सगरमाथाबाट हाम्फालेर बंगालको खाडीमा पुग्ने लाक्पा शेर्पा, लाहुरे बन्न नसकेपछि घर फर्किन पनि नसकेका गोर्खाका जुद्ध गुरुङ र पोखरा पश्चिमको हर्पन डाँडा जस्तै उकाली ओराली खेपेका दीपक पौडेल । यी तिनै जनाको भेट विशाल आकाशमा भएको थियो ।

लाक्पा  कहिले हिमाल चढ्न हिँडिदिन्थे कहिल हावामा कावा खान । आकाश र हिमाललाई मोबाइलको टावरले के भेट्टाउँथ्यो र? बेखबर लाक्पाकी पत्नी गुम्बामा गएर बत्ती बाल्थिन् र श्रीमान्लाई हावाले नउडाओस् र हिमालले नखाओस् भनी कामना गर्थिन् । 

लाक्पा अहिले फेवातालको सिरानतिर एउटा टहरा बनाएर बस्छन् । बस्तु पाल्छन् । दुध खान्छन् । सोलुमै किवी  खेतीमा रमाउने लाक्पा पत्नी श्रीमान्को न्यास्रो मेट्न कहिले काहिँ आउँछिन् । श्रीमान्ले उडाउने इन्जिन विनाको जहाजमा उड्छिन् र रमाउँछिन् । 

दीपक पौडेल । लाक्पाका छिमेकी । सुःख दुःखका साथी । यही दोस्तीकै कारण लाक्पा पनि दीपककै छेउछाउ बसाइ सरेका हुन् । सोलुदेखि । दीपक पनि सराङ्कोटको डाँडाबाट हावामा उडान भर्र्छन् । 

उनी चाहिँ गोर्खाका जुद्ध गुरुङ । लाहुरे बन्न घरबाट हिँडेका जुद्ध पनि प्याराग्लाइडिङमै रमाएका छन् । आफ्ना ससाना बहिनीहरुलाई बिहे गरी पठाइदेलान् भन्ने डरले जुद्धले गाउँबाट पोखरा झिकाए । पढाए । उनका दुई बहिनी पनि प्याराग्लाइडिङ नै गर्छन् । दुर्गा जेठी । कान्छी भर्खर १३ वर्षकी। प्याराग्लाइडिङको लाइसेन्स  जाँच दिन स्याङ्जाका डाँडाकाँडातिर गएकी थिइन् । 

दीपक आजको उडान भर्नुअघि बिरामी आमालाई भेट्न अस्पताल जाँदैछन् । 

साँझ सबैजना जुद्ध गुरुङको डेरामा भेला भए । मनाङमा स्कुल पढाउने उनकी श्रिमती छुट्टीको मौकामा पोखरा झरेकी छिन् । 

भोलिपल्ट दीपक गाउँमा आमा एक्लै बस्ने गरेको पुरानो घर जान्छन् । बिरामी आमालाई पोखरामा आफूसँगै ल्याएर राख्न खोजेका छन् दीपकले । आमाको मन मानिसकेको छैन । दीपकले हार खाएका छैनन् । यसपालि चाहिँ अस्पतालबाट फिर्ता ल्याएर आफुसँगै राख्ने अडान लिएका छन् । 

बुबाको तस्बिर काखी च्यापरे दीपक पोखरातिर ओरालो लाग्छन् । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply