Herne Katha – Episode 71

वीरगन्ज शहरको एउटा होटलमा प्रायजस्तो साँगितिक साँझ हुने गर्छ । एउटा साँझ प्रिती आफ्ना सुमधुर आवाज गुन्जाउँदै थिइन् । 

उनी सुगन्धीकी कान्छी छोरी हुन् । नाच्ने र गीत गाउने कर्म रोजेकी । 

वीरगन्जबाट १० किलोमिटर जति टाढा जितपुर नजिकैको गाउँमा पासवान परिवारको चिटिक्क परेको घर छ । घरमा बस्छन् सुगन्धी पासवान, राजवंशी पासवान, २ छोरी, १ छोरा र एउटी नातिनी । 

एकाविहानै घर नजिकैको बँगुर फारमको नित्यकर्मबाट सुगन्धी र राजवंशीको दैनिकी सुरु हुन्छ । 

राजवंशी पासवान सानैदेखि एक्लो थिए ।

राजवंशीलाई नाच्न गाउन खुब मन पर्ने । केटीका पोशाक लगाएर । 

राजवंशीले आफ्नो रहरलाई पेशा बनाए । उनी महिलाको भेषमा बिहे पार्टीहरुमा नाच्न हिँड्थे । त्यसैबाट गुजारा गर्थे । 

बिहेमा नाच्न एकदिन राजवंशी चितवन पुगे । त्यहाँ सुगन्धीसँग भेट भयो । माया बस्यो । राजवंशीले सुगन्धीलाई २ धुर जग्गाको छाप्रोमा भित्र्याए । 

हक्की र आँटी स्वभावकी सुगन्धी परिश्रममा विश्वास गर्थिन् । यी जोडीले जानेका र सकेका सबै काम गर्न थाले । देहातमा कुर्ता सुरुवाल लगाएर आएकी सुगन्धीको कुरा काट्नेहरु कम थिएनन् । राजवंशी र सुगन्धीलाई यस्ता कुराको बालै भएन । 

कर्मले यो जोडीलाई डोर्याइरह्यो । 

राजवंशी घर सम्हाल्छन् । सुगन्धी बाहिरफेरको काम ।

सुगन्धी त पहिले कुरा काट्ने र विभेद गर्ने गाउँलेका नेता नै भइसकिन् । समस्या र मुद्दामामिलामा परेका दिदी बहिनीहरु सुगन्धीलाई नै सम्झिन्छन् । उनी सहयोगी मन बोकेर टाढा टाढा पुग्छिन् । 

जेठी छोरी वीरगन्जका संघसंस्थामा काम गर्छिन् । भारतीय श्रीमानसँग सम्बन्ध बिग्रेपछि उनी बीरगंजमा डेरा गरेर बस्छिन् । सानी छोरीलाई आमासँग माइतीमै छोडेकी छिन् ।

बुबा राजवंशीको नाच्ने गुण कान्छी छोरीमा सरेको छ । कहिलेकाहिँ त बाउ छोरी नै नाचेर बस्छन् । 

अब त खान लाउन दुःख छैन । सुगन्धीलाई कहिलेकाहिँ लाग्छ राजवंशीले नाच्ने काम छाडे पनि हुने । राजवंशी हुन्छ हुन्छ भनेर टाउको त हल्लाउँछन् । तर जब बिहेको सिजन आउँछ राजवंशी आफूलाई सम्हाल्नै सक्दैनन् । लुगाफाटा र मेकअपका सामान बोकेर नाच्न हिँडिहाल्छन् । 

आज पनि पल्लो गाउँको बिहेमा राजवंशीलाई निम्तो आएको छ । हामी पनि राजवंशीको पछि लाग्यौं । 

यो गुलाबी घर, यो आँगन, आँगनमा राखिएको ट्याक्टर, मोटरसाइकल, घर छेउका सुँगुर फारम, केही जग्गा जमिन अनि साँझ विहान भान्छामा पाक्ने मिठा र पोषिला खान्कीहरु सुगन्धी र राजवंशीलाई भाग्यले होइन कर्मले  दिएको हो । 

सम्झिँदै सपना जस्ता लाग्ने अभाव र आँशुका दिनहरुलाई यो परिवारको खुल्ला हृदय र अपार मिहेनतले जितेको हो । यी हाँसो, खुशि र स्वतन्त्रता उनीहरु आफैंले आर्जेका सम्पत्ति हुन् । भुइँबाट उठेर ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply