रौतहटको चन्द्रनिगाहपुर महिला फूटवलमा नाम चलेको ठाउँ रहेछ । यहाँका चेलीहरु कसरी फूटवलमा पोख्त भए भनेर बुझ्न हामी त्यही पुगेका थियौं ।  एकाविहानै जंगल छेउको चौरमा धमाधम अभ्यास हुँदै थियौं । 

पहिले शेरबहादुर दर्लामी केटीहरुले पनि फूटबल खेल्नु पर्छ भनेर घर घर पुग्थे । त्यो बेला छोरीहरुलाई हाफ प्यान्ट र टिसर्ट लगाएर खेल्न पठाउन आमा बा ले सजिलै मान्ने कुरा थिएन । शेरबहादुर साइकल ठेल्दै गाउँठाउँ पुग्थे र खेलाडी बटुल्थे । 

बिस्तारै फूटबलमा केटीहरु बलिया बन्दै गए । चुलो चौको र घाँस दाउरा गर्ने दिदीहरु खेलाडी भएर चरा जस्तै देश विदेश  घुमेको देख्दा बहिनीहरु लोभिन्थे । यसरि नै फूटबलले तानेको थियो सपना राईलाई । 

शेरबहादुर दिनरात खटिँदै थिए । चपुरका चेलीहरुको नाम चल्दैथियो । शेरबहादुरले देखेका सपना अझै फराकिला हुँदै थिए । विभागीय टोलीहरु सशस्त्र सेना र प्रहरीलाई चपुरले हराउन पाएको थिएन । उनीहरुलाई एक पटक जित्ने सपना देख्दा देख्दै शेरबहादुरले संसार छाडे । 

फूटबलको धरहारा ढलेपछि चपुरका चेलीहरु शोकमा परे । पढाई बिर्सेर वर्षौं मैदानमा बलको पछाडि दगुरेकाहरु आत्तिए । 

शेरबहादुरका छोरा चित्र कुमारले बाबुको सपना नजिकबाट देखे बुझेका थिए । उनले अठोट गरे चेलीहरुलाई म सिकाउँछु । उनीसँगै नुरराज काफ्लेले पनि सपना देखे । १३ दिनसम्म शोकमा मैदान खालि भयो । त्यसको दुई दिन पछि चपुरमा फेरि सुरु भयो फूटबल सपना । 

चित्र कुमार र नुर राजको पहिलो जिम्मेवारी गुरुले देखेको सपना पुरा गर्नु थियो । गुरु बितेको दुई वर्ष नपुग्दै उनीहरुले तयार पारेको चेलीका टोलीले सेना र प्रहरीको टोलीलाई हराइदियो । गुरुको सपना मुस्कुरायो । सशस्त्रलाई जित्ने मौका अझै आइसकेको छैन । 

भोलि यो टोली काठमाडौं जाँदैछ । उपमेयर कप फूटबल खेल्न । 

यहाँ फुटबल खेलेर गाउँ ठाउँको नाम रोशन गर्ने धेरजसौका परिवार माटो मजदुरी गर्ने रहेछन् । सपना राईका बुबा बजारमा ठेला चलाउने र भारी बोक्ने काम गर्छन् । 

सबिना चौधरी पनि असाध्यै राम्रो खेलाडीमा दरिन्छिन् ।हामी सबिनाको घर पुग्दा उनकी आमा घरमा थिइनन् । 

दाउरा बेच्ने र गिट्टी कुट्ने उनकी आमाले सक्दो बल दिएकी छिन् छोरीलाई ।

सबिना कुनै दिन बुबाको औंला समातेर पहिलो पटक यो मैदानमा छिरेकी थिइन् । फूटबल सिक्न ।

शेरबहादुर गुरु बितेकै ताका बुबा बिते । काठ बोक्ने मजदुरी गर्दा काठकै भारिले थिचिएर । 

सबिनाकी आमालाई व्यवहारले थिच्यो । केही महिना विदेशिइन् । छोराछोरीको मायाले तान्यो । फर्केर आइन् । घर बन्धकीमा छ । तर उनले बितेका श्रीमान् र छोरी सबिनाको सपनालाई बन्धकीमा राखेकी छैनन् । 

आज सबिनाकी आमा दाउरा खोज्न जंगल जाँदैछिन् । सबिना पनि कहिले काहिँ आमालाई सघाउन जान्छिन् । 

राति सबिना र सपनाले झोला कसे । भोलि विहानै घर छाडेर काठमाडौं जानुछ । ७६ वर्षको उमेरमा नदेखेको संसार २० वर्षकी नातिनीले देख्दा सपनाका हजुरबुबा गर्वले धपक्कै हुन्छन् । 

आज काठमाडौं हिँड्ने दिन । विहानीपख सपना बारीमा मकै भाँच्दै थिइन् । 

घरबाट सबै चेलीहरु विदावारी भए । सपनाका हजुरबुबाले बाटो खर्च थमाइदिए । 

रमाना हुनुअघि सबैजना मैदानमा पुगेर स्वर्गिय गुरुको तस्बिरमा फूल चढाए । चपुरका चेलीहरुलाई दुइवटा टाटा सुमो पर्खिरहेको थियो । उनीहरु उपमेयर कप फूटबल खेल्न काठमाडौंतिर लागे । 

सबिनाकी आमा सोच्दैछिन्: घरको ऋण चुक्ता गर्न जोर्डनतिर जानु पर्ला ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply