काठमाडौंबाट मोटर गाडीमा हिँडेको तेस्रो दिनमा हामी दार्चुला सदरमुकाम खलङ्गा पुगेका थियौं । 

हामीलाई यहाँबाट अझै टाढा उत्तरतिरका छाङ्ग्रु र टिङ्कर पुग्नु थियो । चीन र भारतका सिमा छेउका यी टाढाका गाउँ पुग्न भने सजिलो थिएन । 

दार्चुलामा भेटिएकाहरुले शंकालु प्रश्न गर्थे, तपाईंहरुलाई जान देलान् त ? 

व्यास गाउँपालिकाको एक नम्बर वडाका यी गाउँहरु जान नेपालपटि हिँड्ने बाटो समेत छैन । भारतको बाटो हुँदै जिप चढेर एकै दिनमा पुग्न सकिन्छ । अनि भारतको बाटो जान भारत सरकारको अनुमति चाहिन्छ । 

हामीले आफ्नै देशको एउटा गाउँ जान निवेदन लेख्यौं । दार्चुलाकी प्रमूख जिल्ला अधिकारी किरण जोशीले आँट मात्र दिइनन् सकेको सहयोग पनि गरिन् । जोशीले भारत धार्चुलाका अधिकारीहरुलाई अर्को पत्र लेखिन्, हामीलाई जान दिनु भनेर । 

हामी हातमा पत्र बोकेर खलङ्गा बजारबाट महाकालीको पुल तरेर भारत लाग्यौं । अनौठो महशुस भइरहेको थियो । त्यो अनौठोपनमा डर, विरानोपन र  निराशा मिसिएको थियो । 

भारतका जिल्ला अधिकारीको कार्यालयमा हामी संस्कृतिको अध्ययन गर्न आएका विद्यार्थी भनेपछि हामीले अनुमति पायौं । 

दिउँसो २ बजेतिर हामीसँगै अरु यात्री बोकेको जिप उत्तरतिर हुइँकिन थाल्यो । चीनको सीमा सम्म पुग्ने बाटो भारतले धमाधम बनाउँदै थियो । ठाउँ ठाउँमा चिल्ला बाटाहरु भेटिए । 

हामी महाकालीको किनारै किनार भारतको बाटो गुडिरह्यौं । खोला पारिका नेपालका पहाडहरु हात तन्काउँदा भेटिन्छन् कि जस्ता । 

वारिपारिका भुगोल उस्तै । पहाड र झरना उस्तै । मान्छेहरु उस्तै । भाषा उस्तै । महाकालीको धारले यी पहाड र यी मान्छेहरुलाई अलग अलग देश बनाइदिएको थियो । 

गाडीमा बाटोभरि नेपाली गीत बजिरह्यो । 

सहयात्रीहरु ठाउँ ठाउँमा झरे । 

छाया लेक भन्ने ठाउँमा भारतीय सुरक्षाकर्मीहरुले हाम्रो पास जाँचे । झोला जाँचेर क्यामेर लान दिँदैनन् कि भन्ने डर थियो । सोचेभन्दा सजिलै उम्कियौं । 

राति ९ बजेतिर हामी सितापुल भन्ने ठाउँमा पुग्यौं । हामीलाई लिन छाङ्ग्रुबाट पुष्कर सिँह बोहोरा आइपुगेका थिए । त्यहाँ पनि भारतीय सिमा सुरक्षाकर्मीलाई पास देखाएर काली नदीको काठे पुल तरेर हामीले आफ्नै देशमा पाइला राख्यौं । अघिसम्म बोझिला भएका हाम्रा शरिर एकाएका हलुका र फुर्तिला भए ।

केहीबेर हिँडेपछि छाङ्ग्रु भन्दा अलि तल गागा भन्ने ठाउँमा पुग्यौं । जित बहादुर बोहोरा र सुधा बोहोराको होम स्टेमा हामीले रात बितायौं । 

भोलिपल्ट विहानै नाम्पा हिमाल छेउका खर्कहरुबाट झरिरहेका भेडाका बथानहरु भेटिए । गोठालाहरुले यो देशसँग एउटा मात्र कुरा मागे । गोरेटो बाटो!

हामीलाई हिजो राति सितापुलसम्म लिन आएका पुष्कर बोहरासँग हामी छाङ्ग्रु गाउँतिर उक्लियौं ।

लगभग ३ हजार २ सय मिटरको उचाइमा रहेको छाङ्ग्रु गाउँ हिउँदका ६ महिना रित्तो हुन्छ । हिउँदमा यहाँका मान्छे, वस्तुभाउ, कर्मचारी सप्पै दार्चुला बजार झर्छन् । 

छाङ्ग्रु गाउँबाट  काली नदी देखियो, हिजो हामी तरेर आएको सिता पुल देखियो । 

सिँहदरबारतिरबाट छापिने चुच्चे नक्साको छेउछाउमा थियौं हामी । चुच्चे नक्साका गाउँहरु ओझेलमा अलि अलि देखिन्थे । 

काठमाडौंबाट टाढाको छाङ्ग्रु गाउँ कालापानी छेउमा सीमाना कुरेर बसेको छ । काठमाडौंमा कालापानी र चुच्चे नक्साका विषयमा रोमान्चक भाषणहरु हुन्छन् । सडकमा झन्डाहरु हल्लिन्छन् । 

देश चलाउनेहरुसँग एक धर्को  गोरेटो बाटो मागिरहेका सीमानाका मान्छेहरुलाई काठमाडौंको दिने गरेका भाषण र नक्साहरुले गिज्याए जस्तो लाग्छ । 

छाङ्ग्रुका मान्छेहरुलाई पनि दार्चुला आउन जान भारत सरकारसँग ६-६ महिनामा पास लिनुपर्छ । 

छाङ्ग्रुलाई नुन र तेल किन्न भारत जानुपर्छ । सदरमुकाम जान भारत जानुपर्छ ।  छोरी बुहारीहरु भारत जान्छन्, भारतबाटै आउँछन् । 

छाङ्ग्रुलाई सबैभन्दा पहिले आफ्नै देशबाट हिँड्ने गोरेटो बाटो चाहिएको छ । अनि मात्र राष्ट्रियताका भाषणहरु । 

भोलि, यो टाढाको गाउँ आफ्नै देशसँग झन् टाढिएला कि नजिक होला ?

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply