Episode 93 – Sikaribas Ko Katha

हुलाकी राजमार्ग हुँदै पर्सा जिल्लाको ठोरी नपुग्दै विजयवस्ती भन्ने ठाउँबाट एउटा साँघुरो कच्चीबाटो जंगलतिर लाग्छ । घना जंगल छिचोलेपछि एउटा गाउँ पुगिन्छ । एकातिर चितवन र अर्कातिर पर्सा राष्ट्रिय निकुन्ज । जंगल माझको यो गाउँ हो शिकारीबास ।

शिकारीबासको कथा 

जंगल सकिने बित्तिकै गोठालाहरु भेटिए । जंगलको छेउमा बाख्रा चराइरहेका । हामीलाई भेट्ने बित्तिकै उनीहरुले बाघले बाख्रा लगेका कथा सुनाउन थाले । 

अलिक पर पुगेपछि शनिश्चर चौधरी र उनकी छोरी फेकनी चौधरी भेटिए । शनिश्चर माछा र गँगटा प्रसस्तै पाइन्छ भनेर वर्षौंअघि चितवनको कुनै गाउँ छोडेर यहाँ आइपुगेका थिए । 

गाउँका कथाहरु बाटोमै भेटिन थाले । सानो नानीलाई उपचार गर्न मान्छेहरु जंगलको बाटो जाँदै थिए । 

खोलाको छेवै छेवै हिँडेपछि गाउँ पुगियो । ५ कक्षासम्म पढाई हुने स्कुलमा गाउँकै शिक्षक सुशिला अर्याल भेटिइन् । 

हामी जमिन्दारको घर जान काँसघारी छिचोल्दै जंगलको छेउतिर लाग्यौं । 

गाउँको पुछारमा जंगलसँगै टाँसिएका दुई चार घर थिए । सुजित बस्नेत बाहिर निस्किने तरखरमा थिए । 

तुलसी कुसवाह कुनै बेला जमिन्दारको घरमा हली बस्थे । 

साँझ पर्ने बेलामा गाउँलेहरु खोलामा भेटिए । पिउने पानी पनि यही खोला नुहाउने पानी पनि यहि खोला । 

स्कुलको एउटा कोठामा हामीले आश्रय लियौं । गाउँलेले पकाउने भाँडा कुँडा ल्याइदिए । 

झमक्क रात परेपछि केटाहरु गस्ती गर्न स्कुल छेउ आइपुगे । 

ओमप्रकाश चौधरीका श्रीमान् श्रीमती पनि रुखमा सुत्न आए । हिजो रातभरि पानीले भिजाएकोले ओमप्रकाशले आज भारत गएर प्लास्टिक किनेर ल्याएका रहेछन् । 

मध्यरातमा कल्याङबल्याङले हामी बिउँझियौं । खेतमा एउटा हात्ती छिरेछ । 

गाउँलेहरुले हल्लाखल्ला गर्दै पुल्ठो बालेर हात्ती खेदे । 

विहान सबेरै हामीले हिजो आएको जंगलको बाटो समात्यौं । ओमप्रकाश चौधरी पनि टाढासम्म हामीलाई साथी आए । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply