Ausadhiko Aspatal Yatra

मुगु सदरमुकाम गमगढीबाट छायला भन्ने ठाउँसम्म मुगु-कर्नालीको तिरैतिर बल्लतल्ल गाडी जान्छ । बर्खामा त यो पनि सम्भव छैन । मुगुम कार्मारोङ गाउँपालिकाका १२ गाउँका रासन छायलादेखि कि मान्छेले कि खच्चडले बोक्नुपर्छ । औषधी पनि खच्चड चढेरै गाउँ पुग्छन् ।

Ausadhiko Aspatal Yatra – EP106

छायलामा मान्छेभन्दा धेरै खच्चड देखिन्छन् । कोही सुस्ताइरहेका । कोही चरिरहेका । कोही मन नलागी नलागी एउटा लामो यात्राको भारी उठाउन तम्तयार । 

फुर्सदिला खच्चड गोठालाहरु क्यारेमको गोट्टी ताक्दैछन् । एकातिर छङछङ कर्णाली हल्ला गर्छ । अर्कातिर सामान बोकेर आएका ट्याक्टरहरु हल्ला गर्छन् । पहाडहरु शान्त छन् । 

यहाँसम्म मोटरले ल्याएका औषधी र भ्याक्सीनका बाकसहरु पुलु गाउँको अस्पतालसम्म पुर्याउनु छ । छिटछिटो हिँडे मात्र एकै दिनमा पुगिन्छ । नत्र बास बस्नुपर्छ । 

जुम्लाका लालबहादुर भण्डारी आजको यात्राका पाइलट हुन्न । लालबहादुर जतनले भारी कस्छन् । अनि सुरु हुन्छ भीरै भीरको यात्रा । 

अलिक पर हिँड्ने बाटो ठाडो उकालोतिर मोडिन्छ । तल डोजरले भिर कोट्याउँदैछ । यहाँबाट कता हो कता टाढा हिमालका गाउँसम्म बाटो पुर्याउने सपना, बिपना कहिले हुने हो कसैलाई थाहा छैन । 

लालबहादुरलाई खच्चड र भारीको चिन्ता छ । यस्ता भिरबाट कहिले ढुङ्गा खस्छन् कहिले खच्चड खस्छन् । उनी बेला बेला भारि जाँच्छन् । चुरोट सल्काउँछन् । मोबाइलमा गीत बजाउँदै भीरको बाटो हिँडिरहन्छन् । 

खच्चडले बोकेका औषधी र कोरोनाको खोपको जतन गर्न गाउँपालिकाका कर्मचारी पनि पछि लागेका छन् । 

ढुङ्गेधारा पुग्दा सिमसिम पानी पर्न लाग्यो । साँझ पनि परिसक्यो ।  आज यहिँ बास बस्ने निधो भयो । लालबहादुरले खच्चडका भारि फुकाइदिए । खच्चडहरु रमाए । 

भोलिपल्ट अस्पतालको एउटा ठूलो सामान छायलाबाट आउँदैरहेछ । चिसोमा राख्नुपर्ने सुई र औषधीहरुको लागि फ्रिज । दराजभन्दा ठूलो यो सामान खच्चडलाई बोकाउन नमिल्ने । हेलिकप्टरबाट ल्याउँदा सामानभन्दा कति गुणा महँगो ढुवानी खर्च नै लाग्ने । 

स्वास्थ्यकर्मी बलि बुढा भरियाहरुलाई फ्रिज बोकाएर उही भीरको बाटो आउँदै रहेछन् । 

एकजना रित्तै हिँड्दा पनि भित्तातिर ढल्केर हिँड्नुपर्ने भिरमा ६ जना भरियाहरुले गर्हुङ्गो फ्रिजलाई काँध थापेका थिए । 

ठाउँ ठाउँमा खुट्टा लर्बराउँथ्यो । कहिँ असाध्यै भिरालो । कहिँ ठाडो उकालो । कहिँ फ्रिज नै छिर्न मुस्किल पर्ने साँघुरो । 

ढुङ्गेधाराबाट औषधी बोकेका खच्चड  धपाउँदै लालबहादुर खोलापारिको बाटो लागे । हामी वारिकै बाटो फ्रिज बोकेको टोलीसँग मिसियौं । 

एक छिन हिँड्दा भरियाहरु पसिनाले निथ्रुक्क हुन्थे । गलेर फतक्क हुन्थे । छिनछिनमा भारी नबिसाई सुखै थिएन । 

भरियाहरु निकै थाकेका थिए ।  आज बास बस्नेमा उनीहरुको जोड थियो । बलि सरले उनीहरुलाई हौस्याइरहन्थे । 

साँझ पर्ने बेलातिर रिउसा बगरमा रहेको सामुदायिक अस्पतालमा भरियाहरुले फ्रिज बिसाए । अस्पतालका स्वास्थ्यकर्मीहरु कुरेर बसेका थिए । 

अस्पतालमा आएको नौलो सामानलाई सबैले चनाखो भएर हेरे । फ्रिजलाई खादा लगाइदिएर पुजा गरे । 

अस्पतालको सा मान बोकेर आएका भरियाहरु पनि विदा भए । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply