लमजुङको सिउरुङ गाउँमा आमा पुस्ताका समूह छन् । उनीहरू चुलाचौका, घास दाउरा, मेलापातबाट निस्किएर मैदानमा भेला हुन्छन् । फुटबल खेल्नलाई ।

गाउँ नजिकैको स्कूलमा फुटबल खेल्ने मैदान छ । त्यहीँ मैदानमा लुङ्गी लगाएका आमाहरू दिनहुँ फुटबल खेल्छन् ।
जितेर पाउनु केही छैन । पुग्नु पर्ने कतै छैन । उनीहरूलाई बल तोट्नु छ ।
कसैलाई रहर मेटाउनु छ । कसैलाई सम्झना ताजा गराउनु छ । तर उनीहरु कुनै खेलाडीभन्दा कम देखिदैनन् ।

सन्त कुमारीलाई अरुले फुटबल खेलेको हेर्न मात्रै पनि रमाइलो लाग्छ ।
कतै गाउँमा फुटबल प्रतियोगिता भयो भने हेर्न कहिल्यै छुटाउदिनन् ।
‘मलाईं त अरुले फुटबल खेलेकाे हेर्दाहेर्दै आफैं मैदानमा गएर गोल हान्ने जोस आउँछ ।’ सन्तकुमारीलाई यही रहरले मैदानसम्म पुर्यायाे ।

गाउँलेहरू पनि मैदानमा आएर उनीहरूको खेलमा ताली थप्छन् । उमेरले छेक्न नसकेकाे रहरलाई आफन्त परिवारले छेक्न सकेन । बरु उनीहरुकाे रहरमा हाैसला थपिदिए । नाती पुस्तासम्मले हुटिङ लगाउछन् – गाेssल गाेssल । पर-परसम्म आवाज गुञ्जिन्छन् ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply