Herne Katha – Episode 73

गाईको छेउमा मुरली बजाइरहेका उनी कृष्ण होइनन् कुसुम हुन् । कुसुम भण्डारी । लोक गीतका पारखीहरुले कहिँ कतै सुनेको नाम हुनुपर्छ । 

मुरली गाइ फार्ममा उनले हामीलाई मुरली चिया खुवाए । विश्वकर्मा पुजाको दिन हामी पुग्दा रातो टिका लगाइदिइसकेका थिए । 

स्याङ्जा वालिङ नजिकैको गेझा गाउँमा रहेको मुरली गाइ फारममा कुसुमका अरू ३ बालसखाहरु जोडिएका छन् । विष्णु, तारा र प्रेम ।

घाँस काट्न जाने बेला भएको छ । जाँगर चलाउन उनीहरुले हार्मोनियमको तालमा एकछिन गीत रन्काए । 

हार्मोनियमका धुनहरुले शरिरमा उर्जा भरेर टोली अब घाँस काट्न हिँड्यो । 

सफा सेतो सर्ट लगाएका डि आर भण्डारी बाँसुरी बोकेर पछिपछि लागे । उनी पेशाले शिक्षक हुन् । गाई फारममा साथीभाइसँग सांगितिक माहोल बनाउन बेला बेला आइरहन्छन् । 

बारीमा लगाएका दुधिला घाँसहरु काटुन्जेल बाँसुरी बजिरह्यो ।  घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर । 

उसो त जोवन हुर्किएकाहरु आजकल गाउँघरमा कहाँ भेटिन्छन् र? शहर र परदेशले बोलाइहाल्छ । 

कुसुम र साथीहरुले सपना देखेका छन् । गाउँ छोडेर पलायन नहुने सपना । यी सपनाका सेरोफेरो नै उनीहरुले बाँच्न खोजिरहेको कथा हो । 

उसो त  कुसुमका जिन्दगीका केही कथाहरु बितिसकेका छन् । 

कुसुमलाई सानैदेखि लोक गीत संगीतमा असाध्यै रुचि थियो ।  

मुखियाका छोरा पढ्न भनी बुटवल झरेका थिए । लुकी लुकी संगीत सिक्न जान्थे । 

बुटवल पछि उनी साङ्गितिक सपना देखेर काठमाडौं छिरे । संगीतलाई कर्म बनाए । एरेन्जर बनेर काम गर्न थाले । एकाध गीत हिट पनि भए । 

काठमाडौं बस्दा उनलाई सँधै गाउँघर र पाखा पखेराको सम्झना आइरहन्थ्यो । 

एकदिन उनले गाउँ फर्किने निधो गरे । 

सारा मान्छेले सपना देख्ने शहरबाट भर्खर उँभो लाग्न लागेको साँगितिक कर्मलाई चटक्कै छाडेर उनी गाउँ फर्किए । 

घरका आमा बुबा मात्र होइन साथी भाइ पनि छक्क परे । 

मन मिल्ने साथीहरुसँग मिलेर कृषी कर्म सुरु गरे । यो गाइ फारम त्यसैको निरन्तरता हो । 

लोक गीत संगीतमा डुबिसकेका थिए कुसुम । गाउँमा व्यवसायसँगै उनले रहरको काम पनि सुरु गरे । साथीहरुसँग मिलेर भजन टोली बनेको छ । 

गाउँका उत्सवहरुमा गाउने बजाउने । नयाँ पुस्तालाई पनि सिकाउने । 

दूधका क्यान बोकेर टोली गाउँतिर उकालो लाग्यो । आज कुसुमको घरमा साङ्गितिक साँझ हुने भएको थियो । बाटोमा भेटिनेहरुले निम्तो पाए । 

साँझ आधाउधी गाउँ मुखियाको आँगनमा भेला भयो । आँगनमा तयारी हुँदै थियो । कुसुम ९२ वर्षका बुबालाई सुताउन गए । 

भजन किर्तनबाट सुरु भएको माहोल रोइला र चुट्कासम्म पुग्यो । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply