गणेश हिमालले छेकिदिएको फुन्जोको छेकोङ गाउँ । सम्झनाहरुलाई त के ले नै पो छेक्न सक्छन् र । 

आजकल गाउँ आएको बेला फुन्जोका वाल्यकालका सम्झनाहरु यसरी बर्सिन्छन्, जसरी बर्सिन्छ हिउँ यो हिमाली गाउँमा । 

फुन्जोको सानो संसारमा माया गर्ने बाजे थिए । फुन्जो थिइन् । अनि थिए चौंरीहरु । बाजे र चौंरीले हिउँमा टेकेका पैतालाका छापहरुबाहेक फुन्जोको लागि यो संसारको अर्को नक्सा थिएन । क्षितिजभन्दा परको संसार फुन्जोको कल्पनामा पनि मुस्किलले देखिन्थ्यो । 

बाहिरी संसारले देख्दै नदेखेको चुम भ्यालीमा अनन्तदेखि ध्यानमग्न हिमाल र पहराहरु छन् । एउटी सानी केटी फुन्जो दिनभरि चौंरी चराउँथिन् । पहराका काप कापमा पुग्थिन् । ढुङ्गामाथि बस्थिन् र हिमालका ध्यान बिथोल्ने गरी गीत गाउँथिन् । 

फुन्जोका सम्झनाका सागरबाट जति लोटा पानी उभाए पनि त्यहाँ केवल बाजे हुन्छन् अनि हुन्छन् चौंरीहरु । 

फुन्जोलाई घर भन्दा गोठ प्यारो । त्यसैले त गाउँ आएका बेला उनी चौरी पुग्ने गर्छिन् ।

चौंरी गोठमा एकपछि अर्को ऋितुहरु बिते । एकदिन बाजेलाई लाग्यो फुन्जोले पनि संसार देख्नु पर्छ । बाटो खर्च दिएर बाजेले फुन्जोलाई शहरको बाटो लगाइदिए । 

हिमालमा हावा जस्तै उडी हिँड्ने फुन्जोलाई शहर सानो लाग्यो । गुम्बामा आनीहरुको जिन्दगी झन् साँघुरो लाग्यो । फुन्जो दाइसँग बस्न थालिन् । 

नौला मान्छेहरु, नौलो भाषा । शहरसँग दोस्ती गर्न फुन्जोलाई केही समय लाग्यो । त्यो समयले सनै सनै गाउँ बिर्साउन थालेको थियो । गाउँ मात्र हैन बाजे पनि बिर्साउन थालेको थियो । 

१३ वर्षको उमेरमा फुन्जो १ कक्षामा भर्ना भइन् । 

फुन्जो २ वर्षकै हुँदा आमा बितेकी । बुबाभन्दा बाजेसँग नजिक भइन् । काठमाडौंमै हुँदा बुबा बिते । बुबा बित्दा फुन्जोलाई वास्ता लागेन । बुबा बितेकै १५ दिनमा बाजे बितेको खबर आयो । फुन्जोलाई मुटु चुँडिएको जस्तै भयो । 

फुन्जोको दाइ गाउँभरिकै पढेलेखेका । गाउँमा कोही बिरामी पर्यो भने हेलिकप्टरबाट ओसार्नुको विकल्प थिएन । गाउँलेहरु आपत् पर्दा फुन्जोका दाइलाई गुहार्थे । 

दाइले यो काम बहिनीलाई जिम्मा लाउँथे । फुन्जोको काम एयरपोर्ट आउने जाने अनि बिरामी गाउँलेका लागि हेलिकप्टर खोजिदिने । 

केही महिनामै फुन्जोको पाइलटहरु र हेलिकप्टर कम्पनीका मान्छेहरुसँग राम्रो चिनजान भयो । हेलिकप्टरमा डोरीमा झुन्डिएर उद्धार गर्ने तालिम खुलेको सुनिन् । फुन्जोले आँट गरिन् । 

स्वीट्जरल्यान्ड पुगेर पनि तालिम लिइन् । 

हेलिकप्टरमा झुन्डिएर हिमालतिर ओहोरदोहोर गरिरहँदा कसैले उनलाई ट्रेकिङ गाइड बन्न सल्लाह दियो । हेलिकप्टर छाडेर अब फुन्जो विदेशीका भारी बोकेर हिमाल चढ्न थालिन् । 

नेपालका लोबुचे छोयु आमादाब्लम मेरा पिक मनास्लु जस्ता अग्ला हिमालहरू मात्रै हैन युरोप र अमेरिकाका कयन हिमाल चढिसकेपछि फुन्जोलाई अब सगरमाथा चढ्न मन लाग्यो । 

यतिबेलासम्म फुन्जो हिमालको गाइड भइसकेकी थिइन् । साथमा थिइन् अष्ट्रेलियन साथी स्यामी ।

सन् २०१८ को कुनै एक दिन उनै साथीसँग फुन्जो सगरमाथाको बेसक्याम्प पुगिन् । अष्ट्रेलियन साथीले हौस्याइन् – हेर फुन्जो तिमीले सगरमाथा चढेर मात्र हुन्न, किर्तिमान बनाउनु पर्छ । 

फुन्जोले आँट गरिन् । कति छिटो सगरमाथा चढ्न सकिन्छ हेरौं न त । 

बाटोमा अनेक हन्डर खाइयो । सोचेभन्दा बढी समय लाग्यो । फुन्जो निराश भइन् । ३९ घन्टा लागेछ । फर्केर आएपछि फुन्जोले थाहा पाइन् त्यो ३९ घन्टा त  विश्व किर्तिमान् पो भएछ । सबैभन्दा छिटो सगरमाथा चढ्ने महिलाको किर्तिमान आफ्नो नाममा लेखाइसकेपछि फुन्जोले बाजेलाई असाध्यै मिस गरिन् । 

फुन्जोलाई अब एक पटक आफ्नै किर्तिमान तोड्न मन छ ।

अहिले पनि फुन्जो पर्यटकका टोली लिएर कहिले मनास्लु, कहिले सगरमाथाका पदमार्गतिर भेटिन्छिन् ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply