Herne Katha – Episode 70

स्याङ्जा मिर्मीका ज्ञानप्रसाद पाण्डे परिवारका कान्छा छोरा थिए । एसएलसी सकेर पढ्न पोखरा झरे । पिएन क्याम्पसमा पढ्दा खर्च जुटाउन एउटा निजि विद्यालयको होस्टेलमा काम गर्न थाले । जोशिलो उमेरका ज्ञानको ज्ञान र लगन देखेर उनलाई पढाउने काम दिइयो । 

त्यसपछि ज्ञानप्रसाद ज्ञान सर भए । 

ज्ञान सरको कथा

जिन्दगीका लामा बाटाहरु ज्ञान सरले पढाएरै बिताए । पोखरा र काठमाडौंका नाम चलेका निजि स्कुलहरुमा पढाए । आफ्नो पढाई खर्च पनि चलाए । 

वर्षौं बितिसकेको थियो । पढाएर मात्र परिवार पाल्न धौ भयो । ज्ञान सर राम्रो तलब आउने जागिर खान कतार गए । 

विद्यार्थीहरुको कल्याङमल्याङमाझ थुप्रो वसन्त बिताएका ज्ञान सरलाई परदेश विरानो लाग्यो । ६ महिनामै नेपाल फर्किए र काठमाडौंमा फेरि पढाउने काम खोजे । 

बैंसमै शिक्षक बनेका ज्ञान सरको पढाउँदा पढाउँदै कपाल फुलिसकेको थियो । काठमाडौंका भव्य निजि विद्यालयमा पढाइरहँदा ज्ञान सरलाई एकदिन अर्कै ज्ञान फुर्यो । आफ्ना शिप र दक्षता बोकेर मुस्ताङको कुनै सानो सरकारी स्कुलमा गएर सेवा गर्ने । 

ज्ञान सर राजिनामा दिएर मुस्ताङ जाने योजना बोकेर दशैं मान्न घर आए । 

ज्ञान सरको घरको आँगन छेउमै एउटा प्रावि थियो । गैरा स्कुल नामले चिनिने यो विद्यालयमा मुस्किलले ५० जना भर्ना भएका थिए । 

गाउँका केटाकेटी सप्पैलाई बोर्डिङ स्कुलले तानेका थिए । मिर्मि स्कुल अरु स्कुलसँग मर्ज हुने छेकोमा थियो । 

 स्कुलका हेडमास्टर थिए गाउँकै रामप्रसाद भट्टराई । हेडसर र केही अभिभावकहरुले योजना बनाए विद्यार्थी बोलाउन अँग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने । 

पोखरा र काठमाडौंका नामी विद्यालयहरुमा खारिएर आएका अनुभवी ज्ञान सरमा गाउँलेको आँखा पर्यो । मुस्ताङ जाने योजना बोकेका ज्ञान सरलाई आँगनकै स्कुलले बोलायो । 

ज्ञान सरले स्कुलको रुप फेर्ने कमान सम्हाले । १ वर्ष बस्ने शर्तमा । पहिलो वर्ष नै १ सय ५० जना विद्यार्थी थपिए । 

१ वर्ष बस्ने सर्तमा स्कुल छिरेका ज्ञान सरको १२ वर्ष यहीँ स्कुलमा बितिसक्यो । वरपरका बोर्डिङ स्कुलहरु बन्द भए । अपवाद बाहेक गाउँका सप्पैले नानीबाबु यहीँ पठाउँछन् । 

सिकाइ, संगीत,भवन, खेलकुद हरेक विषयमा मिर्मि आधारभुत विद्यालय अब्बल भइसकेको छ ।

विहान जुरुक्क उठेर चियाको गिलास समाउँदै स्कुल छिर्ने ज्ञान सर अँध्यारो हुँदा सम्म स्कुलमै हुन्छन् । 

स्कुलका आफ्नै लोभलाग्दा शैलीहरु छन् । 

शिशु कक्षा पढ्ने नानीहरुसँग अभिभावकहरु पनि दिनभरि स्कुलमै बस्नु पर्छ । नानीहरुलाई बानी लगाउन । 

सरकारले ५ कक्षासम्मका नानीहरुलाई दिने खाजा खर्च स्कुलले अभिभावकहरुलाई नै दिन्छ । त्यसबापत खाजा समयमा अभिभावकहरुले घरमै खाजा बनाएर ल्याउनु पर्छ । स्कुलमा बिस्कुट चाउचाउ जस्ता पत्रू खानेकुरा प्रतिबन्ध छ । 

ज्ञान सर अहिले पनि निजि स्रोतमै तलब खान्छन् । हेडसर र उनको जोडी एउटै जुवाका हल गोरु जस्तै छ । ठूलो हात र फराकिलो मन भएका अभिभावकहरु छन् । 

मुस्किलले ५० जना विद्यार्थी भएको स्कुलमा अहिले झन्डै ३ सय जना पढ्छन् । सरकारी स्कुल नि यस्तो हुन्छ र भनेर हेर्न टाढा टाढाबाट मान्छेहरु आउँछन् । 

हुन त ज्ञान सरलाई अहिले पनि थुप्रै निजि स्कुलहरुले राम्रो तलबको लोभ देखाएर बोलाउने गरेका छन् । तर ज्ञान सरको मन मान्दैन । 

बरु गाउँका अरु सामुदायिक विद्यालयहरुको पनि यसैगरी मुहार फेर्ने धोको छ । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply