म्याग्दी सदरमुकाम बेनीबाट म्याग्दी खोलालाई नै पछ्याउँदै हामीले दरबांग जाने बाटो समातेका थियाैं । हामी कथाको खोजिमा थियाैं । 

कथा खोजीका हाम्रा यात्राहरु यस्तै हुने गर्छन् । कहाँ कतिखेर अडिन्छौं पत्तो हुँदैन । पात्रहरुले लोभ्याएपछि गन्तव्य बिर्सिदिन्छौं र त्यही सेरोफेरोमा कथा बुनिदिन्छौं । 

बजार बन्दै गरेका गाउँहरु छिचोल्दै थियौं । बाबियाचौर नजिकै मेला लागेको छ भन्ने सुनेर उत्साहित भएका थियौं । हामीलाई गाउँको मेला हेर्न मन थियो । आँगनमा उभिएर पारिलो घाम तापिरहेका नारायणदत्त अधिकारीले एउटा भाका लगिदिनोस् न भन्दै हामीलाई बोलाए । 

अधिकारी बासँग बिदा भएर केही बेर मोटर चढेपछि बाटोको तल्लापटि मेला लागेको देखियो । फलामे रोटे पिङ थियो । पाल टाँगेर बनाइएका ससाना खाजा पसल थिए । एकातिर फुटबल हुँदै थियो अर्को तिर हातमा धनुस समातेका मान्छेहरु तारो हान्दै थिए । हामीलाई तारोले तान्यो । 

माघे संक्रान्तिको छेकोमा बर्सेनी हुने मेला हिजो मात्र सुरु भएको थियो । मेलाको रौनक अझै दुई चार दिनमा बढ्ने बताइरहेका थिए मेला भर्नेहरु । 

तारो हान्ने ठाउँमा नेत्र मगर भेटिए । हामीले नेत्रलाई पछ्यायौं । 

सन्त कुमार राना पहिले पहिले खुब तारो हानी हिँड्थे । धनुषका ढाँचा र खेल्ने नियम फेरिँदै गएपछि उनी छेउ लाग्न थाले । तर पनि मन मान्दैन । आफ्नो पुरानो धनु बोकेर यस्तै मेलामा उनी भेटिन्छन् । 

खिम जुग्जालीसँग अरुको जस्तो महँगो धनुष छैन । कलिलै उमेरदेखि यो खेलमा लोभिएका खिमले आफ्नो सामान्य धनुसले नै आज चार खोल गरिसकेका छन् । 

साँझ ढल्न लाग्यो । मेलामा आएकाहरु घरतिर फर्कन लागे । दिनभरि तारो हान्ने केटाहरु चाहिँ एउटा छाप्रोभित्र पसेर आजको समिक्षा गर्न लागे । हामीलाई पनि बेनी बजार फर्कुन थियो ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply