Episode 91 – Pani Magne Katha

पर्सा जिल्लाको गोडपसरा गाउँमा यसपालिको बर्खामा पनि पुग्दो पानी परेन । खेतका धान सुक्न थाले । माटो तिर्खाउन थाले । ६ वर्षअघि यस्तै खडेरी परेको थियो । यसपालि पनि पानी नपरेपछि गाउँलेहरुले पानी माग्ने निधो गरे । 

पानी माग्ने चाहिँ देउतासित । एक छिन, एक दिन माग्ने हैन । एक हप्तासम्म मागेको माग्यै गर्ने । पानी माग्ने तरिका पनि केके हो केके । 

तेस्रो दिन

आज चाहिँ तेस्रो दिनको रात । गाउँ माझ भेला हुनु छ । 

खुदिया देवीलाई गाउँलेहरुले आफ्नो भाषामा दाइ भनेर बोलाउँछन् । दाइको अर्थ हजुरआमा । 

खुदिया खाना खाएपछि छोराका लुगाफाटा खोज्दैछिन् ।

संवाद

खुदिया देवी चौकिदारको भेषमा गाउँ डुल्न तयार भइन् । 

गाउँका अरु पाका महिलाहरु पनि धमाधम पुरुषको भेष धारण गर्दैछन् । 

खुदिया देवी खबरदारी गर्दै गाउँ छिरिन् । हातमा कोदालो बोकेका अरु महिलाहरु मिसिए । घर-घर डुल्दै उनीहरुले आँगन खन्न थाले । 

यसरी आँगन आँगन पुगेर खनेको चाहिँ आफ्नो खेतमा कुलो लगाएको रे । 

एउटीले कुलोको पानी आफ्नाे खेतमा मात्र लगेपछि झगडा सुरु भयो । 

झगडा यत्तिमै सकिएन । अलि पर पुगेपछि घम्साघम्सी नै पर्यो । 

पानीको निहुँमा पटक पटक झगडा पर्यो । खास झगडा गरे जस्तो गरी पानी माग्ने काइदा । पानी नपाएर मान्छेहरु लड्न थाले भनेर देउताले पानी देलान् भन्ने आश !

कुलो लगाउनेहरु गाउँ डुलिरहँदा गाउँको माझमा सप्पै महिलाहरु भेला भइसकेका थिए । उनीहरुले देउता पुकार्दै पानी माग्न थाले । 

अर्का एक हुल महिला चाहिँ हलो जुवा बोकेर घर घरबाट निस्किए । 

कोही गोरु बन्न थाले कोही हली ।

दुई चरा जनाले गाउँका मुखियालाई पाता कसे । अनि बाल्टीका बाल्टी पानी खन्याइदिए । 

मुखिया र गाउँका भद्र भलाद्मीहरुलाई बाटोमाझ लडाएर हाएल कायल पारे । 

हलोको पुजा गरिसकेपछि  गाउँ घुमेर हलो जोत्दै हिँड्ने बेला भयो । श्रीमान् नहुनेहरु हली बने । अनि गोरु बन्नेहरुको चाहिँ छोरा हुनै पर्ने । 

 पानी माग्दै उनीहरु गाउँको फन्को लगाउन थाले । 

हलो जोत्दै गाउँ घुमिरहँदा बाटोमा भेटिएका लोग्ने मान्छेहरुलाई समात्दै पानी खन्याउँदै गरे । 

यो रात उनीहरुले गाउँको पाँच फन्को लगाए ।।

भोलिपल्ट चौथो दिन । घाम चर्किँदै जाँदा महिलाहरुले पानी माग्दै गाउँको फन्को लगाए । गीत गाउँदै गाउँदै उनीहरु गाउँ पुछारको खेतमाझ रहेको पिपलको रुखमा पुगे । यो उनीहरुले मान्ने देउताको बर्हम्बौवाको वासस्थान  ।

उनीहरुले केही दिनअघि पानी माग्दै बर्हम्बौवालाई बाँधिदिएका थिए । पानी देलान् कि भन्ने आशमा उनीहरुले आज त्यो डोरी फुकाइदिएर देउतालाई बन्धनबाट मुक्त गरिदिए । 

निकैबेर चौतारीमा बसेर उनीहरुले विलौना गरे । तिर्खाएका गाउँलेहरुको बिलौना आँशु बन्दै आँखाको बाटो झर्न थाल्यो । 

यहाँबाट उनीहरु उस्तै गरी नारा लगाउँदै, गीत गाउँदै जुलुस जस्तै गरी अर्को बाटो लागे । 

अब टाढा खोला छेउको चौरीमा पुग्नुछ । 

दुई चार जनाले गाउँबाट गाई खोजेर ल्याए । अघि अघि गाई लागे । पछि पानी माग्नेको जुलुस । 

टन्टलापुर भदौरे घाममा सारा गाउँ रनक्क तातेको बलौटे चौरमा भेला भयो । 

दुई चार गाईलाई माझमा घेरेर उनीहरु फेरि पानी माग्दै विलौना गर्न लागे । गाई वस्तुका तिर्खाएको चित्कार सुनेर देउताले पानी देलान् भन्ने आश ।

यहाँ पनि रमाइलो सुरु भयो । पण्डित जी हाजिरी गर्न थाले । शिक्षकले परेड खेलाउन थाले । अनि कसैले चाहिँ रमाइलो हेर्न पुगेका एक दुइ जना लोग्ने मान्छेलाई बाँधिदिए । 

निकै बेर घुम्दा पनि गाईहरु बाँ बाँ गर्दै नकराएपछि  पानी पर्दैन कि भनेर उनीहरु निराश भए । 

आजकल गाउँमा स्थानीय जातका गाई नभेटिँदा जर्सी गाई खोजेर ल्याएको रे । जर्सी गाई भएर नकराएका पो हुन् कि भन्दै थिए कोही कोही । 

निकैबेर पछि गाई कराए । पानी पर्ला भन्ने आश बढ्यो । 

आजको दिन पनि सकियो । 

एक हप्ता लामो पानी माग्ने रितिको पूजा आजा गरेर बिट मार्नुपर्छ । 

भोलिपल्ट उनीहरुले पूजाका सर्जाम जुटाउन उसैगरी गाउँ डुलेर सिधा बटुले । 

गोडपसरा गाउँमा बादल बर्सियोस् भन्ने कामना गर्दै हामी पनि बाटो लाग्यौं । 

केही दिन पछि खबर आयो गाउँमा पानी पर्यो रे! 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply