जिन्दगी एकदम व्यस्त थियो । आफन्त अनि साथीभाइहरुको सधै एकै गुनासो थियाे – ‘तँ बिजी का बिजी नै हुन्छेस् । न तँलाई हाम्रो फोन उठाउने फुर्सद हुन्छ न त कल व्याक गर्ने नै । हुन त पैसा कमाउन लागेको मान्छे न परिस्, त्यस्तै हो ।’ मेराे समय र व्यस्तताका कारण मेरा आफन्त र साथीभाइबाट मैले प्राय सुनिरहने शब्दहरु हुन् यी ।
कहिले अफिस जाने हतारो त कहिले मिटिङ भ्याउनुपर्ने बाध्यता । आएका फोनहरू काट्दै म भन्थे ‘अहिले राख्नुस् न, म पछि गर्छु ।’ तर पछि फेरि म त्यही दिनचर्यामा हराउँदा फोन गर्न भुसुक्कै बिर्सिन्थे । यही कारण म प्राय साथीभाइ र आफन्तबाट टाढिदै थिए । तर आज विश्वभरी चलिरहेको बिषम परिस्थितीका कारण म सेल्फ क्वारेन्टाइनमा छु । यही मौकामा म सबै साथी र आफन्तलाई दैनिक फोन गर्छु । सम्पर्कमा रहन्छु । म मेरो घरबाट नितान्त टाढा छु । तर मलाई यो फोन र ईन्टरनेटले सबैसंग बिल्कुलै नजिक बनाएको छ । लकडाउनको सुरुवाती दिनहरुमा अत्यास लाग्यो, कसरी समय काट्ने होला भनेर । तर अब आदत बन्दैछ।
अहिले धेरैसंग समय छ । फुर्सद छ, तर कसैलाई कतै पुग्ने हतारो छैन । कसैलाई भेट्नु छैन । कति सयंम भएर हामी नेपाली जनताले सरकारलाई सघाइरहेका छौ । हामी बन्द कोठामै छाै तर सबै एक जुट छाै ।
मलाई अहिले जिन्दगीका ठूल्ठूला योजना बनाउनु छैन । कसरी सफलता हात पारौ भन्ने छैन । त्यो बिदेशी यो स्वदेशी म ठूलो त्यो सानाे भन्ने भावना पनि छैन । मन मष्तिस्कमा केबल छ ‘बच्चादेखी वृद्धसम्म सबैलाई कसरी कोरोना भाइरसबाट सुरक्षित बनाउने’
मेरो बिहानी यही कोठाको मिरमिरेबाट सुरु हुन्छ र यही कोठामै हरेक दिनको अन्त्य हुन्छ । मेरा प्यारा आफन्तसंग यही कोठामै बसेर कुरा गर्छु । रमाउँछु । बरू हरेक दिन नुनमा पानी मिसाएर पिउने छु तर बाहिर निस्केर सरकारलाई दु:ख दिने छैन ।