letter envelope with stamps

प्रिय तपाईं,
रमाइलो लाग्दैछ। खाम त अस्ति नै पाइसक्नुभयो होला। चिठ्ठी आज।

चिठ्ठी भन्ने शब्द नै प्यारो। चिठ्ठी माया, चिठ्ठी गुनासो, चिठ्ठी संवाद। मैलै पठाउने चिठ्ठी पनि यी सबै ।

हुन त कागज छाम्दै र अक्षर छुँदै पढ्ने चिठ्ठीमा जति भावना त अन्त कहाँ साटिएला र ! पुगे जस्तो, नपुगे जस्तो । भए जस्तो, नभए जस्तो । टाढा-टाढाबाट आइपुग्ने चिठ्ठीमा टाँसिएका धुलो पनि प्यारो लाग्ने । मोबाइलले भावशुन्य बनाइदियो कि क्या हो?

जहाँ हुनुहुन्छ आरामै हुनुहुन्छ भन्ने कामना गर्दछु । अबदेखि महिनाको १ पटक यसैगरी इन्टरनेटको हुलाकीले ल्याइदिने चिठ्ठी लेख्नेछु ।

यसपालि हामीले “आमाको कथा” देखायौं । औसत कथाले माग्ने शिर्षक होइन यो । हामीलाई लाग्यो आमाको कथा शिर्षकको लागि यो भन्दा उपयुक्त अरु कथा हुँदैन ।

मेरो कथा

म हराएको हैन। यो बिचमा समय हराएको हो। साँच्चै भनेको। समय मैले पत्तै नपाइ सुलुत्तै चिप्लियो।

पछिल्ला केही महिनाहरु म हेर्ने कथामा आइन । यात्रा गरिन । कार्यालय गइन । साह्रा कामबाट छुट्टी लिएर म फुर्सदिलो हुनुपर्ने ! तर म यति व्यस्त भए कि कहिले त खाने सुत्ने पनि ठेगान भएन ।

तपाईंको नजरबाट हराएर म जूनताराको नजरमा देखा परेकी छु । यो बिचमा संसारको सबैभन्दा सुन्दर कथा म आफै बनेकी छु । म हराएको हैन म भेटिएकी छु । म आमा भएकी छु । अचेल म सानी जूनताराका नबोलिएका शब्दहरु सुन्दैछु । उसले नभनेका कुरा बुझ्दैछु । जूनतारा बिस्तारै ठूली हुँदैछिन् र मलाई सानी बच्ची हुन सिकाउँदैछिन् ।

तपाईंको धेरै न्यास्रो त लागेको छ । तर तपाईंलाई भेट्न आउँदा जूनतारा न्यास्रिन्छे कि भनेर नि ।

पछिल्ला केही कथाहरुमा नियमित देखा पर्न नसकेको कारण यही हो ।

यो चिठी तपाईंले पढिरहँदा शायद हामी यात्रामै हुनेछौं । गाडीमा, जंगलमा, खोलामा वा कुनै पात्रसँग । अनि केही समयको विश्रामपछि यसपालिको यात्रामा म पनि हुनेछौं । अब छिट्टै भेटौँला है ।

यात्रा भन्ने बित्तिकै मज्जा आउँछ । फेरि हाम्रो टोली यात्रामा हिँड्दा जहिले पनि केही न केही बिर्सिन नसकिने घटना भइरहेका हुन्छन् । कहिले सुखका कहिले दुखका ।

एकपटक हाम्रा साथी सन्देशलाई त्यस्तै भएको थियो । त्यो बेलामा भएको कुरो उनी यसरी सुनाउँछन् ।

किस्सै किस्सा
गिद्धको कथा हेर्नु भयो होला। त्यो पोखराको, घाचोक गाउँमा खिचिएको कथा हो। कथा छायांकन गर्ने बेलाका धेरै रमाइला किस्सा बेलाबेला याद आउँछ अनि एक्लै हाँस्न मन लाग्छ।

गिद्ध रेष्टुरेन्टको नाम सुन्दा पहिले हामीलाई अचम्म लागेको थियो । कुरा बुझ्दै जाँदा रमाइलो लाग्न थाल्यो । त्यहाँ पुगेपछि हामी गिद्धको भिडियो खिच्न रुख र ठूला ढुङ्गाका छेल परेर बस्यौँ। बिहानैदेखि क्यामेरा ताकेर बस्यौँ । गिद्ध सिनो खान तल झरेनन् । दिन छिप्पिँदै जाँदा सिनोबाट दुर्गन्ध आउन सुरु भयो। अब गिद्ध रेष्टुरेन्ट बसिनसक्नु भयो। दिउँसको २ बजिसक्यो ।

बिस्तारै हामीलाई भोक लाग्न थाल्यो । हाम्रा गुरुजी देवेन्द्र दाइले गाउँको सानो होटलमा खानाको व्यवस्था गर्नुभयो। तर गिद्धले सिनो खाएको दृष्य कुरेर बसेका हामी, त्यो छोडेर जान सकेनौं । निकै अबेला भएपछि देवेन्द्र दाइले हाम्रा लागि ठूलो झोलामा खाना लिएर आउनुभयो। जटायु रेष्टुरेण्टमा मरेको गाईको दुर्गन्धले सास फेर्न पनि गार्ह्रो थियो। तर भोक पनि लागेको थियो। हामीलाई दुर्गन्धले भन्दा भोकले जित्यो। हामीले सिनो हेर्दै गन्ध सुँघ्दै खाना खायौं। तर गिद्ध सिनो खान रुखबाट तल झरेनन् । यसरी दुई वटा दिन सिनो कुरेरै बित्यो।

हाहा । सन्देशको कुरा सुन्दा अहिले सम्झिँदा पनि त्यो गन्ध याद आउँछ।

तपाईंलाई थाहा छ हामीले अहिलेसम्म ३० भन्दा बढि जिल्लाबाट हेर्ने कथा ल्याइसक्यौं नि । अब छुटेका ठाउँहरुमा पालैपालो आउनेछौं कथा खोज्न ।

घुमाइफिराई कथाकै कुरा गरी नभन्नु है । हाम्रो काम नै कथा सुन्ने र भन्ने । बरु तपाईंका पनि कथा सुनौं न । जे सुनाएपनि हुन्छ । अनुभव, कथा, कविता । चित्र बनाउँदा पनि हुन्छ । तपाईंका सृजना हामी हाम्रो वेबसाइटमा अनि अटायो भने यही चिठ्ठीमा नि राख्छौं नि ।

आज चाहिँ अपरिचित पहरीको चिठ्ठी ।

प्यारो हेर्ने कथा
न्यानो नमस्कार ,

हेर्ने कथा हेर्दै जाँदा लाग्यो, एक सामान्य मान्छे वास्तवमा कति बलियो हुने रहेछ ! साच्चै सामान्य मान्छे बन्न सजिलो छैन । सामान्य मान्छे बन्न हजारौं असामान्य क्षमताले भरिपुर्ण हुनुपर्ने पो रहेछ । हेर्ने कथाका सामान्य मान्छे ती भित्र हजारौं असामान्य क्षमताले खाँदिएका छन्।

गजेन्द्र सरको कथा, सोल खर्कका पात्र, सेन्मिखा, माटोको कथाका भम्पा राई, रुवाको कथाका कलाकार आमाहरु, बेली ब्लुजका बिनोद बि. क, ज्ञान सर, मायाको कथाका परिवार, ठाकुर्नीको कथा की मन्जलियादेवी लगायत अरु कथाका पात्रहरु हजारौं असामान्य क्षमताले भरिएका सामान्य मान्छे हुन्। हेर्ने कथा हेर्दा हेर्दा अचेल त मलाई हरेक सामान्य मान्छे विशेष लाग्न थालेको छ ।

कतै हँसाउने, कतै रुवाउने, कतै प्रेरणा त कतै करुणा, कतिलाई डाहा त कतिलाई आहा । वाह हेर्ने कथा !

ल म पनि अब काममा जाने बेला भयो। अरु कुरा फेरि गर्दै गरौंला। अहिलेलाई कलम बन्द। हार्दिक शुभकामना प्यारो हेर्ने कथा।

तपाईंको दर्शक,
अपरिचित पहरी

कति मिठो लेख्न जानेको अपरिचित मित्रले । तपाईं पनि हामीलाई चिठ्ठी पठाउन चाहनुहुन्छ भने यही इमेलमा रिप्लाइ गर्नुस् है । हाम्रो भेट निरन्तर हुन्छ भन्न आशा राख्दै आज छुट्टिन्छु है।

उही तपाईंकी,

विद्या

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply