Our journey, which began with “Eauta Schoolko Katha” has now reached its 100th milestone with “Ghanaghasyako Ukalo Feri Katda”. We are extremely grateful towards all of you for walking this beautiful journey of life.

एउटा स्कुलको कथाबाट ५ वर्षअघि सुरु भएको हेर्ने कथाको एक सयौं अंकमा हामीले घनघस्याको उकालो फेरि काटेका छौं। मान्छेका जीवनका सुन्दर उकाली ओरालीहरुमा हामी सँधै सँधै भेटिनेछौं । हेर्ने कथाको यात्रा एक सयौं अंकसम्म आइपुगेको छ । मान्छेका जीवनका सुन्दर कथायात्रामा हामीसँगै हिँड्नुभएकोमा तपाईंलाई माया र धन्यवादको ब्ल्याङ्क चेक है ! अनि कथाशताब्दीको उपहार चाहिँ ‘घनघस्याको उकालो फेरि काट्ता’

Ghanaghasyako Ukalo Feri Katda – Episode 100

Ghanaghasyako Ukalo Feri Katda

Half a century ago, Taranath Sharma walked from Jhulaghat, Baitadi to Dadeldhura. His account of this difficult journey, “Ghanaghasya ko Ukalo Katda” was also included in the older Nepali textbook.

घनघस्याको उकालो फेरि काट्ता

Ghanaghasyako Ukalo – Episode 100

ताना शर्माले जस्तै हामीले सतबाँझमा हिउँ खेल्न पाएनौं । हिउँ परेको थिएन । आजकल डडेलधुरा हुँदै बैतडी र दार्चुलासम्म सलल मोटरबाटो पुगेको छ । 

डडेल्धुरासम्मको हाम्रो यात्रा बैतडीको पाटनबाट सुरु भयो । ताना शर्माले पहिलो दिन यसै ठाउँमा बास बसेर दोस्रो दिन घनघस्याको यात्रा यहि ठाउँबाट सुरु गरेका थिए ।  

हामीसँग रामसिँह भरिया थिएनन् । प्रेमबहादुर प्रधान थिएनन् । थिए त नियात्रामा पढेका उनीहरुका सम्झनाहरु । हामीलाई उही पुरानो बाटो देखाउन अघि लागेका थिए बैतडीकै गणेश भट्टराई । उनको पुर्ख्यौली पेशा कविता लेख्ने । (1:37- 2:04)

पाटन फेरिएछ । हामीले पढेजस्तो फाट्टफुट्ट घर थिएनन् । बजार थियो । एयरपोर्ट थियो । हामी कल्पियौं २४ सालको पाटन कस्तो थियो होला ।

तेर्सै तेर्सो हिँडियो । बाटामा गाउँलेहरु भेटिए । 

मलोडा बजारमा एकछिन थकाइ मार्यौं । 

खेमराज सिँह ऐयर हामीलाई पुर्याउन परसम्म आए । उनीसँग विदा भएर हामी अघोरी गाडको डिलै डिल हिँडिरह्यौं । अघोरी गाड तरेपछि घनघस्याको उकालो सुरु भयो । ताना शर्माले भनेको टोपी खस्ने उकालो । 

५५ वर्षअघि यात्रा गर्ने मानिस अलप भइसके । उनले छाडिगएका सम्झनाहरु पछ्याउँदै थियौं हामी । ती बेलाका गाउँ बस्ति र मान्छे हरु मात्र होइन खोला नाला र जंगलहरु पनि समयको कुहिरोमा हराए होलान् सायद् । समय भन्दा सम्झना पो बलवान हुँदो रहेछ । 

अघोरी गाडलाई छाडेर हामी यतिखेर आकाशतर्फ उचाल्लिरहेका थियौं । तारानाथ शर्मालाई जस्तो हामीलाई अभागी महशुस भइरहेको थिएन ।  एउटा धुमिल विगतको पदचाप पछ्याइरहँदा हामीले आफूलाई  भाग्यमानी ठानेका थियौं । 

एक लट ठाडो उकालो काटेपछि साझ गाउँ भेटियो । 

तिर्खाएको बेला भागिरथी आमाले हामीलाई चिसो पानी खुवाइन् । 

भागिरथी आमाले सप्रेम दिएका दुई लाँक्रा उखु टेक्दै हामी फेरि उकालियौं । 

बाटामा गणेश भट्टराईले आएना हाले । अर्थात् गाउँखाने कथा । गाउँ खाने कथा खेल्दै हामी बिनौडा गाउँ छेउ पुग्यौं । गाउँलेहरु हामीलाई लिन तलसम्म आएका थिए । 

ताना शर्माको नियात्रामा घनघस्याको उकाला चढ्दा यी गाउँहरु उल्लेख छैनन् ।  शायद त्यति बेला गाउँ नै पो थिएनन् कि । अथवा शर्माले लेखेनन् । माथि हिउँ सुरु हुने बेला मान्छे नभएका एक दुई घरहरु भएको प्रसङ्ग छ । 

कुनै समय बैतडीको झुलाघाटदेखि डोटीसम्म हिँड्ने यी बाटोहरुमा आजकल गुल्जार हराएका छन् । परदेशीहरु यो बाटो नहिँडेको वर्षौं भइसक्यो । 

एउटा अन्जान पूर्वेलीले सदियौंअघि लेखिदिएको यी बाटाका कथाहरु सम्झेर यहाँका मान्छेहरु अझै पनि पुलकित हुन्छन् । 

बिर्सिएको बाटो खोज्दै आएका हामी नौला मान्छेलाई स्वागत गर्न देवकी म्याडमको घरमा सारा गाउँ भेला भएको थियो । 

हामी गाउँलेका हार्दिकताले थिचियौं । 

देवकी ऐयर र जगदिश ऐयर एक्लो पहाडको घर कुरी बसेका छन् । दुबै जना स्कुल पढाउँछन् । 

देवकी म्याडम ताना शर्मा उ बेला आफ्नो घर पनि छिरेर गएको सुनाउँछिन् । 

घनघस्याको धुरा अझै टाढा थियो । हामीलाई अँध्यारोले लखेट्ने डर थियो । हामी फेरि उकालियौं । 

हामीलाई अर्को गाउँ खत्याडासम्म पुर्याउन जगदिश सर र गाउँलेहरु साथ लागे । जगदिश ऐयरले जीवनका ३८ वर्ष घनघस्याको उकाली ओराली हिँड्दै स्कुल पढाएरै बिताइसके । 

बाटोमा भेटियो घनघस्याको प्रख्यात ढुङ्गो । त्यही ढुङ्गो जहाँ घन घसेर बन्चरो बनाएका कथाहरु छन् । 

हामी बैतडी छाडेर डडेलधुरा छिरीसकेका थियौं  । 

घनघस्याको उकालो काटिरहँदा बाटोमा भेटिएका मान्छेहरुले हामीलाई बेला बेला महाकवि देवकोटा सम्झाउँथे । सम्झाउँथे के नेपाल सानो छ?  वनफूल जस्तो एउटा कवि हामीसँगै हिँड्दैथियो । घाँस दाउरा गर्नेहरु न्याउलीसँग सम्वाद गर्दथे । हामीलाई दोहोर्याउन मन लाग्यो देवकोटाका हरफहरु:

सानो, मीठो, शान्त, सुगन्धी, अनुपम- बस ! मेरा निमित्त त्यही हो नेपाल ! यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरु गीत गाउँदछन्, यहाँ कति सावित्रीहरु छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ ।

खत्याडा गाउँमा चिया खाएर गाउँलेसँग विदावारी भई हामी फेरि उकालो लाग्यौं । 

यो अन्तिम शिविरबाट टाकुरामा पुग्ने ठाडो उकालो थियो । पर कतै महाकालीपारि घाम डुब्दै थियो । घामका किरणले हिमालका लहर सुनौला भएका थिए । 

स्याँ स्याँ गर्दै हामी उकालो चढ्यौं । धुरा पुग्दा घाम कतै क्षितीजमा बिलाइसकेको थियो । गणेश भट्टराईले आगो बाले । घनघस्याको उकालो काटेकोमा हामीले भित्रैदेखि न्यानो महशुस गर्यौं । 

टाढा डडेलधुरा झिलिमिली तारा जस्तै टिलपिल टिलपिल देखियो । हामीलाई ताना शर्माको यात्रा पछ्याउन अब ओरालै ओरालो झरेर पोखरा बजार पुग्नु थियो । 

अँध्यारोमा टर्च र मोबाइल बाल्दै हामी जंगलको बाटो हिँडेको हिँड्यै हिँडेको हिँड्यै गर्यौं । ठाउँ ठाउँमा पुराना बाटोहरु डोजरले खनेका बाटोमा मिसिएका थिए । बाटो अल्मलिएर गणेश बेला बेला साथीलाई फोन गर्थे । 

ताना शर्मालाई पोखरा पुग्ने बेलातिर एक महिलाले मकै भुटेर पोल्टाभरि हालिदिएकी थिइन् । ५५ वर्षअघिको त्यो छाप्रो र ती महिला हामीले भेट्टाउन सकेनौं । 

बाटामी गाड पडन्छ । हामीले पोखरा पुग्ने बेला त्यही गाड तर्यौं । विहान ८ बजेतिर हिँडेका हामी राति ११ बजेतिर डडेल्धुराको पोखरा बजार पुग्यौं । बजार सुतिसकेको थियो । चकमन्न बजारमा एकछिन यताउति डुलेर हामीले ५५ वर्षअघि बास बसेका छाप्रो कल्पना मात्र गर्न सक्यौं । 

एउटा स्कुलको कथाबाट ५ वर्षअघि सुरु भएको हेर्ने कथाको एक सयौं अंकमा हामीले घनघस्याको उकालो काट्यौं । मान्छेका जीवनका सुन्दर उकाली ओरालीहरुमा हामी सँधै सँधै भेटिनेछौं । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply