मध्य जेठको गर्मीमा अनिशा लिम्बुले लाबर बगानमा आजको हाजिरा पुरा गरिन् । डेढ घन्टा टाढाको घर उनलाई पर्खिरहेको छ । 

उकालो बाटो काटिरहँदा रातोमाटोका पाखाहरु पसिनाले भिजाउँदैछन् अनिशाका भाइ अनिस । अलि बढि कमाइन्छ कि भनेर अनिस आज दोब्बर काम गर्दैछन् । 

हामी पनि अनिसासँग उनको घरसम्म जाने भएपछि अनिसालाई एउटै कुराको चिन्ता थियो । उनको घरमा हामीलाई बस्न दिने पिर्का मुडा छैनन् । 

चकमन्न मध्यान्हमा दिदी आउने बाटो हेरिरहेका कान्छा भाइ अनुपलाई साथीले गोठालो जान बोलाए । आज शनिबार, गोठालो जाने काम अनुपको । 

घर पुग्ने बित्तिकै एकछिन थकाइ पनि नमारी अनिशाका काम सुरु भए । 

बुबा बितेको दशै वर्ष हुन लाग्यो । दुई भाइ आमासँग थिए ।   झापामा आफन्तसँग बसेर आनन्दले पढिरहेकी अनिशालाई के थाहा इलामको दानाबारी गाउँमा रहेको घरले अचानक बोलाउला भनेर । 

एक वर्षअघि आमाले पनि छाडेर हिँडेपछि अनिशा दुई भाइको आमा बन्ने निर्णय गर्दै घर फिरिन् । 

अनिसाले शिक्षक बन्ने सपना देखेकी थिइन् कुनै बेला । उनका सपना फेरिए । भर्खर जिन्दगी सुरु हुने उमेरकी अनिशासँग अहिले व्यवहारले थिचिएका सुस्केरा मात्र छन् । कमाइ गर्न जाने लाबर बगान र घर छेउका घाँस दाउराभन्दा टाढाको संसार अब अनिशाको कल्पनामा मात्र हुनेछन् शायद । 

तल खोला बगरमा अनुप, साथीहरुसँग खेल्दै गोठालोमा भुलेका छन् । 

अनिश कामबाट फर्किए । १० कक्षामा पढ्ने अनिशलाई अब पढ्न छाडिदिउँ कि जस्तो लाग्न थालेको छ । 

भोलि एकाविहानै अनिस काममा निस्किसके । अनिसा हतार गर्दैछिन् । पानी परेकाले आज अलिक ढिला भयो । 

स्कुल जानुअघि अनुप १ घन्टा हिँडेर दाइलाई खाजा पुर्याउन गए । दाइको औषधी बोक्न चाहिँ बिर्सिएछन् । 

अनिश रातोमाटोका डाँडा सम्याउन भुले । 

अनुप हतार हतार आएको बाटो फर्किएर स्कुलतिर लागे । 

रबर बगानमा अनिसा झाडी फाँड्दैछिन् । 

यस्तै छ इलाम, दानाबारीका दिदी भाइको कथा !

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply