Herne Katha – Episode 52

जिन्दगी शायद सम्झनै सम्झनाका फेहरिस्त होलान् । यस्तै एउटा सम्झनाको गोरेटोले हामीलाई फेरि डोर्याएको थियो भोजपुर र खोटाङको सिमानामा उभिएको चखेवा डाँडातिर । जहाँ हामीले केही वर्षअघिको एउटा साँझमा भेटेका थियौं सेन्मिखालाई । 

घाम अस्ताएपछिको त्यो पहिलो भेट ताराहरु अस्ताउन लाग्दासमेत सकिएको थिएन । रातभरि सल्लाका दाउराहरु बलिरहे । हामीले सेन्मिखालाई सुनिरह्यौं । विहानै शीत टेक्दै अर्को गन्तव्य हिँडेका हामीले सेन्मिखाको कथा धीत मर्ने गरी सुन्नै पाएनौं । 

वर्षौंपछि पनि याद आइरहने सेन्मिखालाई भेट्न हामी फेरि चखेवा गयौं । क्षितिजलाई अँगालो हालेर बसेको लोभलाग्दा डाँडा, सल्लाघारी अनि भेडा चर्ने पाटनहरु सम्झिँदै । अनि सम्झिँदै त्यो एकान्तमा वनपाखा गुन्जाउने सेन्मिखाका भाकाहरुलाई 

सेन्मिखाको कथा

दुम्सी चर्ने बाटो छेउ दुई तीन वटा टिनका घरहरु रहेको चखेवा फेरिँदै रहेछ । फराकिलो मध्यपहाडी लोकमार्ग आँगनमै आइपुगेको थियो । बाटोसँगै बजार आउँदै थियो । बजारसँगै मान्छेहरु आउँदै थिए । 

बर्दियाबाट बाटो बनाउन आएका मान्छेहरुसँग सेन्मिखाको दोस्ती थियो । एकाविहानै उनी पश्चिमका साथीहरुलाई लिएर दाउरा खोज्न हिँडे । 

सिमलका फूल जस्ता मन र सतिसाल जस्ता पाखुरा भए पनि यो एकान्त पहाडमा सेन्मिखालाई केले बाँधेर राखेको होला ? उसका आमाबा कहाँ होलान्? साथीहरु जस्तै उ पासपोर्ट बोकेर हवाइजहाज किन नचढेको होला? हामीले सोध्न बाँकि प्रश्नहरु धेरै थिए । हामी सेन्मिखाको पछि लागिरह्यौं । 

एक एक भारि दाउरा बोकेर घर आइसकेपछि काकाले चलाउने सानो होटलमा पाकेको भात खाएपछि सेन्मिखाको अर्को दैनिकी सुरु भयो । भेडा फुकाउन गोठतिर लागे । 

चितवन पुगेर कृषी पढेका सेन्मिखा  माटो र बोटविरुवासँग थरिथरिका प्रयोग गरेर बस्छन् । २३ वर्षको झर्झराउँदो उमेरका सेन्मिखालाई दिनभरि भेडाको पछि लाग्दै वनपाखा डुल्नै रमाइलो लाग्छ रे । 

हुन त यो सपना देख्ने उमेर हो । सेन्मिखाको उधुम ठूला सपना छैनन् । बस् हाँसी हाँसी जिन्दगी बिताइदिने ।

आफू पनि हाँसिरहने र अरुलाई नि हँसाइरहने सेन्मिखा मनका पीडाहरु लुकाउन सिपालु छन् । 

अवसर खोज्दै मदेश झरेका बाआमाको पछि लाग्न सेन्मिखाको मन मानेन । बाजे बज्यैसँग हुर्केकाे घर आँगन नै प्यारो लाग्यो । बुबा विदेशीएपछि आमाबुबा पनि छुट्टिए । सेन्मिखा न आमाको भए, न बुबाको भए । उनी त यही चखेवाको माटोको पो भए । 

भेडा धपाउँदै कहिलेकाहिँ ट्याम्केको लेकसम्म पुगिदिन्छन् । 

हामी हिँड्न नसकौंला भनेर सेन्मिखाले आज भेडालाई धेरै टाढा लगेनन् । कुहिरोमा कहिले हामी हरायौं । कहिले भेडा हराए । सेन्मिखाका मिठा मिठा कुरा र सुरिला भाकाहरुले दिन बितेको पत्तै भएन । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply