Herne Katha – Episode 60

२० वर्षको उमेरमै सन्यासी भएका ३३ वर्षे भिक्षुको जिन्दगीले छोटो समयमा लामो यात्रा गरिसक्यो । भन्तेको कथामा ३  वटा कुरा अघिपछि जेलिँदै आउँछन् । उनको बाल्यकाल र प्रकृतिसँगको प्रेम, उनले बनाएका विद्यालयहरु र  घर परिवार त्यागेर भिक्षु भएको कथा ।  

अवधेश त्रिपाठी लुम्बिनी छेउको हुनेखाने बाहुन परिवारमा जन्मेका थिए । घरपरिवार र समाजसँग नजिकिने बुबालाई गाउँमा इज्जत गर्थे । एक जना फिरन्ते काका जोगी भएर हिँडेका थिए । जोगी काका बर्षमा एक फेर घर आउँथे । बालख अवधेश डुली हिँड्ने काकाका रुमानी कथाहरु सुनेर रमाउँथे । अवधेशलाई गाउँसमाजमा बुवाले पाएको मानसम्मान र मायाभन्दा जताजता पाइलाले डोर्याउँछ उतै जाने काकाका रुमानी कुराले उडाएर टाढा टाढा लैजान्थ्यो । 

त्यो मधेशी केटो पढ्ने  स्कुलमा आँपका रुखका पर्खाल  थिए, हाँगाबिँगाका छाना र माटोको बिछ्यौना । 

५ कक्षापछि  अवधेशकाे जिन्दगीले नयाँ मोड लियो ।  स्कुलमा साइकल चढेर आएकी एक भिक्षुणी र बालबालिकालाई रुखविरुवा माया गर्न सिकाउने तालिम दिन आएको एउटा संस्था । 

प्रकृति क्लबका सदस्यहरु खोलै खोला डुल्थे । बोटविरुवा हेरेर रमाउँथे । चराचुरुङ्गी गन्थे । गुँड र अन्डा गन्थे । खोलाखोली डुली हिँड्ने अवधेशको खोला जस्तै लामो बाटो त्यति बेलै तय भयो । 

किताब किन्न नसकेर पढाइ छाड्नुपर्ने विद्यार्थीहरुलाई पुराना किताब खोजिदिन थाले । वरपरको समाज बदल्न कापी किताब नै चाहिन्छ भन्ने पाठ अवधेशको जिन्दगीको किताबमा उतिबेलै लेखियो । 

एसएलसीपछि अवधेश साइन्स पढ्न काठमाडौं गए मन चाहिँ गाउँमै छाडेर । मन र तन सँगै हुन नपाएपछि छटपटी भयो । हिउँदे विदामा गाउँ आएका बेला अवधेश र साथीहरुले गाउँका नानीबाबुहरुलाई आँपका बगैंचामा ट्युसन पढाउन थाले । कहिल्यै विद्यालय नदेखेकाहरुको जमघट बगैचामा हुन थाल्यो । 

अवधेश र साथीहरुलाई पढाउने काममा लत बसिसकेको थियो । 

अवधेश पढाई सढाई छाडिदिएर गाउँमै फर्के । र आँपको रूखमुनि जन्मियो एउटा सानो विद्यालय । 

घरपरिवारका विशाल अपेक्षाहरुलाई चटक्कै छाडिदिएर एउटा स्कुलको पछि लाग्नु अवधेशको लागि सजिलो निर्णय थिएन । 

अवधेशले क्याम्पसको पढाइ मात्र होइन परिवार पनि छाडिदिए ।   उनी आजकल गेरु वस्त्रमा घर परिवारबाट टाढा भेटिन्छन् । साथीभाइहरु अवधेश दाइ भनेर बोलाउँदैनन् । उनी भिक्षु मेत्तेय भइसके ।

भिक्षु, जोगी भन्ने बित्तिकै हाम्रो कल्पनामा मन्दिरभित्र जपध्यान गरेर बस्ने अर्ति उपदेश र प्रवचन दिने वयोवृद्ध बोरिङ मान्छेको कल्पना थियो । तर यी भिक्षु फुर्सद हुने बित्तिकै दुरबीन भिरेर चरा हेर्न वन जंगल हिँड्दा रहेछन्  । 

हुन त उनी सांसारिक झमेला र माया मोह त्यागेर भिक्षू भएका  । तर सानै उमेरदेखि उनको माया स्कुल जान नपाएका नानीबाबुमा बस्यो ।  मोह चाहिँ बोटविरुवा र चराचुरुङगीमा । घर परिवार त्यागेपछि भिक्षु मेत्तेयको जिन्दगीको परिधि झन् फराकिलो पो भयो । 

बुद्ध जन्मेको ठाउँ लुम्बिनीका मन्दिर दर्शन गर्न टाढा टाढाबाट तिर्थालू आउँथे । अवधेशका लागि लुम्बिनीका बँगैचा दिनहुँ हिँड्ने डुल्ने ठाउँ थियो । यहाँका रुख विरुवा मन्दिर थिए पशु पंक्षी भगवान ।  

लुम्बिनीका हरियोपरियो मासेर ढुङ्गा गिट्टीका महल बनाउने कुराको कट्टर विरोध गर्थे युवा जोशका अवधेश र साथीहरु । 

ध्यान मार्गमा हिँडेका अवधेश आफूले सुरु गरेका स्कुलहरुलाई दीर्घायू दिएर घुमन्ते जीवन बाँच्न क्यानडा पुगिसकेका थिए । तर लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्न उनैलाई बोलाइयो । भन्ते यसलाई कर्मले बोलाएको भन्छन् । 

हिउँदे विदा सदुपयोग गर्न आँपका रुखमुनि सुरु गरिएका ट्युसन कक्षाहरु अहिले ३ वटा राम्रा विद्यालय भइसकेका छन् । करुणा स्कुलमा केटीहरु मात्र पढ्छन् । 

भिक्षु मित्तेयसँग  हामीले लुम्बिनी वरपर २ दिन बितायौं । यो छोटो समयमा लामो बितेको कथा थियो । भिक्षू मेत्तेयको जीवन जस्तै । यो शान्त देखिने मान्छेको हलचलको कथा थियो, नदी जस्तै ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply