चुम भ्यालीको अन्तिम गाउँ निलेमा रातभरि हिउँ पर्यो । पारिलो  विहानीमा सेताम्य डाँडाकाँडा चम्केका छन् । गहुँका मन्जरीले  ढाकेका हरिया खेतबाट हिम वाष्फहरु बिस्तारै हावासँगै उकालो लाग्दैछन् । 

निले चुम भ्यालीको अन्तिम मानववस्ती हो । यो भन्दा अलि माथि एउटा गुम्बा मात्र छ । त्यसपछि चौंरी चर्ने खर्कहरु । यार्सा गुम्बा टिप्ने पाखाहरु । अनि हिउँले ढाकेका लेकहरुले ओझेल पारिदिएका तिब्बती गाउँहरु । 

गाउँ चकमन्न छ । स्यार खोला सुसाएको र चरा कराएको मात्र सुनिन्छ । यो हिमाली गाउँ अघिपछि पनि लगभग यस्तै शान्त-शान्त हुन्छ । 

घर कुर्न बसेका छोरा मान्छे गाउँ छाडेर जान पाउँदैनन् । एक भाइ छोराले घर सम्हाल्ने जिम्मा लिनु पर्छ । 

घर कुरेर गाउँमै बसिरहेका पेम्बा छेवाङ लामा गुम्बामा भेटिए । 

वाङ्मो छिरिङले हामीलाई पाहुना खान बोलाएकी छिन् । 

उनका श्रीमान् पनि एक्लो छोरा । सम्पत्ति खाने नियमले बाँधिएका ।  हिउँद बर्खा, वाङ्मो दम्पत्ती यो एकान्त गाउँमा घर  कुरेरै बस्छन् । 

लामागाउँकी वाङ्मो सानो हुँदा गुम्बामा आनी बसिन् । त्यसपछिका केही वर्ष काठमाडौं बौद्धतिरै बिताएपछि बिहे गरेर निले आइपुगिन् । 

७६ वर्षकी टासी आमाको घोडा स्यार खोला पारि छिमेकीको खेतमा छिरेको छ । डिलमा बसेर टासी आमा घोडालाई बोलाउँदैछिन् । 

कर्मा लुन्डुप लामा पेशाले गोठालो हुन् । उनी आफ्नो मात्र होइन गाउँका मान्छेका चौंरी पनि लिएर बर्खाभरि लेकमा बस्छन् । चौंरी हेरिदिएबापत गाउँलेले उनलाई अन्न दिन्छन् । 

हिउँदभरि घरमै बाँधिएका चौंरीलाई अब लेकतिर सार्ने बेला भइसकेको छ । तर कुन दिन लाने भनेर साइत हेर्नुपर्छ । 

कर्माका एक जना दाजु बालखैमा  लामा पढ्न इन्डिया गएका । अहिले ठूलो लामा भएका छन् । रेचेन गुम्बाको पूजामा आएका बखत उनी घर पनि छिरेका छन् । कर्माले मौका छोपे । लामा दाजुलाई चौंरी गोठ सार्ने जोखाना हेरिदिन भने । लामाले भोलिकै साइत निकालिदिए । 

विहानै देखि कर्मालाई भ्याइ नभ्याइ छ । चौंरीसहित बसाइँ सर्नुछ । मान्छे र चौंरीका खान्कीका पोका पन्तुरा तयार हुँदैछ । 

कर्मालाई सघाउन अर्का कर्मा आएका छन् – कर्मा छेम्पे । उनी पनि गोठाला हुन् । लेकको गोठसम्म चौंरी पुर्याइदिएर उनी फर्किनेछन् । 

कर्माकी भाउजुले चौंरीको नाइकेलाई खाता लगाइदिइन् । सिँगमा घिउको टिका लगाइदिइन् । उसैगरी गोठालालाई पनि विदा गरिन् । 

चौंरीका दाम्ला फुके । गाउँका हिलाम्मे गल्लीहरुबाट चौंरीका लस्कर बिस्तारै अघि बढ्यो । 

पर दोबाटोसम्म घरका मान्छेहरु विदा गर्न आइपुगे । एक घुट्को रक्सीसँगै शुभ विदाई भयो । घरका मान्छे फर्किए । गोठका मान्छे चौंरी धपाउँदै उकालो लागे । 

धेरै दिन घरमा बसेका चौंरी अलमलिएका छन् । कुनै कुनै झोपो अलि चकचके छन् । दुःख दिइरहन्छन् । 

स्यार खोलाको किनारै किनार फुस्रा डाँडाका मुनिमुनि चौंरी गोठ अघि लागिरह्यो । 

फेरि हिउँ पर्न लाग्यो ।

दिनभरि हिँडेपछि कर्माको बर्खे गोठ पुगियो । 

चौंरीबाट सामान झारेपछि कर्माले आगो फुके । दले लामाको तस्बिरमा धुप बत्ती गरे । हिमाली खोँचको यो गोठमा कर्मा एक महिना जति बसेपछि, अझै माथि मिठा मिठा घाँस पाउने खर्कतिर बसाइँ सर्नेछन् । 

हामी कर्मासँग विदा भयौं । हिउँ थामिएको थिएन । यार्सागुम्बा टिप्न जाने एक हूल मान्छेहरु भेटिए । उनीहरुसँग गफिँदै हामी अझै उकालियौैं । 

पर मु गुम्बाको छेउमा उनीहरुले ल्याएको खाजा हामीले पनि खायौं । 

हिउँमा नाच्दै र गाउँदै उनीहरुसँग विदा भएर हामीले फर्कने बाटोतिर छिटो छिटो पाइला चाल्यौं ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply