वीरगन्जको लङ्गडी चोकमा कमीला खातुनकाे एक कोठे घर छ । त्यहीँ घरको एउटा कुनामा अटाएको छ रंगीन चुराले भरिएको ढकी ।
छरछिमेकी गाईवस्तु चराउन फाँटतिर निस्किन्छन् । कमीला चाहिँ थाप्लाेमा ढकी बोकेर गाउँ पस्छिन् ।

पहिले गाउँका हरेक घरका कम्तिमा एकजना महिला चुरा बेच्न हिँड्थे रे । अहिले कमीला र उनकी बुहारी मात्र चुरा बेच्न हिड्छन् । घरगाउँमै पसल खुल्न थालेपछि चुरा धागो पनि पसलमै पाइन थाल्यो । तर, पैँसट्ठी बर्षकी कमीलालाई भने गाउँ डुल्नै रमाइलो लाग्छ ।

कमीलाले चुरा बेच्दै हिडेकाे २० वर्ष भयाे । उनी चितवन, हेटौडा र आसपासका जिल्लासम्म पुगेकी छिन् । खुट्टा दह्रा भएसम्म अझै पनि गाउँ घर डुल्ने उनको इच्छा छ ।

कमीलाले गाउँबिच एउटा पसल छेउमा बसेर त्यहाँ आउनेलाई चुरा लगाइदिन थालिन् । एकजना आमा यो चुरा भएन, यो साइज मिलेन भन्दै चुरा हातमा लिएर पटक-पटक ओहोर-दोहोर गरिन् । नयाँ बुहारीका लागि रहेछ । नयाँ बुहारी घरबाट बाहिर निस्कन नमिल्ने चलन रहेछ ।

एउटा घरमा कमीलाले पानी मागिन् । पर्दाको छेल पारेर ढोका भित्रैबाट कसैले पानी दियो । उनी नयाँ बुहारी थिइन् ।
चुरा लगाईदिँदै, कमीला घर–घरमा हिँडिरहिन् । हामी पछ्याइरह्याैँ ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply