पश्चिम सुर्खेतको टाढा पहाडको काखमा रेक्चा भन्ने गाउँमा पानीको असाध्यै दुःख छ भन्ने सुनेपछि हाम्रो बाटो त्यतै मोडिने भयो ।
सुख्खा गाउँमा ५ जना पाहुना लागेपछि पानीको बोझ थपिएला भनेर हामीले आफ्ना लागि पर्याप्त बोतलका पानी किन्यौं ।
पहिलो पटक सुनेका गाउँको नाम हामी एकैछिनमा बिर्सिन्थ्यौं । बाटामा भेटिएका मान्छेहरुलाई छिनछिनमा सोध्दै खोज्दै हामी अघि बढ्यौं ।
बाबियाचौर पुग्दा दिन ढल्न आँटेको थियो । बाबियाचौरमा शनिबारे हाट लाग्दो रहेछ । गन्तव्य भुलेर हामी केही बेर गाउँले हाटमा अल्मलियौं ।
गुटु पुग्दा साँझ पर्नै आँटेको थियो । आजै गाउँ नपुग्ने ठानेर हामी बासको खोजीमा लाग्यौं ।
मनकारी मान्छेहरु जता पनि भेटिने । डिल्ली निमाइलीले माथी जंगलको फेदमा धारापानी भन्ने ठाउँमा जुँगे माइलाको घरमा बास बस्न सुझाए ।
जुँगे रानाको घर पुग्दा रात परिसकेको थियो ।
हस्त बहादुरका मिठा मिठा गफ र परिवारको मायालु आतिथ्यले न्यानो बनायो ।
भोलिपल्ट बिहानै रेक्चातिर लाग्यौं । अलिक अगाडि बढेपछि गाडी गुड्ने बाटो सकियो । हामी पैदल उकालो लाग्यौं । जंगलको माझमा डोजरले बाटो खन्दै थियो । हामी सुकेका पतकर बजाउँदै २ घन्टा उकालो लाग्यौं ।
पहाडको कन्दरामा सुन्दर रेक्चा गाउँ छिर्ने बित्तिकै गाईवस्तु धपाउँदै गरेका गाउँलेहरू भेटिए ।
गाउँलेहरुले विहानै पानी लगिसकेछन् । दिउँसो चाहिँ गाइबस्तुको पालो । दिन बिराएर पानी खुवाउन ल्याउने ।
अलि पर धमिलो पानी जमेको पोखरी थियाे । छेउछाउमा काठ र ढुंगाका १०/१२ वटा ससाना इनारहरु ।
गाउँलेका सुखदुख र सुस्केराहरु पानीसँगै जोडिएका थिए । चियापसल र चौतारी जता पनि पानीकै चर्चा ।
गाउँलेहरूले मिलेर कुवा रुँघ्ने चौकीदार नै राखेका रहेछन् ।
हामीले चाैकीदारकै घरमा खाना खायाैं ।
गाउँमा विजुलीका नयाँ नयाँ पाेल त ठडिएका थिए तर गाउँ अझै अध्यारै थियाे । हामी चाैकीदारकै घर बास बस्यौं । हामी पाहुना थपिएकाले उनलाई गाउँलेले एक गाग्रा पानी थप दिने भएका थिए ।
भोलिपल्ट विहानै पानी लिन आउनेहरुको कल्याङ मल्याङले हामी बिउँझियौं ।
कुवाकाे गफगाफ
चाैकिदारकी बुहारी हस्तना स्कुल पढाउने रहिछन् । हामी उनीसँगै स्कुल पनि गयाैं ।
टाढा टाढा गाउँबाट आउने विद्यार्थीहरू अझै स्कूल आइपुगेका थिएनन् । विहानै पानी लिन आउनुपर्ने भएकाले उनीहरू स्कूलमा सधैंजसाे ढिलाे हुने रहेछन् ।
८७ वर्षका मोतिराम देवकोटा पनि हरेक बिहान लौरो टेक्दै कुवा वरपर भेटिन्छन् । केही वर्ष पहिले उनकी नातिनी आफू जत्रै गाग्रो बोकेर एक्लै पानी भर्न आएकी थिइन् । अँध्यारो कुवामा खसेर नातिनी अलप भइन् । पानीले बेला बेलामा प्राण लिने गरेको छ ।
त्यसदिनदेखि मोतिरामले नातिनीलाई खाएको कुवाको पानी खान छाडेका छन् । बरु तिर्खाएरै बस्छन् ।
बर्षा सुरु नभएसम्म गाउँ झन् तिर्खाउने छ । पानी खोज्दै अझै टाढा टाढा पुग्नुपर्छ । ८७ वर्षका मोतिराम पनि लौरी टेक्दै पानी लिन अझै टाढा जानुपर्छ ।
No responses yet