Herne Katha – Episode 63


इश्वरलाई नाचौं नाचौं लाग्थ्यो । 

डान्स पार्टीका मालिक गुप्ता जीको पछि लागेर इश्वरले नाचेर छाडे । 

आमालाई छोराले पढोस् भन्ने थियो । इश्वर पढ्न छाडेर भागी भागी नाच्न जान्थे । घरबाट आमाका साडीहरु चोरेर लान्थे । सिँगार पटार गर्थे र नाच्थे । 

आमाले छोरालाई कुटिन्, फकाइन् गाली गरिन् । इश्वर नाच्न छाडेनन् । 

नाच्ने कलामा इश्वरको नाम सिमापारिसम्म फैलिएको छ । भारतका बिहे पार्टीहरुमा निम्तो आउँछ । इश्वरको नाच पार्टि राप्ती तर्छ । रातभरि नाच्छ र घर आउँछ ।

खान लाउन समेत धौ धौ पर्ने परिवारमा १५ वर्षे इश्वरले कमाएको भारु भित्रिन्छ । अनि चुलोमा आगो बल्छ । भाइ बहिनीको हातमा ससाना खेलौना पुग्छन् । 

इश्वरकी आमा मिना परियार पहिलो बिहे टुटेपछि लल्लन कोरीसँग दोस्रो बिहे गरेर आएकी हुन् । 

आउँदा इश्वर र उसकी बहिनी साथै ल्याएकी  । बहिनी बोल्न सक्दिनन् ।

उनी इश्वरको नाच्ने रहरसँग हार खाइसकेकी छिन् । 

गाउँको मन्दिरमा आज पुजा छ । ईश्वरका मालिक  गुप्ता जीले साँझ डिजे पार्टीको तयारी गरेका छन् । 

एकातिर पुजाको भण्डार चलिरहेको छ । अर्कोतिर डिजेका कलाकारहरुको मेकअप सुरु भइसकेको छ । सबैका आकर्षण इश्वर सानो झोलाबाट लाली पाउडरहरु निकाल्दैछन्  । 

हेर्दा हेर्दै इश्वरको अवतार अर्कै भयो । उनी महिलाको भेषमा प्रकट भए । दिनभरि खेत खन्नेहरु शिवजी भए, गाइ चराउनेहरु कृष्ण भए, भारी बोक्नेहरु हनुमान भए । सबै रंगमन्चका थरिथरिका पात्र भए । 

घरधन्दा सकेर गाउँलेहरु ओढ्ने ओछ्याउनेसमेत बोकेर नाच पार्टिमा आए । सँगैकाले चिच्याएर बोल्दा पनि नसुनिने गरी चर्को  लाउडस्पीकर घन्किन थाल्यो । मन्दिरको आँगनमा सबै गुजुल्टिएर तीखा आँखाले मन्चतिर हेर्न थाले । 

शिवको आरतीबाट सुरु भएको नाच पार्टी बिस्तारै तात्दै गयो । माटो थुपारेर बनाइएको मन्चमा इश्वरले धुलो उड्ने गरी नाचे । नाच पार्टीमा नाटक र प्रहसन थपियो । मानिसहरु लाजले मुख छोपेर हाँसे । 

रातभरि नाच पार्टीको आवाज परपरको गाउँसम्म सुनियो ।  

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply