वीरगन्ज महानगरबाट २७ किलोमिटर टाढा जंगलको छेउमा बागवाना गाउँ छ । गाउँबाट शहर आउन हरेक विहान दुई वटा बस छुट्छन् । एउटा बस असिया देवीको र अर्को बस साधना देवीको । असिया र साधना बसका साउनी पनि हुन्, खलाँसी पनि । बागबानाको बसमा चढेर हामीले असिया र साधनाका विगत सफर गर्यौं । 

बिहान ८ बजे असिया देवी भात बोकेर बाटोमा निस्किन्छन् । बस लिएर डाइभर आइपुगे । बागबानाबाट सफर सुरु भयो । 

चर्को हर्न बजाउँदै असियादेवीको बस देहातका साँघुरा बाटाहरुमा छिर्छ । हाँस कुखुराहरु बाटो छेक्छन् । मान्छेहरु हतार हतार बस चढ्छन् । 

आज असियादेवीलाई सघाउन उनका दिदीका छोरा पनि आएका छन् । 

बसले बिस्तारै गाउँ बोक्छ । शहरमा अस्पताल छ, बजार छ, क्याम्पस छ, मजदूरी छ । गाउँ दिनदिनै असियादेवीको बस चढेर शहर जान्छ । सिटमा नअटाएका गाउँहरु पोका पन्तुरा बनि डिक्की भित्र बस्छन् । 

पहिले पहिले बयल गाडा चढेर शहर पुग्न समय लाग्थ्यो । साइकल चढ्दा थकाइ लाग्थ्यो । आजकल असिया देवीको बस विहान बेलुका हर्न बजाउँदै खेतका आलिहरुमा दौडिन्छ । नहरका डिलहरुमा धुलो उडाउँदै कुद्छ । बसको झ्यालबाट यात्रुहरु गाउँ नजिक आउँदै गरेको शहरकाे आकाश हेरी टोलाउँछन् । 

असियादेवी पनि टोलाउँछिन्  बेला बेलामा । बिगत सम्झिएर ।

२ घण्टाको यात्रापछि वीरगन्जको मैदिया पोखरी पुगेर बस राेकिन्छ । 

बिहान घरबाट बोकी ल्याएको खानाको पोको खुल्छ । र बस असियादेवीको  भान्छाघर बन्छ ।  

असियाका जीवनका भाेगाइ पनि बागबानादेखि सफर गरि आएको बाटो जस्तै छ ।  कतै कच्ची कतै पिच  !

खाली खुट्टा तरकारी बेच्न गाउँसहर गरिरहँदा वर्षाै अघि असियादेवीको मनमा एउटा अनाैठो रहर गढेको थियो । आफ्नै गाडीको खलासी बन्ने ।  

काठमाडाै‌ देखि बर्दियासम्म चल्ने कुनै नाइट बस कामै नलाग्ने गरि बिग्रियो   र आइपुग्यो बागवाना ।  ठोकठाक र जोडजाड पारेपछि बस गुड्न सक्ने भयो । 

देहाती बाटोहरुको भागमा यस्तै सेकेन्ड ह्यान्ड बसहरु नै पर्छन् शायद । तर असियादेवीको लागि यो बस ब्र्यान्ड न्यु हो । 

तरकारी बेच्ने असियादेवी बस साउनी भइन् । तर पाइतालामा अझै पनि चप्पल छैनन् । पाइतालाले भुइँ छोएकै उनलाई मन पर्छ रे ।  

उता गाउँबाट साधना देवीको बस पनि छुटिसक्यो । 

साधना देवी र बिगानाथले पनि बीरगंज बागवानाको सफर गर्न थालेको २० वर्ष भयो ।  

साधना देवी बसको खलासी अनि बिगानाथ बसचालक | 

विगनाथ र साधना एक अर्काकालागि बसका चार पांग्रा भइदिन्छन् । र त उनीहरुको जिन्दगीको गाडी गुडिरहेको छ । 

उनीहरुका ५ सन्तान । सबै बसमै खाइखेली हुर्किएका । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply