Kumaon ko Katha |

बाजुराको डोगडी गाउँदेखि भारतको कुमाउँ-गढवालसम्मको दूरी कति टाढा होला ? 

यो पहाडदेखि त्यो पहाडसम्मको दूरी किलोमिटर र माइलमा मात्र होइन, बाध्यता र भोकमा पनि नापिँदो रहेछ । बाजुरादेखि पिथौरागढ दुई छाक खाना र केही रोटी मात्र टाढा छ । 

नेपालका दुःखका पहाडहरु छाडी, काली तरेर भारतका पहाडहरुमा सुख खोज्न पुग्ने मान्छेहरुले परदेशी कथा बाँचेको पुस्तौं भयो ।

Kumaon ko Katha – Episode 101

 कुमाउँको कथा

माघ महिना । दिन ढल्न लाग्दा पनि कुमाउँको पिथौरागढ शहरमा घाम प्यारो छ । छोरा मान्छेहरु थाकेको शरिर लिएर पिठ्युँमा जुटको बोरा टाँसेर यता उती हल्लिरहेछन् । 

धुलाम्मे मैदान छेउ पर्खालमा अडेस लागेर चैती र आफन्तहरु दुःख सुखका वात मार्दैछन् । 

ज्ञानबहादुर उर्फ काले उर्फ छोटु १२ वर्षमै यहाँ आइपुगेका थिए । अहिले त सपरिवार यतैको भइसके । 

नेपालको सम्झनाले बेला बेला भक्कानो छुटाउँछ । 

नेपालका चुनावमा खसालेका मतले किमत नपाएपछि किस्मत खोज्दै आएकाहरु पिथौरागढमा जताततै भेटिन्छन् । उता देश दुखेको छ, यता दिल दुखेको छ । 

“नयाँ कथा: कुमाउँको कथा

साँझ पर्ने बेला हतार हतार बोजु बोक्न दौडिरहेका भक्त बहादुर रावतसँग जम्काभेट भयो । पुरानो सुरुवालको भित्री गोजीबाट पाँच सय भारुको नोट निकाल्दै उनले परदेशमा नेपाली माया पोखे । हाम्रो मुटु बेस्सरी गाँठो पर्यो । 

भक्तले चिया खुवाउने भए । उनका साथी मंगल रावत चाहिँ कफी खाउँ भन्दै थिए । 

हामी उनीहरुसँगै एउटा साँघुरो डेरामा पुग्यौं । अमृत रावतले जुनिभर यही शहरमा भारी बोके । अहिले उनका छोरा मङ्गल भारी भोक्दैछन् । अमृत छोरालाई भेट्न आज मात्र आइपुगेका हुन् । 

अँध्यारा गल्लीका डेराहरु साँझको रोटी सेक्दैछन्। दिनभरि बोजु बोकेर लास्टै थाकेका  शरीरहरु शान्त छन्। 

पार्वती कठायतका छोरा सोसिन्द्र गाउँमा सँधै पहिलो दोस्रो हुन्थे । पाठशालामा पढाइने अमरसिँह थापा र बलभद्र कुँवरले कुमाउँ गढवाल जितेका वीरताका इतिहासहरुले परिवारको पेट भरेन । सोसिन्द्रले देश छाडे, स्कुल छाडे, र वालखैमा आइपुगे उही कुमाउँ। भोकसँग युद्ध गर्न। 

सपरिवार भारतमा मजदुरी गरेको कमाइले गाउँमा ऋण तिर्नुछ । उनी हरेक साँझ यसरि नै हिसाब राख्छन् लिनु पर्ने र दिनु पर्ने । 

आज आइतबार । अलिक फुर्सदिलो दिन । कोही सुस्ताएका छन् । कोही काममा भिडिसके । 

काम सिकाउन पार्वतीले गाउँबाट दिदीकी छोरी लिएर आएकी छिन् । 

पिथौरागढको माझमा गोर्खालीले दुईसय वर्ष पहिले बनाएको किल्ला घामको किरणमा मुस्कुराइरहेछ। सडकमा बलभद्र कुँवर र अमरसिँह थापाहरु भारी बोकिरहेछन्। 

काली पारि नेपालका विद्यालयहरुमा इतिहास पढाइँदैछ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply