वीरगन्जको लङ्गडी चोकमा कमीला खातुनकाे एक कोठे घर छ । त्यहीँ घरको एउटा कुनामा अटाएको छ रंगीन चुराले भरिएको ढकी । छरछिमेकी गाईवस्तु चराउन फाँटतिर निस्किन्छन् । कमीला चाहिँ थाप्लाेमा ढकी बोकेर गाउँ पस्छिन् ।
पहिले गाउँका हरेक घरका कम्तिमा एकजना महिला चुरा बेच्न हिँड्थे रे । अहिले कमीला र उनकी बुहारी मात्र चुरा बेच्न हिड्छन् । घरगाउँमै पसल खुल्न थालेपछि चुरा धागो पनि पसलमै पाइन थाल्यो । तर, पैँसट्ठी बर्षकी कमीलालाई भने गाउँ डुल्नै रमाइलो लाग्छ ।
कमीलाले चुरा बेच्दै हिडेकाे २० वर्ष भयाे । उनी चितवन, हेटौडा र आसपासका जिल्लासम्म पुगेकी छिन् । खुट्टा दह्रा भएसम्म अझै पनि गाउँ घर डुल्ने उनको इच्छा छ ।
कमीलाले गाउँबिच एउटा पसल छेउमा बसेर त्यहाँ आउनेलाई चुरा लगाइदिन थालिन् । एकजना आमा यो चुरा भएन, यो साइज मिलेन भन्दै चुरा हातमा लिएर पटक-पटक ओहोर-दोहोर गरिन् । नयाँ बुहारीका लागि रहेछ । नयाँ बुहारी घरबाट बाहिर निस्कन नमिल्ने चलन रहेछ ।
एउटा घरमा कमीलाले पानी मागिन् । पर्दाको छेल पारेर ढोका भित्रैबाट कसैले पानी दियो । उनी नयाँ बुहारी थिइन् । चुरा लगाईदिँदै, कमीला घर–घरमा हिँडिरहिन् । हामी पछ्याइरह्याैँ ।
कुनै बेला जङ्गलमै रमाउने वनकरियाहरू अचेल हेटौंडा नजिकै मुसेधाप गाउँमा स-साना झुप्रो बनाएर बसेका छन् । सन्तोषीलाई हामीले त्यहीँ भेटेका थियाैँ । उनकाे बाल्यकाल जङ्गलमै बित्याे ।
उनले ९ वर्षकाे उमेरमा बल्ल अक्षर चिन्न पाइन् । अक्षर चिन्दै जादा अक्षरका पानाहरू फेरिए । सँगसँगै उनको जिन्दगीको पाना पनि फेरिएको छ ।
उनले हेटाैडामा जेटिए पढिन् र गाउँ फर्किइन् । उनी वनकरिया समुदायभित्र धेरै पढे लेखेकी मध्ये एक हुन् । अहिले साना-साना बालबालिकाहरूलाई अक्षर चिनाउछिन् । ‘मेराे पढाई सकेर गाउँ आउदा भताभुङ्ग भएकाे देखें । केटाकेटीहरु स्कूल कमै जाने । त्यसपछि मैले पाएकाे जागिर छाेडेर भाइबैनीलाई ट्युसन पढाउने निर्णय गरें । अनि घर-घर जाँदै नानीहरुलाई जम्मा गरेर पढाउन थालें ।’
जङ्गलमा कन्दमूल खोज्ने, खोलामा माछा मार्ने अनि गोठाला जाने वनकरिया बालबालिकाहरू अचेल कक्षा कोठामा भेटिन्छन् । अनि भएकी छिन् सन्तोषी गुरु आमा ।
के हिउँद,के बर्खा ? कहिले शहर, कहिले खर्क, समय दौडिरहेछ, तिमी नपर्ख !
उकाली-ओराली गर्न सिकाउने भूगोल र साहस दिइरहने हिमाली हावाले यस्तै भनिरहेछ । जुम्ला, पातारासीकी सविता र राममायाले समयको दौडाई पछ्याउने कोशिस गरिरहेका छन् ।
सविता र राममाया साथी हुन् । उनीहरु दाैडनका लागि मैदान जान तरखर गर्दैछन् । घरबाहिर हिउँ जमेको छ । आमाले पकाएकाे काेदाेकाे जाउलाे खाएर उनीहरू घरबाट निस्किए ।
उनीहरूका गुरु हरि रोकाया र साथीहरू मैदानमा आईसकेका छन् ।
मैदानबाट टोलि बाँडियो । कोही उर्थु पुग्ने गरि दौडिए । कसैले राजासिम मैदानमा फन्को लगाए । टाेलिमै मिसिएर दाैडिरहेका गुरु हरि राेकाया एकैछिन् राेकिए -‘जाडाे गर्मी दुवै माैसममा ट्रेनिङ दियाे भने उनीहरु जस्ताे समयमा पनि दाैडिन सक्छन् । त्यै भएर यहाँ हिउँ परेकाे ठाउँमा दाैडाएकाे ।’
आफैं दौडन आएका प्रकाश कठायतले साथीहरुलाई कसरत पनि सिकाउँछन्। दौडिनकै लागि उनी घर छोडेर सदरमुकाम बस्छन् ।
राममायाकी दिदी सुनमाया बुढा अन्तर्राष्ट्रिय धावककाे रुपमा चिनिन्छिन् । दिदी दौडिएर देश विदेश पुगेको देख्दा उनलाई पनि दौडिने साहस जाग्यो । त्यही साहसले उनी देशभरि विभिन्न प्रतियाेगितामा सहभागी भईन् । उनको पोल्टामा सुदुर पश्चिमदेखि सुदुर पूर्वसम्मका जीतहरुको तक्मा छ ।
छाेरीहरु राममाया र सुनमायाले विजयको प्रमाण पत्र बाेकेर घर फर्किँदा आमा खुसी नहुने कुरै भएन।
‘याे दगुड्न्या काम राम्माे हाे कि नराम्माे हाे माेकन था नाई । त्यइपुनि छाेरीहरुले गाउँकाे, आमा-बुबाकाे, गाविसकाे संसारैभर नाउँ राखिन् भनेर खुसी भयाँ हुँ ।’-आमा मुनकली बुढा उज्यालाे अनुहारमा खुसी पाेख्छिन् ।
मैदानमा बलका पछाडि हावा जस्तै दौडिने अनि ब्याट समाएका विपक्षीलाई गोली जस्तै बलिङ गर्ने कविता ६ महिनादेखि घरको आँगनमै सिमित भएकी छिन् । विहान उठेदेखि राति नसुतुन्जेलसम्म वैशाखी मात्र उनको सहारा भएको छ ।
हावा चलेको सुन्नु, डुब्न लागेको घाम हेर्नु, कहिले भित्र कहिले बाहिर गरिरहनु । चरा जस्तै डुल्दै ठाउँ ठाउँमा पुगेर क्रिकेट खेल्ने कविताको मनमा आजकल नानाथरि कुरा मात्र खेल्छन् ।
महिनौंपछि कवितालाई खै किन हो आज अभ्यास गर्ने मैदान पुग्न मन लाग्यो । रिक्सामा जतनले खुट्टा तेर्स्याएर उनी पशुपति स्कुलको मैदान जान्छिन् ।
बर्खा सकिएको छैन । साँझको घाम पनि चर्कै छ । चउरमा ठाउँ ठाउँ पानी जमेका छन् अनि घाँसहरु लामा भएका छन् ।
मैदानमा अनिल शर्मा उही लयमा भेटिए । क्रिकेट सिकाइरहेका । यी उनै अनिल हुन् जसले १०-१२ वर्षअगाडि कवितालाई हात समातेर क्रिकेट सिकाएका थिए ।
उतिबेला लहानमा केटाहरुमाझ क्रिकेट खुब चल्थ्यो । अनिल पनि क्षेत्रिय खेलहरु खेल्ने गर्थे ।
केटीहरु क्रिकेट खेल्दैनथिए । अनिल र साथीहरुले क्रिकेट सिकाउन केटीहरु खोज्न थाले । २५ जना भेला पारेर क्रिकेट सिकाउन थाले । कविता ती मध्ये एक थिइन् ।
१० वर्ष भयो अनिल मैदानमा दाैडिरहेकै छन् ।
कविता गौतमको बाको तलब पो थोरै थियो त । माया त कति हो कति । ६ दिदी वहिनीको भागमा बराबरी माया र स्वतन्त्रता थियो । कान्छी कविता टोलका केटाहरुसँग खेल्ने कुद्ने गर्थिन् ।
सानैमा कविताको क्रिकेटमा रस बस्न थाल्यो ।
कविताको जिन्दगीका अधिकांश कथाहरु विद्युत प्राधिकरणकै क्वाटर वरपर हुर्किए । कविताको कविता जस्तै जिन्दगीमा एकातिर आमाबुबाका गरिबी र अभाव थियो, अर्कोतिर खेलाडी बन्ने सपना ।
लाहानमा केटीहरुको टिम तयार भयो । प्रतियोगिताहरु खेल्न यो टिम कहिले पूर्व कहिले पश्चिम पुग्न थाल्यो । खेल र अनुभव दुबै खारिँदै गए ।
सन् २०१२ को एसीसी अन्डर १९ क्रिकेटको लागि नेपाली टोली तयार हुँदै थियो । टोलीमा ५ जना त लहानका केटीहरु मात्र छानिए । खुसीले सीमा नाघेको थियो ।
कविता र साथीहरु कुवेत गए । खेलेर मात्र होइन जितेर आए । घोंगी टिप्दै, घाँस काट्दै क्रिकेट खेल्न सिकेकाहरुले कुवेतमा गएर ट्रफि उचाले ।
जितसँगै पैसा पनि घर आयो । कविताको घर उज्यालो भयो । बुबाको विद्युत प्राधिकरणको अस्थायी जागिर गुमिसकेको थियो । घर बनाउँदा धितोमा राखेको जग्गा कविताको क्रिकेटको कमाइले छुट्यो । वृद्ध आमाबुबाको आँखामा खुसिका मोतीहरु चम्किए ।
त्यसयता कविताले क्रिकेट खेलेरै आफ्ना रहर र परिवारको आवश्यकता पुरा गर्न थालिन् । लाहानकै एक जना क्रिकेटरसँग बिहे गरिन् ।
२ वर्ष अगाडि नेपालमा पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग हुने भयो । संयोगले खाली भएको ठाउँमा कविताले खेल्न पाइन् ।
कविता क्रिकेटमै भविष्य बनाउने सपनाहरु देख्दै थिइन् । अघिल्लो वर्ष मात्र भएको मेयर कप प्रतियोगितामा बलिङ गर्दा गर्दै अचानक कविताको खुट्टा लरबरायो । उनी थचक्क बसिन् । घुँडाको शल्यक्रिया भयो । त्यसयता उनी बैशाखीको सहारामा छिन् ।
जिन्दगीमा नसोचेका उतारचढाव आए । खुट्टा ठीक भएपछि फेरि मैदानमै फर्किने रहर छ । रहर पुरा होला नहोला थाहा छैन ।
महिनौपछि अभ्यास गर्ने मैदानमा पुगेकी कविता घन्टौं त्यहीँ बसिन् । आफूसँगै क्रिकेट सुरु गरेका सरस्वती र अनुराधाहरुलाई हेरिन् । सिक्दै गरेका नयाँ भाइ बहिनीहरुलाई हेरिन् । पुराना साथीभाइसँग गफिइन् ।
कवितालाई नै थाहा छैन अब उनी कहिले यो मैदानमा फर्केर आउनेछिन् ।
रुकुम आसबिसकोटकी कल्पनाको सानैदेखि धेरै पढ्ने सपना थियो । तर ८ कक्षा पढ्दै गरेकी कल्पनाकाे स्कूल छुट्याे । स्कूल छुटेपनि कल्पनाकाे पढ्ने रहर भने छुटेन ।
१५ वर्ष अघि भारत गएका उनका बुबा न त घर फर्किए न त सम्पर्कमा नै छन् । ५ छोराछोरीलाई कल्पनाकी आमा एक्लैले हुर्काएकी हुन् ।
आफैंले कमाएर पढ्ने किशोर सपना बोकेर कल्पना भारततिर लागिन् । भारतमा धेरै नेपालीहरु भेटिन् तर बुबा भेटिनन् । पैसा कमाएर पढ्ने सपना बुनेकी कल्पनाले बिहेपछि श्रीमानले पढाउछ भन्ने आश्वासन पाएपछि भारतमा काम गर्दै गरेका राेल्पाका एक युवासँग बिहे गरिन् । तर सानै उमेरमा बिहे गरेकी कल्पनाले उमेरभन्दा धेरै दु:ख भाेग्नु पर्याे ।
समय बित्दै गयाे । आँटी कल्पनाले हरेस खाइनन् बरू बिबाह घर त्यागेर आफ्नाे सपनाकाे बाटाे पछ्याउदै जन्मघर फर्किईन् । उनलाई आमा र दाजुकाे साथ मिल्याे अनि फेरि पढाईलाई निरन्तरता दिईन् ।
‘गाउँकाले बिहे घर छाेडेर आएकी छाेरी भनेर कत्ति कुरा काटे । तर मैले उनीहरुकाे कुरा वास्ता गरिनँ । छाेरीकाे इच्छा अनुसार पढाेस् । पढेर केही गर्न सक्छ। म जस्तै दु:खी नहाेस् भनेर उनीहरुकाे सपनामा मैले साथ दिईरहेकी छु ।’ कल्पनाकी आमा छाेराछाेरीकाे साहस बनेकी छिन् ।
अहिले १२ कक्षामा पढ्दै गरेकी कल्पना प्रहरी बन्ने सपना बोकेर बिहानै शारीरिक व्यायाम गर्छिन् । शारीरिक व्यायाम गर्न उनका दाजु र साथीहरुले सहयाेग गर्छन् । आज सबेरै प्रहरीको लिखित परीक्षा दिन नेपालगञ्ज जान लागेकी छोरीलाई आमाले बिदा गरिन् कल्पना प्रहरी बन्ने सपना बोकेर बाटो लागिन् ।
शरद ऋृतु लाग्यो । चाडबाड पनि आउन लाग्यो । गाउँघरमा मकै पाक्न थाले । लेकका पाटनहरुमा थरिथरिका फूलले रङ पोखेका छन् । हिमालका सुगन्ध बोकेका चिसो बतासले चुम्न थालिसकेको छ । बर्खाभरि पाटनमा गुँड लगाएर बसेका गोठहरु आज गाउँ फर्किने दिन हो । आज असोज ५ गते हो ।
पश्चिम बाग्लुङको रुकुम रोल्पासँग सिमाना जोडिएका गाउँका गोठहरु जेठदेखि असोजसम्म लेकतिरै हुन्छन् ।
आज गाउँ फर्किने खुसियाली छ । चाडबाड आए जत्तिकै भएको छ । मान्छे मात्र हैन बस्तुभाउ पनि गाउँसँग न्यास्रिएका छन् । सबैलाई गाउँ पुग्ने हतारो छ ।
कमारी घर्तिमगर २ वटा पाडाहरु डोर्याउँदै ओरालो झर्दैछिन् । लेकको गोठमै जन्मेका यी शिशु पाडाहरु पहिलो पटक यति लामो यात्रा गर्दैछन् ।
यी कठीन पहाडहरुमा भर्खरै कालोपत्रे गरिएको मध्यपहाडी लोकमार्गमा अलकत्राका बास्ना अझै ताजै छ । गोठहरु गाउँ झर्दा आजकल सडकै सडक हिँड्छन् । बेला बेला जिप र ट्याक्टरहरु देख्दा डिङ्गाहरु तर्सिन्छन् ।
बुकी फूलका बासहरु पाटन तिरै छोडि आएका छन् गाउँलेहरु । कमारीकी नातिनीले डोकामा केही थुङ्गा लेकाली फूलका सम्झनाहरु सँगालेर ल्याएकी छिन् ।
गाउँ झर्नेहरुको लस्कर विहानदेखि बेलुकासम्म देखिन्छ । गोठमा बस्नेहरुलाई लिन अघिल्लो दिन नै घरबाट कोही न कोही पुगेका हुन्छन् ।
गोठहरु सप्पै झरेपछि पाटनहरुमा यतिखेर हावा चलेको बाहेक अरु आवाज सुनिँदैन । पर गोठ देखियो, कुकुर कराएको सुनियो ।
फर्किरहँदा अर्का गोठालेसँग भेट भयो । चामल किन्न हिँडेका रहेछन् । सडकले दुःख घटाइदिएको छ । बाटो छेउमा जिपले चामल झारिदिन्छ ।
उता गाउँमा रमाइलो चहल पहल थियो । कोही पुगिसकेका थिए । कोही अझै बाटोमै थिए । ठूलो मेला लागे झैं थियो ।
गाउँ नियमले चलेको छ । गाउँ छेउको फराकिलो बाँझो बारीहरुमा सप्पैका गोठ आइपुगे । अबको केही हप्ता यहिँ बस्नुपर्छ । फेरि अर्को गाउँ फुक्छ, अनि मात्रै अघि बढ्न पाइन्छ ।
पल्लो गाउँका सम्मले यहिँ गोठ बिसाए । कोहि खानपिन गरी आराम गर्दै थिए । कोही चाहिँ बल्ल किलो ठोक्दै थिए ।
सुनसान गाउँमा सँधै असोज ५ गते यसैगरि गुल्जार आउँछ । महिनौं भेट नभएका प्रिय मान्छेहरु भेटिन्छन् । थकाइका तिर्सनाहरु मेट्छन् ।
अर्को साल फेरि मकै छरेर उही बाटो उकाली चढ्नु त छँदै छ ।
चारकोसे झाडी छेउको यो गाउँ मधेसका अरु गाउँ जस्तै थियो । पहाडबाट बसाइं सरेर आउनेहरु थिए । धान फलाउन माटोसँग मरिमेट्नेहरु थिए । उब्जनीभन्दा धेरै पसिना बग्थ्यो । निर्वाहमा मात्र साटिएको परिश्रम थियो ।
हुन त सखुवाका मोटा खाँबोमा अडिएका, काठैकाठका पुराना घरहरुले अझै पनि दशकौं अगाडिको उही गाउँको तस्बिर जोगाएर राखेका छन् । तर मान्छेका अनुहारका चमकहरु फेरिएका छन् । थकित र निराश अनुहारहरु आजकल उज्याला भएका छन् ।
माछागाउँको कथामा विष्णुबहादुर थापाको कथा जोडिँदो रहेछ । आफ्नो भागको डेढ बिगाहा बेत घारी फाँडेर विष्णुबहादुरले ३८ सालतिर माछा खेती सुरु गरेका रहेछन् । गाउँलेले बिस्तारै विष्णुबहादुरलाई पछ्याएछन् । विष्णुबहादुर परलोक भइसके ।
रुखका छाहारीमा बसेर गाउँका दिदीबहिनीहरु सरसल्लाह गर्दै थिए । यहाँ पनि माछाकै कुराकानी रहेछ । श्रीपतीदेवी रामलाई फर्किँदा भेट्ने भनेर हामी विष्णुबहादुरको घरतिर अघि लाग्यौं ।
विष्णुबहादुरकी धर्मपत्नी ताराकुमारी माछालाई घाँस हालिरहेकी थिइन् । हामी पनि उनकै छेउमा टुसुक्क बस्यौं ।
ताराकुमारीलाई विगत सम्झिँदा सपना जस्तो लाग्छ । श्रीमानसँगै परिश्रम गरेकी तारा बुढ्यौलीमा पनि चुप लागेर बस्न मन गर्दिनन् । मिठो मुस्कान र मिहेनत उनका ७८ वर्षे उज्याला अनुहारका गहना बनेका छन् ।
उर्मिला थापाको पोखरीमा जलवाहरु आज माछा मार्दैछन् । माछा मार्ने जलवा व्यापारीले नै ल्याउँछन् । जोख्ने बोक्ने सबै काम अरुले नै गर्छन् । त्यसबापत माछामै पैसा काटिन्छ ।
उर्मिला थापाको काम चाहिँ शितलमा बसेर माछा मारेको हेर्ने अनि अन्तिममा पैसा गन्ने ।
श्रीपती देवी राम पोखरीको डिलमा भाँडा ठटाएर चरा भगाउँदै थिइन् । पोखरीमा चरा र सर्पको भाग पनि माछा हाल्नुपर्छ रे ।
मधेसको समाजमा दाइजोले उठ्नै नसक्ने गरी अझै पनि थिच्छ । श्रीपतीले ६ ओटी छोरीलाई दाइजो दिएर अन्माइन् । अरुकै जमिनमा कमाएको १० कट्ठे पोखरीले उनलाई बचाइराख्यो ।
यशोदा भण्डारीले पनि पोखरीकै भरमा एक्लै छोरीहरु हुर्काइन् ।
उनी चाहिँ वीरबहादुरका नाति अनिल भण्डारी । माछा खेतीमा रमाइरहेको पछिल्लो पुस्ता ।
जलवाहरु वीरबहादुरकै पोखरीबाट माछा निकाल्दै छन् । माछा मार्ने बेला सानोतिनो मेला नै लाग्छ ।
वीरबहादुर पछिपछि उभिएर चनाखो भएर हेर्छन् । बेलाबेलामा सिकाउँछन् ।
कास्की जिल्लाको अर्मलाकोटमाथिको सोल खर्कमा बादल लागेको थियो । त्यही बादलभित्र छोपिएको गोठतिरको हाम्रो यात्रा अबेर सुरु भयो । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं ।
गोठमा आफ्ना आमा बाबुलाई भेट्न हिँडेका निरुना समिर र सचिन हाम्रा साथी थिए । सँगै साथ लागे अर्मला बसेर पढाउने गुल्मीका शिक्षक रविन ढकाल ।
समिर र सचिन खेल्दै अघि लाग्थे । हामी स्याँ स्याँ गर्दै पछि लाग्थ्यौं । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं ।
पानीको जरुवा भेटियो । समिरले वनदेवीलाई चढाएपछि चिसो पानी पिए । उनको जुत्तामा सलबलाइरहेको जुकाको उनलाई परवाह थिएन ।
अल्लो घारिहरु छिचोल्दै उकालो लाग्दा मौसम ओसिलो हुँदै गयो । बेला बेला वस्तुहरुले बाटो छेक्थे ।
बिस्तारै जुका आतंक सुरु भयो । मान्छेका गन्ध चाल पाएर बोटविरुवाका पात पातमा जुकाहरु देखिन थाले । तनक्क तन्किएर हाम्रा शरिर छुन खोजिरहेका ।
भुइँमा जुका पातमा जुका रुखमा जुका जताततै जुकै जुका । फटाफट पाइला चाले पनि जुकाहरुले हामीलाई पत्तै नदी झम्टिसकेका थिए । कसैका हातमा कसैका घाँटिमा कसैका खुट्टामा जुकाहरु टाँस्सिसकेका थिए ।
जुकाहरुले थकाइ मार्न पनि दिएनन् । हामी अडियौं कि उनीहरु जिउमा उक्लिहाल्ने ।
बाटोभरि जुकाले सताइरह्यो ।
आधा बाटो पनि भएको थिएन । हामी पुग्ने सोल खर्क अझै बादलभित्र शान्त थियो । घाम लुकिसकेको थियो । गोधुलीमा हामीले जंगलभित्र पाइला चालिरह्यौं ।
समिर र सचिन बेला बेला झाडी भित्र छिर्थे र जंगली फलको स्वाद हामीलाई पनि चखाउँथे ।
हेर्दा हेर्दै झमक्क रात पर्यो । मोबाइलका उज्याला बालेर हामी उकालो लागिरह्यौं ।
ठाउँठाउँमा पहिरोले बाटाहरु भत्काएका । चिप्ला र डरलाग्दा भिरमा हामीलाई साना नानीहरुले बाटो देखाए ।
गोठ पुग्ने बेलासम्म जुकाहरुसँग हामीले आत्मसमर्पण गरिसकेका थियौं । हामीमाथि उनीहरुले विजय प्राप्त गरेका थिए ।
गोठ पुग्ने बेलामा कुकुर भुकेको सुनियो । टाढा झिलिमिलि पोखरा शहर देखियो । आकाशमा जुन चम्कियो र झिलिमिलि तारा देखिए ।
समिर हामीभन्दा छिटै दौडेर गोठ पुगे अनि अगुल्टो लिएर तगारो छेउ हाम्रो स्वागत गर्न उभिए ।
गोठमा पौडेल दम्पत्ती थिए । उमा पौडेल भैंसीका दुध दुँदै थिइन् । चेतबहादुर पौडेल पुजा आजा गर्दै थिए ।
पाेखरा फेवाताल किनारमा उभिएर पारि हेर्दा तालले किनारा लगाएकाे एउटा गाउँ भेटिन्छ । तालले सिमाना काेरिदिएकाे गाउँकाे कथा बेग्लै छ । घामको लाली डाँडामा छाउन नपाउँदै गाउँका मान्छेहरुकाे दैनिकी सुरु हुन्छ। कोही भैंसीको लागि कुँडो पकाउने, कोही गाई भैैंसीकाे दूध दुहुने, कोही चाहिँ घाँस काट्न बारीका पाटातिर जाने। सितकाे तप्कना अझैं राेकिएकाे छैन । गाउँलेहरु काँधमा दूधका क्यान बोकेर ओरालो झर्छन् । ताल नजिकैको पौवामा भारी बिसाउँछन् । अनि एकजनाले दुध जम्मा गर्छन् । दूध बाेकेकाे डुङ्गा तालकाे बाटाे हुँदै करिब एक घण्टामा बजार पुग्छ ।
दूध पुर्याउन मात्र होइन, औषधी उपचार गर्न,किनमेल गर्न अनि जन्तीदेखि मलामी जान पनि डुङ्गा नै चाहिन्छ । सामान किनमेल गरेर बजारबाट घर फर्किदै गरेकी हजुरआमा भन्छिन्- ‘सास पनि यै डुङ्गामा लास पनि यै डुङ्गामा’ ताल पारिका गाउँहरु बिस्तारै रित्तिदै छन् । गाउँमा साना-साना नानीबाबु र बुढापाका मात्रै भेटिन्छन् । युवाहरू कोही विदेशिए, कोही बजारतिरै झरे । बचेखुचेका सपनाहरु डुङ्गा चढेर फेवाताल वारि पारि गरिरहन्छन् । https://fb.watch/8yxfp-Ej-R/
घर छेउको बारीमा चिटिक्कको सानो घर छ । बुद्विमान इङनामका लागि यो घर होइन मन्दिर हो । जुनिभरि दुःख सुख काटेकी श्रीमतीलाई उनले अस्ति भर्खर यही मन्दिरमा लगेर सेलाएका थिए ।
बुढ्यौलीले गलिसकेका हात गोडा एकठाउँ स्थिर बस्न मान्दैनन् । माटोसँग खेलिरहन मन लाग्छ । माटोको सुगन्ध प्रिय लाग्छ ।
श्रीमती सरस्वतीले छाडेपछि उनी अलि बढी एक्लिएका छन् । कपुरथानमा बेला बेला पुगिरहन्छन् । सिमेन्टीको प्लास्टर समेत ओभाएको छैन । निर्जिव मन्दिरलाई सुम्सुम्याउँछन् ।
कपुरथानको एउटा कोठाको ढोका अब कहिल्यै खुल्दैन जहाँ उनकी श्रीमती छिन् । सँगैको अर्को कोठा उनलाई पर्खिरहेछ । श्रीमतीसँगै सन्तुष्टिको चीर निन्द्रामा जान उनी तयार छन् ।
धनकुटाको बुढीमोरङ, साँघुरीगढीमा दिन ढल्दै गएकाहरु अनन्त यात्राको लागि पहिले नै तयार हुन्छन् । गच्छे अनुसारका चिटिक्क परेका चिहानहरु तयार पारेर राख्छन् । शरिर निष्प्राण भएपछि रहरले बनाएको घरमा प्रवेश गर्छन् ।
८५ वर्ष काटिसकेकी फूलमाया नयोङ लिम्बुले आफ्नो लागि कपुरथान बनाएको १५ वर्ष भइसक्यो । श्रीमान् र छोराहरु बितेपछि आफ्नै घरमा छोरी ज्वाइँसँग बसिरहेकी फूलमायालाई जिन्दगी लामो लागिसक्यो ।
फूलमाया नयोङ सकिनसकी कपुरथान जान्छिन् । झारपातहरु उखेल्छिन् । फूलका बुटाहरु गोडमेल गर्छिन् । यहाँ आएपछि उनलाई घर फर्केर जान मन लाग्दैन । कहिलेकाहिँ त मातेको बेला आफ्नो चिहामभित्र गएर मस्त निदाइ दिन्छिन् रे ।
फूलमायाकी सम्धिनी बुधुरानी थेगिमले पनि इष्टमित्रलाई दुःख नहोस् भनेर कपुरथान बनाएकी रे ।
बुधुरानीका कान्छा छोरा भर्खरै विदेशबाट फर्किएका छन् । जिउँदै आमाको चेहाम छेउ पुग्दा उनलाई कस्तो कस्तो लाग्छ ।
मरेपछि आत्मा कहाँ जान्छ थाहा छैन, तर बुढी मोरङका मृत शरिरहरु पहिले पहिले तमोरमा जान्थे । मलामीका लस्करहरु हुन्थे ।
आजकल गाउँघरमा मलामी भेटिन नि मुस्किल छ । गाउँ सर्लक्कै विदेसिएको छ । डाँडामाथिका जुनहरु अस्ताउन तयार छन् ।
गाउँमा आज एउटा जुन अस्तायो । एक वृद्धले संसार छाडेर गए । उनले चाहिँ आफ्नो लागि चेहाम बनाएका थिएनन् । कसैले चिहान खन्न थालेे । एक जनाले बन्दुक पड्काएर वरपरको गाउँलाई जानकारी दिए । लिम्बुहरुको मरौ परौमा यसरी बन्दुक पड्काउने चलन रहेछ ।
मान्छेको अनौठो रहर: कसैलाई मरेपछि जंगलमा बस्नुछ, कसैलाई घरै छेउमा । कोही कोही अझै पनि तल तमोर नै जान खोज्छन् ।
मरेपछि गाउँघरमै बस्न खोज्नेहरुले आजकल कपुरथान भनिने चेहामहरु बनाउन थालेका छन् । घर जस्तै गच्छे अनुसार कुनै भव्य कुनै सामान्य ।
मनप्रसाद इङ्नामले पनि आफ्नै शरिरको नाप दिएर चेहाम बनाइसकेका छन् । तर किन किन उनलाई आफ्नै चेहामछेउ जान अफ्ठ्यारो लाग्छ । उनी परै उभिएर गफिए ।
आफ्नै लागि चिहान बनाउने यस गाउँका मान्छेहरु गहिरा कुरा गर्छन् । मृत्युको सत्य अझै धेरै महशुस हुन्छ । अनि लाग्छ जीवनको यो अन्तिम सत्य दुःख मात्र होइन, उत्सव पनि हो ।
प्रश्न पनि हो सायद!
बारिको छेउमा कपुरथानमा परमपद भएका प्रिय मान्छेहरु त्यहिँ वरपर भेटिन्छन् ?
यो बाँके राप्तीपारिको नरैनापुर हो । भारतको सिमा नजिकैको बाक्लो मुस्लिम बस्ती । गाउँ गाउँ जस्तो बजार बजार जस्तो । कस्तो कस्तो । यो रङ्गीन गाउँलाई हामीले एउटा पुरानो सम्झनाले तरङ्गित बनाइदियौं – लाठी खेल ।
नेपालगन्जको धम्बोजी चोकबाट जम्माजम्मी ४० किलोमिटर । अहिले पो भर्खरै बाटो बनेको छ । अस्ति भर्खरसम्म नेपालगंज पुग्न पनि भारतको बाटो घुमेर जानु पर्ने ।
नरैनापुर गाउँ जन्मेदेखि यो ठाउँको सम्बन्ध नेपालसँग भन्दा भारतसँग गाँसियो । नरैनापुरको लागि नेपालगंज दुर्गम थियो । बरु सिमापारिको नानपारा नजिक थियो । जहाँ भेटिन्थ्यो बम्बै जाने रेल ।
आज पनि नरैनापुरका किशोरहरु जुँगाको रेखी बस्न नपाई सिमा पार गर्छन् र चढ्छन् बम्बै जाने रेल । कमाउन जाने पनि भारत र कमाएको खर्च गर्न जाने पनि भारत ।
सिमापारि हाटबजार लाग्छ ।
नुन तेल र लत्ता कपडा साइकल चढेर आउँछन् ।
नरैनापुरको मुख्य चोकमा एउटा पुलिस चौकी र सानो बैंक छ । भर्खरै कालोपत्रे भएको सडकमा भारतीय नम्बरका मोटरसाइकल फाट्टफुट्ट भेटिन्छन् । पान पसल, चिकेन पसल, चिया पसल प्राय भिडभाड हुन्छ ।
सेता लामा दाह्री पालेका गाउँका पाकाहरु चियापसलतिरै भेटिन्छन् ।
हामीले मिस्त्री खानलाई त्यहिँ भेटेका थियौं । गाउँघरमा नागरिकताको नाम एउटा, अनि सबैले चिन्ने बोलाउने नाम चाहिँ अर्को । मिस्त्री खान खास मिस्त्री होइनन् । उनी नजिकैको इँटा भट्टामा इँट्टा गन्ने काम गर्छन् । सानोमा उनको आँगनमा बयल गाडा बनाउने मिस्त्रीहरु बसेर काम गर्थे रे । अनि उनी पनि मिस्त्री नामले चिनिन थाले ।
गाउँलेहरु अवधी र हिन्दी बोल्छन् । नेपाली बोल्न बुझ्न अफ्ठ्यारो । प्रहरी चौकीका असई फत्ते हमालले एक जना दोभाषे खोजिदिए । डाक्टर सबिर खान । उनी पनि डाक्टर होइनन् । सहकारीमा काम गर्छन् ।
उनी चाहिँ फौजदार । उनको भाइको नाम जोडदार ।
यी हाँसिरहने रमाइला पात्र चाहिँ चेंगी चोर । उनी पनि चोर होइनन् । पहिले खान लाउन दुःख हुँदा छिमेकीको खेतबाट एक दुई अँगालो धानको बाला नसोधी काटेपछि उनको उपनाम चोर भयो ।
यो रङ्गीन गाउँलाई हामीले एउटा पुरानो सम्झनाले तरङ्गित बनाइदियौं । लाठी खेल ।
पहिले पहिले लाठी खेल खुब चल्थ्यो । सुरक्षा र रमाइलो दुबैको लागि । सिक्ने र सिकाउनेहरु हुन्थे । मेला जात्राको मूख्य आकर्षण लाठी खेल हुन्थ्यो । बिस्तारै पुराना मान्छेहरुसँगै लाठी खेल हराउन थाल्यो ।
लाठी खेल्ने को को छन् भनेर हामीले सोधखोज गर्यौं । आफ्नो भाषा पनि नबुझ्ने जिप चढेर आएका नौला मान्छेहरुले अचानक लाठी खेलबारे सोध्दा सुरुमा गाउँलेहरु सशंकित भए ।
शंकालाई बिस्तारै विश्वासले जित्यो । आधादिन ढलिसक्दा नरैनापुरका चिया पसलेदेखि पान पसले सम्म हाम्रो दोस्ती भइसकेको थियो ।
लाठी खेल्न जान्नेहरु खोज्दै हामी मिस्त्रीसँग गाउँ छिर्यौं ।
फौजदार पनि जमानाका खेलाडी रहेछन् । फौजदारलाई लिएर हामी युनुसको घर गयौं । २० वर्ष कतार बसेर फर्केका युनुस ।
लाठी समात्ने बित्तिकै युनुसले कला देखाउन थाले । युनुसको आँगनमा फौजदार र युनुसले खेल देखाए ।
गाउँको खुल्ला चौरमा लाठी खेल देखाउने सल्लाह भयो । तर दुई जना पात्रको खोजी भयो । अठै र कन्नु । उनीहरुका बुबा लाठीका उस्ताद थिए रे । छोराहरुलाई पनि सिकाएका । सबैले अठै र कन्नुको नाम लिए ।
अठै र कन्नुलाई खोज्न हामी उनीहरुको घर गयौं । उनीहरु भेटिएनन् । मजदुरी गर्न कोहलपुर तिर गएका रहेछन् । फोन पनि नबोक्ने ।
अठै र कन्नुलाई खोजेर ल्याउन गाउँलेले सुझाए ।
भोलिपल्ट बिहान हामी बाबु खान र उनका साथीलाई गाडीमा राखेर अठै र कन्नुको खोजीमा हिँड्यौं । न फोन नम्बर न ठेगाना । बाबु खानले अड्कल गरेका गाउँ ठाउँमा सोध्दै खोज्दै हामी कोहलपुर भित्रका गाउँ गाउँ चहार्यौं ।
काठ चिर्ने काम गरिरहेका भन्ने सम्म थाहा थियो । कहाँ छन् थाहा थिएन । यता उता भौंतारिँदै ती दाजुभाइको खोजीमा आधा दिन बित्यो ।
हार खाइसकेका थियौं । तर ती दाजुभाइ भेट्टाएरै छाड्याैँ । एउटा गाउँमा मसलाका रुखहरु चिरिरहेका । उनीहरु पनि हामीलाई देखेर छक्क परे ।
अठै र कन्नुसँग त्यहिँ बसेर गफियौं । रुखका हाँगाबिँगा काटेर एकुन्टा लौरो बनाए र हामीलाई त्यहिँ खेल देखाए ।
मजदुरी गरिरहेका मानिसलाई टाढा गाउँ लैजान मन मानेन । उनीहरुको लागि पनि शोख भन्दा भोक ठूलो । भारि मन साटेर हामी फर्कियौं ।
भोलिपल्ट अठै र कन्नु बिना नै हामी नरैनापुर गयौं । गाउँलेहरुले खेल देखाउने भए । आँप गाछीको बँगैचामा गाउँ उर्लेर आयो । फौजदार, युनुस र मिस्त्रीले खेल देखाए ।
नाच्ने कलामा इश्वरको नाम सिमापारिसम्म फैलिएको छ । भारतका बिहे पार्टीहरुमा निम्तो आउँछ । इश्वरको नाच पार्टि राप्ती तर्छ । रातभरि नाच्छ र घर आउँछ ।
खान लाउन समेत धौ धौ पर्ने परिवारमा १५ वर्षे इश्वरले कमाएको भारु भित्रिन्छ । अनि चुलोमा आगो बल्छ । भाइ बहिनीको हातमा ससाना खेलौना पुग्छन् ।
इश्वरकी आमा मिना परियार पहिलो बिहे टुटेपछि लल्लन कोरीसँग दोस्रो बिहे गरेर आएकी हुन् ।
आउँदा इश्वर र उसकी बहिनी साथै ल्याएकी । बहिनी बोल्न सक्दिनन् ।
उनी इश्वरको नाच्ने रहरसँग हार खाइसकेकी छिन् ।
गाउँको मन्दिरमा आज पुजा छ । ईश्वरका मालिक गुप्ता जीले साँझ डिजे पार्टीको तयारी गरेका छन् ।
एकातिर पुजाको भण्डार चलिरहेको छ । अर्कोतिर डिजेका कलाकारहरुको मेकअप सुरु भइसकेको छ । सबैका आकर्षण इश्वर सानो झोलाबाट लाली पाउडरहरु निकाल्दैछन् ।
हेर्दा हेर्दै इश्वरको अवतार अर्कै भयो । उनी महिलाको भेषमा प्रकट भए । दिनभरि खेत खन्नेहरु शिवजी भए, गाइ चराउनेहरु कृष्ण भए, भारी बोक्नेहरु हनुमान भए । सबै रंगमन्चका थरिथरिका पात्र भए ।
घरधन्दा सकेर गाउँलेहरु ओढ्ने ओछ्याउनेसमेत बोकेर नाच पार्टिमा आए । सँगैकाले चिच्याएर बोल्दा पनि नसुनिने गरी चर्को लाउडस्पीकर घन्किन थाल्यो । मन्दिरको आँगनमा सबै गुजुल्टिएर तीखा आँखाले मन्चतिर हेर्न थाले ।
शिवको आरतीबाट सुरु भएको नाच पार्टी बिस्तारै तात्दै गयो । माटो थुपारेर बनाइएको मन्चमा इश्वरले धुलो उड्ने गरी नाचे । नाच पार्टीमा नाटक र प्रहसन थपियो । मानिसहरु लाजले मुख छोपेर हाँसे ।
कालीबहादुर विष्टका अन्तरे छोरा भेडाको पछि लागेको १५ वर्ष भइसक्यो । काबेली फेदी देखि कन्चनजंघा शीरसम्म उनले थुप्रै बाटो पैतालाले नापेका छन् ।
जाडो छल्न झरेका भेडाहरु गाउँछेउकै लालीखर्कमा आइपुगेका छन् । असोजदेखि बढेका भेडाका लामा रौंहरु मुण्डन हुँदैछ । गाउँलेहरु सघाउन आएका छन् । सबैलाई भ्याइ नभ्याइ छ । अन्तरेका बुबा कालीबहादुर एकछिन सुस्ताएका छन् ।
पहिले गाउँका विष्टहरु सप्पैको भेडा थियो रे । अहिले एकाध परिवारसँग मात्र भेडा छन् ।
अन्तरेको गोठमा मिसारी भएर विक्रम लिम्बु आएका छन् । उनका गोटा बीस एक भेडा अन्तरेकै बगालमा मिसिएका छन् ।
सानो छँदा अन्तरे गोठालो भएर काकाका भेडाहरुको पछि लागे । भेडाचोक कहिले फाकखोला झर्थ्यो, कहिले फक्ताङलुङ हिमालछेउका नागीहरुमा आफ्ना डोब छोडेर आउँथ्यो । भेडीगोठ चर्ने रनबनमा अन्तरेको मन बस्यो । अहिले भेडाचोक नै अन्तरेको सानो संसार भएको छ ।
अन्तरेको सानो संसारमा अस्मिता अटाएको धेरै भएको छैन । अलैंची गोड्दै अन्तरेसँग फोनबाट माया गाँसेकी अस्मिता लिम्बु एकदिन बाटैबाटो ओरालो झरिन् । बरको बोटछेउ अन्तरे पर्खिरहेका थिए । अनि उनीहरु बर-बधु भए ।
नदी र पहाड, सपना र सुस्केरा, भेटेका र छुटेका सप्पै गीत बनेर गुन्जिए । अन्तरेका बाआमाका भाका सुनेर हामी टोलाइरह्यैं । अबेरसम्म आगो नाचिरह्यो । मिठो भान्सा भयो ।
कहिलेकाहिँ ठाउँ र पात्रसँग यति नजिक भइन्छ कि हामी कथा खोज्न हिँडेकै बिर्सिन्छौं । विहान छुट्टिने बेलामा हामीले कथा बिर्सियौं । बेहुली अन्माएजस्तै अलिअलि माया र अलिअलि विछोड बोकेर हामी बिस्तारै उकालो लाग्यौं।अन्तरेको घरको झझल्कोले हामीलाई परसम्म पछ्याइरह्यो ।
२० वर्षको उमेरमै सन्यासी भएका ३३ वर्षे भिक्षुको जिन्दगीले छोटो समयमा लामो यात्रा गरिसक्यो । भन्तेको कथामा ३ वटा कुरा अघिपछि जेलिँदै आउँछन् । उनको बाल्यकाल र प्रकृतिसँगको प्रेम, उनले बनाएका विद्यालयहरु र घर परिवार त्यागेर भिक्षु भएको कथा ।
अवधेश त्रिपाठी लुम्बिनी छेउको हुनेखाने बाहुन परिवारमा जन्मेका थिए । घरपरिवार र समाजसँग नजिकिने बुबालाई गाउँमा इज्जत गर्थे । एक जना फिरन्ते काका जोगी भएर हिँडेका थिए । जोगी काका बर्षमा एक फेर घर आउँथे । बालख अवधेश डुली हिँड्ने काकाका रुमानी कथाहरु सुनेर रमाउँथे । अवधेशलाई गाउँसमाजमा बुवाले पाएको मानसम्मान र मायाभन्दा जताजता पाइलाले डोर्याउँछ उतै जाने काकाका रुमानी कुराले उडाएर टाढा टाढा लैजान्थ्यो ।
त्यो मधेशी केटो पढ्ने स्कुलमा आँपका रुखका पर्खाल थिए, हाँगाबिँगाका छाना र माटोको बिछ्यौना ।
५ कक्षापछि अवधेशकाे जिन्दगीले नयाँ मोड लियो । स्कुलमा साइकल चढेर आएकी एक भिक्षुणी र बालबालिकालाई रुखविरुवा माया गर्न सिकाउने तालिम दिन आएको एउटा संस्था ।
प्रकृति क्लबका सदस्यहरु खोलै खोला डुल्थे । बोटविरुवा हेरेर रमाउँथे । चराचुरुङ्गी गन्थे । गुँड र अन्डा गन्थे । खोलाखोली डुली हिँड्ने अवधेशको खोला जस्तै लामो बाटो त्यति बेलै तय भयो ।
किताब किन्न नसकेर पढाइ छाड्नुपर्ने विद्यार्थीहरुलाई पुराना किताब खोजिदिन थाले । वरपरको समाज बदल्न कापी किताब नै चाहिन्छ भन्ने पाठ अवधेशको जिन्दगीको किताबमा उतिबेलै लेखियो ।
एसएलसीपछि अवधेश साइन्स पढ्न काठमाडौं गए मन चाहिँ गाउँमै छाडेर । मन र तन सँगै हुन नपाएपछि छटपटी भयो । हिउँदे विदामा गाउँ आएका बेला अवधेश र साथीहरुले गाउँका नानीबाबुहरुलाई आँपका बगैंचामा ट्युसन पढाउन थाले । कहिल्यै विद्यालय नदेखेकाहरुको जमघट बगैचामा हुन थाल्यो ।
अवधेश र साथीहरुलाई पढाउने काममा लत बसिसकेको थियो ।
अवधेश पढाई सढाई छाडिदिएर गाउँमै फर्के । र आँपको रूखमुनि जन्मियो एउटा सानो विद्यालय ।
घरपरिवारका विशाल अपेक्षाहरुलाई चटक्कै छाडिदिएर एउटा स्कुलको पछि लाग्नु अवधेशको लागि सजिलो निर्णय थिएन ।
अवधेशले क्याम्पसको पढाइ मात्र होइन परिवार पनि छाडिदिए । उनी आजकल गेरु वस्त्रमा घर परिवारबाट टाढा भेटिन्छन् । साथीभाइहरु अवधेश दाइ भनेर बोलाउँदैनन् । उनी भिक्षु मेत्तेय भइसके ।
भिक्षु, जोगी भन्ने बित्तिकै हाम्रो कल्पनामा मन्दिरभित्र जपध्यान गरेर बस्ने अर्ति उपदेश र प्रवचन दिने वयोवृद्ध बोरिङ मान्छेको कल्पना थियो । तर यी भिक्षु फुर्सद हुने बित्तिकै दुरबीन भिरेर चरा हेर्न वन जंगल हिँड्दा रहेछन् ।
हुन त उनी सांसारिक झमेला र माया मोह त्यागेर भिक्षू भएका । तर सानै उमेरदेखि उनको माया स्कुल जान नपाएका नानीबाबुमा बस्यो । मोह चाहिँ बोटविरुवा र चराचुरुङगीमा । घर परिवार त्यागेपछि भिक्षु मेत्तेयको जिन्दगीको परिधि झन् फराकिलो पो भयो ।
बुद्ध जन्मेको ठाउँ लुम्बिनीका मन्दिर दर्शन गर्न टाढा टाढाबाट तिर्थालू आउँथे । अवधेशका लागि लुम्बिनीका बँगैचा दिनहुँ हिँड्ने डुल्ने ठाउँ थियो । यहाँका रुख विरुवा मन्दिर थिए पशु पंक्षी भगवान ।
लुम्बिनीका हरियोपरियो मासेर ढुङ्गा गिट्टीका महल बनाउने कुराको कट्टर विरोध गर्थे युवा जोशका अवधेश र साथीहरु ।
ध्यान मार्गमा हिँडेका अवधेश आफूले सुरु गरेका स्कुलहरुलाई दीर्घायू दिएर घुमन्ते जीवन बाँच्न क्यानडा पुगिसकेका थिए । तर लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्न उनैलाई बोलाइयो । भन्ते यसलाई कर्मले बोलाएको भन्छन् ।
हिउँदे विदा सदुपयोग गर्न आँपका रुखमुनि सुरु गरिएका ट्युसन कक्षाहरु अहिले ३ वटा राम्रा विद्यालय भइसकेका छन् । करुणा स्कुलमा केटीहरु मात्र पढ्छन् ।
भिक्षु मित्तेयसँग हामीले लुम्बिनी वरपर २ दिन बितायौं । यो छोटो समयमा लामो बितेको कथा थियो । भिक्षू मेत्तेयको जीवन जस्तै । यो शान्त देखिने मान्छेको हलचलको कथा थियो, नदी जस्तै ।
दाङ र रोल्पाका सिमानातिर पर्ने उजाड पहाडका काखतिर सुख्खा गाउँहरु छन् । पहाडको पेटभित्र ती गाउँका पेट पाल्ने कोइला खानीहरु ।
हामी कोइला खानी पुग्दा खाजा खाने समय भएको थियो । यामबहादुर घर्ती र उनका छाेरा पूर्णबहादुर खाजा खाने तरखर गर्दै थिए ।
१२ बजे कोइला खानी छिर्न हुन्न भन्ने मान्यता रहेछ । २२ वर्ष पहिले कोइलाका भारि गन्ने काम सुरु गरेका …… अहिले यहाँका नाइके भएका छन् ।
यमबहादुरले वल्लो पहाड र पल्लो पहाडका खानीहरुमा आधा जिन्दगी बिताइसके । कापी किताबका अक्षरहरु मकै भटमास नबनेपछि उनका भर्खरका छोरा पूर्णबहादुर पनि खानीको अँध्यारो सुरुङमा भविष्य खोज्न आइपुगेका छन् ।
कामदारहरु दूलो जस्तै सुरुङभित्र छिर्छन् र केहीबेर हराउँछन् । फर्किँदा कोइलाका भारी बोकेर आउँछन् ।
यी कोइलाहरु यहाँबाट घोराही पुग्छन् र त्यहाँबाट ठूल्ठूला उद्योगहरुमा । यहाँका कामदारहरुलाई कोइला कहाँ जान्छ के गर्छन् चासो छैन । बस् पहाडभित्रको पाताल खोस्रेर भारी पुर्याउन पाए भयो ।
सुरुङभित्र छिर्ने आँट हामीलाई सजिलै आएन । अलि भित्र छिर्थ्यौं । अनौठो सन्नाटा छाउँथ्यो । फेरि फर्किन्थ्यौं ।
सुरुङ भित्र महिलाहरु नछिर्ने रहेछन् । उनीहरुको काम सुरुङको मुखदेखि कोइला बोकेर ट्याक्टर आउने बाटोसम्म पुर्याउने ।
केहीबेरपछि आँट बटुलेर हामी शेरबहादुर पुनसंग सुरुङ भित्र छिर्यौं । सिधा उभिन समेत नमिल्ने सुरुङका भित्ताहरु समाउँदै हामी अँध्यारोमा छिर्यौं ।
सुरुङभित्र अघि बढ्दै गएपछि बाहिरको संसार हराउँदै गयो । ठाउँ ठाउँमा पानी रसाइरहेका थिए । पहाड नखसोस् भनेर ठाउँ ठाउँमा खाँबो राखिएका थिए ।
खन्दै कोइला निकाल्दै सुरुङ छिचोलिँदो रहेछ । डेढ सय मिटर जति भित्र गइसकेपछि उनका भतिजा आकाश भित्तो खोस्रेर कोइला निकाल्दैथिए । भतिजाले निकालेकाे कोइला काका शेरबहादुर सुरूङकाे मुखसम्म पुर्याउँदै थिए ।
पहिले पहिले एउटा हातमा टुकी बत्ती बोकेर खानीमा छिर्नुपर्थ्यो । अहिले भित्रसम्मै जेनेरेटेरले उज्यालो पारेको छ ।
कोइला खनिरहँददा ढुङ्गा खसेर २ हप्ता अगाडि गाउँकै मोहोरलाल कामीको मृत्यु भयो । त्यसयता त्यो सुरुङ बन्द छ ।
माेहोरलालले १६ दिनकी सुत्केरी श्रीमती शान्ति कामीलाई भरे मासु लिएर आउँछु भनेर कोइला खन्न आएका थिए । तर उनी फर्केर नआउने बाटोमा गए । शान्तिले कहिल्यै नरित्तिने आँशु पाइन् ।
आँखै अगाडि आफ्ना साथीलाई चट्टानले थिचेपछि धेरै जना डरले अझै काममा फर्केका छैनन् । छोरी गिता काठमाडौंको इँट्टा भट्टामा श्रीमानसँगै भारी बोक्दै थिइन् । बुवा बितेको खबर पछि उनी सुत्केरी आमालाई सम्हाल्न आइपुगेकी छिन् ।
भोलिपल्ट बिहानै रेक्चातिर लाग्यौं । अलिक अगाडि बढेपछि गाडी गुड्ने बाटो सकियो । हामी पैदल उकालो लाग्यौं । जंगलको माझमा डोजरले बाटो खन्दै थियो । हामी सुकेका पतकर बजाउँदै २ घन्टा उकालो लाग्यौं ।
पहाडको कन्दरामा सुन्दर रेक्चा गाउँ छिर्ने बित्तिकै गाईवस्तु धपाउँदै गरेका गाउँलेहरू भेटिए ।
गाउँलेहरुले विहानै पानी लगिसकेछन् । दिउँसो चाहिँ गाइबस्तुको पालो । दिन बिराएर पानी खुवाउन ल्याउने ।
अलि पर धमिलो पानी जमेको पोखरी थियाे । छेउछाउमा काठ र ढुंगाका १०/१२ वटा ससाना इनारहरु ।
गाउँलेका सुखदुख र सुस्केराहरु पानीसँगै जोडिएका थिए । चियापसल र चौतारी जता पनि पानीकै चर्चा ।
गाउँलेहरूले मिलेर कुवा रुँघ्ने चौकीदार नै राखेका रहेछन् ।
हामीले चाैकीदारकै घरमा खाना खायाैं ।
गाउँमा विजुलीका नयाँ नयाँ पाेल त ठडिएका थिए तर गाउँ अझै अध्यारै थियाे । हामी चाैकीदारकै घर बास बस्यौं । हामी पाहुना थपिएकाले उनलाई गाउँलेले एक गाग्रा पानी थप दिने भएका थिए ।
भोलिपल्ट विहानै पानी लिन आउनेहरुको कल्याङ मल्याङले हामी बिउँझियौं ।
कुवाकाे गफगाफ
चाैकिदारकी बुहारी हस्तना स्कुल पढाउने रहिछन् । हामी उनीसँगै स्कुल पनि गयाैं ।
टाढा टाढा गाउँबाट आउने विद्यार्थीहरू अझै स्कूल आइपुगेका थिएनन् । विहानै पानी लिन आउनुपर्ने भएकाले उनीहरू स्कूलमा सधैंजसाे ढिलाे हुने रहेछन् ।
८७ वर्षका मोतिराम देवकोटा पनि हरेक बिहान लौरो टेक्दै कुवा वरपर भेटिन्छन् । केही वर्ष पहिले उनकी नातिनी आफू जत्रै गाग्रो बोकेर एक्लै पानी भर्न आएकी थिइन् । अँध्यारो कुवामा खसेर नातिनी अलप भइन् । पानीले बेला बेलामा प्राण लिने गरेको छ ।
त्यसदिनदेखि मोतिरामले नातिनीलाई खाएको कुवाको पानी खान छाडेका छन् । बरु तिर्खाएरै बस्छन् ।
बर्षा सुरु नभएसम्म गाउँ झन् तिर्खाउने छ । पानी खोज्दै अझै टाढा टाढा पुग्नुपर्छ । ८७ वर्षका मोतिराम पनि लौरी टेक्दै पानी लिन अझै टाढा जानुपर्छ ।
यदि आगो सलाईले नभई आक्रोशले बल्थ्यो भने यो शिविरमा चौबिसै घन्टा डढेलो मात्र लागिरहेको हुन्थ्यो होला ।
एक जना चट्टान झैं मान्छे छन् । भम्पा राई । शिविरका अवशेषहरुमा डुली हिँड्दा देश फर्किने आशमा बसिरहेका मानिसहरु मकै जस्तै पड्किन्छन् । फूल उठेका मकैजस्तै हिउँ परेका बेला जन्मिएका थिए भम्पा । उनी शान्त छन् र अडिग छन् देश फर्किन ।
शरणार्थी शिविर आजकल आँधीबेहरीपछिको सन्नाटा जस्तै देखिन्छ । देश छोडेर आएका हजारौं भुटानीहरु युरोप र अमेरिका गइसके । यहाँ जो बसेका छन् उनीहरु अन्त जान मानेनन् । उनीहरुलाई आफ्नै देश फर्कनुछ ।
सम्झना त भुटानदेखि नेपालसम्म छरिएको छ । देशविहीन भएर बाँचेको ३० वर्ष नाघिसक्यो । शिविरबाट विदेशिनेहरुले सम्झना मात्र बोकेर गए । पुराना ग्याँस र चुलाहरु यतैफेरो छाडे । सुकुमाया राईसँग ग्याँस सकिएको सिलिन्डर छ ।
सँधै सपनामा आफ्नो भुटानी गाउँ देखिरहने सुकुमायालाई अस्ति भर्खर खै के ले डोर्यायो एक्लै एक्लै भुटानतिर । लुकीछिपी आफ्नो गाउँ पुगेर त्यहाँको माटोलाई आँशुले भिजाएर आइन् ।
मनहरु बाँड्दा बाँड्दा रित्तिन थालेका छन् । अलिकति मन भुटानतिर । अलिकति यहि शिविरको माटोमा । धेरै मनहरुलाई हवाइजहाजले सात समुद्र पारि उडाइदियो । शिविरमा बसेका एक्ला मान्छेहरुलाई मर्न मात्र भए पनि आफ्नै देश जानुछ । आफ्नै माटो छुनु छ ।
मनमनै विद्रोह गरिरहेका यी मान्छेहरु कहिले शान्त हुन्छन् । कहिले चिच्याउँछन् । जति कराएपनि आवाजहरु हावामा हराउँछन् ।
गाउँका कथाहरु कथैबाट सुरु हुन्छन् प्राय । आगो, पानी र माटो खोज्दै आएका घोडचढीका कथाबाट । जंगल फाँड्दै, चट्टान फुटाउँदै, पसिनाका पैनी लगाउनेका कथाबाट । बाँच्नका लागि गरेका कठोर संघर्षका कथाबाट ।
भक्तबहादुर गुरुङका जिजुबाजे पनि लमजुङबाट फेवाताल सिरानको तामागी गाउँमा उसैगरी आएका थिए कुनै समय । पन्चासेको काखमा गाउँ बन्यो । बाजे आफैं कथा भइसके ।
थुप्रै कथाहरु बिते । गाउँ हराभरा थियो ।
शूरीला गुरुङहरुलाई भटाभट समुद्रपारिका युद्धहरुले बोलायो । तामागीका सिपाहीहरु रगत र पसिनासँग साटिने लोभलाग्दा कमाई खोज्दै जंगमैदानहरुमा जान थाले । थुप्रै लाहुरेहरु कथा बने ।
भक्तबहादुर गुरुङ उसैगरि लाहुरिएका थिए । उनीसँगै लाहुरिएको थियो सारा गाउँ । परदेशिएको गाउँ बिजुली, बाटो र अस्पताल नभएको यो एकान्त पहाडमा फर्किन मानेन । सनै सनै गाउँ रित्तिन पो थाल्यो ।
तामागी गाउँ आजकल पोखरा, नारनघाट, हङकङ, बेलायत अमेरिका र अष्ट्रेलियातिर छरिएको छ । बरु यो बनेली गाउँमा छरिएका छन् भक्तबहादुरका विराना सम्झनाहरु ।
बेलायतबाट बैदाम आएका बेला भक्तबहादुरलाई गाउँको मायाले बोलाइरहन्छ । रित्ता गाउँ कुर्न राखिएका मान्छेहरु भेट्छन् । सन्चो विसन्चो सोध्छन् । पोखरामा बस्ने काइँला मामा पनि बेला बेला गाउँ पुगिरहन्छन् ।
गाउँछेउ आजकल वनकुसुमहरु फुल्दैनन् । पैंयुका बोटमा अडेस लागेर बाख्रा चराउने केटाकेटीहरु भेटिँदैनन् । धान फल्ने खेतहरु वनमाराका झाडी भएका छन् । ढुँगाका छपनीहरु लेउले ढाकेका छन् । पँधेरामा पानी रसाउन छाडेको छ । बरु रसाइरहन्छ भक्तबहादुरको आँखा । रोइरहन्छ मन ।
बाध्यता र नियतिले रित्तो बनाएको यो गाउँमा गुल्जार साँझहरु कहिले फर्केर आउलान्? कसैलाई थाहा छैन ।
हातमा नक्सा लिएर पल्टाएजस्तो हुँदैन भूगोल । सजिला हुँदैनन् सिमानाका रेखाहरु । नदीहरु सिधा बग्दैनन् । पहाडहरु फड्के साँघुजस्ता हुँदैनन् ।
नेपाल र भारतको पूर्वी सिमानामा डाँडाँकाँडा छिचोल्दै बग्छ मेची नदी । मेची नदीकाे घुमाउराे लहरो पछ्याउँदै सिमानाका मान्छेहरु आउजाउ गर्छन् । इलामको सिमान्त गाउँका मान्छेहरु घोडा खच्चड लिएर सौदा गर्न भारतको नक्सलबारी हाट झर्दा रहेछन् । हाटबाट फर्किरहेका घोडचढीहरुलाई हामीले मेची बगरमा भेट्यौं । र उनीहरुसँगै किनारै किनार उकालो लाग्यौं ।
२ घन्टा उकालो लागेपछि अम्बिटार गाउँ भेटियो । मञ्जु तामाङले स्यालको रक्सीले स्वागत गरिन् । भारतकी छोरी नेपालकी बुहारी । लेप्चा परिवारमा बिहे गरेर दार्जिलिङबाट आएकी ।
रसिलो गाउँ अम्बिटारलाई छाडेर हामी झमक्क साँझमा सुङ्तुङ पुग्यौं । मेची नदी छेउको अन्तिम गाउँ । मेचीपारि भारत ।
बाटो र बिजुली भर्खर देखेको सुङतुङकी पम्फा तामाङले आधा जीवन यहिँको भीर पाखामा बिताइन् । रेडियो र टेप रिकर्डरमा घन्किने गीतका लहरा समाउँदै पम्फाहरु काठमाडौं र दार्जिलिङ शहरका कल्पनामा हराउँथे । राति अबेर सम्म पम्फाले गीत सुनाइन् । हामीले साथ दियौं ।
सुर्योदयको जिल्लामा विहानै घामका किरणले पाखा पखेरा चुमे ।
गाउँका कमल तामाङको साथ लागेर हामी मेची किनारतिर लाग्यौं ।
घाम चर्किँदै जाँदा मेचीमा माछा मार्न, घुम्न, वनभोज खाना आउनेहरुको चहलपहल बढ्यो । आइतबार थियो । भारतको छुट्टी । नेपाली र भारतिय सराबरी साझा पानीमा रमाउँदै थिए ।
मेची नदीमा दुबैतर्फको देशको साँध सकिन्छ । तर भाषा, सँस्कृति अनि सम्बन्धहरुलाई नदी, पहाड र सिमानाहरुले छेक्न नसक्ने रहेछन् । यो सिमान्त गाउँका रंगीन आयामहरुलाई छाडेर हामी अर्को गन्तव्य लाग्यौं ।
जिन्दगी शायद सम्झनै सम्झनाका फेहरिस्त होलान् । यस्तै एउटा सम्झनाको गोरेटोले हामीलाई फेरि डोर्याएको थियो भोजपुर र खोटाङको सिमानामा उभिएको चखेवा डाँडातिर । जहाँ हामीले केही वर्षअघिको एउटा साँझमा भेटेका थियौं सेन्मिखालाई ।
घाम अस्ताएपछिको त्यो पहिलो भेट ताराहरु अस्ताउन लाग्दासमेत सकिएको थिएन । रातभरि सल्लाका दाउराहरु बलिरहे । हामीले सेन्मिखालाई सुनिरह्यौं । विहानै शीत टेक्दै अर्को गन्तव्य हिँडेका हामीले सेन्मिखाको कथा धीत मर्ने गरी सुन्नै पाएनौं ।
वर्षौंपछि पनि याद आइरहने सेन्मिखालाई भेट्न हामी फेरि चखेवा गयौं । क्षितिजलाई अँगालो हालेर बसेको लोभलाग्दा डाँडा, सल्लाघारी अनि भेडा चर्ने पाटनहरु सम्झिँदै । अनि सम्झिँदै त्यो एकान्तमा वनपाखा गुन्जाउने सेन्मिखाका भाकाहरुलाई
सेन्मिखाको कथा
दुम्सी चर्ने बाटो छेउ दुई तीन वटा टिनका घरहरु रहेको चखेवा फेरिँदै रहेछ । फराकिलो मध्यपहाडी लोकमार्ग आँगनमै आइपुगेको थियो । बाटोसँगै बजार आउँदै थियो । बजारसँगै मान्छेहरु आउँदै थिए ।
बर्दियाबाट बाटो बनाउन आएका मान्छेहरुसँग सेन्मिखाको दोस्ती थियो । एकाविहानै उनी पश्चिमका साथीहरुलाई लिएर दाउरा खोज्न हिँडे ।
सिमलका फूल जस्ता मन र सतिसाल जस्ता पाखुरा भए पनि यो एकान्त पहाडमा सेन्मिखालाई केले बाँधेर राखेको होला ? उसका आमाबा कहाँ होलान्? साथीहरु जस्तै उ पासपोर्ट बोकेर हवाइजहाज किन नचढेको होला? हामीले सोध्न बाँकि प्रश्नहरु धेरै थिए । हामी सेन्मिखाको पछि लागिरह्यौं ।
एक एक भारि दाउरा बोकेर घर आइसकेपछि काकाले चलाउने सानो होटलमा पाकेको भात खाएपछि सेन्मिखाको अर्को दैनिकी सुरु भयो । भेडा फुकाउन गोठतिर लागे ।
चितवन पुगेर कृषी पढेका सेन्मिखा माटो र बोटविरुवासँग थरिथरिका प्रयोग गरेर बस्छन् । २३ वर्षको झर्झराउँदो उमेरका सेन्मिखालाई दिनभरि भेडाको पछि लाग्दै वनपाखा डुल्नै रमाइलो लाग्छ रे ।
हुन त यो सपना देख्ने उमेर हो । सेन्मिखाको उधुम ठूला सपना छैनन् । बस् हाँसी हाँसी जिन्दगी बिताइदिने ।
आफू पनि हाँसिरहने र अरुलाई नि हँसाइरहने सेन्मिखा मनका पीडाहरु लुकाउन सिपालु छन् ।
अवसर खोज्दै मदेश झरेका बाआमाको पछि लाग्न सेन्मिखाको मन मानेन । बाजे बज्यैसँग हुर्केकाे घर आँगन नै प्यारो लाग्यो । बुबा विदेशीएपछि आमाबुबा पनि छुट्टिए । सेन्मिखा न आमाको भए, न बुबाको भए । उनी त यही चखेवाको माटोको पो भए ।
हामी हिँड्न नसकौंला भनेर सेन्मिखाले आज भेडालाई धेरै टाढा लगेनन् । कुहिरोमा कहिले हामी हरायौं । कहिले भेडा हराए । सेन्मिखाका मिठा मिठा कुरा र सुरिला भाकाहरुले दिन बितेको पत्तै भएन ।
राती देखेको सपनाले सन्तोषीलाइ सन्तोष दिएको थिएन । साउदी अरबमा भएका श्रीमानसंग कुरा नगरी मन मानेन ।
त्यही दिन सन्तोषीका श्रीमान सुवास तामाङले साउदीमा तलब थापेका थिए । घरमा पैसा पठाउन ट्याक्सी चढे । अरू चार साथी पनि संगै थिए । तर घरमा पैसा हैन यस्तो खबर आयो ।
जुन ट्याक्सीमा सन्तोषीका श्रीमान् सुवास तामागसहित अरु चार जना चढेका थिए त्यो ट्याक्सी चलाएका थिए बाग्लुङका तेजेन्द्र भण्डारीले । तेजेन्द्रकी आमाले पनि फोनबाट छोराको खबर लिइन् ।
छोरा दुर्घटनामा परेर अस्पताल पुगेको खबर पाएदेखि आमा सुर्विताको शास अड्किए झैं भयो । एक पल्ट मात्रै छोराको आवाज सुन्न उनी गाडी खोलाको तिरैतिर फोन गर्ने ठाउँ ओख्रेनीसम्म कतिपटक ओहोरदोहोर गरिन् त्यसको लेखाजोखा नै छैन ।