Herne Katha – Episode 69

आजकल कविता गौतमको जिन्दगीको लय फेरिएको छ ।

 मैदानमा बलका पछाडि हावा जस्तै दौडिने अनि ब्याट समाएका विपक्षीलाई गोली जस्तै बलिङ गर्ने कविता ६ महिनादेखि घरको आँगनमै सिमित भएकी छिन् । विहान उठेदेखि राति नसुतुन्जेलसम्म वैशाखी मात्र उनको सहारा भएको छ । 

हावा चलेको सुन्नु, डुब्न लागेको घाम हेर्नु, कहिले भित्र कहिले बाहिर गरिरहनु । चरा जस्तै डुल्दै ठाउँ ठाउँमा पुगेर क्रिकेट खेल्ने कविताको मनमा आजकल नानाथरि कुरा मात्र खेल्छन् । 

महिनौंपछि कवितालाई खै किन हो आज अभ्यास गर्ने मैदान पुग्न मन लाग्यो । रिक्सामा जतनले खुट्टा तेर्स्याएर उनी  पशुपति स्कुलको मैदान जान्छिन् । 

बर्खा सकिएको छैन । साँझको घाम पनि चर्कै छ । चउरमा ठाउँ ठाउँ पानी जमेका छन् अनि घाँसहरु लामा भएका छन् । 

मैदानमा अनिल शर्मा  उही लयमा भेटिए । क्रिकेट सिकाइरहेका । यी उनै अनिल हुन् जसले १०-१२ वर्षअगाडि कवितालाई हात समातेर क्रिकेट सिकाएका थिए । 

उतिबेला लहानमा केटाहरुमाझ क्रिकेट खुब चल्थ्यो । अनिल पनि क्षेत्रिय खेलहरु खेल्ने गर्थे । 

केटीहरु क्रिकेट खेल्दैनथिए । अनिल र साथीहरुले क्रिकेट सिकाउन केटीहरु खोज्न थाले । २५ जना भेला पारेर क्रिकेट सिकाउन थाले । कविता ती मध्ये एक थिइन् । 

१० वर्ष भयो अनिल मैदानमा दाैडिरहेकै छन् ।

कविता गौतमको बाको तलब पो थोरै थियो त । माया त कति हो कति । ६ दिदी वहिनीको भागमा बराबरी माया र स्वतन्त्रता थियो । कान्छी कविता टोलका केटाहरुसँग खेल्ने कुद्ने गर्थिन् । 

सानैमा कविताको क्रिकेटमा रस बस्न थाल्यो । 

कविताको जिन्दगीका अधिकांश कथाहरु विद्युत प्राधिकरणकै क्वाटर वरपर हुर्किए । कविताको कविता जस्तै जिन्दगीमा एकातिर आमाबुबाका गरिबी र अभाव थियो, अर्कोतिर खेलाडी बन्ने सपना । 

लाहानमा केटीहरुको टिम तयार भयो । प्रतियोगिताहरु खेल्न यो टिम कहिले पूर्व कहिले पश्चिम पुग्न थाल्यो । खेल र अनुभव दुबै खारिँदै गए । 

सन् २०१२ को एसीसी अन्डर १९ क्रिकेटको लागि नेपाली टोली तयार हुँदै थियो । टोलीमा ५ जना त लहानका केटीहरु मात्र छानिए । खुसीले सीमा नाघेको थियो । 

कविता र साथीहरु कुवेत गए । खेलेर मात्र होइन जितेर आए । घोंगी टिप्दै, घाँस काट्दै क्रिकेट खेल्न सिकेकाहरुले कुवेतमा गएर ट्रफि उचाले । 

जितसँगै पैसा पनि घर आयो । कविताको घर उज्यालो भयो । बुबाको विद्युत प्राधिकरणको अस्थायी जागिर गुमिसकेको थियो । घर बनाउँदा धितोमा राखेको जग्गा कविताको क्रिकेटको कमाइले छुट्यो । वृद्ध आमाबुबाको आँखामा खुसिका मोतीहरु चम्किए । 

त्यसयता कविताले क्रिकेट खेलेरै आफ्ना रहर र परिवारको आवश्यकता पुरा गर्न थालिन् । लाहानकै एक जना क्रिकेटरसँग बिहे गरिन् । 

२ वर्ष अगाडि नेपालमा पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग हुने भयो । संयोगले खाली भएको ठाउँमा कविताले खेल्न पाइन् ।

कविता क्रिकेटमै भविष्य बनाउने सपनाहरु देख्दै थिइन् । अघिल्लो वर्ष मात्र भएको मेयर कप प्रतियोगितामा बलिङ गर्दा गर्दै अचानक कविताको खुट्टा लरबरायो । उनी थचक्क बसिन् । घुँडाको शल्यक्रिया भयो । त्यसयता उनी बैशाखीको सहारामा छिन् । 

जिन्दगीमा नसोचेका उतारचढाव आए । खुट्टा ठीक भएपछि फेरि मैदानमै फर्किने रहर छ । रहर पुरा होला नहोला थाहा छैन । 

महिनौपछि अभ्यास गर्ने मैदानमा पुगेकी कविता घन्टौं त्यहीँ बसिन् । आफूसँगै क्रिकेट सुरु गरेका सरस्वती र अनुराधाहरुलाई हेरिन् । सिक्दै गरेका नयाँ भाइ बहिनीहरुलाई हेरिन् । पुराना साथीभाइसँग गफिइन् । 

कवितालाई नै थाहा छैन अब उनी कहिले यो मैदानमा फर्केर आउनेछिन् । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply