नेपालको नक्सा हेर्दाखेरि मनास्लु र गणेश हिमाललाई दायाँबाया पारेर एउटा भुगोल तिब्बततिर चुच्चो परेर धकेलिएको देखिन्छ । यही हो लुकेर बसेको चुम उपत्यका । 

१५ वर्षअघि मात्र विदेशी पर्यटकको लागि खुल्ला गरिएको चुम भ्याली पुग्न भने सजिलो छैन । 

धादिङबेसी छेउबाट सल्यानटार हुँदै आरुघाट पुगेपछि बुढी गण्डकीको तिरैतिर उत्तर लाग्नुपर्छ । पहिले पहिले आरुघाटबाटै १०-१२ दिन हिँड्नुपर्थ्यो । 

पहरा फोडेरै सनै सनै बनाएको बाटोमा अहिले जगत भन्ने ठाउँसम्म जसोतसो गाडी पुग्न थालेका छन् । 

कहिँ भीर कहिँ खोला पछ्याउँदै हवाइ डाँडासम्म हामीले मोटरमै यात्रा गर्यौं । त्यहाँबाट केही घन्टा हिँडेपछि पुगिने चिसोपानी हाम्रो पहिलो बास थियो । 

चैतको महिना, धादिङतिरका सुख्खा डाँडामा लागेको डढेलोको धुवाँ माथिसम्म आइपुगेको थियो । तुवाँलोले ढाकेका डाँडा पाखा र वनजंगल छिचोल्दै दोस्रो रात रेजम भन्ने ठाउँमा बिताएपछि तेस्रो दिन हामीले चुम भ्यालीको छेकोङ गाउँमा पाइला राखेका थियौं । 

तिब्बती र नेपाली जनजीवनको मिश्रण भनेर चिनिने चुम भ्यालीको कथा यहिँ छेकोङबाट सुरु हुन्छ ।

हामीसँग दिनभरि हिँड्ने वाङ्चुकको छोटो परिचय : यही गाउँ जन्मेका वाङचुक सानोमा चौंरी चराउँदै गोठालो भएर हिँडे । गाउँका अरु धेरै मान्छे जस्तै उनी पनि लामा पढ्न काठमाडौंको गुम्बामा गए । 

वाङचुकको मन गुम्बामा मात्र अडिएन । समयमै उपचार नपाएर गाउँमा आमा बितेको खबर काठमाडौंमा ६ महिनापछि मात्र पाएका वाङचुकको मन रोयो । उनी लामा पढाईसँगै विद्यालय गए अनि एच ए पढे । लामो समय काभ्रे नमोबुद्व गुम्बामा ५ रुपैंयामा उपचार हुने अस्पताल चलाएर बसेका वाङचुक आजकल औषधीका पोका र राहतका झोला बोकेर आफ्नै गाउँ डुलिरहन्छन् । 

बाटामा टासी डुन्डुप भेटिए । उनीसँग सुनका अक्षरले लेखिएको पुरानो बौद्ध ग्रन्थ छ रे । वाङचुकले टासी बाजेलाई ती ग्रन्थ देखाइदिन अनुरोध गरे । हामी बाजेको पछि लाग्यौं । 

गाउँमा नयाँ गुम्बा बन्दै रहेछ । गुम्बामा थान्का चित्र बनाउन आएका कलाकारहरुको खानपीनको जिम्मा गाउँलेको । गाउँलेहरु घरघरै आलु पिठो, नुन बटुल्दै हिँडेका थिए । 

आज पर राचेन गुम्बामा ठूलो पूजा रहेछ । गुम्बामा वाङ अर्थात् पर्साद थाप्न जाने मान्छेहरु बाटोभरि भेटिए । 

आकाश धुम्मिएको छ । अब केही दिनपछि मान्छेहरु घरमा ताल्चा लगाएर माथि लेकमा यार्सागुम्बा खोज्न जान्छन् । हिउँ पर्यो भने किरा भेटिँदैन । हिमाली गाउँमा मौसमी हिउँले सुख दिन्छ, बेमौसमी हिउँले दुःख । 

उचाई बढ्दै जाँदा हावा र पानी दुबै चिसिँदै थिए । यहाँनिर बुढी गन्डकीको एउटा हाँगो स्यार खोला अर्थात् पूर्वको खोला भनेर चिनिने रहेछ ।  स्यार खोलाको काठे साँघु तरेर हामी राचेन गुम्बा पुग्यौं । आनीहरु बस्ने राचेन गुम्बामा आज ठूलो पूजा थियो । 

हिउँ पर्ला पर्ला जस्तो भयो । छिरिङको होटलमा तातो स्यादू पारिल पाक्दै थियो 

छिरिङसँग फेरि भेट्नकै लागि भए पनि हामीले चिया थपी थपी खायौं । 

हाम्रो यात्रा निलेतर्फ अगाडि बढ्यो । साँझ पनि पर्न लाग्यो । हिउँ पनि पर्न लाग्यो । 

फुर्पे पुग्दा त अघि बढ्नै नसक्ने गरी बाक्लै हिउँ पर्यो । वाङ्चुकलाई फर्कनै पर्ने थियो । हामीसँग विदा भएर वाङ्चुक फर्किए । 

केही बेर पछि हिउँ थामियो । हिँड्ने बाटाहरु हिउँले मेटिदिएका थिए । निलेसम्म जाने गाउँलेका पाइताला पछ्याउँदै हामी अघि बढिरहयौं । 

चुम भ्यालीको अन्तिम गाउँ निले पुग्दा झमक्क साँझ परेको थियो ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply