यो गाउँमा कुस्ती को क्रेज कहिलेदेखि सुरु भयो ठ्याक्कै थाहा छैन । तर गाउँका दाह्री कपाल फुलेकाहरुको पनि सबैभन्दा पुराना सम्झनाहरु कुस्ति कै छन् । 

नवलपरासी सदरमुकाम परासी बजारबाट दक्षिणतिरको पाल्हीनन्दन गाउँपालिका । भारतसँगै सीमाना जोडिएको गाउँको नामा चाहिँ पडहरी । गाउँमा धेरैजसो यादवहरु बस्छन् । 

जिन्दगीमा एकपटक कुस्ती नखेलेको केटा मान्छे गाउँमा कोही पनि नहोला ।

रामसेवक यादव र शिवकुमार यादव एकाविहानै दगुर्न निस्कन्छन् । कुस्तीमा उनीहरु कहलिएका छन् । कलिला सिकारुहरु पनि रामसेवक र शिवकुमारको पछि लाग्छन् । 

नहर छेउमा उनीहरु दगुर्छन् र व्यायाम मार्छन् ।  

घर फर्केपछि समय मिलेसम्म रामसेवक थप कसरत गर्छन् । उनलाई भतिजोले साथ दिन्छन् । 

गोठ र भैंसीको काम पनि भ्याउनु पर्छ । दिउँसो क्यानममा दुध बेच्न परासी बजार जाने जिम्मा पनि रामसेवककै हो । 

यादवहरुो खेल भनेर चिनिए पनि गाउँका खुर्सिद मियाँ उदाउँदा कुस्तीबाज हुन् । ८ कक्षामा पढ्ने खुर्सिदले मेलाबजारका कुस्तिहरुमा आफूभन्दा ठूल्ठूलालाई पछारेका छन् । 

साँझपख गाउँ छेउ आँपगाछीको बगैचामाझ, एकान्त अखडामा कुस्तीका शौखिनहरु भेला हुन्छन् । 

सुरुमा उनीहरुले अभ्यास गर्ने ठाउँ सम्याए । यहीँ भेटिए कुस्तीका राष्ट्रिय खेलाडी बैजनाथ यादव । 

बैजनाथ यहाँ गाउँका भाइहरुलाई सँधै यसरि कुस्ती सिकाउँछन् । 

कुस्ती लड्नको लागि कुनै तिथि मिति चाहिँदैन । बस् बहाना भए पुग्छ । आज विहानै गाउँका एकसे एक कुस्तीवाजहरु लड्ने भए । हामीलाई कला देखाउन । दर्शकहरु भेला भइसके । 

शैलेश चौधरी अर्का शीपालु कुस्तीवाज हुन् । कुस्तीले परिवार पाल्न सकिन्न । उनी परासीको कागज फ्याक्ट्रीमा काम गर्न थालेका छन् । 

शिवकुमार यादवको समय पनि आजकल कुस्तीमा भन्दा फ्याक्ट्रीमा धेरै बित्छ । 

रहरै रहरमा कुस्ती सुरु गरेका गाउँका धेरैले यो खेल छाडेका छन् – अवसर नपाएर । सीमापारी भारतका कुस्तीवाजहरुले पाउने सुविधा र सम्मान देखेर पडहरी गाउँको चित्त दुख्छ ।  

शिवकुमार र शैलेसहरु आजकल भारतका पहलमानहरुसँग नभई बाध्यता र घर व्यवहारसँग कुस्ती खेल्छन् । 

पडहरी गाउँबाट फर्केर आएपछि शिवकुमारले हामीलाई दुई पटक फोन लगाए । एक पटक मलेसिया लैजाने म्यानपावर भेट्न काठमाडौं आएको सुनाउन र अर्को पटक क्षेत्रियस्तरको प्रतियोगितामा छनौट भएको खबर सुनाउन । 

थाहा छैन शिवकुमार मलेसिया जान्छन् कि कुस्ति खेल्न ! 

हेर्नुहोस् अखडा – हेर्ने कथा अंक २८

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply