मध्य हिउँदमा मार्फाका धेरैजसो घरहरुमा ताल्चा लाग्छन् । मान्छेहरु हिउँ र जाडो छल्न पोखरा, काठमाडौं झर्छन् । मुखिया र कटवालहरुले चाहिँ गाउँ छाड्न पाउँदैनन् । गाउँ सुनसान भए पनि सदियौंदेखि चलि आएको स्थानीय नियम कानुन र चलनले थकाई मार्न पाउँदैन । 

छानाभरि परेका हिउँ जथाभावि फालिदिँदा कुलो र बाटोको बाटो छेकिन्छ । मुखियाको उर्दी गाउँभरि हाँक हालेर सुनाउँदैछन् सोमबहादुर बागदास। 

उसो त गाउँका स्थायी बासिन्दा, सबैले मुखिया र कटुवालको काम आलोपालो गर्नुपर्छ । हिउँका चिसो सोरेर आउने ठिहिर्याउने बतासमा बस्न कसलाई पो बस्न मन लाग्छ र । केटाकेटीका स्कुल छुट्टी हुन्छन् । पर्यटक पनि घुम्न आउँदैनन् । होटल र पसलमा समेत ताल्चा लाग्छन् । न्यानोमा घर हुनेहरु तल झर्छन् । अनि आफ्नो जिम्माको कटुवाल काम तल झर्न नसक्नेहरुलाई पैसा दिएर जिम्मा लाउँछन् ।  

केही दिन अघि परेको  हिउँले ढाकेका स्याउबारी छिचोल्दै कटुवालको नियमित गस्ति सुरु हुन्छ । 

गाउँ घुमेको प्रमाणस्वरुप उनले चिचे अमिलको हाँगा भाच्छन् । गाउँको पुछारमा खोला छेउमा मात्र चिचे अमिलोको बोट छ । चिचे अमिलोको हाँगा लगेर मुखियाको ढोकामा सिउरिदिएपछि कटुवालले गाउँ घुम्ने काम फत्ते गरेको थाहा हुन्छ । 

भोलि झन् धेरै हिउँ पर्छ – रेडियोले भनेको छ । गाउँमै अल्मलिएका मान्छेहरु फटाफट बसको टिकट काटेर तल झर्दैछन् । बाटा घाटा र स्याउका बगैंचाहरु झन् एक्लिँदैछन् । हिउँद्का केही महिना हिमालपारिका यी गाउँहरु बेसी झर्छन् । जोड जोडले हिउँ परिरहन्छ, बतास चलिरहन्छ । तर गाउँ आँफैले धेरै वर्ष अघि बनाएको विधिको स्यानो शासन चलिरहन्छ मार्फा गाउँमा ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply