कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । दन्त्यकथाका मायावीहरुले जादूका छडी घुमाएरै अमृत वर्षा गराउँदा हुन् । 

कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । भूइँमा उभिएको मान्छेको जीवन त; कहिले फूल, कहिले  काँडा । 

आँखा चिम्लिँदा पो शितल सपना, आँखा खोल्दा त पोल्ने यथार्थ । सफल मान्छेका कथा त जति पनि लेखिन्छन्, भनिन्छन् । तर असफलताको कथा कसले भन्ने  ?  

द्वन्द्वको राप र ऋणको ताप, दुबैले पोलेपछि, नेपाली सेनाको भर्खर सुरु गरेको जागिर छाडेर ६० सालतिर अरब उडेका थिए स्याङ्जा, वालिङका भिम लुइँटेल । 

भोको पेटले सपना देख्दैन । ऋण लागेर शेष भएका बेला देशको माया दोस्रो नम्बरमा । 

उमेरका केही भर्भराउँदा वयहरुसँग ऋणका तमसुकहरु साटिसकेपछि बल्ल भिमलाई देशको माया लाग्यो । हातमा ४ लाख र आँखामा लाखौं लाख सपना बोकेर उनी नेपाल फर्किए । 

४ लाखले किराना पसल खुल्यो । ३ लाख बैंकको ऋणले बंगुर फारम खुल्यो । भीम र परिवारको सफलताको कथा सुरु भयो । 

३ लाखको लगानी ९ करोड पुग्यो । भीम लुइँटेलको बङ्गुर फारमले दाम मात्र हैन नाम पनि कमायो । 

अचानक बङ्गुरमा देखिएको रोगले बजारमा लान ठिक्क पारेका १२-१५ सय बङ्गुर मरे । एउटा फार्म नै रित्तियो । बाँकि भएका बङ्गुरलाई दाना खुवाउनै सकस हुन थालेको छ अहिले । भिम यतिखेर असफलताको कथा भोग्दैछन् । 

त्यो सफलतादेखि यो असफलतासम्म धेरै कुरा फेरिएको छ । तर भिमको भिमकाय आत्मविश्वास र अनुहारको मुस्कान फेरिएको छैन ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply