कतिपय यात्राहरु रहर हुन्छन् । कतिपय बाध्यता । हातमुख जोर्न सप्तरी गोबरगाडा टापुका मान्छेहरु दिनरात कोशीमा हेलिँदै बाध्यताको यात्रा गर्दा रहेछन् । हामीले पनि उनीहरुसँगै यो यात्रा गर्ने रहर गर्यौं । 

सप्तरी हनुमाननगरसम्म हामी मोटर चढेरै गयौ । त्यसपछि पैदल । हनुमाननगर बजारमा डेरा लिएर दश कक्षामा पढ्ने शंकर यादब साइकल ठेल्दै अघि लागे  । हाम्रो टोली उनकै पछि लाग्यो । 

बलौटे खेतका ससाना आली र बालुवामा टेक्दै हामी पहिलो भँगालो छेउ पुग्यौं । हामीसँगै हिँडेका शुभसागर र अजयले जुत्ता चप्पल वारी नै छाड्न सल्लाह दिए । हामीले बाँकि यात्रा खाली खुट्टा गर्ने भयौं । 

आँखाले भ्याउन्जेलसम्म बालुवा र माटो मात्रै देखियो । यस्ता थुप्रै जँधार तर्नुपर्छ रे ।माैसम सफा थियो । नीलो आकाश । नदी तरेपछि यस्ता अनगिन्ती काँसघारी र घाँसे मैदान छिचोल्दै हामी अघि बढ्यौ । पर पर बस्तुभाउका बथानहरु देखिन्थे । सुनसान बाटो । आफ्नै पाईलाका आवाजहरु पनि प्रष्ट सुनिने ।

बाटोमा तरेका साना ठूला जँघारहरु त हामीले गन्नै छोडिदियौ । 

हनुमाननगरमा आज हाट लाग्ने दिन । बजारले मान्छेलाई बोलाएको थियो । दुध बेच्नेहरु, नुनतेल गर्न बजार हिँडेकाहरु बाटैभरि भेटिए  । यो यात्रामा पर्ने सबैभन्दा ठूलो नदी हामीलाई पर्खिरहेको थियो । अजय र शुभसागरले माझीदाईलाई डाके । 

धन्न हाम्रो डुङ्गा पल्टिएन । नदी पार गरिसक्दा हामी सबै आत्तिएका थियौ । लामो श्वास तान्यौ र केही बेर नदी किनारमै सुस्तायौ । 

हामी सँगै हनुमान नगरबाट आएका शंकरको घर पुग्यौ । नौला मान्छेहरुलाई गाउँघरमा असाध्यै प्यारो गर्ने । हामीलाई एकराते दही पनि खुवाए ।

गाउँको पुछारमा पर्ने मुसहर टोलमा आज पूजा रहेछ । गाउँभरिका आइमाइ केटाकेटी त्यहीँ भेला भएका थिए । 

घाम अस्ताउने बेलामा हामीले फर्किने सुर गर्यौं । उत्तरतिरको आकाशमा बादल मडारिएको थियो । पहाडमा कतै पानी परेजस्तो छ । अब नदी र जंघारहरु पनि बढ्छन् । उनीहरुले सुनाए ।

गाउँ छिर्ने अलि ठूलो भंगालोमा अघिको भन्दा पानी निकै बढेको थियो । तत्काल डुंगा बोलाउन सम्भव थिएन ।  घाम अझै पश्चिम लाग्दै थियौ । अघि बढ्ने कि गाउँ फर्किने ! हामी दुविधामा पर्यौ । 

संगै फर्केका अजय र शुभसागरले पानीको गहिराई नापे । उनीहरुले पानीमा बनाएको बाटो पछ्याउँदै हामीले भंगालो तर्यौ ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply