अनुहारमा छाइरहने मुस्कानले उनको उमेर छोपिदिन्छ । वरपर आइरहने नानीबाबुहरु पुतली जस्ता लाग्छन् । उनी चाहिँ पुतलीको पछाडि दौडिने नानी जस्तो । उनी आमा हुन् ।

गीता को उमेर ७२ वर्ष कट्यो । पुराना सम्झनाहरु उमेरसँगै ओइलाइसके । तर दैलो छेउ टेबुलमा राखिएको गीताको सादा तस्वीरले विस्मृत कथाहरु अलि अलि सम्झाइदिन्छ । अरु कसैले सुनाइदिएका ‘रे’ का कथाहरु मात्र थाहा छ उनलाई ।

धनुकुटामा जन्मेकी हुन् रे । भारतीय सेनामा जागिरे बुबासँगै भारत नै बस्थिन् रे । सानै हुँदा आमाबुबा बिते रे । अनि उनलाई भारतकै अनाथालयमा राखियो रे । उनी उतैका अनाथ आश्रमहरुमा हुर्किइन् । आमाबुबासँगको सम्झना धमिलो छ ।

उमेरले अक्षर चिनायो । खुट्टो टेकायो । जवानीका केही साल भारतमै बिताएपछि गीताले पुर्ख्यौली माटो सम्झिन् । आमाबाबु भारत आएको बाटो स म्झिन् ।

त्यतिखेर गीताको जिन्दगी गीता जस्तै थियो । परिवार र सम्बन्धका लहरो थिएनन् । समस्याका पहरो थिएनन् ।
किन किन गीतालाई माया मोह र घर परिवारका सांसारिक बाटो रोज्न मन लागेन ।

अरुसँगै हाँस्नुपर्ने, अरुसँगै रुनु पर्ने परदेशी अनाथालयका उदास दिनहरुमा उनलाई आमाको खुब याद आउँदो हो । आमाको पसिना र दूध मिसिएको सुगन्ध गीतालाई कत्ति खड्किँदो हो! भोक लाग्दा, तीर्खा लाग्दा, आँखामा कति झरी पर्दो हो । मध्यान्नमा मार्बलका चिसा भूइँमा निदाउँदा आमा सपनीमा कति आउँदी हुन् । किस्ता किस्तामा आमाका सम्झना ओझेल परिरहँदा गीतालाई आफैं आमा भएर बाँच्न पो मन लाग्यो कि!

२५-३० वर्षको उमेरमा गीता आफ्नै माटो खोज्दै नेपाल फर्किन् । आफ्ना मान्छे कोही थिएनन्, जाने ठाउँ कहिँ थिएन ।

कसैको नभएकी गीताले सबैको हुने बाटो रोजिन् । इटहरीको यही थलोमा गीताले ४० वर्षअगाडि आमा बन्ने निर्णय गरिन् । आफूले नजन्माएका छोराछोरीको आमा ।

अहिले त गीताका छोराछोरीहरु नै आमा भइसके । शनिबारहरु भेटभाट लिएर आउँछन् । नजिकै हुने छुने गरी भेटिन्छन् । टाढा हुने फोनमा भेटिन्छन् । ३ सय जना छोराछोरी हुर्केर कोही कता कोही कता पुगेका छन् ।

बाहिरबाट हेर्नेको लागि यो आश्रयस्थल हो ।
तर यही घरमा आमाले हुर्काएका ३ सय जना छोराछोरीको लागि यो केवल घर हो । तपाईंको घर जस्तै घर । ज हाँ माया हुन्छ र माया गर्ने मान्छे, आमा हुन्छिन् ।

यहाँ चाडबाडहरु अझै रमाइला हुन्छन् । ठूलो परिवारको ठूलै रमाइलो । जतन गरेर राखिएका मीठा सम्झनाहरु झनै रमाइलो । यो ६२ सालको दशैं हो ।

पखेटा लाग्ने भएपछि छोराछोरी आफैं गरि खान्छन् । यही आँगनबाट ३५ जनाको बिहे भइसक्यो । अस्ति भर्खर लक्ष्मी गौतम र पेम्बा लामाको लगन गाँठो बाँधिएको थियो । छोरीहरु अन्मेर जाँदा सारा घर रुन्चे हुन्छ ।

न्वारन, पास्नी, वर्तमन र जन्मदिनहरु यहाँ आइरहन्छन् ।

आमाका धेरै छोराछोरीहरु जन्माउनेले छाडिदिएका हुन् । ती जन्माउने आमाहरुका अलग्गै कथा होलान् ।

बाटोमा भेटिएका सालनालसहितका नानीहरु गीता आमाको काखमा आउँछन् र नयाँ कथा सुरु हुन्छ । जिन्दगीको कथा । मायाको कथा । आमाको कथा ।

आमाले तीनका न्वारन गरिदिन्छिन् । तीनले जन्मँदा कुनै थर र जात लिएर आएका हुँदैनन् । आमाले आफ्नै थर दिन्छिन् ।

यो घरका प्राय सबैको कथाको सार यही हो । प्यारो संसार यही हो ।

साँघुरो काठेघरबाट सुरु भएको मायाको यो आश्रममा पक्की कोठाहरु थपिँदैछन् । मनकारीले दिएका दान र सहयोगले यहाँ तातो भात पाक्छ ।

लिचिङले बिबिएको पढाई पूरा गरेकी छिन् । आमाको दुःख देखेकी लिचिङलाई अब आमाको काममा सघाउन मन छ ।

Join the Conversation

1 Comment

  1. आमालाई कसरी भेट्न सकिएला । हजुरहरुले केही ठेगाना बताउनुभएन भिडियोमा ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply