गाईघाट बजारदेखि परको कुनै एउटा गाउँ । झमझम बर्खे झरी परिरहेको थियो । त्यसैबेला झरिलाल यादव झोला बोकेर पहाडतिर लागे ।


झरिलाल काम गर्न हिडेका थिए तर के काम गर्ने उनलाई नै थाहा थिएन ।


हिड्दै, खोज्दै जादा पहाडका खोलानालामा सिँचाइको काम गरे । अप्ठ्यारा र भिराला पाखाहरुमा बाटो बनाउने काम गरे। यसरी काम गर्दै जादा खोटाङको थुप्रै गाउँ ठाउँ पुगे ।


मान्छे चिने । भाषा बुझे । ४ वर्ष भैसक्यो उनको मन त्यतै अडिएको । अहिले उनी माछा पालनमा काम गर्छन् । उनी माछा मार्न र पकाएर खुवाउन सीपालु छन् ।


उनलाई नाच्न र फोटो खिच्न अति मन पर्छ । साँझ परेपछि ठुलो स्पीकरमा गीत घन्काएर नाच्न थाल्छन् ।
अझ अर्को रमाइलाे कुरा, उनलाई त राईको संस्कार मन पर्यो रे । राई भाषा पनि बोल्न आउँछ ।


४ वर्षदेखि घर नगएका उनलाई ‘घर कहिले जाने त ?’ भनेर जिज्ञासा राख्दा झरिलाल भन्छन्- ‘मलाई घर जान हतार छैना । रोईनी बिहे गरेर यतै घरजम बसाउन हतार छ ।’ उनी लाज र खुसी मिसिएको अनुहारमा बेस्सरी हाँस्छन् ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply