Herne Katha – Episode 62

कालीबहादुर विष्टका अन्तरे छोरा भेडाको पछि लागेको १५ वर्ष भइसक्यो । काबेली फेदी देखि कन्चनजंघा शीरसम्म उनले थुप्रै  बाटो पैतालाले नापेका छन् । 

जाडो छल्न झरेका भेडाहरु गाउँछेउकै लालीखर्कमा आइपुगेका छन् । असोजदेखि बढेका भेडाका लामा रौंहरु मुण्डन हुँदैछ । गाउँलेहरु सघाउन आएका छन् । सबैलाई भ्याइ नभ्याइ छ । अन्तरेका बुबा कालीबहादुर एकछिन सुस्ताएका छन् । 

पहिले गाउँका विष्टहरु सप्पैको भेडा थियो रे  । अहिले एकाध परिवारसँग मात्र भेडा छन् । 

अन्तरेको गोठमा मिसारी भएर विक्रम लिम्बु आएका छन् । उनका गोटा बीस एक भेडा अन्तरेकै बगालमा मिसिएका छन् । 

सानो छँदा अन्तरे गोठालो भएर काकाका भेडाहरुको पछि लागे । भेडाचोक कहिले फाकखोला झर्थ्यो, कहिले फक्ताङलुङ हिमालछेउका नागीहरुमा आफ्ना डोब छोडेर आउँथ्यो ।  भेडीगोठ चर्ने रनबनमा अन्तरेको मन बस्यो  । अहिले भेडाचोक नै अन्तरेको सानो संसार भएको छ । 

अन्तरेको सानो संसारमा अस्मिता अटाएको धेरै भएको छैन । अलैंची गोड्दै अन्तरेसँग फोनबाट माया गाँसेकी अस्मिता लिम्बु एकदिन बाटैबाटो ओरालो झरिन् । बरको बोटछेउ अन्तरे पर्खिरहेका थिए । अनि उनीहरु बर-बधु भए । 

अन्तरेका भाइ कमल प्रायजसो ताप्लेजुङ बजारतिरै बस्छन् । रेडियोमा बोल्नेदेखि साइनबोर्ड लेख्नेसम्म काम जानेका कमललाई आजकल भेडाचोकले लोभ्याइरहन्छ । 

एकछिन थकाइ मार्न पालभित्र छिरेका धनबहादुर विष्ट भेडाको दुधसँग सप्र्याक सप्रयाक भात खाँदै थिए । गोठको खाजा दही दूध । 

हेर्दा हेर्दै असिना पानी दर्कियो । भेडाहरु जंगलतिर ओत लाग्न छिरे । भेडा मुड्न सघाउन आएकाहरु पालभित्र गुजुल्टिए ।  

असिना पानीले पाल ठटाइरह्यो । आगो दनदनी बल्यो । ठेट्ना मकै चपाउँदै हामीले सुदूरपूर्वका पहाडी आवाजहरु सुनिरह्यौं । 

पानी थामिएपछि सघाउन आएकाहरु अआफ्नो बाटो लागे । झ्याउँकिरी कराउन थाले । क्षितिजतिर फर्केर कुकुरहरुले जंगल छिरेका भेडालाई बोलाए । अन्तरे भेडा खोज्दै जंगलका अन्तरकुन्तर छिरे । 

ताप्लेजुङ बजार टाढा थियो । अन्तरेका बाउ छोराले नजिकै गाउँमा आफ्नै घर गएर बास बसौं भने । प्रेमिल प्रस्तावलाई हामीले नाइँ भन्नै सकेनौं । 

मझेरीमा आगो वरपर बस्यौं । अन्तरेकी आमाले बिहे गरेर आउँदा ल्याएको टिनको ट्याङ्कामा मकैका खोया दनदनी बले । 

नदी र पहाड, सपना र सुस्केरा, भेटेका र छुटेका सप्पै गीत बनेर गुन्जिए । अन्तरेका बाआमाका भाका सुनेर हामी टोलाइरह्यैं । अबेरसम्म आगो नाचिरह्यो । मिठो भान्सा भयो । 

कहिलेकाहिँ ठाउँ र पात्रसँग यति नजिक भइन्छ कि हामी कथा खोज्न  हिँडेकै बिर्सिन्छौं । विहान छुट्टिने बेलामा हामीले कथा बिर्सियौं । बेहुली अन्माएजस्तै अलिअलि माया र अलिअलि विछोड बोकेर हामी बिस्तारै उकालो लाग्यौं।अन्तरेको घरको झझल्कोले हामीलाई परसम्म पछ्याइरह्यो । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply