसले बुझ्थ्यो र! अर्का एकजना काका सुरजपनिसँगै आउनु भएको थियो। मेरो आँसु नथामिएकाले मलाई र काकालाई ममीले शुभकामना हलमा लानुभो। त्यहाँ ‘हामी तीन भाइ’ भन्ने फिल्म हेर्यौं। बनेपामा बाबा र ठूलो बाबा व्यापार गर्नुहुन्थ्यो। केही दिन बसेर ममी घर फर्कनुभयो। घरबाट आउँदा म रुँदै आएको थिएँ। जाँदा ममी रुदै जानुभयो।

सायद म त्यति बेला सहर नआएको भए गाउँमा अझै बदमासी गर्दै हुन्थे होला या हुँदैनथे। तर मेरालागि सङ्घर्ष गर्ने ममीलाई नमन र यस्ता यादहरु संगालेर राखीदिने मन र दिमाग दुबैलाई धन्यबाद। अनि सानो बेलाकाे बिनोद तर अहिलेको बिशाललाई धेरै सम्झना ।

मनिष ढकाल

मकाउ अनुभव

कुरा सुरुवातबाटै गरौं होला। म मकाउको द भेनेसियन क्यासिनोको सेक्युरीटी डिपार्टमेन्टको मेडिकल टिममा काम गर्ने भएकाले कोरोना भाइरसको बारेमा हल्का अगाडि नै हामीलाई जानकारी थियो।

सुरुवातमा त लागेको थियो यो सामान्य रुघाँ नै होला भनेर। तर एक दुई हप्ता पछि थाहा भयो कि यो त ख़तरा महामारी नै पो रहेछ । हालसम्म यसकाे कुनै औषधी पनि छैन। अरुलाई जस्तै ममा पनि त्रास, डर त हुने नै भयो। तर काम गर्ने बाहेक मसँग अरु कुनै पनि उपाय थिएन ।

हुबेइ, वुहान लगायत चाइनाका विभिन्न ठाउँबाट लगभग ४ हजार नागरिक नयाँ साल मनाउन मकाउ आएका रहेछन्। मकाउ सरकारले ती नागरिकहरुलाई आफ्नै देश (चाइना ) फर्काउने निर्णय गर्याे। जस अनुसार यहाँका प्रहरीहरुले बिभिन्न होटलहरुमा छापा मार्दै त्यहाँका नागरिकलाई डिपोर्ट गर्न थाल्याे।

हाम्रो होटलमा पनि सयौको संख्यामा वुहान र हुबेइ प्रोभिन्सका नागरिक रहेछन्। म मेडिकल टिम भएको हुनाले मैले पनि प्रहरीसँग साझेदारी गर्दै ती नागरिकको तापक्रम जाच गर्दै ज्वरो भएकोलाई हस्पिटल र नभएकोलाई होटलबाट चेक आउट गराइ उनीहरुकै देश फर्काउन सहयाेग गरे।

अहिले मेरो धर्मपत्नी पनि म सँगै यही बैदेशिक रोजगारीमा छिन्। हाम्रो एउटा ७ बर्षको छोरा छ। अहिले उ हाम्रो आफन्त कहाँ बसेर कक्षा २ मा पढ्दैछ। बिस्वमा यो माहामारीले बिकराल रुप लिइरहँदा अनि नेपालमा पनि याे राेग देखिएकाले हाम्रो मनमा पनि एक प्रकारको त्रास छाएको छ। नाबालक छोरा उता नेपालमा लकडाउनमा छ, बाबा आमा यता बिदेशमा। लकडाउन या अरु जे भए पनि सबै परिवार साथमा भैदिए मन यति अशान्त हुँदैन थ्यो हाेला ? यही कुराले मन भक्कानिन्छ। मुटु गह्रुङ्गाे भएर आउँछ। ओम माने पेमे हुम्।

राजु गुरुङ

  हाल मकाउ 

ख्याम्पु

मुलुकभर कोभिड–१९ को कारण लकडाउन छ। व्यस्त दैनिकीहरु खुम्चिएर कोठाभित्र सीमित भएका छन्। सुरुवाती दिनहरुमा कोठा वा घरैमा दिन काट्नलाई आम्मै र बाबै गर्ने मनहरु पनि अब त अभ्यस्त भइसकेका छन्। सामाजिक संजालहरुमा त्यस्तो साह्रो हल्ला गर्न छाडेका छन्।

पढाइको सिलसिलामा म काठमाण्डौं उपत्यकामा छु र अहिले लकडाउनले कोठामा नै सिमित छ मेराे दैनिकीहरु। दिनहरु काट्न र बस्न त्यस्तो गाह्रो परेको छैन मलाई। केही रचनात्मक र आफ्नै कामहरु गर्दैछु। विशेषगरी किरात बायुङ राईहरुको तुम्लो(मुन्दुम) अध्ययनको काम ढुक्कले गर्न पाएको छु। साथमा आफ्नो मेलो त छँदै छ।

त्यसको अलावा सामाजिक संजालहरु पनि घुम्ने गर्छु। जहाँ धेरै साथीभाइहरुले लक डाउनको समयलाई यसरी सदुपयोग गरें, उसरी गरें भनेर पोस्ट्याउनु हुन्छ। उहाँहरुको रचनात्मक कुराहरु मन पर्छ। कसैले किताब पढेको, कसैले गीत, गजल र कविता लेखेको, वाचन गरेको, कसैले राम्रो चलचित्रहरु हेरेको, कसैले आफैँ हस्तकलाका सामानहरु बनाएको, कसैले नयाँनयाँ परिकारहरु बनाएको विविध कुराहरुले दिन अल्छी लाग्दो बनाएको छैन।

जन्मे हुर्केको गाउँठाउँको सबैलाई माया लाग्दो रैछ। सामाजिक संजालकै माध्यमबाट मेरो गाउँको अपडेटहरु हेर्छु। मेरो पहाडको गाउँ नेचासल्यान गाउँपालिका स्थित ख्याम्पु हो। घरमा मामा (आमा) सँग कुरा हुँदा सन्चै भएकोले र चिन्ता नलिनु भन्छु। यहाँको स्थिति ठीकै पनि छ। त्यस्तो साह्रो गाह्रो छैन।

लकडाउनको समय लम्बिएसँगै र लम्बिएला भन्ने आशंकाले सहर तथा गाउँभन्दा बाहिर बस्ने गाउँबासीहरुमा संकटपूर्ण वातावरण आउँला कि भनेर त्रास बढेको छ। सोलुखुम्बुका अन्य स्थानीय निकायहरुले जस्तै नेचासल्यान गाउँपालिकाले पनि आफ्नो गाउँवासीहरुले संकटको अवस्था झेल्न नपरोस् भनि नागारिक उद्धारको कार्यक्रम अघि बढाइरहेको छ। यो स्थानीय निकायको प्रशंसनीय कदम हो। यसमा गाउँपलिकालाई स्यावास भन्नै पर्छ। तर पनि स्थानीय निकायको स्वगतयोग्य कदमसँगै केही आलोचनाको आवाजहरु पनि आइरहेका छन्।पक्कै पनि स्थानीय निकायको आफ्नो नागरिकहरुलाई राम्रै गर्छु भन्ने ध्येय हो। र त्यो भन्दा पनि अझ राम्रो गर्नुपर्छ मलाई लाग्छ।

किशोर बायुङ राई

साेलुखुम्बु

भित्ताको फोटो

सारा संसार लकडाउनमा छ। मानव जाति सबै आ-आफ्नो घरभित्र थन्किएका छन्। सामाजिक दुरी बनाउनुपर्ने भएर कतै निस्कन मिलेको छैन। तर आफू भने परदेशको ठाउँमा दिनरात नभनि ड्युटी गर्नु परिरहेको छ। हप्ताैपछि आज मुस्किलले एक दिन बिदा पाएको छु। कोरोना भाइरसले बिश्व हल्लाइरहेको अवस्थामा पनि मनमा त्रास बोकेर काम गरिरहँदा बेलाबेला शरीर नै लथ्रक्कै गल्नेगरि घरको याद आइदिन्छ ।

एकातिर घर परिवारको चिन्ता र अर्कोतिर भाइरसको त्रासको बिचमा अल्झिरहेको छ मेरा दिनहरु। थाहा थिएन मलाई जिन्दगीको महत्व यति धेरै हुन्छ भनेर। कल्पना गरेको थिएन मृत्युको भय यो हद सम्मको हुन्छ भनेर। तर फेरि काम नगरि तलब नआउने अनि दुई छाक टार्न पनि मुस्किल पर्ने। र त मर्नै परे नखाइ मर्नु भन्दा त बरु खाएरै मर्छु भन्ने सोचले फेरि ड्युटी गर्ने हिम्मत जुट्छ।

सामाजिक संजालमा मान्छेहरु घर बस्न गाह्राे भएको भाव व्यक्त गरिरहेका हुन्छन्। परिवारसँग बसिरहँदा पनि घरलाई झ्यालखानासँग दाँजो गरिरहेका हुन्छन् । परिवारसँग बस्दापनि निस्सासिएको अनि छटपटि भइरहेको बताउँदा बढो अचम्म लाग्छ। म यहाँ परिवारभन्दा कोसौ टाढा परदेशमा एक्लै बसिरहेको छु। तर पनि त्यस्तो निसास्सिएको भावना कहिल्यै आएको छैन। न त छटपटिएको छु कहिल्यै। एक्लोपनले भने बेला मौकामा चिमोटिरहन्छ। तर पनि आफूलाई एक्लो पाउँदिन।

हुन त तिमी गएको दिन देखि एक्लै बस्ने बानी जो परेको छ मलाई। तिमीसँगका अथाह यादहरु छन्।अनि म सुत्ने बिस्ताराको दाहिनेपट्टि भित्तामा टाँसेको तिम्रो सानो पास्पोर्ट साइजको तस्बिर छ मेरो एक्लोपनको साथी। तिमीले त मलाई आफ्नो मनको दैलोबाट उहिल्यै निकाला गरिसक्यौ। मैले भने तिम्रो तस्बिर यो सिमेन्टको भित्ताबाट पनि उक्काउन सकेको छुइँन। झन मनकाे भित्ताबाट कसरी उक्काएर फ्याँकौ!

धेरै भयो मलाई देब्रे पट्टि फर्किएर सुत्दा निन्द्रा पर्नु छोडेको। दाहिने पट्टि भित्तामा टाँसेको तिम्रो त्यही पास्पोर्ट साइजको फोटो नहेरी निदाउनै सक्दिन आजकल। त्यो तस्बिर हेरिरहँदा तिमीले मलाई नै हेरिरहेझैं लाग्छ। तिमीलाई नै हेर्दै तिमीसंगका अतीतका दिनहरु कल्पिदै एक्लै रमाउने गरेको छु म। हिजो पनि तिमीलाई हेर्दा हेर्दै कतिखेर आँखा लागेर सपनामा तिमीसँगै भेट्न पुगिसकेको रहेछु पत्तै पाईन। कुनै प्रेमिल वातावरणमा चियाका दुईवटा कपहरुको पछाडि हामी दुई बसिरहेका थियौँ। मेरो दाहिने हत्केलाको औलाहरु बिचको खाली ठाउँ तिम्रो देब्रे हत्केलाको औंलाहरुले भरेका थिए। मेरो दाहिने पट्टि कुममा तिम्रो शिर देब्रे पट्टि कोल्टाएर अडाएकी थियौ। प्रेमील वातावरणमा हामी सायद केही प्रेमिल कुराकानी गर्दै थियौँ। तिम्रा ती सुन्दर नयनहरूमा देख्नसक्थेँ म मेरालागि प्रेमका चमकहरु। तिम्रो त्यो ओठमा देख्नसक्थेँ म मेरालागि प्रेमका मुस्कानहरु। एकमुस्टमा भन्दा तिम्रो त्यो निर्दोष चेहेरामा देख्नसक्थेँ म मेरालागि प्रेमका उज्यालाहरु। तिम्रो त्यो कोमल हत्केलाको छुवाइमा पनि महसुस गर्न सक्थेँ म मेरै निम्ति प्रेमका स्पर्शहरु। निकै खुसी देखिन्थ्यौ तिमी। तिमी देखेर तिमी भन्दा कैयौं गुना धेरै खुसी भएको थिएँ म।

विडम्बना ! तकियाको छेउमा म सँगसँगै निदाएको मेरो मोबाइलमा एक्कासी अलराम बजिदिँदा मेरो सपनाको तिमी र म छताछुल्ल छुटि्यौं । बिपनामा तिमी गएको दिनदेखि नै आउने गरेकी छौ हरेक रात तिमी मेरो सपनीमा यसरी नै। तिमीसँगैको सपना देखि एकैचोटि तिमी बिनाको यथार्थमा आउँदा सधैँ झैँ थोरै खल्लो त भयाे। अनि केही बेर बिस्तरामा नै यसै पल्टिएर दाहिने पट्टिको भित्तामा टाँसेको तिम्रो पासपोर्ट साइजको फोटो हेर्दै मेरो सपनाको तिमी र म सम्झिदैं मुस्कुराईरहेँ ।

तिमीसँग भेटेको दिनदेखि न त म तिम्रो हुन सकेँ न त आफ्नै हुन सकेको छु ।

सुसन चेम्जोङ 


बेमौसमी झरी

याे साता आमाको मुख हेर्ने दिन पर्याे। मलाई कहिल्यै पनि मातातीर्थ औंसीको महत्व भएन। तर यो बर्ष म धेरै नै भावुक भएँ र आमालाई फोन गरेँ। यो विशेष दिनमा आमाको मुख नहेरेको पनि दश बर्ष भइसकेछ। पढ्न भनि सहर पसेको हिजो जस्तै लाग्छ। दिनहरु कति चाडै बित्ने रहेछन् थाहै नहुने।

अहिले कोभिड–१९ ले विश्व नै शिथिल भएको अवस्थामा हामीले पनि लकडाउन फेस गरेको महिना दिन बितिसकेछ। कति जना घरमा आफ्नो परिवारसँग हुनुहुन्छ होला कति म जस्तै एउटा अँध्यारो कोठामा निस्सासिएर बस्नु भएको होला। हाम्रो पीडा त आ–आफ्नो ठाउँमा छ, तर अझ पीडा त मेरी आमा र मेरी आमाजस्ता हजुरहरुको आमाहरुमा बल्झिएको हुँदो हो। आफ्ना छोराछोरी कहिले घर आउँछन् भनेर बाटो कुरिरहने मेरा सबै आमाहरुमा नमन। मेरी आमा, घाँसदाउरामा व्यस्त छिन् तर घरीघरी हतासिन्छिन्, रातमा छट्पटिन्छिन्, छोरा छोरीलाई देख्न नपाएर।

मेरो भने घर जाने कुनै छाँटकाट छैन। आफ्नो जिल्लाका मानिसहरु घर लग्ने कुरा सुन्छु कता कता। तर जाने नजाने कुनै निश्चित छैन। मेरी आमा भने अहिलेदेखि पैसाको खोजीमा लागेकि छिन्। अनि हामी आउने आशामा केही क्षणलाई भएपनि खुसी हुन्छिन् मेरी आमा। खै किन हो, भिडियो कलमा अरुसँग हाँसेर बोलिरहेको बेला मलाई देख्नासाथ आँशु झार्छिन्। ती चाउरी परेका आँखाका डिल र गालाहरु आँशुले निथ्रुक्कै हुन्छन्। अहिलेको बेमौसमी झरी जस्तै। थाहा छैन म के जवाफ दिँउ। नरोउन भनेर सम्झाउँ कि के गरुँ! मेरा दोधार नयनहरु उनलाई हेरिरहन्छन्, एकोहोरो।

आशा छ यो लकडाउनकाे समस्या एकदिन समाधान हुनेछ। हामी आमाछोरी एकदिन भेट्ने पनि छौं र फेरि साथै रहनेछौं।आमा, तिमी मेरो लागि यो विशेष दिनमा मात्र होइन हरेक दिन विशेष छौ। म ती फेसबुकका भित्ता तिम्रा फोटोहरुले एक दिनलाई रङ्गाउन चाहान्न। आमा तिमी त हरेक क्षणमा मसँगै छौं। चाहन्छु तिम्रो आयु मेरो भन्दा लामो होस् । मेरी आमा, ती आकाशका तारा, जुनघाम झैँ सधैं चम्किरहनु।

मनु राना

पाँचथर

दाेधार

खासै कथा लेख्नुपर्ने त केही छैन। तर आज धेरै स्वास्थ्यकर्मी र नर्सहरुमा कोरोना देखियाे भनेर पढ्दा मन नै खिन्न हुन्छ।अनि आफै लेखुँ जस्तो लाग्यो।

नर्स बन्ने खासै इच्छा त होइन, तर कसैकाे करकापले अंगालेको पेशा पनि होइन।अपत्यारिलो पारामा मेरो जीवनको गन्तव्य बन्यो यो पेशा। जहाँबाट फेरि मेरो यात्रा अगाडि बढ्नेछ।

महँगो शुल्क तिरेर यो तीन बर्षे पढाइ विभिन्न अस्पताल, चार्ट पेपर र एफो पेपर, प्रिजेन्टेसन, सेतो एप्रोन भरि स-साना नोट र किताब मै बित्यो जस्तो लाग्छ। नर्सको भूमिका र त्यसकाे परिणाम देखेर बेकारमा यो पेशा अंगालेछु जस्तो लाग्छ। मेरो पछुतो फेरि मैले सिकेका ज्ञानले मेटाइदिन्छ। पहिलाे बर्ष त यो पेशा बुझ्नमै बित्यो। दोस्रो बर्ष भने जीवनका केही तिता सत्य बुझेँ मैले। रोगले भरिपूर्ण शरीरमा पैसाको महामारीको महत्त्व बुझेँ मैले। अनि ती कागजका नोट र मानवताको बर्षौ पुरानो हार र जितको कथा देखे मैले। तेस्रो बर्ष सम्झिदा भने “placenta”(sal) को याद आउँछ। कति दिनसम्म पनि मेरो शरीर साल-साल गनाएको जस्तो लाग्थ्यो। निकै प्यारो लाग्छ यो अन्तिम बर्ष।मलाई मसगँ चिनाएको छ याे वर्षले।

नर्सको परिभाषा त पहिलो बर्ष देखि नै थाहा थियोे। बुझ्न भने अलि समय लाग्यो,अनि बुझाउन अझ धेरै। आजसम्म पनि असफल छु बुझाउन। मैले तेस्रो बर्षको परीक्षा भदौमा दिए।रिजल्ट मङ्सिरमै आयाे। फागुनमा लाइसेन्सको परीक्षा पनि दिएँ।तर लाइसेन्स हात नलाग्दै कोरोना भित्रियो। यो अवधि सम्झिदा म कुनै युद्ध पूर्वको तयारी गर्दै छु जस्तो लाग्छ। सायद यो लकडाउनपछि आराम भाग्नेछ मेरो जीवनबाट। कोरोनाको लक्षण पढ्दा त कति दिनसम्म निन्द्रा नै लागेन।आफूलाई नि छ कि जस्ताे लाग्ने! बिहान नलागेको खोकी र नआएको ज्वरो भरे बिस्तारामा आफूसँगै भएजस्ताे। मनकाे डर अलग्गै हुँदाेरहेछ।

लाइसेन्स नआएकोले म अहिले घरमै छु।एक दुई ठाँउ साथीहरुले अप्प्लाइ गर्दा रिजेक्ट भएछन्। हामीसगँ लाइसेन्स नै छैन कसले पत्याओस् त अहिले। कति दिदीहरू बिना तलब काम गर्दै हुनुहुन्छ रे! रमा दिदी त ‘भाग्न पनि नमिल्ने बस्न पनि जाेखिम’ भन्दै हुनुहुन्थ्यो। उहाँलाई आफ्नो भन्दा पनि बढी परिवारको डर लाग्छ रे! नलागोस् पनि कसरी, पेशा नै यस्तै छ।आजकल त घर नै जानुहुदैन रे उहाँ। म पनि स्टाफ भएको भए यस्तै त्रास हुने थियो हाेला। खतरा टर्यो भनेर खुसी हुने कि सेवा गर्न पाइएन भनेर दुखी हुने, दाेधारमा छु।

आकृति तिमल्सिना

माटाेसँग प्रेम

गएको फाल्गुन महिनाको अन्तिम सातातिर मलाई कलेज जादा एकदुई दिन त बिदा हुनु नि भन्ने लागिरहन्थ्यो| त्यस बखतको समय मेरा लागि निकै नै महत्वकाे थियो। किनकि त्यति बेला मैले प्रत्येक विषयका आवधिक पत्र कलेज समक्ष बुझाइ सक्नु पर्ने थियो। नभन्दै फाल्गुनको अन्तिम सातादेखि मेरो कलेजले बिदा दिइ सम्पूर्ण आवधिक पत्र बुझाउनका लागि समय निर्धारण गर्यो। उता सिङ्गो विश्वलाई नै चुनौती दिदै फैलिरहेको कोरोनाले गर्दा चैत्र पहिलो साता देखि सरकारले देश भरिका शैक्षिक संस्था बन्द गर्यो।मलाई घर जाने मन थियो ताकी तोकिएको समयमा आफ्नो काम पनि सकियोस र यो महामारीको बेलामा घरपरिवारसँग समय विताउन पाइयोस् भनेर। म काठमाडौं बाट आफ्नो गृह जिल्ला दाङ आए। यो बसाइमा मैले गरेका उपलब्धिलाई म यस लकडाउन डायरी मार्फत सबैलाई भन्दैछु।

कहिले सकिन्छ होला यो काम पनि? कलेजकाे काम सकेपछि त केके गर्छु आदि इत्यादि जस्ता कुरा मेरा मनमा आइरहेका थिए। आवधिक पत्र पनि सकियो। तर अब आउँदा दिनहरुमा के गर्ने होला भन्ने प्रश्नले मलाई सताउन थाल्यो। काम भएपनि कहिले सकिएला र काम नभएपनि के गर्ने होला भन्ने प्रश्नले निकै नै सताउँदो रहेछ। सामाजिक संजाल हेर्छु, जताततै कोरोनाले मारिएका र संक्रमित भएका मानिसहरुको अंक देखिन्छ। त्यस बाहेक फेसबुकका भित्ताहरुमा त झनै पुराना तस्बिरहरु राख्ने र साथीहरुलाई चुनौती (च्यालेन्ज) गर्ने प्रवृत्ति चलिरहेको रहेछ | सायद चुनौतीलाई पार लगाउनकालागि होला फेसबुकका भित्ताहरुमा पोस्टहरुका बर्षात भैरहेका थिए।  म भने के गर्ने होला भन्नेमै अन्योल थिए।

घरमा हिउँदे तरकारी सकिएसँगै बारी बाँझो भएकाले तरकारी लगाउने कुरा चल्यो।अनि बारी खनेर गोडमेल गरि तरकारी लगाउन ठिक्क पारियो। तर तरकारीका बिउ मध्य सिमि र दुई चार वटा पिडाँलु बाहेक घरमा केहीको पनि बिउ रहेनछ। छिमेकमा पनि समस्या उही देखे।अनि कसैको घरबाट भिंडी, कसैकोबाट करेलो र कसैकोबाट फर्सीको बिउको जोहाे गरेर तरकारी लगाइयो। जसकारण बिहान र बेलुका पानी चार्ने भनेर आफूलाई काममा लगाउन थाले। अहिले सबै बिउ उम्रेका छन्। मेरा मनमा आफूले लगाएको तरकारीप्रति छुट्टै माया पलाएको छ। दिउँसोको समयमा पनि बेलाबेलामा कौसीबाट बारीतिर चिहाउन मन लाग्छ आफूले लगाएको तरकारी हेर्नको लागि। अहिले मलाई माटोसँग प्रेम बसेको छ। विगतका बर्षहरुमा मलाई तरकारी लगाउन कहरले काम गर्नु पर्थ्यो भने यसपालि आफ्नै रहरले गरे।

बिहान र बेलुका मात्र व्यस्त बनाउने बारीको कामले मलाई अझै केही गर्नका निम्ति प्रेरणा दियो। त्यसपछि मलाई आफ्नो घर परिवारको इतिहासको बारेमा जान्न मन लग्यो र घरपरिवारबाट नै मैले आफ्नो पुर्ख्यौली थलो सल्यान देखि जुम्ला सम्मको बारेमा धेरै कुरा सिक्ने मौका पाए। घरको हजुरबुवा र मामाघरको हजुरबुवाहरुले पहिले देखि नै शिक्षण पेशा र कर्मकाण्ड सम्बन्धि काम गरेको कुरा सुनेकाे थिए। कर्मकाण्ड सम्बन्धि त्यति धेरै कुरा थाहा नभएता पनि मलाई पुजाआजामा जान सानै देखि मन पर्थ्यो। त्यसैले यस बिदाको अवधिमा मैले अध्यात्मिक कुरामा पनि जोड दिन थालेको छु। सन् १९१२ मा फ्रान्सका समाजसाश्त्री एमिल डर्खेइमद्वारा लिखित “द एलेमेन्टरि फर्म्स अफ रेलिजिअस लाइफ” मा पनि अध्यात्म र धर्मको बारेमा केही चर्चा गरिएको छ। अहिले सिङ्गो बिश्व नै त्रसित भएको बेला धेरैजसो मानिसहरु कुनै न कुनै धर्मसँग आबद्ध छन्  र ओ गड भन्दै भगवानलाई सम्झिरहेका छन्। 

यसै लकडाउनको अवधिमा मैले संस्कृत पढ्न नजाने पनि एकातिर श्रीमद्भागवतगीता यथारूप बुबाको मुखारबिन्दुबाट सुन्न पाए भने अर्को तिर कर्मकाण्डमा के हुँदो रहेछ भनेर विभिन्न किसिमका देव कार्य तथा पूजाहरुको पद्धतीको बारेमा बुझ्ने मौका पाए। जुनसुकै देव कार्यमा बजाइने शङ्ख बजाउन त्यति सजिलो त छैन तरपनि म एक सातामा शङ्ख बजाउन सक्ने भएको छु।

यी बाहेक घरको काममा सघाउने, पुस्तकहरु पढ्ने, साथसाथै आफ्नो पुर्खा देखि अहिले सम्मको कुरालाई समेटी बंशावली बनाउनका लागि नामहरु संकलन गर्ने कार्यमा जुटेको छु। सायद यो लकडाउन नभएको भए यी मेरा काम हुने थिएनन्। अहिलेको विपदको घडीले गर्दा यस्तो उपलब्धि गरे भनेर हर्षित हुनु त छैन त्यैपनि यस डायरी मा आफ्नो उपलब्धि लेखे। 

आशिष देवकोटा

दाङ

मनकाे डढेलाे

खै, नियम पालना गरेकाे भनाै कि गुप्तबास भनाैँ ? घरबाट एक पाइला पनि अघि नसारेकाे महिना दिन बितिसक्याे। विश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे यो काेराेना भाइरसले मलाई मात्रै हाेइन विश्वकाे अरु कुनामा बस्ने मै हुँ भन्ने शक्तिशालीलाई पनि घरकाे चारकुने पिंजडामा थुनिन बाध्य बनाएकाे छ। कोराेनाले निम्त्याएको कहालीलाग्दो दिन। 

झिसमिसे साँझको बेला थियो। इयरफोन र मोबाइल लिएर छत तिर लागे। मन्द चिसो हावा चलिरहेको थियो। लकडाउनको बेला दिनभर कोठामै कोच्चिएर बसिरहँदा दिक्क लाइराथ्यो । त्यो चिसो हावाले दिमाग र मन दुवैलाई शितल बनायो। कानमा इयरफोन लगाए, मोबाइलको म्युजिक ग्यालेरि अन गरे अनि गीत सुन्न लागे। रमाइलो साँझ, बजिरहेका ती मिठा धुनहरु, स्वच्छ हावा अनि घर पारिका डाँडा। वाह! कति आनन्दमय वातावरण। मन आनन्दित भयो । 

तर त्यो आनन्द भने मनमा एकछिन पनि टिकेन। सिसा टुटेसरि भयो मन। घर पारिको वनमा डढेलो लागिरहेको थियो। छतबाट मेरा आँखाले टुलुटुलु हेरिरहेका थिए। वन विज्ञान पढ्ने विद्यार्थी म, मनमै डढेलो लागेको भान भयो। यसै त यो लकडाउनको बेला वन पैदावर चोरी र सिकारीको समाचार सुन्दा नराम्रो लागिरहेको थियो। आगो लागेको देख्दा त झन् नरमाइलो लाग्यो। तत्काल आफूले गर्न सकिने केही थिएन। त्यसैले वनको संम्बन्धित व्यक्तिलाई फोन गरेर खबर गरिदिए।

म हतारिंदै, हेलो! चरङे डाँडामा आगो लागिराखेको छ। तुरुन्तै निभाउनु पर्यो। वन सकिन लाग्यो। सास पनि नफेरी एकनासले बोलीरहेकी थिएँ।  यति भन्दै गर्दा सायद बेट्रि सक्किएछ क्यारे, मोबाइल पनि अफ भयो।

कतै वन मासिने हो कि भन्ने मनमा डर पैदा भयो। यस्तै अनेकाै प्रश्नले भय निम्ताइरहेको थियो। मान्छेको जिविकापार्जन देखि लिएर जडीबुटी,पर्यटन र देशको अार्थिक विकास सम्म  वनमा आत्मनिर्भर छाैँ। वन नासियो भने म जस्तै वन विज्ञान पढ्ने विद्यार्थीहरुको भविष्य मात्रै हैन सिंगो देशको भविष्य नै अन्योलमा हुनेछ।

 म कोमामा गए झैँ भएकी थिएँ। तलबाट मम्मीले खाना खान बोलाइरहनु भएको थियो। अनि पाे झ्यालस्स भएँ। ‘हजुर ,आएँ मम्मी आएँ’ भन्दै तल झरेँ।

एकछिन पछि फेरि हेरेँ। उता डढेलो लाग्न पनि बन्द भएछ। यता मन पनि शान्त भयो।

स्मृति ज्ञवाली

रुपन्देही

छिन छिनकाे फोन……

म एक बिद्यार्थी, घर अनि आमाबुवादेखि टाढा बसेर अध्ययन गरिरहेको। कलेजले लिने अन्तिम परीक्षा पनि चलिरहेकै थियो। यो बेला घरको अनि आमाबाबुको न्यास्रो लाग्नु त स्वभाविक नै हो। म भन्दा पनि बढी न्यास्रिनुभएको थियो गाउँमा बाबुआमा।

सधैं झैँ हुने फोन कल भन्दा आजकाल २/३ गुनाले बढेकाे थियोे। बिहान र बेलुका गरि २ पटक मात्र हुने कुराकानी अब घन्टामा १ पटक  हुँदै  छिन छिनमा हुन थालेको थियो। हाम्रो गाउँ इन्टरनेटसँग अपरिचित छ। टिभी र रेडियो चैं छ। काेराेनाकाे आगमनसँगै सञ्चार माध्यममा समाचारको प्रमुख  विषय कोरोना बाहेक अरु के नै हुन्थ्यो र? कति मृत्यु, कति संक्रमण अनि कुन देशहरुमा फैलिएको छ भनेर।अनि नेपालमा त्यसको जोखिम बढीरहेकाे पनि सञ्चार माध्यमले हरपल बताइरहन्थ्यो। यस्तो खबर सुनेपछि आत्तिदै रुन्चे स्वरमा आमाबाले दिनहुँ पलपल फोन गर्नुहुन्थ्यो। उहाँहरुको प्रश्न प्राय सधैँ एउटै हुन्थ्यो ‘घर  कहिले  आउँछस् बाबु ? कलेज बिदा कहिले हुन्छ ? तातो पानीमात्र खा है ! हात धोइरख्नु,कलेजमा साथीसँग पनि हात नमिलाउनु।’             

म उहाँहरुलाई सधैं एउटै कुरा भन्थे, ‘धेरै नआत्तिनु र बिदा हुने बित्तिकै घर आउने छु।’ आमबुवाको मन न हो, मैले जति भने पनि आत्तिनु नै हुन्थ्यो। त्यसैले त सँधै एउटै प्रश्न अनि एउटै कुरा हुन्थ्यो ।

परीक्षा सकिन अब एक दिन बाँकी थियो। परीक्षा सकिनासाथ घर जाने याेजना त बनाएकाे नै थिएँ। भाेलिकाे परीक्षाकाे लागि तयारी गरीरहेकाे थिएँ , माेबाइलमा साथीकाे फाेन आयो। परीक्षा स्थगित भएकाे कुरा मैले थाहा पाएँ। सम्पूर्ण बिद्यालय, कलेज, विश्वविद्यालयहरू बन्द भएका रहेछन्। याे खबर घरमा सुनाएँ अनि भाेलि नै घर जाने निधाे पनि गरेँ। भाेलिपल्ट घर जान भनेर बस चढ्ने ठाउँसम्म त पुगे। तर त्यहाँ त निकै भिडभाड पाे थिया। सबैजना आफ्नाे कर्मथलो छाडेर जन्मथलो प्रस्थान गर्दै थिए। बल्लतल्ल एउटा बस चढेर मैले पनि आफ्नो कर्मथलो छाडेर जन्मथलाे प्रस्थान गरेँ।                                 

आज म घर आएकाे पनि एक महिना कटिसकेछ। समय रमाइलाेसँग परिवारसँग बिताउँदैछु। बिहान बेलुका आमाबुवालाई घरकाे काममा सहयाेग गर्छु। दिउँसोको समय आफूलाई गर्न मन लगेका काम गर्दै कटाउँछु। लकडाउनले गरेर साथीभाइसँग भेट्ने माैका भने पाएकाे छैन।                                          

भनिन्छ नि, आफूलाई मन नपरेकाे समय ढिलाे बित्छ अनि मन परेकाे निकै छिटाे। मलाई पनि एक महिना बितेकाे पत्ताे नै भएन।                                                                                  

आभास काफ्ले

तनहुँ

‘मनो बाबा’

पेशाले म एक बेकंर, विगत २१ महिना देखि राष्ट्रिय बाणिज्य बैँक बर्दघाट शाखामा कार्यरत छु ।जन्मघर बर्दघाट र कर्मघर भक्तपुर भएता पनि लकडाउनका कारणले मात्र नभइ जागिरको कारणले पनि म र मेरो छोरी यहाँ बर्दघाट छौँ भने श्रीमान् र परिवार भक्तपुरमा नै हुनुहुन्छ। केही महिना अघि देखि नै सामाजिक संजालका भित्ताहरु हुन् या टिभी च्यानलहरुमा हुन् कोरोना भार्इरसको व्यापक समाचार आइरहेका थिए।तर नेपालमा भने मानिसहरु त्यति चिन्तित थिएनन्। लकडाउन हुनुपूर्व चैत्रको पहिलो साता म र मेरी २ बर्षकी छोरी भक्तपुर घर बसेर फर्केका थियौँ। तोते बोलीमा बाबा मामु भन्ने मेरी छोरी हप्ता दिन आफ्नो बाबासँग रमाउँदै खेलेर मामाघर फर्केकी थिइन्।

सरकारी बैँक र यस क्षेत्रको पुरानो बैँक भएकाले हाम्रो शाखा मानिसहरुको भिडभाड अलि बढी व्यस्त हुनेमा पर्छ। कोरोनाको समाचार आइरहँदा पनि अत्यावश्यक सेवा अन्तर्गत पर्ने हाम्रो कार्यालय सञ्चालित नै थियो जसकारण एक हप्ताको छुट्टी पश्चात म पनि कार्यालयमा नै व्यस्त थिएँ। चैत्र ११ गते विहान ६ बजेबाट देशव्यापी रुपमा लकडाउन घोषणा हुनु अघिल्लो दिनसम्म कार्यालयमा मानिसको उत्तिकै भिडभाड थियो।

लकडाउनको पहिलो हप्ता त घरमै बसेर कहिले छोरीको टिकटक बनाएर कहिले छोरीसँग डान्स गरेर बित्यो ।चैत्र २० गते पर्ने छोरीको जन्मदिन सबैजना साथमा मनाउने योजना अनुसार श्रीमान् काठमाण्डौँबाट यहाँ आउने लगायतका धेरै कुराहरु अधुरै रहे।२ वर्षकी मेरी छोरी मोबाइलमा बाबाको फोटो हेरेर ‘मनो बाबा’ (मेरो बाबा) भन्छे। मेसेन्जरमा जसको भिडियो कल आए पनि ‘मामु बाबा’ भन्छे। छोरीका यस्ताे बेला चाहिँ मन भारी भएर आउँछ। 

घरपायक कार्यालयमा पोष्टिङ मिलाउन सके घरमा बस्न पाउने र छोरीलाई बुबा ममी दुवैको प्रत्यक्ष माया र रेखदेख हुने उद्देश्यले केही समय अघिबाटै सरुवा मिलाउने प्रयास गरिरहेको थिएँ। घरबाट सासु ससुरा सरुवा कहिले हुन्छ भनि प्राय सोधिराख्नु हुन्थ्यो, जवाफमा ‌वैशाखसम्म हुन्छ भन्दै आएको थिएँ। लकडाउनले गर्दा मेरो सरुवा मात्र नभएर छोरीको मामु अनि बाबासँग सँगै बस्ने दिन समेत पछि धकेलिएको छ। चञ्चले र चुलबुले मेरी छोरी भर्खर नयाँनयाँ शब्दहरु बोल्न सिक्दै छिन् र उनको बालापन झन् रमाइलो बन्दैछ। मामु छोरी साथमा भएता पनि हरेक दिन छोरीलाई छाडेर कार्यालय जानु पर्दा छोरीसँग समय बिताउन नपाउने मलाई कोरोनाले गर्दा छोरीसँग भरपुर समय बिताउने मौका जुराएको छ। हरेक कुराको सकरात्मक र नकरात्मक पक्ष भए झैँ यसलाई मैले कोरोनाको सकरात्मक पाटोको रुपमा लिएको छु। श्रीमान् भने मलिन अनुहार लगाउँदै छोरीको बालापनका क्रियाकलाप हेरेर रमाउनबाट म बञ्चित भएँ भन्नुहुन्छ। लकडाउन सुरुवात हुन अघि मात्र बाबालाई भेटेर आएका मेरी छोरी र मलाई समेत लकडाउनले महिना दिन नाघिसक्दा अब भने बर्षौ दिन टाढा भएको झैँ अत्यास छुट्न थालेको छ।

लकडाउनको दोस्रो साताबाटै हप्तामा दुई दिन शाखा खुल्ने भए देखि नै म कार्यालय जाँदै आएको छु। बैँकको फ्रन्ट डेक्समा काम गर्ने कर्मचारी हुँदा कोरोनाको संक्रमणको जोखिम उत्तिकै बढी छ। सक्दो सुरक्षित रुपमा काम गरिरहेता पनि ‘वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ’ भने झैँ कता कता रोग सम्झेर मनमा त्रास बसिरहन्छ। अनायासै सानी छोरी श्रीमान् र परिवारको याद आउँछ। हरेक दिन कार्यालयबाट आउने बित्तिकै ‘मामु मामु’ भन्दै ट्याप्प अँगालोमा बेरिने उसको बानी अहिले भने कोरोनाको संक्रमणको जोखिमले घर पुगे पछि केही समय सरसफाइमा समय बिताएर सुरक्षित भए पछि मात्र छोरीसँग खेल्ने गरेको छु। 

लकडाउनका दिनहरु सकिने बित्तिक्कै मेरी छोरीलाई उसको बाबासँग भेटाउने दिनको प्रतिक्षामा छ ।

सुष्मा पुन

नवलपरासी

नयाँ परिवार

कोरोना भाईरस रोग बनेर डढेलो जस्तै बिश्वोमा फैलिरहेको बेला लकडाउन औषधी बनेर मान्छेको घर-घरमा छिर्दै थियो। यही रोग र औषधीले हाम्रो देशलाई पनि कहाँ अछुतो राख्थ्यो र बारम्बार ढोका ढक्ढकाउँदै थियो।अब के हुने हो र कस्तो हुने हो भनेर सबैको मनमा उत्सुकता बढ्दै थियो।

म विद्यार्थी हुँ । इन्टर्नकै रुपमा भएपनि सरकारी अफिसका दिनहरु भर्खर सुरु भएका छन्। बिगत तीन महिना देखि म कृषि ज्ञान केन्द्र रामेछापमा कार्यरत छु। मेरो घर दैलेख जिल्लामा हो। रामेछाप देखि दैलेखको दुरी टाढा र एकै दिनमा नपुगिने भएकोले मैले हतार गरेर हिँडिहाल्ने आँट गर्न पनि सकिँन।अर्कोतिर घर नपुग्दै लकडाउन भएर बाटोमै रोकिने सम्भावना पनि थियो। त्यसैले, लकडाउनका दिनहरु कृषि ज्ञान केन्द्र रामेछापमै बिताउने निर्णय लिएँ।  

दिनहरु यसरी बित्न थाले :

खाना होटलको, बास क्वाटरको। अहिले अफिसका हामी सबै एउटा परिवार बनेर बसेका छौ। एक अर्कालाई चिन्ने यो एउटा राम्रो मौका बनेको छ। प्रत्येक दिन बिहान उठेर होटलमा चियागफ सुरु हुन्छ। कोरोनासँग सम्बन्धित सूचना साटासाट हुन्छन्। विश्वमा आउन सक्ने आर्थिक मन्दी, रोग र भोकको चपेटामा परेका जनता, टुक्रा-टुक्रा बनेको स्वास्थ्य क्षेत्र, रोकिएको पर्यटन ब्यबसाय , बजार नपाएका कृषि उपज, र बीउ नपाएको माटोको विकल्प खोज्ने प्रयास पनि गरिन्छ। हामी गफै-गफमा १० बजे खाना खान भेट्ने गरि छुटिन्छौं। खाना खाएपछि पढाइको काम सुरु हुन्छ। आजभोलि अफिसका फाइलहरुले बिश्राम पाएका छन्। अनि दराजमा थन्किएर बसेका किताबहरुले पाना पल्टिने अवसर पाएका छन्। पढाइसँगै लेखाइ पनि उस्तै रफ्तारमा चल्दै छ। धेरै लेख रचना तयार भएका छन्। अझ सबल पक्ष भनेको एकले अर्कालाई सुनाउने, सिकाउने र सच्याउने बिधि निकै सुन्दर तरिकाले प्रस्तुत भएको छ। यस्तो गर्दा गर्दै कहिलेकाहीँ दिन बितेको पत्तै हुँदैन।

हाकिम (दिनेश आचार्य) सरका भोगाइ, अनुभव र चोटिला विचार सुन्न हामी इन्टर्नका साथीहरु उत्सुक हुन्छौं। उहाँसँग मनाङका स्याउ फार्म देखि बर्दियाका धान खेत र रामेछापका गाँउ देखि जापान टोकियाे सहरसम्मका अनुभव छन्। जापानको विकासको कारण इज्रायलले कृषिमा मारेको फड्को, चिनको आर्थिक विकास, र नेपालले त्यसबाट सिक्नु पर्ने पाठ उहाँले सुनाउनु हुन्छ। बिबेक महत सरले पनि जानेका कुरा चाखलाग्दाे गरेर सुनाउनुहुन्छ।

कोरोना र त्यसले निम्त्याएको लकडाउनले गर्दा समस्या मानव स्वास्थ्यमा मात्र होइन, कृषिमा पनि उस्तै छ। जताततै मकैमा फौजी कीराले, आलुमा डढुवा रोग र जुनार-सुन्तलामा औसा किराले किसानलाई हैरान बनाइरहेको छ। यस्तो बेलामा कुनै कार्यक्रम गर्न नसकेपनि रेडियो, टि.भी र सामाजिक संजालका माध्यमबाट किसानलाई सु-सूचित गरि व्यबस्थापनका बिधि सिकाउने काम गरिरहेका छौं। अहिले रोगको समस्या पछि भोकको समस्या नहोला भन्न सकिन्न।

हामीले अफिस वरिपरिको सानो फार्म सजाउन प्रशस्त समय पाएका छौं। सिमी, स्कुस र मकैका नयाँ बोट रोप्न, प्याज, लसुन, र धनियाँका बारी गोडमेल गर्न, अम्बाका बोट काँटछाँट गर्न, गमलामा फूल सजाउन र त्यसमा सिंचाई गर्न राम्रो समय जुरेको छ। गड्याैलाकाे मल र पात-पतिङ्गर बटुलेर कम्पोस्ट बनाएका छौं। हामीलाई अरुबेला अफिसका काम सिकाउने हाकिम सर अहिले बारीका काम सिकाउँदै हुनुहुन्छ। अझ रमाइलो त ब्याटमिन्टन खेलेर बित्ने बेलुकाको समयमा हुन्छ। सधैं कामले थकित बनाउने शरीरलाई अहिले खेलले फुर्तिलो बनाएको अनुभव गर्दछु। साँझको समय साथीभाइ तथा आफन्तसँग कुराकानी गर्दै बित्ने गर्दछ।

कसैलाई थाहा छैन यो महामारीले कतिन्जेल सताउने हो र लकडाउन कतिसम्म पछाडि लागिरहने हो। तर आजभोलि मलाई लाग्दै छ जिन्दगी दुई पाटामा चल्ने गर्दो रहेछ। एउटा फुर्सद हुदाँ र अर्को फुर्सद नहुँदा।अहिले फुर्सदको समय चलिरहेको छ, जुन अझै सुन्दर, नयाँ सिकाइ र व्यवस्थितका साथ चलिरहेको छ। यस्तो महामारीको समयमा घर जान नपाए पनि अफिसको परिवारसँग रमाउने प्रयास गर्दैछु ।

सन्तोष खड्का

दैलेख

कृषि ज्ञान केन्द्र, रामेछाप

मुग्लानमा पूरा भएको सपना

कतारमा लक डाउन छैन । तर पनि कोरोना भाइरस संक्रमीत मानिसलाई कम्पनीले काममा पठाउन पाउँदैन। क्याम्प नै सिल गरि राखिएको छ। हाम्रो कम्पनीमा बिहान ६ बजे दिउँसो १२ बजे र साँझको ६ बजे  खाना कोठामा आउँछ।  दिसापिसाब  गर्न पालैपालो ट्वाइलेट जाने भन्दा अरु कामले बाहिर जान पाईंदैन।  कोठा सफा गर्ने मान्छे भन्दा फाल्टु मान्छे कोठामा आउँदैनन् । बाहिर देखेको भनेको कोठाको झ्यालबाट देखिने अर्को घरको भित्ता मात्रै हो।

क्याम्प सिल भएपछि हाम्रो दैनिकीहरु फेरिए। समयमा सुत्ने, समयमा उठ्ने, समयमा खाने र आराम गर्ने सबै रुटिन फेरबदल भयो। काममा जान आफ्नो पालो अनुसार उठ्ने गर्थ्यौं। अर्लामले ब्युझाउँथ्यो। साथीहरुलाई हल्ला होला भनेर छिटो छिटो आर्लाम बन्द गरिन्थ्याे र  बिरालोको चालमा तयार भएर खरायोको गतिमा बसतर्फ दौडनु दैनिकी थियो।

कोठामा थुनिएको दिन देखि अर्लाम पनि बन्द भयो। उठ्ने र सुत्ने समयको कुनै टुङ्गो  छैन। फेरि केही काम नभएपछि यो पेटमा भोक चै कति लाग्या! नेपालमा हुँदा खाना खाको एकैछिनमा भोक लागे अलक्षिणा लागेको भनेर गाली खाइन्थ्याे। पेटलाई भोक लाग्यो त हाम्रो के दोष। खानाको समय  निश्चित  र खाना थप्ने व्यवस्था नहुनाले भोक लागे पनि खप्ने वा पानी पिउनुको बिकल्प केही छैन ।

पहिला पहिला नेपाल गएपछि प्राय मुग्लानेको  मुख्य योजना निद्रा पुग्नेगरि सुत्ने हुन्थ्यो । अहिले भोकै पेट भएपनि मुग्लानको फलामे बेडमा मजाले निद्रा पूरा भएको छ। तर कोठाकै साथीले खोके वा ह्यछ्ँयू गरे भने पनि सब योजना चकनाचुर भए झैँ लाग्छ। कस्तो दिनको सामना गर्नु पर्यो। सुरुको पहिलो हप्ता त बितेको पत्तै भएन। हामी तीन जना साथीले आफ्नो बाल्य अवस्थादेखिका गाउँठाउँका सबै कुराहरु भनेर पनि सकिसकेम्। अब के कुरा पाे गर्ने हाे हुन्छ कहिलेकाहीँ त! कम्पनीले उपलब्ध गराएको तीनपल्ट खाना, इन्टरनेट अनि एसी सहितको कोठामै त यति उकुसमुकुस भएको छु। घर परिवार सम्झियो, यताउति गर्यो, मोबाइल चलायो, ड्युटीमा मनमा कुरा खेलाएर बस्ने फुर्सद हुन्न। आजकाल अनेक थरीका बिचारहरु मनमा खेलिरहन्छन्।

यो समयमा परिवार साथीभाइसँग  सामाजिक संजालमार्फत खुब कुरा हुने गर्छ। धेरै भिडियो कलमै कुरा  हुन्छ। केही समयको लागि भएपनि यहाँ कोठामै बन्द छौं भन्ने कुरा भुलिन्छ। थाहा छ, यो सब त केही समयको लागि मात्र हो। त्यसैले काेही पनि हतास नहुनुहाेला। मुग्लानमा बस्ने सम्पूर्णमा धैर्य गर्ने शक्ति मिलोस्।

प्रबिन कार्की

कतार

सम्धीज्यू

लकडाउनलाई पछ्याउँदै आएको आज ३५ दिन भएछ। दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा काम गर्ने भएकाले बिमानस्थल बन्द भएपछि हाम्रो पनि अनिश्चित तर सुखका दिन आए भन्ने महशुस भयाे। तर कोभिड १९ सङ्क्रमण हुने उच्च जोखिमको ठाँउ हो बिमानस्थल । काम गर्ने ठाउँमा अलग्गै डर। हप्तामै चार भिन्दा-भिन्दै समयमा काममा जानुपर्ने पीडा एकातिर, अर्कोतिर स्यालरी नआउने अपुष्ट समाचार। अनि फेरि उही त हाे, घरको समस्या आँखा अगाडि पर्खाल जसरी आइपुग्थे ।

लकडाउन पछि हप्ता दिनमै कम्पनीमा कोभिड-१९ का सङ्क्रमित फाट्टफुट्ट देखिन थाले। त्यसपछि कम्पनीले बाहिर निस्कन बन्देज लगायो। मानौँ एक किसिमको नजरबन्द जस्तै भयो। कोठा बाहिरबाट चाबीँ लगाइ ढोका लक गर्दिने अनि खाना-पिना सबै कोठामै आइपुग्ने सन्देश आयो। यदि शौचालयको आवस्यक परे भित्रबाटै ढोका ढकढकाउनु पर्ने भन्ने कुरा पनि सुनाए। कोठामा हामी चार जना बस्छौँ। सबै नेपाली। आएको एक साल पनि नबित्दै अन्जानमै पुलिस केस भएर २५ दिन जेल भोगेर आएको एकजना भाइ नेपाल जाने तयारीमा छ। सम्भवतः यो महामारी नभएको भए यतिबेला भाइ नेपालमा यहाँका दुख र गुनासा आँसु बगाउँदै आफ्नो आमाको पोल्टामा पोखिदिन्थ्यो होला। अनि फेरिरहेकाे हुन्थ्याे होला सुकुनको श्वास। तर बिडम्बना ऊ यहीँ छ। उदास। केही खोजेजस्तो मोबाइलमा घोप्टिरहने ऊ फुङ्ग उडेको अनुहार लिएर बस्छ। अनि फुत्त नेपाल पुग्ने आशामा हरेक दिन मेरो सम्धी ज्यूलाई सोध्छ , “दाइ नेपालको फ्लाइट कैले देखि रैछ ?” उत्तर दिदै सम्धीज्यू भन्नु हुन्छ “नेपालको हाल बेहाल छ बाला ! के.पी. ओलीले फ्लाइट नचलाउने रे अहिले ” सम्धीज्यूले मायाले बोलाउने उसकाे नाम ‘बाला’ हो।

सम्धीज्यू निहुरिएर मोबाइल कोट्याई रहँदा केही न केही समाचार कहीँ न कहीँबाट आउँछ आउँछ। लाग्छ कुनै पनि समाचार सम्धिकै मोबाइलमा पहिला आउँदो हो अनि मात्रै हाम्रोमा। नेपालमा के भयो? कस्लाई समात्यो? कोरोना कति जनालाई लाग्यो? यस्ता प्रस्नको उत्तर उहाँको मुखैमा छ। बेला-बेला झ्यालबाट कुमसम्म बाहिर निकालेर ‘ल सम्धी म त नेपाल गएर आउँछु है’ जस्ता ठट्यौली गरिरहनुहुन्छ। झ्यालको हावाले नेपालको शितलता दिन्छ भन्न्ने हामी ठान्दछौँ। हावा खाने बानी परिसकेको छ उहाँलाई र हामी सबैलाई। “बाला, तल आऊ, पानी पिउनलाई” एकोहोरिएर गाह्रो होला भनेर सम्धीज्यू बेला-बेला भाइलाई हौस्याउनुहुन्छ।

कम्पनीले अलिअलि गर्दै स्टाफहरुलाई एयरपोर्टमा कोभिड १९ को परिक्षण गर्न लग्यो। हामी पनि गयौँ। बाला गएन। उसकाे भिसा सक्किएको भन्ने कारण जनाइयो। दुई दिन पछि आउँछ रे भनिएको नतिजा आठौं दिन सम्म पनि आएन। आसेपासे सबैको आइसक्याथ्यो। सम्धी ज्यू भन्नु हुन्थ्यो ‘हाम्रो नतिजा त आउँदैन क्यारे, नआए नि हुन्थ्यो’ निकै मज्जाका गफ गरि उत्साहित गराउने उहाँको बानी हो। अनलाइनबाट चेक गर्न सकिने हुनाले समय समयमा मोबाइल कोट्याइ रहनुहुन्थ्यो। यहाँ कोठामा बस्दा अथवा यताउता जाँदा मोबाइल नकोट्याउने मान्छे नै छैनन् होला, अपबाद छोडेर। सङ्क्रमण पोजेटिभ देखिनेलाई कम्पनीले छुट्टै क्वारेन्टाईन बनाएर राखेको छ। यहाँको खाना, वातावरण अनि मौसम हेर्दा नेपाल याद नगरेको दिन हुँदैन। म १२ बजे भन्दा अगाडि नै सुत्ने कोसिस गर्छु। बिहान छिटो उठ्ने अभिलाषामा किनकि बिहान ६-७ बजे सम्म मात्रै नास्ता पाइन्छ। यदि समयमा उठ्न सकिएन भने एकै चोटि १ बजे मात्रै खाना पाइन्छ। राती ८:३० मा खाना खाएर चारै जना लुडाे खेल्न थाल्यौँ। यो समय हामी लुडो एक गेम पक्का खेल्छौं। सुरक्षित तरिकाले स्यानिटाइजर हातमा प्रयोग गरि बेसार पानी पिउँदै खेल्छौं। १२ बजेपछि म निदाएछु ।

“ल सम्धी ज्यू जाउँ, कुम्लो कस्नुस।” म झसङ्ग भएँ।

निकै अप्ठ्यारो मानेर सोधेँ ‘के भयो सम्धि ज्यू ?

उनले भने। “मेरो त कोरोना रिजल्ट पोजेटिभ आएछ!”

मैले डराउँदै सोधेँ “अनि मेरो ?? ”

“तपाईंको नेगेटिभ छ ।”

मलाई सन्तोक भएन अनि आफैले मोबाईल हेरेँ। हो रहेछ! तर सम्धीकाे परिक्षण भएको ८ दिन देखि हामी सङ्गै छौ। बिना कुनै सङ्कोच सँगै खाने, हाँस्ने अनि विशेष लुडो खेल्ने गरेका थियौं।

अब सम्धी क्वारेन्टाइनमा जानुहुन्छ। खान के होला त्यहाँ ? को-को हुने हुन साथमा! सुनेको मात्र हो भोगेको छैन। खाना खान सजिलो हुन्छ भनेर ल्याएको अचार आधा सिसि भैसक्यो। ह्या पठाइ दिन्छु ! ओहो, के भयो यो सम्धीलाई उफ्फ .. मैले धेरै सोचेँ । तर, सम्धी अँह कत्ति पनि अत्तालिएको देखिन। मेरा मुखबाट शब्द खुस्कियो “ओहो, सम्धी तनाव भो त!” तर उहाँले सजिलै भन्नु भो ,” के तनाव हुनि हो र ? फिट नै छु इम्युनिटि पावर दिने खाना खाएपछि त ठीक भैहाल्छ नि।” अनुहारमा उही चमक, उही हाँसोका साथ उहाँको जवाफले म चुप भएँ।

मैले मानेँ सम्धी ज्यूलाई। अब केही दिन उहाँको न्यास्रो मान्ने छ यो कोठाले, यी झ्यालले, यी ढोकाले, उहाँको बिस्तराले, कुर्सीले, भाइहरुले अनि मैले पनि।

सकारात्मक सोच नै प्रमुख हतियार रहेछ।

निर्मल भण्डारी

दुबई

चार्लि च्याप्लिनका कमेडी र सपनाहरु

आज भन्दा ठ्याक्कै २५ दिन  अघिसम्म युट्युबमा हेर्ने कथा हेरिरहन्थे। अहिले गाउँमा छु युट्युबकाे ढोका उघार्न पाछैन। डाटाबाट युट्युब खोल्न अलि नसकिने रहेछ। तर हेर्ने कथा पेजमा आएका लेखहरु भने समय मिलाएरै पढ्छु। बानी भनौं कि आदत यस्तै जो बसेको छ। खास्सै लेख्ने मान्छे त  हैन म, तर नलेखि बस्न पनि सक्दिन। फेरि जानेर लेख्ने पनि हैन, जान्नलाई लेख्ने चैँ पक्कै हो।

काठमाडौँ बसाइ भएको झन्डै एक बर्ष हुन लाग्यो। खुब बिदेशको भुत चढेको थियो मलाई। सँगैका दौँतरीहरुको फोटो पछाडि फ्रेममा सिड्नी ,टेक्सास अनि पेरिस टावर देख्दा अरे उनीहरुको लाइफ त बन्यो। अब उनीहरुले चाहे भने जे पनि गर्न सक्छन। अमेरिका बस्ने मान्छे पो हो त ऊ यस्तै सोच्थे! फेरि अमेरिका त बिश्वकै शक्तिशाली देश हो।कसकाे  मन हुँदैन अमेरिकन हावासँग सङ्ग साउती मार्ने अमेरिकाको जङ्गलको तस्वीरहरु देख्दा पनि हर कोहीको मन लोभिन्छ। मेरो नलोभिने कुरै भएन।

यस्तै सपना देख्थे र सोच्थे देख्नेकै सपना त पूरा हुने हो। मेरा पनि केही सपनाहरु यत्रतत्र फैलिरहेका छन। ती फैलिएका सपनाहरु साकार गर्न चाहान्थे। हो, विदेश गएपछि सबै सपनाहरु साकार हुन्छन झैँ लाग्थ्याे। मैले भने नि मलाई पनि विदेशको भुत चढेको थियाे। काठमाडौका थुप्रै कन्सलटेन्सी र मेनपावरहरुको ढोका ढक्ढक्याए। केही आवश्यकता भन्दा बढी खुले। केही लुट्नकै लागि खुल्ला राखिदिन्थे स्वागतमको पोस्टकार्ड टाँसिदिएर। दिनहरु यत्तिकै बित्दै थिए।

मलाई मेरा दिनहरु घाटामा गएको देख्दा खुब रुन आउँथ्यो। बानियाँटारको साँघुरो गल्लीबाट छिरेर पुगिने मेरो सानो कोठामा मेरा थुप्रै सपनाहरु खाँदिएका थिए। ती खाँदिएका सपनाहरु ओल्टैकाेल्टै आँसुहरु पुस्दै थिए। डिसेम्बरको महिना थियो। कोरोना नामक भाइरसले आतंक मच्चाइरहेको यताकता सुनिन्थ्यो। कहिलेकाहीँ त लाग्थ्यो, ६ महिना अघि मात्र बनाएको पासपोर्ट च्यातेर फालिदिउँ। तर सक्दिनथेँ। नेपालमा पनि भविस्य छैन। मलाई मेरै भविस्यले खुसी हुन दिएन। अक्सर दिनहरु सुतेरै जान्थ्यो।कहिले हाँस्ने बहानामा चार्लि च्याप्लिनका कमेडी भिडियोहरु हेर्थे। तर बिडम्बना म आफैले आफैलाई हसाँउन सक्दिनथे।

चैत महिनाको १० गतेबाट लकडाउन हुने कुरा सुनियो।  चैत पाँच गतेदेखि घरबाट फोन आउन थाल्यो। मलाई घर जाने मन पनि थिएन। म हाँस्न भुलि सकेको मान्छे। घर गएर बाबा ममीको अगाडि रुन्चे  अनुहार कसरी देखाइरहन सक्छु।  भयो, जाँदिन । सोचे , नौ गतेसम्म काठमाडौ असुरक्षित छ भन्दै फोन गरिरहनु भो बाबाले। अन्तिम पटक फोन गर्दा बाबाले भन्नु भाको थियो- ‘मोर्ने नै भएपछि सपरिवार सँगै मोर्ने। त उता हामी यता कसरी मन मान्छ बाबु।’ त्यै शब्दले हलचल मच्चाइदियो।

१० गते बिहानै लम्जुङको गाडी चढेर आए। लाग्यो, यो बर्ष यातायात व्यवसायीहरुलाई दुईपटक दशैं आएछ। काठमाडौँबाट लम्जुङ ४६० भाडा थियो। ६०० सय तिरियो। ठिकै छ आफ्नो घर जाँदैछु। १४० बढी तिर्नुमा मनखत भएन। फेरि सोचेँ, यो हामीले गलत गरिरहेका त छैनौं। माग्नेले जति माग्यो उति दिने बाध्यता छ। भयो छोडौ!

गाउँतिर अहिले दशैं नै लागेको छ। बुढा बा आमा मात्रै बस्ने मेरो गाउँमा अहिले रमाइलो छ। सबैको घरमा खुसियाली छ। बुढा आमा बाहरु भन्नु हुन्छ – ‘यो हैजा आको हो रे अहिले नाम फेरेर आको यस्तो पहिला पहिला पनि आको थियो।’

मैले भने ‘यो रोगसँग बिश्व डराइराछ। हजुरबुबा यसलाई सामान्य लिनु हुन्न। तातो पानी खानु पर्छ। छिन छिनमै हात धोईराख्नु पर्छ।’ ‘ हामीले जानेको अहिलेकाले के जानेका छ्न’ हजुरबाको आवज चर्कियो – ‘हाम्रो शरीरमा काट्यो भने धुलो माटो हालेर सन्चो बनाइन्थ्याे। हामीलाई तिमीहरु अहिले उम्रेका च्याउहरुले सम्झाउने!’ हजुरबुबाको त्यो कुराले तै चुप मै चुप भइयाे। गाउँमा अझै पनि पुरानो सोच  बोकेका मानिसहरु अक्सर भेटिन्छन्।

सदरमुकाम जस्तो घरभित्रै बसिराख्ने अवस्था गाउँतिर छैन पनि। अहिले मकै गोड्ने सिजन भएकाले सबै खेततिर नै दिनहरु हुन्छन्। सबैको खरले छाएको घरहरुमा सहरीया भाषा छाएको छ। गाउँ आएदेखि खेतबारीको काम र ताजा साग तरकारीको कमाल हुनसक्छ, म र मेरो परिवारलाई कोरोना आए जस्तै लाछैन।

रबि रिमाल

लम्जुङ

बरण्डा

बिहानीपखको मिठो निन्द्रा बिगार्ने  मोबाइलको झर्को लाग्दो घन्टीको आवाज नसुनेको पनि निकै दिन भइसक्यो। अहँ , पटक्कै  छैन, हतार दौड धूप केही छैन। पहिले र अहिलेको  दैनिकी पुरै फेरिएका छ। बिहान मज्जाले निन्द्रा पुगिन्जेल सुत्छु। उठेर  झ्याल खोलेर बाहिर हेर्छु नरमाइलो लाग्छ। बिहानीले मलाई नै जिस्काए जस्तो। हावाका झोक्काहरुले पनि मुटुमै हाने जस्तो! सधैं पाउने शुभबिहानीकाे आभास, अहँ पटक्कै पाउँदिन।      

प्रभातसँगै मनमा केही आशाको किरण सहित हतार हतार मोबाइल खोलेर  समाचार हेर्छु। मेरो मोबाइलको स्क्रिनमा भयभित र डर लाग्दो खबरहरुले  निरङ्कुश शासन चलाइ  रहेका हुन्छन्।

ट्याकै आज बाइस दिन भयो कोठाको मूल ढोका बाट बाहिर ननिस्केको। सारै छटपट लाग्यो र आज बिहान चाहिँ त्यही  दोकानसम्म तरकारी लिनु जान्छु नि भनेको,श्रीमानज्यूले के को जानु दिनु नी! तिमीहरू केयरलेस गर्छौं,मान्छेहरूसँग जोगिदैनौं रे! साँच्चै यहाँ मान्छेहरूले  सामाजिक दुरीको ख्याल गरेजस्ताे लाग्दैन। आफू तर्किनु खोज्यो सिधै हान्ने गोरु झै आउँछन्। 

सामान्य  अवस्थामा त श्रीमानज्यूको सरसफाइको नियम पालन गर्नु निकै हम्मे हम्मे पर्छ। झन् यो कोरोनाले त “कुन्ताको कुन कानमा सुन” भने झै, ओहो! अहिलेकाे त झन कुरै नगरौं। तरकारी र फलफूल पनि कहाँ ताजा खानु पाइन्छ र! तीन चार दिन बरण्डामा पूरै आइसोलेसनमा राखेर मात्रै खाना पाइने नियम छ हाम्राे घरकाे।

उति सारो फेसबुक मेसेन्जर नचलाउने अहिले त मेरो प्रिय साथी बनेको छ। मेरो बुढाबुढी बा आमासँग मेसेन्जरमा नै कुरा भइरहन्छ। ‘अमेरिका र इटाली भन्ने देशमा थुप्रो मान्छे मर्यो अरे त्यहाँ चाहिँ कस्तो छ ?’ भनेर सोधि रहनुहुन्छ। ‘यहाँ त नेपालमा जस्तै हो, त्यस्तो सारो परेको छैन। केही सुर्ता नलिनु होला है’ भन्छु। अनि देश विदेशमा रहनु भएका प्रिय आफन्तजन इष्टमित्र र साथीसंगीहरुसँग पनि सञ्चो बिसञ्चोको खबर ओहोरदोहोर भइ नै रहन्छ।

कहिलेकाहीँ त निकै धेरै फेसबुक चलाएर हाेला आँखा निकै दुख्छ।  औंलाले थिचेर मात्रै निदाउनु सक्ने अवस्था हुन्छ। भोलि देखि त चलाउँदिन भन्छु, फेरि यो मन कहाँ यति सजिलै बशमा आउँछ र ! फेरि भोलि त पारा उही। अरु काम गरौं, खै  के गरौं? मनमा त्यसै त्यसै अत्यास लाग्छ। गाउँ घरको सम्झनाले बेस्सरी सताउँछ अनि अतीततिर फर्केर रमाउन मन लाग्छ। आँखा अगाडि  मेरो बाल्यकाल फनफनी नाच्न थाल्छ। अनि अतीतमा चुर्लम्म डुबुल्की मार्दै मेरो बाल्यकालका स्वर्णिम क्षणहरु, मैले खेलेका ती हरियाली वनपाखा, उकाली ओराली अनि खहरे र खोल्साहरुसंग मितेरी गाँस्दै खुल्ला आकाशको चरी झैँ उड्छ मन।

अतीतमा  कुद्दाकुद्दै टक्क पूर्णविराम लगाइ  वर्तमानमा अडिदाँ यो मन सगरमाथाको चुचुरो देखि बङ्गालको खाडीमा खसे झै झस्किन्छु। अनि बाहिर बरण्डामा निस्केर यसो हेर्छु  दिदी बहिनीले खुब माया गरेर हुर्काएको क्याकटस र छेउमा मौलाएका  पुदिनाहरू । तल लमतन्न परेको सडक र घरी घरी कुद्ने कार र मोटसाइकलहरु। अनि माथि निलो खुल्ला आकाश। एक तमासले आँखाको धित मरुन्जेल हेर्छु ।

धन्य ! बरण्डा तिमी यहाँ छौ र त मेरो बन्दी जीवनलाई राहत मिलिरहेको छ।   

लक्ष्मी राई

भोजपुर हाल  जापान 


माया बाँडिन्न मैयाँ

साँच्चिकै उनको माया नहुँदो हो त यो कथा लेख्ने नि थिइँन होला! 

मेरी एउटी सानी मैयाँ छिन्। जसलाई म असाध्यै माया गर्छु। यो माया कुनै शब्दले परिभाषित गर्नै सक्दैन। एउटी राजकुमारीकाे मिठो कल्पना थियो चाहाना थियो। अनि भगवानसँग प्रार्थना पनि।जसलाई पाउँदा संसार जितेजस्तै भयो। जस्लाई देख्दा म सधैँ फुरुङ्ग हुन्छु। उनी मेरो जीवनलाई स्वर्ग बनाउने परी हुन्। मैले उनलाई परी नाम दिएकी छु। उनी मेरो काखमा, हृदयमा मस्तिष्कमा जहीँतहीँ खेलिरहेकै हुन्छिन। हरपल, हरक्षण सँगै खेल्थ्यौ। सँगै नाच्थ्यौ। सँगै गाउथ्यौँ। धेरै भन्दा धेरै रमाइलो र मिठा पलहरु बिताइरहेका थियौं।

यही क्रममै फेरि हाम्राे परिवारमा अर्को नयाँ सदस्य थपियो। आजभोलि उनको सानो भाइ साथै छ। लकडाउनको बेला सबै फुर्सद नै फुर्सदमा भन्ने लेखेको देख्छु। म भने मेरी मैयाँलाई यत्तिका धेरै दिनकाे लकडाउनमा पनि समय दिन नसकेकोमा सारै दु:ख मानिरहेकाे छु। किनकी उनी भन्दा सानो भाइ काखमा छ।उसलाई दुध खुवाउँदा फकाइ फकाइ सँगै सुताउँदा उनको मन दुखेको आभास गर्छु मैले। सानाे भाइ, घरधन्दा अनि केही खेतबारीको कामले उनलाई समय दिनै सकिरहेको छैन।

हरपल काख र साथमा राज गर्दै रमाइरहेकी मेरी मैयाँ आफूलाई निकै एक्लो महसुस गरिरहेकि छिन्। यत्तिका समयमा धेरै कुरा सिकाउने रहर थियो उनलाई। केही इतिहासका कुरा, केही सिर्जनाका कुरा, केही जीवनका कुरा, केही सुखका कुरा, केही दुखका कुरा पनि। तर उनलाई दिन समय नै पुगिरहेको छैन मनको रहर मनमै मात्र छ।

एकदिन उनले निकै घोरिएर प्रश्न गरिन् “मामु लकडाउन खुल्ने बित्तिकै भाइलाई घरमा छोडेर तपाईं अनि म मात्र घुम्न जाऊ न हुदैन?” मैले किन भन्ने प्रश्नमा उनले जवाफ”तपाईं र म मात्र गयौं भने तपाईंको हात समाउँदै, रमाउँदै हिड्न पाउँछु नि ! होइन भने त तपाईंले भाइ र मैले ब्याग समाउनुपर्नेछ ”   

ओहो! मेरी मैयाँको कलिला दिमागमा कत्ति ठूलो पिडा भरिएको रहेछ।सायद भाइलाई मात्र माया गरेको जस्तो लाग्दो हो उनलाई। यही कुरामा निकै दुख लागिरहेछ मलाई। माया त पक्कै बाँडिएको होइन। समय मात्रै बाँडिएको छ ।                          तर कसरी सम्झाउ मेरी मैयाँलाई।माया नै माया मेरी मैयाँलाई

प्रीया राना

नवलपरासी 


पात्रको क्वारेन्टाइन २

नमस्कार ! 

मेरो कोठाको साथी कोरोना संक्रमित भएकोले म अहिले क्वारेन्टाइनमा छु। हौसला मिले चौध दिनको क्वारेन्टाइन अनुभव डायरी यसरी नै पठाउनेछु।

अप्रिल २२,

प्रेमिकासँग मस्त कुरा गरिरहेको हुन्छ। कसैले बिहानको नौ बजेतिर ढोका ढकढकाउँछ र भन्छ  ‘आज दुई बजे कोरोना टेस्टका लागि जान तयार हुनु।आवाज कर्कश हो तर जीवन रक्षा गर्नु पनि त छ। सबै कर्कश आवाज खराब पनि त हुँदैनन्। परिस्थिति कस्तो भन्ने कुरा हो। परिस्थितिले त आमाहरू पनि रावणको रूप लिन्छन् र सिंहले पनि मृगको बच्चालाई आमाको काख दिएको हुनसक्छ। 

प्रेमिकालाई यो सबै कुरा बुझाउँछ। लक्षण छैन भन्दैमा दुख्यो मात्रै भनेर कोठामा बस्नु रोग बढाउनु पनि हो।चेक गर्नु आफ्नो स्थिति जान्नु हो। लागेकै भए उपचार हुन्छ। शङ्का भए क्वारेन्टाइनमा बस्नुपर्छ केही नभए फर्किइन्छ।प्रेमिकासंग कुरा गर्दा-गर्दै पात्र कोरोना टेस्ट गर्न जान तयार हुन्छ। उसकाे मनोबल उच्च छ। केही भएको छैन, फर्किन्छु भनि विश्वस्त छ।

तोकिएको समयमा एकसरो कपडामा निस्किन्छ। संयोग कस्तो भने बाह्र पन्ध्र घण्टा कुरा गरिरहने, अधिक माया गर्ने,  अधिक चिन्ता गर्ने  प्रेमिकासँग कारणवश हिंड्ने बेला कुरा हुँदैन। अरू सोच्न छोडेर मेसेज छोड्छ प्रेमिकालाई। लेख्छ, ‘म निस्केँ।’ तीनतारा डुबेर बिहानी उदाउँछ। आगोको रापमा पनि तीनखुट्टे ओदान डगमगाउँदैन। तीन अङ्कको पावर अनौठो र पक्का हुन्छ। आत्मबल थप्दै निस्कन्छ ऊ। 

अधिकांश कोठाका साथीहरू सङ्क्रमित भएकोले बाँकीलाई चेक गर्न पठाइएको हुन्छ। गाडीमा बीस बाइस जना बस्छन् र हस्पिटलतिर लाग्छन् आदेश अनुसारको हस्पिटलको बाटो समाउँछन्। ओहो! बाटोमा छाती बेस्सरी दुख्छ। बेस्सरी जल्छ। छटपटिन्छ। जसरी त्यो रात छटपटिएको थियो। यस पटक प्रेमिकालाई झन् बेस्सरी सम्झन्छ। आफ्नो आत्मबलले मात्र पुग्दैन। वरिपरिको वातावरण पनि त बुझ्नुपर्छ। छाती जल्दा-जल्दै हस्पिटल पुग्छ। सबैजना बाहिर निस्कन्छन्। 

हत्तेरी!  त्यहाँ पनि चेक नगर्ने पो भनिन्छ। गाडी पुन: अर्को हस्पिटलतिर कुद्ने तयारी गर्छ।सोसियल डिस्टान्स भन्ने कुरा मात्रै भन्ने भएको छ। मान्छेहरू ओहोर-दोहोर गरेकै छन् गाडी भित्र। 

जीवनमा पनि एकपछि अर्को गन्तव्य हुन्छ। एउटामा सफलता नपाए पछि कमजोरी कसको हो निर्क्योल गरेर गन्तव्य स्वयंले खोज्नुपर्छ। मानिसको जीवन एकै गन्तव्यमा निराश हुनलाई होइन। अवसर स्वयंले सिर्जना गर्नलाई पनि हो।केही दिनअघि कोठाको साथीसँगै पुगेको हस्पिटल नै पुग्छन् उनीहरु पनि। भन्न परेन यसबेला जो कसैको व्यवहार कस्तो हुन्छ भनेर। चेक गर्ने द्वारमा बसेको डक्टरका अनुसार त मान्छेलाई हप्काइ तर्साइ फिर्ता पठाउनु हो झैं छ। तर, बढी नै शसङ्कित हुनाले सबैजना एक पटक चेक गर्ने भनेर ओहोर-दोहोर गर्छन्। पालैपालो समस्या बताउँछन्।

‘केही दिनदेखि छाती जलेको आभास भइरहेछ। पहिला पनि आएको हो। यसरी फिर्ता कतिन्जेल जाने?’ ‘ज्वरो छैन भने चेक गरिन्न।’ अडान जायज होला। थोरै हैनन्। विश्व कोरोनामाय छ। हरेक व्यक्ति लगभग कोरोनाको नजिक छन्। सही हो, हस्पिटलले मान्छे थपेर मात्रै कहाँ भयो र? उनीहरूका पनि माथि मान्छे होलान्। जागिरै गरेका त हुन्। आम सोचाइ त ज्यानभन्दा जागिर बचाउनु हो । ज्यानभन्दा भिजा जोगाउनु हो। जागिर गरेकै छन्। गरीब देशबाट पश्चिमतिर मान्छे उडेकै छन्। 

कोठा फर्किने कि क्वारेन्टाइनमा जाने। दुबिधामा पर्छ ऊ। कोठामा खानाको जुन अवस्था छ त्यो भन्दा क्वारेन्टाइन जानु बेस। कम्तीमा हस्पिटलकै अन्डरमा भएपछि निश्चित दिनमा वा बढी नै असहजता भएको दिनमा भन्न सजिलो हुँदो हो। भनिन्छ नि। ‘ठूलो रूखले झरी ओत्छ।

‘डक्टरको सल्लाह अनुसार क्वारेन्टाइनको लागि दायाँ कोठातिर छिर्छ। दिउँसो चार बजे पुगेको हो। पाँच… छ, सात, आठ बज्यो कुनै रेस्पोन्स हुँदैन। एकपटक सबै निस्कन्छन्। सोध्छन्। ‘खानाको जिम्मा को लिन्छ?’ त्यहाँको आधिकारी भन्छ, ‘बाहिर ननिस्कनु तिमीहरू अब पुलिसको अन्डरमा छौ। अवज्ञा गरी बाहिर निस्किए बीस लाखसम्म जरिवाना हुन्छ।’ कर्कश आवाजले फेरि राज जमायो। देशको कानुन बलियो भएपछि मान्छेहरू अनुशासित हुँदारहेछन्। अनुशासित भएर कानुन पालना हुने हो कि कानुन पालन गरेर अनुशासित हुने हो एक छिन साेचि बस्छ। आफ्नो देश, देशको कानुन, जनता र सरकार आँखामा घुम्छन्। 

साथीसँग अनुरोध गर्छ, डाटा सेयर गर्छ। प्रेमिकालाई खबर गर्छ। प्रेमिकाको रुन्चे स्वरले कताकति आत्मबल घट्छ। तर घट्न दिँदैन। विश्वमा रोग लागेर भन्दा कम्जोर आत्मबलले धेरै मानिस चाँडै मरिरहेका छन्। कोठामा पो वाइफाइ थियो। कल र कन्ट्याक्ट भइरहेको थियो सबैतिर। यति बेला यात्रामा छ।मोबाइलमा ब्यालेन्स छैन। पैसा नै नभएको हैन। एटिएम बोकेकै छ तर अधिकांश एटिम बुथहरू बन्द छन्। मानौँ प्रकृतिले नै चाहेको हो यो। 

साँच्चै सहर शान्त छ, सुन्दर छ। ब्यालेन्स चेक गर्छ। ५९ पैसाबाटै शेखरलाई   ‘Sir 20 riyal transfer garidinu ta.’ भनी साँझ ५: १८ मै उसले मेसेज गरिसकेको छ। पर्खिरहेको छ ब्यालेन्सको बाटो। सायदै जीवनमा सबै थोक गर्न सजिलो छ तर कसैलाई पर्खिनुको पीडा पर्खिनेहरूलाई मात्र थाहा छ।

१९: १५ बजे टेलिकमको मेसेजको घण्टी बज्छ। Congratulations! 500MB has been successfully added to your account, valid until 25/04/20. You have now 250 MB FREE Bonus data! साथी शेखरलाई लाख-लाख धन्यवाद ज्ञापन गर्छ। आभार र धन्यवादका शब्द अपुग हुन्छ। कतै दुर र  दुरकै साथीको सहयोग, नाता नेपाली भएर मात्र हैन,  सम्बन्धको पुल हो साहित्य। दुवैको साहित्यप्रति लगावलाई सम्मान गर्छ। ओहो! कलमको शक्ति। हो यो कलमको शक्ति हो।

एकापट्टिबाट भन्ने हो भने जब-जब विपद पर्छ कोही साथीहरु कालोबजारी र अमानवीय व्यवहार गर्न कुरेर बस्छन्। तर अहँ शेखर, प्रदीप, खेम, प्रेमिकाजस्ता मानिसहरू छन् र बाँच्न चाहनेहरूको आत्मबल बढेर आउँछ। प्रेमिकालाई सान्त्वना दिन्छ। प्रेमिकाको बारबार मेसेज आउँछ। यही त हो प्रेम, यही त हो माया। आफूले प्रेम गरेको मानिसलाई दुख्दा आफैंलाई दुख्दो रहेछ क्यार। शब्दले सम्हाल्छ। शब्दको आयु लामाे हुन्छ।  शब्दमा शक्ति हुन्छ। शब्दमा ऊर्जा हुन्छ। शब्दमा प्रेम हुन्छ। शब्दमा विश्वास हुन्छ। “शब्द वेद हो, शब्द बुद्ध हो। शब्द ब्रह्म हो।” 

हरेक मानिसको जीवन अभावमै बित्छ। मानिसलाई कहिल्यै पुग्दैन। मानिस सन्तोषी छैन। डाटाले मात्रै नपुग्ने ठानेर १९: ०२ बजे  प्रदीपलाई मेसेज लेख्छ। ‘सर, यता पैसा निकाल्नै पाइएन,  क्वारेन्टाइनमा लागेँ बीस रियल ट्रान्सफर गरिदिनु है।’ कुनै दिनको सत्कर्म हो सायद वा पूर्वजन्मको फल। ठिक समयमा साथीहरूले पनि सक्दो सहयोग गर्छन्। ऊ डाटाबाट साथी खेमलाई मेसेज लेख्छ। जोसँग अलौकिक भेट हुन्छ, अलौकिक संवाद हुन्छ। अलौकिक आनन्द र प्रेम हुन्छ । यस्तो आपतको बेला साथी खेमको, सुझाव र निर्देशनले मन भरिएर ऊ पानी-पानी हुन्छ। 

पुनः : १५ बजे टेलिकमको मेसेजको घण्टी बज्छ।’Dear  Customer, you have received 20 QAR Top-Up from PRADIP GANESH.”डाटा छ। फेसबुक मेसेन्जरबाट दुबै साथीलाई आभारका शब्दहरूले खुसी र धन्यवादका व्यक्त गर्छ। 

कति कुरा लेखेर सकिन्न। संसारमा एक्लो छैन। आँखा खोलेर हेर्न पर्छ। कोही त छ। आँखाभरि खुसीको आँसु टिलपिलाउँछ। बाहिरबाट देखिने आँखाको आँसुको नामकरण सधैँ दु:खको हुन्छ। साथीहरूले चिन्ता नगर्न भनी सल्लाह र हौसला दिन्छन्। 

खुसीकै आँसु किन नहोस् पु्छ्न तत्काल आइपुग्छ प्रेमिकाको भोइस मेसेज। यो हो साथ । यो हो प्रेम । जहाँ तरङ्गद्वारा हरेक क्रियाकलापबारे बुझ्न सकियोस्। अर्कोमा के बितिरहेछ महसुस गर्न सकियोस्। अचेल आकर्षणलाई प्रेम भनिएको छ। प्रेमलाई बिहेको सुत्र मानिएको छ। प्रेमको नाममा धन,  दौलत, जात, मान सम्मान, प्रतिष्ठा खोजिरहेको छ प्रेमले। तर प्रेम आत्मबल हो। खुसी हो। प्रेमिकाको भाेइस मेसेज सुन्छ, उत्तर पनि भोइसमै फर्काउँछ।

ओहो! नौ बज्यो। सबैजना खाना खान निस्कन्छन्। खाना चाहियो नत्र कोठामा जान्छौँ भन्छन्। पुनः कर्कश आवाज सुनिन्छ। ‘खाना आउँछ, गाडी आउँछ। तिमीहरूलाई क्वारेन्टाइन ३६ मा लान्छ।’एक अर्कामा हेराहेर मुखामुख गर्ने समय पनि हैन रहेछ। सबका सब मोबाइलमा घोप्टेका छन्। कसैलाई पीर चिन्ता छैन जस्तो। कसैलाई समस्या छैन जस्तो। कोही कसैलाई केही चाहिन्न जस्तो सोधखोज गर्दैनन्।

एउटा आवाज आउँछ। ‘गाडी आयो ल गाडीमा बस।’एक मिटरको दुरी बिर्सन्छन् सबै। हुरुरु गाडीमा चढ्न हतार गर्छन्। आइडी र मेडिकल कार्ड देखाउँछन्। गाडीमा बस्छन्। CoVID-19 को असरले क्वारेन्टाइनको यात्रामा छन् विभिन्न देशका १८ जना । सरकारी बसले रातीको २२: १० बजे क्वारेन्टाइनको यात्रा सुरु गर्छ। उसले प्रेमिका, खेम, शेखर, प्रदीप सबैलाई क्वारेन्टाइन प्रस्थान गरेको मेसेज छोड्छ। प्रविधिको भरपूर प्रयोग गर्छ। थाहा छ, समय अनुसार चल्नु पर्छ। सरररर फेसबुक स्टाटस अप्डेट गर्छ।

लैजान्छु भनेको त क्वारेन्टाईन नम्बर ३६ हो तर गाडी मुख्य रोडमा निस्केपछि लामै यात्रा गरिरहेछ। गुडिरहेछ। यसरी कहाँ पुग्ने पत्तो नपाई पनि यात्रा हुँदो रहेछ । निकै पर पुगेपछि गाडी दायाँ मोडिन्छ। भित्रभित्रै गुड्छ। जहाँ ससाना बिल्डिङहरू बनिरहेका छन्। मानिसहरू हतार-हतार काम गरिरहेछन्। नजिकैका आवाज र चलिरहेका मेसिनहरूले बताउँछन् यो सब। 

चारैतिर दुई तले सलाईको बट्टाजस्ता सर्लक्क परेका भवन, बिचमा खाल्डो, त्यहाँनिर धेरै बेर गाडी रोकिन्छ।  कागजात चेक जाँच हो सायद। फेरि गुड्छ।  हरेक गल्लीमा सेक्युरिटीहरू तैनाथ छन्। मानिसहरू कोही देखिन्नन् तर गाईगुईँ आवाजले मानिस बस्छन् भन्ने अड्कल काट्न सकिन्छ। यत्तिकैमा गाडी ब्लक नम्बर ३३८ अगाडि रोकिन्छ।

गाडीको आवाजले बिल्डिङ भित्र रहेकालाई जानकारी हुन्छ क्यार सङ्ख्या थपियो भन्ने। नियम कडा रहेछ भन्ने कुरा गाडीको झ्यालबाट देख्छ ऊ ।एक-एकजना गर्दै निस्किन्छन्। तापक्रम जाँचिन्छ। कागजात मिलाइन्छ। दृश्य त भेडालाई खोरमा हालेजस्तै पनि देखिएको हो। रोग नलागोस्, लागेको भए उपचार होस्, भनि आएको हो। झट्ट हेर्दा रोग लाग्नकै लागि बोलाएजस्तो, मिसाइएजस्तो। 

एउटा आवाजमा उसले आफ्नो नाम सुन्छ, र बेलुका २३:१५ बजे ढोकाभित्र पस्छ । त्यो उसको क्वारेन्टाइन हो । अब यो चौध दिनको लागि उसको घर हो।

रूप रसाइली

कतार

एउटा अनौठो अनुभव

करिब दुइ वर्षदेखि पढाइको सिलसिलामा अस्ट्रेलियाको सुन्दर सहर सिड्नीमा छु।  संसारभरिबाट आएका मानिसहरुको कर्मथलो बनेको सिड्नी सहर हरेक प्रहर ब्यस्त रहने गर्दछ। आफ्नै गतिमा बगिरहेको यो सहर आफूसँगै वर्षौदेखि यहाँ बस्ने मानिसहरुको सपना साथ लिएर हिंडिरहेको छ। सपनाहरु पूरा गर्न हिँडेकाहरुको कथाले सिड्नी भरिएको छ। बितेका दुई वर्षको मेरो दैनिकी पनि यहाँका अरु मानिसहरु जस्तै भागदौडमै बित्यो। विश्वविद्यालयको पढाइ र पार्टटाइम कामको तालमेल मिलाउँदा मिलाउँदै बिद्यार्थी भिसामा यहाँ आएकाहरुको प्राय समय बित्ने गर्छ। मेरो दुई वर्षको पढाइ सकिएको छ र अब अन्तिम केही महिना मात्र बाँकी छ।

करिब दुई महिना अगाडिबाट नोबेल कोरोना भाइरस नफैलिएको भए सायद जीवन त्यसैरूपमा अघि बढ्ने थियो होला। तर भाइरसले अस्ट्रेलिया लगायत बिश्वभर नै महामारीको रुप लिएपछि भने अस्ट्रेलियाको संघिय सरकारले कडा कदमहरु चालेको छ। अन्तरास्ट्रिय तथा अन्तरिक उडान बन्द गरिएका छन्, अत्यावस्यक बाहेकका सबै क्षेत्र बन्द गरिएका छन्। त्यसका साथै नागरिकहरुलाई सामाजिक दुरी कायम राख्न भनिएको छ। सरकारले यी सबै प्रतिबन्दहरु अबको ६ महिनासम्मको लागि राख्ने तयारी गरेको छ। मेरो विद्यालयले पनि आफ्नो सबै पठनपाठन अनलाइनबाट सुरु गरेको छ।

म काम गर्ने रेस्टुरेन्ट पनि बन्द छ। यी कदमहरु भाइरसको संक्रमण रोक्नको लागि महत्वपूर्ण भएपनि म लगायत हजारौं बिद्यार्थीहरु,जो विशेषगरि सेवामा आधारित उद्योगमा काम गर्छन,उनीहरुलाई यसको  प्रतक्ष्य असर परेको छ। सरकारले केही समय अगाडि गरेको संचयकोषको पैसा निकाल्न मिल्ने निर्णयले भने केही राहत भएकाे छ। तर सरकारले चालेका यी लकडाउन लगायतका कदमहरु कहिलेसम्म रहि रहनेछ भन्ने अनिश्चितता कायमै छ।

म यो लकडाउनले गर्दा निम्त्याएको खाली समयमा आफूलाई गर्न मन लागेको तर पर्याप्त समय अभावमा नभ्याएका कामहरु प्राथमिकताका आधारमा गर्दैछु। किताब पढ्ने, आफूलाई मनपरेका फिल्म तथा वृत्तचित्रहरु हेर्ने । लेखनमा अझ धेरै समय दिदैँछु। “हेर्ने कथा” को पुरानो दर्शक मैले यस समयमा केही श्रृङखलाहरु फेरि दोहोर्याएर हेरेँ। “मायाको कथा” र “सिमानाको कथा” मलाइ मनपर्ने कथाहरु हुन्।                               

लकडाउनमा अरुबेला भन्दा म अझ बढी घरपरिवारसँग सम्पर्कमा छु। इन्टरनेटको विकासले, टाढा भएपनि आफ्ना आफन्त, साथीभाइसँग निरन्तर संवादमा रहन अत्यन्त सजिलो भएको छ।

नेपालमा तुलनात्मक रूपमा कम संक्रमणले केही राहत दिएको छ, तर समाचारमा हरेक दिन मानिसहरु हिंडेरै टाढा टाढा घरजान लागेका र कम आय भएका नागरिकहरुले धेरै दुख पाएको देख्दा नेपालको सरकारले यो भन्दा राम्रो व्यवस्थापन गर्न सक्थ्यो भन्ने लाग्छ।

यता अस्ट्रेलियामा पनि कोरोना संक्रमितको संख्या पाँच हजारभन्दा बढी पुगेको छ। मैले यो लकडाउनमा महसुस गरेको कुरा भनेको मानिसहरुमा परेको नकारात्मक मनोवैज्ञानिक असर हो। धेरै मानिसहरुले रोजगारी गुमाएका छन्। सामाजिक दुरीको नियमले गर्दा मानिसहरु घरबाट बाहिर निस्किन पाएका छैनन्। मानिसहरुमा भाइरसको संक्रमणको त्रास पनि त्यत्तिकै छ। यस्तो अवस्थामा सबैभन्दा राम्रो उपाय भनेको उचित मनोवैज्ञानिक परामर्श नै हो। मानिसहरुले पनि परामर्श लिन लाज अथवा डर मान्नु हुँदैन भन्ने लाग्दछ।

यो समय संसारभरिका मानिसहरुका लागि जटिल समय हो। तर यो समय पनि बितेर जानेछ र फेरि हामी आफ्नै भागदौडले भरिएको जिन्दगीमा फर्किएको हुनेछौं कुनैदिन। आखिर जिन्दगी घटनाक्रमहरुको संगालो न हो, तर पनि यो समय जीवनभर हाम्रो दिमागमा एउटा अनौठो अनुभव बनेर बस्नेछ।

मनिष गिरि

सिडनी, अस्ट्रेलिया

दिउँसो कि राति?

कोरोना संत्रासले झ्याप्पै छोप्यो। यदाकदा नेपाल बन्दको अनुभूतिमा अभ्यस्त नै बनिसकेका भए पनि एकान्तबास या बन्दाबन्दीकोबारे यसअघि त्यस्तो अनुभव त के अन्दाज समेत थिएन। त्यसैले त सुरुका केही दिनहरुमा बन्दाबन्दीमा रहन निकै सकस भयो। 

लामो दुरीका गाडीहरु बन्द हुने खबर आउनासाथ अब ‘लकडाउन’ हुने भयो भन्दै सहरलाई कर्मक्षेत्र बनाएकाहरु गाउँ जान हतारिए। ८ चैत्रमा नयाँबसपार्क पुग्दा देखेको दृश्यले चकित बनायो। प्राय दशैंमा देखिने यस्तो जमघट अहिले चैते दशैंको आसपास देखिदैँ थियो । तर मान्छेहरुको अनुहारमा उत्साह थिएन, थियो त केवल एउटा अनौंठो भय र गाउँ पुग्ने हताराे। सायद जीवनको जतिसुकै कठिनाइ र त्रासदीमा पनि मान्छेले आफ्नो भूमी र आफ्नाहरुको सानिध्य खोज्दो रहेछ। र यही खोजाइले प्राय मध्यमवर्गीय सपनाहरु अँकुराउने काठमाण्डौँ शहर रित्तिँदै थियो।

यसअघि भूकम्प हामी नेपालीले व्यहोरेको सबैभन्दा ठुलो विपत्ति थियो। त्यसले मान्छेहरुलाई घरबासबाट टाढा बनाएको थियो। तर अहिले कोरोना महामारीको तयारीका लागि अवस्था ठ्याक्कै उल्टो छ। घरभित्रै बन्दक बन्नुपरेको छ। हजुरबा बिरामी भएकाले यसबेला हामी गाउँ फर्किन सकेनाैं। हजुरआमा र बहिनीहरु लकडाउन सुरु हुने अघिल्लो दिनमात्रै घर गए। काठमाडौँमा बहिनीहरु हुँदाको रोमाञ्चक वातावरण छैन आजकल।

दिनभर हामी सबै ल्याप्टपमा घोत्लिरहन्छौँ। हजुरबालाई लोक कार्यक्रम ‘इन्द्रेणी’का हरेक भाकाहरु कण्ठस्त भैसके। बाबा प्राय बहसमूलक कार्यक्रमहरुमा भुल्नुहुन्छ। मेरा रुचीहरु छरपस्ट छन्। प्राय ल्यापटपकै किबोर्डमा औँला नाचिरहन्छन् अनि आँखा स्क्रिनमै एकोहोरिरहन्छन् । धेरै अघि देखि हेर्न भनि साँचिएका डकुमेन्ट्रीहरु हेर्नु थियो। केही फिल्म र सिरिजहरु सूचीमै थिए। केही थान पुस्तकहरु पनि यस्तै फुर्सदको पर्खाइमा थिए। तिनलाई बिस्तारमा सक्दै छु। यस्तो निष्फिक्रि बेला कमै आउँछ। केही नयाँ सिक्ने अवसर पनि हो यस्तो बेला। अरुबेला नियमित कामहरुबाट मुस्किलले फुर्सद निकाल्न सकिन्छ। त्यसैले केही अनलाइन कोर्सहरुमा पनि समय दिदैँ छु।

यता सहरमा बन्दक बनेपनि मन त गाउँमा नै पुगिरहन्छ। कहिले चेपे खोला तिर पौडिन पुग्छ त कहिले ढम्केका फाँट र बगरहरुमा दौडिन पुग्छ। कहिले राइनासका गुराँसका थुँगाहरुमा त कहिले हिमचुली र लमजुङ हिमालका दृश्यहरुमा झुम्न पुगिरहन्छ। यसो बेलाबेला मोबाइल र ल्याप्टपका पुराना तस्विरहरु पल्टाइरहन्छु। अनि सामाजिक संजालका स्टोरीहरुमा ती यादहरु पोस्टिन्छु। साथीहरु प्राय झुक्किन्छन् र प्रश्न गर्छन् “तिमी लमजुङमा हो र?”

आजकल समय, बार, दिन रातकै भेद हुन छाडेको आभाष हुन्छ। बेला बेला ठट्टा मिश्रित भावमा हजुरबा सोध्नुहुन्छ “दिउँसो हो कि राति?” समय यस्तै त छ। थोरै समयमा भएपनि जीवनको माया र अस्तित्व वोध गराएको छ। लकडाउनमा महिना दिन बितिसक्यो, नेपालको अवस्था सापेक्षित रुपमा त्यस्तो खराब छैन। तर पनि कुन रुपमा महामारी जाला, अझै कहिलेसम्म यो बन्दकको अवस्थामा रहनुपर्ला, अन्योलता कायमै छ।

गाउँघरतिर सोध्छु आनन्द छ। तर मान्छेहरुको उपस्थिति बाक्लिएर त्यता पनि संत्रास नछाएको कहाँ छ र। तैपनि सामाजिक दुरीका साथ प्रकृतिको सानिध्यमा रहन सहज छ। सधैँ दशैंतिहारमा भरिने गाँउका घरहरु अहिले भरिभराउ छन् । बालबालिकाका भविष्य, बाआमाका सुशान्त दिनचर्याका आकांक्षाहरु र युवाका सपना संकल्पहरु यतिखेर गाउँमै बन्दी बनेका छन्। विपत्तिमा गाउँ फर्कने यस्ता आवश्यकता र आकांक्षाहरुले फेरि आफ्नै गाउँमा ती सहर र दुर-परदेशमा देखिने सपनाहरु फुलाउन नसकिएला र? बिना आवश्यकता लहलहैमा हामीले अपनाएको मान्यताहरु र जीवनशैलीप्रति आफैँलाई प्रश्न गर्नुपर्ने उचित बेला पनि त हो यो ।आधुनिकताका नाममा लत्याइएका हाम्रा आफ्ना मौलिक दृष्टिकोण र जीवनदर्शनलाई नै पुनर्जागृत गर्ने अवसर पनि त हो यो !

मानव सभ्यताको यो हविगत देख्दा दिक्क लाग्छ। अनलाइनका पानाहरुमा पढिरहँदा म फेरि सोच्ने गर्छु, के मान्छेको चेतना साँच्चै फिर्ला त?? अहँ मान्छे निकै ज्याद्रो पो छ त ! लागेको थियो २०७२ को भूकम्प पछि मान्छे अलि जागरुक बन्लान्, सायद अब सहरमा चाप घट्ला। तर कति छिट्टै सब बिर्सिन्छ मान्छे। विपत्ति सकिनासाथ यसका सन्देशहरुलाई पाठका रुपमा ग्रहण गर्ने बानी मानव अहँकारले खाइसकेर पो हो कि??

आशावादी हुनु नै महाविपत्तिको सामना गर्ने अस्त्र हो। आशा छ हामी छिट्टै बौरिनेछौँ। हाम्रा चेतना र व्यवहारमा सकरात्मक रुपान्तरण हुनेछ । र जिम्मेवारीवोधका साथ पृथ्विमा मानव भविष्यको दिर्घकालीन सुनिश्चितताको लागि हामी फेरि नयाँ ढंगले लडिरहनेछौँ।

सन्जिव पौडेल

लमजुङ

हाल काठमाण्डौँ

पंख फिँजाइ आकाशमा उड्न चाहन्छु म!

हामीले सुन्दै आएको र भोग्दै आएको कुरा हो  कि “समय परिवर्तनशील छ।” आज आफै कोठाको एउटा कुनामा बसेर सोच्दै छु, महसुस गर्दै छु, अपनाउँदै छु । हिजो के थियो, आज के भयो …. हे दैव ! भोलि के हुने हो। सबैको रक्षा गर।

‘यो के भयो।आनौठो कुरा आयो के जाति रोग आयो’ भन्दै हुनुहुन्थ्यो आमाले बिहानै म कलेज जानेबेलामा। फेसबुक चलाउने मान्छे म। मोबाईल हातमा भएको मान्छे म, संसार मेरै हातमा थियो। चीन लागायत देशहरुमा कोरोना भाईरसका कारण मानिसहरुको मृत्यु भएको थाहा पाएको थिएँ। आमाले त्यही कुरा गर्नु भएको हो भन्ने लागेकाे थियो। त्यसैले कुनै वास्ता नगरि कलेजतिर लागेँ। अरु रोग जस्तै यो पनि नेपालमा आउनुभन्दा पहिला यसको औषधी आइहाल्छ भन्ने सोचेको थिएँ। तर त्यसाे भएन बेलुकी घरमा पुग्दा थाहा पाएँ कि चैत्र ११ गतेबाट नेपालमा पनि लकडाउन हुने भयो भनेर ।

कोभिड -१९ विश्वभरि फैलिरहेको र लकडाउन मात्र यस विरुद्द लड्ने उपयुक्त काम भएकाले मलाई नि ठिकै हो भन्ने लाग्यो । त्यसैले लकडाउनलाई कडा रुपमा पालना गर्नुपर्छ र आफू सुरक्षित भइ अरुलाई सुरक्षित राख्न सकिन्छ भन्ने साेचेर मैले पनि आफनो फेसबुक, इन्स्टाग्राम र साथीहरुलाई फोनबाट पनि यसबारे सूचित गराएँ ।

बिदा आहा! कसलाई प्यारो नहुने कुरा होला र यो? व्यस्त जिन्दगीबाट एकछिन आराम पाइने समय पो हो यो बिदा। ७ दिनको लागि लकडाउन भन्ने खबर सुनेर मन भित्र भित्र खुसी थिएँ म। न कुनै झन्झट न कुनै काम। आनन्दले सुत्ने हो भन्ने थियो। सुरुवाती समयहरुमा मलाई खासै सर परेन कति समय पछि बिदा थियो। आफूलाई मनपर्ने कामहरु गर्न थाले।

बिदाको सदुपयोग गरम् भन्ने भावनाले युट्युव हेरेर कसरी नयाँ नयाँ परिकार बनाउन सकिन्छ भन्दै पकाउने प्रयत्न पनि गरियो । र जे जसो भएपनि पकाएर आमा, बाबा, भाइ र मेरी प्यारी हजुरआमालाई पनि खुवाएँ । केक चाहिँ आफूले आफ्नै जन्मदिनको उपलक्ष्यमा बनाएको।तर त्यो केक कस्तो भयो, त्याे मलाई मात्र थाहा छ! नमीठो भए पनि त्याे मेराे प्रयत्न थियो त्यो। अरुले बनाएको देख्दा कति सजिलै बनाएको भन्ने हुँदोरहेछ, आफैँ बनाउँदा थाहा पाएँ कति मेहेनत चाहिने रहेछ भनेर।

लकडाउन हुनु अगाडि खाना कसरी पकाउने भन्ने कुरा सोच्न फुर्सद हुदैन थियो। बिहान ५:४५  बजे अल्छि गरि उठ्यो। त्यसपछि तातो पानी वा चिया, बिस्कुट खाएर कलेजको लागि निस्किनुपर्थ्यो। आज लकडाउन भएको १ महिना बढी भइसक्यो। आजकल फेसबुकमा अनलाइन कक्षा हुने भनेर कलेजको पेजबाट यो दिन, यो समय कक्षा हुन्छ है, भन्ने सन्देश आउँछ। त्यो देख्दा अलि मन खुसी हुन्छ। बिद्यार्थी जीवन सबैको एउटै त हो पढ्न मन नलाग्ने, तर आहिले ठ्याकै उल्टो भएको छ। यी मनहरुले सोच्दैछन् बरु कलेज खुलेको भए अनि पढ्न जान पाएको भए समय त बित्थ्यो। साथी भाइहरुसंगको भेटघाट र हँसीमजाकले समय त कट्थ्याे। आजभोलि लकडाउनमा आफ्नो कलेज, साथीहरु, पढ्ने कक्षा कोठाको धेरै सम्झाना आइरहेको छ। भनिन्थ्यो कुनै कुरा गुमाउँदा त्यसको असली मूल्य थाहा हुन्छ भनेर। हो आज यो लकडाउनको कारणले पढ्न कलेज जान नपाउँदा कलेजकै झल्झली याद आइरहेको छ। कहिले फेरि फर्केर आउने होलान् ती मेरा पहिले जस्तै दिनहरु। अनि म स्तब्ध हुन्छु ……………… मसँग कुनै जवाफ नै हुदैन ।

मेरो जीवन अनि मेरो छिमेकीको घरको पिंजडामा बन्द भएको त्यो सेतो परेवा। लाग्दैछ हामी दुबैको जिन्दगी उस्तै छ अहिले। ४ महिना भयो छिमेकीले त्यो परेवा पाल्न थालेको। खाना छ, बस्नलाई बास छ तर एउटै पिंजडा भित्र छ। पिंजडाबाट मुक्त भएको दिन उ कति खुसी हुन्छ होला है? त्यो भन्दा बढी खुसी म यो लकडाउन सकिएपछि हुन्छु होला! मेरो नभए नि त्यो परेवाको लकडाउन आज खुलिदिए हुन्थ्यो। कति रमाउँला। परेवासँगै म पनि मुक्त हुन चाहन्छु यो लकडाउनरुपी पिंजडा बाट!

सोफिया कुटु