उनीहरु हामीले बोलेका आवाजहरु कानले सुन्न सक्दैनन् । 

धेरैजसोले आमाले माया गरी बोलाएको, चरा कराएको, हावा चलेको, रेडियो बजेको, सडकमा गाडीले हर्न बजाएको, कसैले गाली गरेको यी आवाजहरु सुन्न सकेनन् । आवाजको दुनियाँसँग उनीहरु बेखबर छन् । 

मिठो आवाज कस्तो हुन्छ, कर्कश आवाज कस्तो हुन्छ । मसिनो आवाज, ठूलो आवाज, मायालु आवाज, रुखो आवाज, सुनिरहुँ लाग्ने आवाज, सुन्नै मन नलाग्ने आवाज, वर्षौंपछि पनि सम्झनामा आइरहने आवाज – आवाजका अनगिन्ति विविधताहरु उनीहरुको कानको लागि केवल मौनता हो । 

आवाज कस्तो हुन्छ भन्ने थाहै नभएपछि त्यसलाई व्यक्त गर्न पनि सकिने कुरा भएन । हामीले आमा, मामा, दिदी, आलु, फूल, स्कुल भन्दा कस्तो ध्वनि निस्किन्छ त्यो पनि उनीहरुलाई कहिल्यै थाहा भएन । त्यसैले उनीहरु बोल्न पनि सक्दैनन् । 

सिराहाका यो बहिरा स्कुलमा ८० जनाजति पढ्छन् । धेरैजसो छात्रावासमा बस्छन् । कतिपय वरपरका गाउँबाट दिनहुँ आउने जाने गर्छन् । 

संजय दास यही स्कुलमा पढेका हुन् ।अहिले उनी यहि स्कुलमा पढाउँछन् । विहानदेखि बेलुकासम्म यहाँका नानीहरुसँग समय बिताउनु उनको दैनिकी हो । 

बर्दिबास माइतीमा बसेर स्कुल पढाउने सन्जयकी श्रीमती सुधा गौतम पनि कान सुन्दिनन् ।

महोत्तरी घर भएकी लक्ष्मी विक स्वयंसेवकको रुपमा १ वर्षअघि यहाँ आएकी थिइन् । उनले यो भेगमा बोलिने मैथली मात्र होइन साङ्केतिक भाषा समेत मज्जाले सिकिसकिन् । हामीलाई उनले दोभाषे बनेर सघाइन् । 

अरु स्कुलमा जस्तो केटाकेटी कराएको, होहल्ला गरेको, गफ गरेको, साथीलाई बोलाएको – यहाँ सुनिदैन । उनीहरु सबैजना मनले सुन्छन् र मनको कुरालाई संकेतमा उतारेर संवाद गर्छन् । 

अरु स्कुल जस्तै विहानी सत्र, परेड, व्ययाम र राष्ट्रिय गानबाट दिनको सुरुवात हुन्छ । विद्यार्थीहरु सांकेतिक भाषामै राष्ट्रिय गान गाउँछन् । 

बोल्न र सुन्न नसक्ने भए पनि यहाँका हरेका वालवालिका अरुजस्तै छन् । सबैका अआफ्ना स्वाभाव छन् । कोही धेरै चकचक गर्छन् । कोही शान्त बस्छन् । कोही हसिमजाक गर्छन् । कोही सुन्दर चित्र बनाउँछन् । कोही गणितमा अब्बल छन् । कोही नेपालीका कथा कविता रुचाउँछन् । अनि हरेकका तेजिला मस्तिष्कमा धेरै सपनाहरु छन् । 

बोलेर सिकाउन नसकिने भएकाले वालवालिकालाई मोबाइल र प्रोजेक्टरमा थरिथरिका चित्र र भिडियो देखाएर सिकाउने गरिन्छ । नानीहरु पनि यसमै रमाइलो मान्छन् । 

केही समयअघि विद्यालयका सबै शिछक भेला भएर युट्युबमा गजेन्द्र सरको कथा हेरेका रहेछन् । 

स्कुलमा नौला मान्छे आएको देख्दा सबैजना रमाए । कोही नाच्न थाले । कोही खेल्न थाले । कसैले नाटक देखाए । कसैले चित्र बनाए । 

आफ्ना माया गर्ने परिवारसँग ‍टाढिएर छात्रावासमा बस्ने नानीहरु कहिले काहिँ भिडियो कलबाट आमाको न्यास्रो मेटाउँछन् । 

बर्दिबास माइतीमा बसेर स्कुल पढाउने सन्जयकी श्रीमती सुधा गौतम पनि कान सुन्दिनन् । सन्जय मोबाइलमा भिडियो कल गरेर श्रीमती र छोरीसँग साङ्केतिक भाषामै माया साट्छन् । 

आज संजयकी श्रीमती र छोरी उनलाई भेट्न आउँदैछन् । उनीहरु माडर नजिकै गाउँको घर पुगे । 

झन्डै २५ वर्ष पहिले सिराहाका गङ्गराम यादव मज्जाले कान सुन्थे । तर बिस्तारै उनको सुन्ने क्षमता हराउँदै गयो । एकदिन त उनले ठ्याक्कै सुन्न छाडे । 

जवान हुँदाबखतसम्म कान सुन्ने भएकाले त्यतिबेलासम्म सुनेका ध्वनिहरु गङ्गराम उच्चारण गर्न सक्छन् । तर गङ्गाराम आफ्नो मुखबाट निस्केका आवाज आफैं सुन्न सक्दैनन् । उनको लागि उनी मुख मात्रै चलाइरहेका हुन्छन् ।  

कान सुन्न छाडेपछि आत्तिएका गङ्गाराम छरछिमेकको व्यवहारबाट झन् दुःखी भएका थिए । तर गङ्गरामले दुःखलाई जिते । 

गीत संगीतमा रुचि राख्ने गङ्गारामले गितका छन्दहरु पनि बिर्सिन थाले । अझै पनि गाउँ गाउँ लाग्छ तर लय भर्न सक्दैनन् । 

उनले बहिरा स्कुल खोलेपछि धेरै जनाले यहाँ पढ्न पाएका छन् । बहिराहरुलाई घर परिवार र समाजले गर्ने नमिठो व्यवहार पनि बदलिँदैछ ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply