दाङ र रोल्पाका सिमानातिर पर्ने उजाड पहाडका काखतिर सुख्खा गाउँहरु छन् । पहाडको पेटभित्र ती गाउँका पेट पाल्ने कोइला खानीहरु । 

हामी कोइला खानी पुग्दा खाजा खाने समय भएको थियो । यामबहादुर घर्ती र उनका छाेरा पूर्णबहादुर खाजा खाने तरखर गर्दै थिए ।

१२ बजे कोइला खानी छिर्न हुन्न भन्ने मान्यता रहेछ । २२ वर्ष पहिले कोइलाका भारि गन्ने काम सुरु गरेका …… अहिले यहाँका नाइके भएका छन्  । 

यमबहादुरले वल्लो पहाड र पल्लो पहाडका खानीहरुमा आधा जिन्दगी बिताइसके । कापी किताबका अक्षरहरु मकै भटमास नबनेपछि उनका भर्खरका छोरा पूर्णबहादुर पनि खानीको अँध्यारो सुरुङमा भविष्य खोज्न आइपुगेका छन् ।

कामदारहरु दूलो जस्तै सुरुङभित्र छिर्छन् र केहीबेर हराउँछन् । फर्किँदा कोइलाका भारी बोकेर आउँछन् । 

यी कोइलाहरु यहाँबाट घोराही पुग्छन् र त्यहाँबाट ठूल्ठूला उद्योगहरुमा । यहाँका कामदारहरुलाई कोइला कहाँ जान्छ के गर्छन् चासो छैन । बस् पहाडभित्रको पाताल खोस्‌रेर भारी पुर्याउन पाए भयो । 

सुरुङभित्र छिर्ने आँट हामीलाई सजिलै आएन । अलि भित्र छिर्थ्यौं । अनौठो सन्नाटा छाउँथ्यो । फेरि फर्किन्थ्यौं । 

सुरुङ भित्र महिलाहरु नछिर्ने रहेछन् । उनीहरुको काम सुरुङको मुखदेखि कोइला बोकेर ट्याक्टर आउने बाटोसम्म पुर्याउने । 

केहीबेरपछि आँट बटुलेर हामी शेरबहादुर पुनसंग सुरुङ भित्र छिर्यौं । सिधा उभिन समेत नमिल्ने सुरुङका भित्ताहरु समाउँदै हामी अँध्यारोमा छिर्यौं । 

सुरुङभित्र अघि बढ्दै गएपछि बाहिरको संसार हराउँदै गयो । ठाउँ ठाउँमा पानी रसाइरहेका थिए । पहाड नखसोस् भनेर ठाउँ ठाउँमा खाँबो राखिएका थिए । 

खन्दै कोइला निकाल्दै सुरुङ छिचोलिँदो रहेछ । डेढ सय मिटर जति भित्र गइसकेपछि उनका भतिजा आकाश भित्तो खोस्रेर कोइला निकाल्दैथिए । भतिजाले निकालेकाे कोइला काका शेरबहादुर सुरूङकाे मुखसम्म पुर्याउँदै थिए । 

पहिले पहिले एउटा हातमा टुकी बत्ती बोकेर खानीमा छिर्नुपर्थ्यो । अहिले भित्रसम्मै जेनेरेटेरले उज्यालो पारेको छ । 

कोइला खनिरहँददा ढुङ्गा खसेर २ हप्ता अगाडि गाउँकै मोहोरलाल कामीको मृत्यु भयो । त्यसयता त्यो सुरुङ बन्द छ । 

माेहोरलालले १६ दिनकी सुत्केरी श्रीमती शान्ति कामीलाई भरे मासु लिएर आउँछु भनेर कोइला खन्न आएका थिए  । तर उनी फर्केर नआउने बाटोमा गए ।  शान्तिले कहिल्यै नरित्तिने आँशु पाइन् । 

आँखै अगाडि आफ्ना साथीलाई चट्टानले थिचेपछि धेरै जना डरले अझै काममा फर्केका छैनन् । छोरी गिता काठमाडौंको इँट्टा भट्टामा श्रीमानसँगै भारी बोक्दै थिइन् ।  बुवा बितेको खबर पछि उनी सुत्केरी आमालाई सम्हाल्न आइपुगेकी छिन् । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply