असोज लागिसक्दा पनि बेला बेला झरी परिदिन्छ । खै किन हो ठग्गु झरी पर्दा टोलाइरहन्छन् । गाउँ छाडेर बजार नजिकैको एक कोठे डेरामा आएको धेरै भएको छैन । 

सम्पत्तिको नाममा एउटा साइकल, विछ्यौना र केही थोत्रा लुगाहरु । आफन्तको नाममा ३ वर्षे छोरी । यही सानी छोरीको निर्दोष आँखाहरु हेर्छन् र सन्तोषको सास फेर्छन् । 

२ दिन अघि मात्रै सारा गाउँले धुमधाम जितिया पर्व मनाएको थियो । ठग्गु सँधै झैं बजारमा रिक्सा गुडाउँदै थिए । घरमा दिनभरि छोरी एक्लै बालाई पर्खेर बसिरहेकी थिइन् । चाडबाड पनि नआइदियोस् जस्तै लाग्छ । 

डेढ वर्षअघि श्रीमतीले अर्कैसँग बिहे गरेर हिँडेपछि ठग्गु र छोरी एक्लिए । गाउँमा बस्न मन लागेन । छोरी च्यापेर धनगढी छेउको मनहेरा गाउँमा बसाइँ आए । सुरुमा पाइडल रिक्सा चलाए । आजकल ब्याट्रीबाट चल्ने रिक्सा चलाउन थालेका छन् । 

छोरीलाई भुल्याउन ठग्गु हातमा पाँच दश रुपैंया राख्दिरहन्छन् । छोरी खुर्र नजिकैको पसलमा दौडिन्छिन् र चकलेट बिस्कुट खाइरहन्छिन् । 

राति परेको पानीले आँगन हिलिएको छ । सँधै झिसमिसेमै छोरीलाई एक्लै छाडेर काममा जाने ठग्गुलाई आज घरका अरु काम पनि भ्याउनुछ । 

अलिकति खाना ठग्गुले दिउँसोको लागि छोरीलाई छुट्याइदिए । बाँकि चाहिँ बेलुकीको लागि पोको पारेर दलिनमा झुन्ड्याए । 

आज शनिबार । हप्ताभरिका काम भ्याएपछि ठग्गु मन नलागी नलागी साइकल निकाल्छन् । छोरीलाई एक्लै छाडेर ठग्गु धनगढी बजारतिर लागे । 

छोरी नथाकुन्जेल छिमेकका नानीहरुसँग खेलेर बसिन् । कहिले पानी पर्यो कहिले घाम लाग्यो । बुवाले राखिदिएको खाना खान पनि घर फर्केर गइनन् ।  छिमेकी दिदीले नै भात खान दिइन् । छिमेकीकै फलैंचामा राधिका भुसुक्क निदाइन् । 

साँझ परेपछि ठग्गुले रिक्सा थन्क्याए । बाटोमा छोरीको लागि केही फलफूल किने र उही साइकल ठेल्दै डेरातिर लागे । 

अँध्यारो भइसकेको थियो । छोरी वरपर थिइनन् । आत्तिँदै ठग्गुले एकछिन छोरीको खोजि गरे । यो वेचैनी ठग्गुको दैनिकी बनिसकेको छ । 

छोरी टुप्लुक्क घर छेउमै देखा परिन् । बाउ छोरी उही छाप्रोभित्र छिरे । 

दिनभरि बासँग न्यास्रिएकी छोरी निन्द्राले समात्दै लगेपछि रुन थालिन् । ठग्गु पनि छोरी सँगै रुन थाले । 

आज खै किन हो ठग्गुलाई भोक लागेन । विहान दलिनमा झुन्ड्याएको भातको पोको यस्सै रह्यो । 

छोरीलाई ठग्गुले तेल लगाइदिए । छोरी निदाएपछि ठग्गुले डेराको ढोका बन्द गरे ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply