Herne Katha – Episode 76

यो उदयपुरको उत्तरी भेगमा पर्ने बगुवा गाउँ हो । माझी बस्ती । गाउँ तल कोसी बगेको छ । कोसीपारि भोजपुर जिल्ला । 

नदी छेउका भिराला पाखाहरु सुरिला बाँसघारीले ढाकेका छन् । फविन्द्र माझी र दुई भाइ धमाधम बाँस काटेर पाखाबाट कोसी छेउमा सुल्क्याउँदै थिए । 

भोलि हामी बाँसको  चेफामा उनीहरुसँगै नदीमा बग्ने सोचमा थियौं । गाउँलेहरुसँग नदीमा हेलिँदाका डरलाग्दा अनुभवहरु थिए । 

माझी गाउँमा हामीले भोलिको पर्खाइमा रात बितायौं । 

बिहानै हामी कोसी बगर पुग्यौं । खोलाबाट उठेका कुहिरोहरु बिस्तारै डाँडामाथि उक्लँदै थिए । नदी शान्त थियो । 

यो पन्चकोसी हो । सप्तकोशीका पाँच नदीहरु यहिँ मिसिएका छन् । अरुण र तमोर भरे बाटोमा भेटिन्छन् । 

सन्तोष माझी आज बगाइ लाने चेफालाई चोयाले  कसकास पारेर अन्तिम रुप दिँदै थिए । 

माथि गाउँमा चाहिँ चेफा ठेल्नेहरु  घरबाट निस्कने तयारी गर्दै थिए । दिनेशकी आमाले बाटोमा खाने जाँड छानिदिइन् । 

हामी गाउँलेसँगै नदीतिर झर्यौं । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply