यदि आगो सलाईले नभई आक्रोशले बल्थ्यो भने यो शिविरमा चौबिसै घन्टा डढेलो  मात्र लागिरहेको हुन्थ्यो होला । 

एक जना चट्टान झैं मान्छे छन् । भम्पा राई । शिविरका अवशेषहरुमा डुली हिँड्दा देश फर्किने आशमा बसिरहेका मानिसहरु मकै जस्तै पड्किन्छन् ।  फूल उठेका मकैजस्तै हिउँ परेका बेला जन्मिएका थिए भम्पा । उनी शान्त छन् र अडिग छन् देश फर्किन । 

शरणार्थी शिविर आजकल आँधीबेहरीपछिको सन्नाटा जस्तै देखिन्छ । देश छोडेर आएका हजारौं भुटानीहरु युरोप र अमेरिका गइसके । यहाँ जो बसेका छन् उनीहरु अन्त जान मानेनन् । उनीहरुलाई आफ्नै देश फर्कनुछ । 

सम्झना त भुटानदेखि नेपालसम्म छरिएको छ । देशविहीन भएर बाँचेको ३० वर्ष नाघिसक्यो । शिविरबाट विदेशिनेहरुले सम्झना मात्र बोकेर गए । पुराना ग्याँस र चुलाहरु यतैफेरो छाडे । सुकुमाया राईसँग ग्याँस सकिएको सिलिन्डर छ । 

सँधै सपनामा आफ्नो भुटानी गाउँ देखिरहने सुकुमायालाई अस्ति भर्खर खै के ले डोर्यायो एक्लै एक्लै भुटानतिर । लुकीछिपी आफ्नो गाउँ पुगेर त्यहाँको माटोलाई आँशुले भिजाएर आइन् । 

मनहरु बाँड्दा बाँड्दा रित्तिन थालेका छन् । अलिकति मन भुटानतिर । अलिकति यहि शिविरको माटोमा । धेरै मनहरुलाई हवाइजहाजले सात समुद्र पारि उडाइदियो । शिविरमा बसेका एक्ला मान्छेहरुलाई मर्न मात्र भए पनि आफ्नै देश जानुछ । आफ्नै माटो छुनु छ । 

मनमनै विद्रोह गरिरहेका यी मान्छेहरु कहिले शान्त हुन्छन् । कहिले चिच्याउँछन् । जति कराएपनि आवाजहरु हावामा हराउँछन् ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply