दोलखा चरिकोटबाट २ वर्षको उमेरमा आमाबुबासँग काठमाडौं आएका उनको जिन्दगीको ७६औँ वसन्त काठमाडौंमै बितिसके ।
काठमाडौंमा पहिले घर थिएन, तर आमाबुबा साथमा थिए ।
अहिले घर छ, तर आमाबुबा साथमा छैनन् ।

अहिले त उनी आफैं बुबा बनिसके । उनी अर्थात कान्छा तामाङ ।
“मेरो अर्कै नाम छ तर भन्नू हुदैन । सबैले कान्छा भन्छन् । आमाबुबाले पनि कान्छा भन्थे । कान्छा भनेकै मन पर्छ,”- उनी असली नाम नभनी कान्छाकाे प्रसङ्ग जोड्छन् । हामीले पनि कान्छा बाजे सम्बाेधन गर्याैँ ।

नयाँ बस्ती बौद्धबाट बिहानको ३ बजे उठेर कान्छा बागबजारको एउटा गल्लीमा आउछन् । अनि सुरु हुन्छ उनको चिया पसल । चिया खाने मान्छेहरूको भीड सुरु हुन थालेपछि उनलाई भ्याइ नभ्याइ हुन्छ ।
बिद्यार्थी, व्यापारी, मजदुरी सबैलाई उनले पकाएको चिया मीठो लाग्छ रे ।

कान्छाकाे चिया मात्र हाेईन, उनले गाएकाे गीत, हाँसाे,बाेली पनि मन पर्छ । उनलाई नेवारी भाषा पनि आउछ । एकैछिन गीत गाएर पनि सुनाउन भ्याए ।

उनले चिया पकाउन थालेको दशक बितिसक्यो । “श्रीमती छोराछोरीले दु:ख नगर, अहिले लाउन, खान दु:ख छैन भन्छन् । तर मलाई बसिरहदा जिउ दुख्छ । बरु यसै गरे भने आनन्द मिल्छ ।,”- कान्छा उम्लिरहेको चिया डाडुले चलाउछन् ।

उनले दाउरा बेचे, रिक्सा चलाए, होटलमा भाडा माझे । “पढ्न बाहेक मैले नगरेको काम केही छैन । बुबाले स्कुल जाँ भन्दा दाउरा बोक्छु भनें ,”- उनी बिगत सम्झिदै जाेडले हाँस्छन् ।

आफ्नाे जिन्दगीकाे ७४ वर्ष काठमाडाैंमा बिताएका कान्छाले काठमाडाैंलाई राम्ररी चिनेका छन् । कति आफ्नाहरु छुटिए कति पराईहरु जाेडिए ।


बिहान ९ बजेसम्म चल्ने उनको चिया पसल लकडाउनले पाँच महिना बन्द भयो । उनलाई त्याे समय घरमा बस्न सकस पर्यो ।
“सपनामा कसैले कालो चिया, कसैले सेतो चिया, कसैले चुरोट, कसैले दुनोट मागेर घेरिरह्यो ।
अनि फेरि चिया पकाउन थालें । अब त सकिन्जेल यहाँ आउनेलाई चिया खुवाउँछु ।
नानीहरु पनि आउदै गर्नु ।” उनले हामीलाई मसालेदार सेताे चियामा हल्का कफि छर्केर दिए ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply