आँखाभरि बस्ने निला आकाश, कावा खाइरहेका चराहरु, सङ्ला नदीहरु, हिउँले छपक्कै ढाकेका बुकीहरु । आहा दुर्गम त कस्तो सुन्दर । यी मुस्कुराइरहेका हिमालमन्तिर जब तुल्सीले जिङ्ग्रिङ्ग परेका रोगी गाउँहरु देखिन्, उनले मनमा खोपिएका अक्षर पढिन् – उनको काम सन्चो पार्ने हो ।

Durgamki Doctor ko Katha

Episode 104 – Durgamki Doctor ko Katha

बितिसकेको उमेरले दिएका केही सम्झनाहरु र खोसिसकेका केही सपनाहरुलाई पर कतै छाडिदिएर तुलसी शाही हातमा नयाँ नियुक्ती पत्र बोकेर सिपाही झैं हिमालतिर उक्लेकी थिइन् कुनै दिन – एक्लै एक्लै । 

खै किन हो उनी पटक पटक एक्लिइन् । भारतमा मजदुरी गर्ने आमा बा ले देश सँग एक्लाइदिए । बालखमै बिहे गरिदए, स्कुलसँग एक्लिइन् । २० दिने छोरो उपहार दिएर श्रीमान्ले एक्लाइदिए । 

 यी एक्ला पहाडमा बतासले जोड जोड उडाउँछन् कसिङ्गर, छोपिदिन्छ धुलोले आँखा । सपना देख्नेहरु यहाँ आउँदैनन् । सपना देख्नेहरु मात्र यहाँ आउँछन् । भुगोलको नक्सामा पनि धमिलो धमिलो देखिने यी उराठ हिमाली गाउँलाई माया गर्ने उनी एक्ली भइन् । 

दुर्गमकी डाक्टरको कथा

दुर्गमको परिभाषा त उनको कल्पनाको सिमाभित्र सिमित थियो । मुगु सदरमुकाम गमगढी आइपुग्दा पनि उनी पुग्ने टाढाको गाउँ पर कतै छायानाँथको लेकमुनि छेकिएको थियो ।

हावा चल्दा ढुङ्गा खस्ने बाटोमा २ दिन हिँडेपछि कार्मारोङको पुलु गाउँ पुगियो । 

आँखाभरि बस्ने निला आकाश, कावा खाइरहेका चराहरु, सङ्ला नदीहरु,  हिउँले छपक्कै ढाकेका बुकीहरु । आहा दुर्गम त कस्तो सुन्दर । 

यी मुस्कुराइरहेका हिमालमन्तिर जब तुल्सीले जिङ्ग्रिङ्ग परेका रोगी गाउँहरु देखिन्, उनले मन खोपिएका अक्षर पढिन् –  उनको काम सन्चो पार्ने हो । 

८ कक्षा पढ्दै गर्दा परिवारले अचानक बिहे गरिदिए । छोरो जन्मियो । श्रीमानसँग सम्बन्ध टुट्यो । एक्लै छोरो हुर्काउँदै पढाइ पनि पुरा गरिन् । जिन्दगीले जान अन्जानमा दिएका चोटहरु त कति कति । 

चोटहरुले सजिलै कहाँ पिरोल्छ र तुलसीलाई? उनी अग्राख झैं बलियो बनिदिइन् । 

गुजरात, अछाम, दैलेख, टिकापुर, काठमाडौं – २८ वर्षमै जिन्दगीले त लामो कथा पो लेखिसकेछ ।  

अहिले यी गाउँकी डाक्टर्नी हिमालका गाउँहरुमा नयाँ कथा बाँच्दैछिन् । आमाहरुलाई बचाउँदैछिन् । 

उनलाई हिमालसँगै हिमाल मुन्तिरका गाउँहरु पनि हाँसेको हेर्ने रहर छ ।

काठमाडौंमा बसेका छोरालाई सुन्दर भविष्य दिनुछ । अनि पुरा गर्नुछ केही थान बाँकी सपनाहरु एक्लै एक्लै । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply