पूर्वपश्चिम राजमार्ग । राैतहट चन्द्रनिगाहपुरको मुख्य चाेकमा एउटा चिया पसल छ ।

त्यसाे त याे चिया पसलकाे कुनै नाम छैन, न कुनै साइनबाेर्ड नै छ ।

तर सबैले यसलाई नाम दिएका छन्- ‘आमाकाे चिया पसल’

यहाँ चिया खुवाउने आमा हुन् नरकुमारी गुरुङ । बिहान ४ बजे उठेर उनलाई  अगेनाेमा चियाको कित्ली बसाल्न हतार हुन्छ । छोराछोरीले आमालाई सघाउछन् ।

धेरैले उनलाई ‘हवल्दार्नी आमा’ पनि भन्दछन् । उनका श्रीमान् हवल्दार थिए रे । जमजुङबाट तनहुँहुँदै हवल्दार श्रीमानकाे कर्मले डाेर्याएर राैतहटसम्म ल्याएकाे थियाे । 

सबेरैदेखि हवल्दार्नी आमाकाेमा चिया पारखीहरुकाे भिड लाग्छ । यहाँ सबैखाले मान्छे आउँछन् । नेतादेखि विद्यार्थीसम्म, साहुदेखि मजदुरसम्म । आमाकाे चियाकाे स्वादले कसैलाई भेदभाव गर्दैन।

‘चिया खान काे-काे आउछन् काे-काे, यादै हुँदैन । सबैतिरका मान्छेहरु यहीँ भेला हुन्छन् । उनीहरुलाई अझ धेरै वर्ष चिया खुवाउन सक्छु ।’- उनी दिल खाेलेर हास्छिन् । 

३६ बर्ष भयाे नरकुमारीले  चिया पकाउन थालेकाे । उमेरले गल्दै गए पनि उनकाे जाेस र जागर भने अझ गलेकाे छैन ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply