यो म्याग्दीको दोबा गाउँ हो ।  पुरानो मगर बस्ति । हिमाल हाँसिरहन्छ । अनि हिमाल जस्तै हाँसिरहन्छन् नेत्र दाइ । न्यानो माैसममा भेडा धपाउँदै हिमालको जरासम्म पुग्ने नेत्र दाइ जाडो लागेपछि उँधो झर्छन् । यसरी गोठाला भएर उँधौली उँभौली गर्न लागेको ३० वर्ष बितिसकेछ । 

अहिले जाडो बढेको छ  । नेत्र दाइले गाउँ छेउमै गोठ ल्याइपुर्याएका छन् । गाउँ छेउ भएर के गर्नु नेत्र दाइको बास उही भेडी गोठ । 

बा ब्रिटिस लाहुरे थिए रे । उतै बिते । आमा पनि बितिसकिन् । दाजुभाइ लाखापाखा लागे । नेत्रले पनि बिदेस जाने सपना नबुनेका होइनन् । तर जुरेन । बरु बिदेस गएका उनका छोरा भेडा चराउनै भनेर घर फर्किए ।  

आज नेत्र दाइको गोठमा एउटा पाठो जन्म्यो । उता जंगलमा हिजो हराएका भेडा पनि खोज्नुछ । पारिलो घामले डाँडाकाँडा चुमेपछि नेत्र दाइले गोठ खोलिदिए । हामी भेडाका बथानसँगै नेत्र दाइ र परिवारको पछि लाग्यौं । 

एकछिन जंगलमा खोजेपछि हिजो हराएको एउटा पाठो मरेको भेटियो । जन्मिने र मर्ने सिलसिला नेत्र दाइको गोठमा चलिरहन्छ । 

साँझ घर फर्किने बेलामा पानी पर्यो । यस्ता घाम पानी र इन्द्रेणीहरु कति भोगे कति नेत्र दाइले । भेडाहरु घर फर्किन थाले । गोठमै पाठा पाठी छाडेर आएका आमाहरु चाहिँ अलि हतारमा थिए । दिनभरि चरेर भेडाहरु टन्न अघाएका थिए । नेत्र दाइ चाहिँ भोकै । घर फर्किएपछि अँगनो छेउमा बसेर मकै खाँदै उनले भेडासँगकाे सुखदुख सुनाए । भोली फेरि उहि दिन दाेहोर्यउनु त छँदै छ ।

Join the Conversation

1 Comment

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply