अकल्पनीय लामो लकडाउनका कारण अचेल समयै समय छ म सँग। यो समयलाई संचय गर्न मिल्ने भए, बैंकमा लगेर संचित गर्थें।जब समयको अभाव हुन्छ, तब बैंकबाट समय निकालेर समय कै बजारमा खर्च गर्थेँ। तर यी सब त स्वप्न न हुन्। हुन त मैले म सँग समय छ भनेर फगतमा लेखेँ जस्तो लाग्यो। समय त उसैसँग हुन्छ, जो समयलाई अधीनमा राख्न सक्छ। मसँग त फुर्सद मात्रै पो छ त! अचेल फुर्सदै फुर्सद छ मलाई।

फूलको मालाले घेरिएको आफ्नो बुवाको तस्बिर हेर्ने फुर्सद छ मलाई। जुन तस्बिरमा देख्छु, म प्रतिको असंख्य असन्तुष्टिहरु।चाउरिएको आफ्नी आमाको गाला हेर्ने फुर्सद छ मलाई। जुन गालामा देख्छु,म जन्मिदा बनेका पिडाका धर्साहरु।मेरी जीवन संगिनीको आँखा हेर्ने फुर्सद छ मलाई।जुन आँखामा देख्छु,मलाई डुबाउने मायाका तलाउहरु। मेरा सन्तानहरुको अनुहार हेर्ने फुर्सद छ मलाई। जुन अनुहारहरुमा देख्छु, बेरोजगारी बाउकाे कथाहरु। यी सब आफ्नै अगाडि भएर पनि हेर्ने फुर्सद नपाएका मेरा आँखाहरु,हिजोआज खुब फुर्सदिला भएका छन्।

अचेल मसँग, बेच्न नमिल्ने फुर्सदको पसल छ। फुर्सद भएर नै सदा हेर्ने गर्छु, आफ्नै घर अगाडि तनक्क तन्किएको बाटो। जुन बाटोमा थोत्रो साइकलमा खट्याङ खट्याङ गर्दै हिड्नेहरु, हिड्न छाडेका छन्। थोत्रे फलाम….थोत्रे फलाम…. भन्दै कराउनेहरु कराउन छाडेका छन्। तर पनि लौ आयो….ताजा ताजा तरकारी, लौ आयो…. मिठो मिठो फलफूल भन्नेहरु आउन छाेडेका छैनन्।मध्याह्नको टन्टलापुर घाममा बाध्यताले तरकारी बेच्ने ती तरकारी व्यापारीहरुलाई नियाल्ने फुर्सद छ मलाई। दिनभर मिहिनेत गर्दा पनि छाक टार्न धौ धौ पर्ने ती गरिब व्यापारीहरुलाई हेर्ने फुर्सद छ मलाई। दिनभर घोक्रो सुक्ने गरि कराउँदा पनि सामान नबिकेर, निराशाले ढाकेको ती अनुहार हेर्ने फुर्सद छ मलाई। मलाई फुर्सद भएर नै ती दृश्य देखिरहेछन् मेरा यी फुर्सदिला आँखाहरुले।

ग्याजेटमा मिति हेर्ने बानी परेको मलाई, अचेल भित्तोमा तुङ्द्रुङ्ग झुन्डिएको भित्ते पात्रो हेर्ने फुर्सद छ। कुन मितिमा कति जना नेपाली कोरोना संक्रमित भए? त्यो तथ्यांक राख्ने फुर्सद छ मलाई। कोरोनाका कारण कुन मितिमा कति नेपालीको मृत्यु भयो? त्यो संख्या भित्ते पात्रो मै गोलो घेरा लगाउने फुर्सद छ मलाई। अनि कोरोनाका कारण दिवंगत भएका नेपालीहरुको सम्झानामा, दुई थोपा आँसु झार्ने फुर्सद छ मलाई। हिजोआज फुर्सदै फुर्सद छ मलाई।

आफ्नै छेउछाउका विपन्नहरुकाे खाली भाँडो हेर्ने फुर्सद छ मलाई। आफ्नै छेउछाउका असहायको रित्तो थाल हेर्ने फुर्सद छ मलाई। तर फुर्सद भएर मात्रै के गर्नु? खाली भाँडोमा चामल भर्न सकिएन। रित्तो थालमा खाना पस्किन सकिएन। ती विपन्न वर्गलाई हेरिरहन बाहेक केही गर्नै सकिएन। आफूसँग नभएरै केही गर्न नसकेपनि, मेरा फुर्सदिला आँखाले हेर्न मिलेसम्म हेरि रहन्छु। हेर्ने फुर्सद पाएसम्म कहिल्यै चिम्म पार्ने छैन, मेरा फुर्सदिला आँखाहरु।

ज्ञानेन्द्र कुरुम्भङ्ग
‘पखेरे कान्छा’           

 दमक, झापा 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply